शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

ग्रामीण बैङ्क प्रमुख युनुस पदमुक्त हुने सम्भावना

फागुन १७, ढाका (बङ्गलादेश) । बङ्गलादेशका नोबेल पुरस्कार विजेता तथा ग्रामीण बैङ्कका प्रमुख मुहम्मद युनुसले सेवानिवृत्तिसम्बन्धी नियमको उल्लङ्घन गरेको त्यहाँको केन्द्रीय बैङ्कले बताएको छ । युनुसलाई पदमुक्त गरिनुपर्ने चर्चाबीच उनले सेवानिवृत्तिको उमेर नाघिसकेको केन्द्रीय बैङ्कले जानकारी गराएको हो ।ग्रामीण बैङ्कमार्फत लघुवित्त क्षेत्रमा युनुसले गरेको योगदानको कदरस्वरूप उनले २००६ मा नोबेल पुरस्कार पाएका थिए । केन्द्रीय बैङ्कले अर्थ मन्त्रालयलाई लेखेको पत्रमा ६० वर्षमा सेवानिवृत्त हुनुपर्ने सरकारी नियम ७० वर्ष पुगेका युनुसले उल्लङ्घन गरिरहेका भनिएको छ । ग्रामीण बैङ्कमा २५ प्रतिशत सरकारी स्वामित्व रहेकाले त्यहाँ सरकारी नियम लागू हुन्छ ।युनुस बेलाबेलामा बङ्गलादेश सरकारको तीव्र आलोचना गर्छन् । हालै उनको बैङ्क एउटा अनधिकृत रकम हस्तान्तरण काण्डमा मुछिएपछि युनुस पनि विवादमा आएका थिए । साथै, भारतमा लघुवित्त उद्योगको शोषणका कारण गतवर्ष कतिपय ऋणीहरूले आत्महत्यासमेत गरेको खबर आएपछि लघुवित्त क्षेत्र नै विवादास्पद हुन पुगेको छ । कतिपय विश्लेषकले भने युनुस राजनीतिक प्रतिशोधको शिकार भएका दाबी गरेका छन् । एपी/रासस

पाकिस्तानमा तेलको मूल्यवृद्धि, जनता आक्रोशित

फागुन १७, इस्लामाबाद (पाकिस्तान) । पाकिस्तानले मङ्गलवार ९ दशमलव ९ प्रतिशतले तेलको मूल्य बढाएको छ । त्यसबाट अमेरिका समर्थित त्यहाँको नागरिक सरकार सङ्कटमा पर्ने देखिएको छ । लिबियालगायत मध्यपूर्व र उत्तरी अफ्रिकाका संघर्षले अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य चर्किएको छ । फलस्वरूप, पाकिस्तानले पनि तेलको मूल्य बढाउन बाध्य भएको त्यहाँको तेल नियामक निकायका प्रवक्ताले बताएका छन् । तर, सरकारको त्यस्तो कदमको विपक्षी दलका साथै सत्ताधारी गठबन्धनका सदस्यसमेतले विरोध गरेका छन् । पहिलेदेखि नै दोहोरो अङ्कको मूल्यस्फीति र लामो लोडशेडिङको समस्या भोगिरहेका पाकिस्तानी जनताले हालको मूल्यवृद्धि नस्वीकार्ने एक वरिष्ठ राजनीतिकर्मीले बताएका छन् । तर, सरकारले नोभेम्बरदेखि नै तेलको मूल्य बढाउन नसकेको हुनाले हालको वृद्धिबाट पहिलेको घाटा पनि पूर्ति हुन नसक्ने एक आर्थिक विश्लेषकले टिप्पणी गरेका छन् । एपी/रासस

द. कोरियामा लगातार १३ औं महीना व्यापार नाफा

फागुन १७, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले फेब्रुअरीमा २ अर्ब ८५ करोड डलरको व्यापार नाफा गरेको मङ्गलवार प्रकाशित तथ्याङ्कबाट देखिएको छ । यसरी उक्त देशले लगातार तेह्रौं महीनासम्म व्यापार नाफा गर्न सफल भएको छ । तर, जनवरीमा भन्दा फेब्रुअरीको व्यापार नाफा केही कम देखिएको त्यहाँको ज्ञान अर्थतन्त्र मन्त्रालयले बताएको छ । फेब्रुअरीको निर्यात गतवर्षको भन्दा १७ दशमलव ९ प्रतिशतले बढेर ३८ अर्ब ९६ करोड डलर पुगेको छ । त्यसैगरी सोही अवधिको आयात भने १६ दशमलव ३ प्रतिशतले बढेर ३६ अर्ब ११ करोड डलर पुगेको छ । एपी/रासस

