शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भारतमा मनसुनले ल्यायो उत्साह

जेठ १७, नयाँ दिल्ली (भारत) । यस वर्षको मनसुनी वर्षा भारतको केरलामा सोचेभन्दा दुई दिनअघि नै आइपुगेको छ । त्यसबाट एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा यस वर्षबालीनाली राम्रो हुने अपेक्षा गरिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको वर्षाले भारतको ६० प्रतिशत कृषिभूमि सिँचाइ गर्छ । त्यसैले, उपयुक्त वर्षाको सम्भावनाले बालीनाली राम्रो हुने आशा पनि बढ्छ । बाली राम्रो भएपछि कृषिमा आधारित ६० करोड भारतीय जनताले खाद्यान्नको उच्च मूल्यवृद्धिबाट राहत पाउनुका साथै उनीहरूको क्रयशक्तिसमेत बढ्छ ।कृषि उब्जनी बढ्दा सरकारलाई पनि गहुँ र चामलको निर्यातमाथिको प्रतिबन्ध फुकुवा गर्न सजिलो हुनेछ । खाद्यान्नको उच्च मूल्यका कारण घरेलु मागलाई सहज बनाउन भारतले २००७ देखि नै गहुँ र चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । केरलाको समुद्री तट र अण्डमान समुद्र क्षेत्रमा पानी परिरहेको भारतीय मौसम विभागका एक उच्च अधिकारीले बताए । सामान्यतया जुन १ को आसपासमा आउने मनसुनले मध्य जुलाईसम्ममा भारतको सम्पूर्ण भूभाग ढाक्छ । एजेन्सी

चर्को मूल्यवृद्धि नियन्त्रण चीनको प्रमुख प्राथमिकता

जेठ १७, बेइजिङ (चीन) । चर्को मूल्य वृद्धिदरलाई नियन्त्रण गर्न चीन सरकार कटिबद्ध देखिएको छ । चिनियाँ संसद्को वार्षिक बैठक अन्त्यका बेला मार्चमा प्रधानमन्त्री वेन जिआबाओले मूल्यवृद्धिलाई बाघसँग तुलना गरेका थिए । 'मूल्यवृद्धि बाघजस्तै हो, एकपटक खुला छाडिएपछि यसलाई फेरि पिँजडामा राख्न एकदमै गाह्रो हुन्छ,’ वेनको भनाइ थियो ।तर, त्यसको महीनौपछि पनि चीनमा भइरहेको चर्को मूल्यवृद्धि अझै नियन्त्रणमा आउनसकेको छैन । यद्यपि यसबीच चीनले लगातार नीतिगत कडाइका कार्यक्रम ल्याइरहेको छ, जसबाट अर्थतन्त्रमा भइरहेको तीव्र विस्तारको गति पनि सुस्तिएको छ ।

उच्च ब्याजदर र ऋणमाथिको कडाइबाट विदेशी लगानीकर्तासमेत झस्किएका छन्, भने साना व्यवसायीहरू मारमा परेका छन् । त्यसपछि मूल्य वृद्धिविरूद्धको अभियान अन्त्य गर्नुका साथै आर्थिक वृद्धिलाई प्रेरित नीतिहरूलाई खुकुलो बनाउनसमेत बेइजिङलाई आह्वान गर्न थालिएको छ ।तर, चिनियाँ नेताहरू भने आर्थिक वृद्धिदरको क्रमबद्ध नियन्त्रणलाई सकारात्मक ठान्छन् । त्यसबाट अत्यावश्यक ठानिएको संरचनागत परिवर्तन अभिप्रेरित हुनुका साथै अत्यधिक लगानीको अवस्थामा पनि सुधार आउने उनीहरूको विश्वास