भारतको निर्यात जनवरीमा वृद्धि 

फागुन १७, नयाँ दिल्ली (भारत) । भारतको निर्यात जनवरीमा वार्षिक ३२ दशमलव ४ प्रतिशतले बढेर २० अर्ब ६० करोड डलर पुगेको छ । त्यसैगरी सोही अवधिको आयातमा  १३ दशमलव १ प्रतिशतले बढेर २८ अर्ब ६० करोड डलर पुगेको छ । व्यापार घाटा भने डिसेम्बरको २ अर्ब ६० करोड डलरबाट बढेर जनवरीमा ८ अर्ब डलर पुगेको छ । त्यसैगरी, अप्रिलदेखि जनवरीसम्मको निर्यातमा वार्षिक २९ दशमलव ३ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब ६० करोड डलर पुगेको छ । जनवरी महीनाको तेल आयात भने ७ दशमलव ८ प्रतिशतले कमी आएर ७ अर्ब ९० करोड डलरमा झरेको छ । भारतको अर्थतन्त्र सही दिशामा रहेकाले यस आर्थिक वर्षको निर्यातमा झण्डै १५ प्रतिशतले वृद्धि हुने देखिएको छ । तर, तीव्ररूपले बढ्दै गएको व्यापार घाटाप्रति भारत सरकार चिन्तित देखिएको छ । हालकै दरमा व्यापार घाटा बढिरहेमा ३ वर्षमा दोब्बर समस्या आउन सक्ने देखिएको छ । रोयर्टस

चीन र भारतको पीएमआईमा मूल्यस्फीतिजन्य दबाब

फागुन १७, बेइजिङ/बङ्गलोर । चिनियाँ र भारतीय कारखानाका फेब्रुअरी महीनाको खर्च बढेको  छ । मङ्गलवार प्रकाशित पर्चेजिङ म्यानेजर्स इण्डेक्सेज (पीएमआई) तथ्याङ्कबाट त्यस्तो देखिएको हो । त्यसबाट विश्वमै सबैभन्दा तीव्र वृद्धि भइरहेका यी दुइ अर्थतन्त्रलाई चर्को मूल्यस्फीतिबाट बचाउनुपर्ने देखिएको छ । वस्तुहरूको मूल्यमा भइरहेको तीव्र वृद्धिले मुद्रास्फीतिजन्य दबाब बढाएको छ । तेलको मूल्य हालकै उच्च विन्दुमा रहेमा विश्वव्यापी आर्थिक वृद्धिलाई नकारात्मक प्रभाव पार्ने अन्तरराष्ट्रिय मुद्रा कोषका प्रमुख डोमिनिक स्ट्रस कानले सोमवार चेतावनी दिएका छन् । चीनको दुइओटा पीएमआईले देखाएअनुसार, फेब्रुअरीमा त्यहाँको म्यानुफ्याक्चरिङ क्षेत्रको वृद्धि ६ महीनायताकै सुस्त रहेको छ । त्यसबाट चीन सरकारको मूल्यस्फीति नियन्त्रण प्रयास खासै सफल हुन नसकिरहेको देखिएको छ । त्यसैगरी प्रमुख एशियाली अर्थतन्त्रमध्ये भारतको मूल्यस्फीति सबैभन्दा उच्च देखिएको छ । रूस, आयरल्याण्डलगायतका यूरोजोन तथा अमेरिकाको फेब्रुअरीको पीएमआईमा केही सुधार हुने अनुमान गरिएको छ । रोयटर्स

जापानको बेरोजगारी दर यथावत्

फागुन १७, टोकियो (जापान) । जापानको बेरोजगारी दरमा जनवरीमा पनि कुनै परिवर्तन आएको छैन । तर, सोही अवधिको उपभोक्ता खर्च भने गतवर्षको सोही अवधिमा भन्दा घटेको छ । यसबाट जापानी अर्थतन्त्रको पुनर्बहालीमा रहेको समस्या उजागर भएको छ । जनवरीको बेरोजगारी दर ४ दशमलव ९ प्रतिशतमा रहेको देखिएको छ, जुन डिसेम्बरकै जस्तो छ ।झण्डै ५ दशमलव ४ प्रतिशतको मौसम समायोजित तथ्याङ्कबाट भने हालैको मन्दीपछि अर्थतन्त्रमा सुधार भइरहेको देखिन्छ । तर, उपभोक्ता खर्चमा भने जनवरीमा गतवर्षको भन्दा १ प्रतिशतले कमी आएको छ । जापानी अर्थतन्त्रले विस्फीति, वृद्ध जनसङ्ख्या र बढ्दो राष्ट्रिय ऋणलगायतका थुप्रै समस्या भोगिरहेको छ । आगामी राष्ट्रिय बजेटका बारे पनि चर्को राजनीतिक विवाद देखिएको छ । प्रधानमन्त्री नाओतो कानको सरकारले प्रस्तुत गरेको बजेटलाई उनको आफ्नै दलका १६ जना सांसदहरूले बहिष्कार गरेका छन् । एपी/रासस

Admin 2011-03-02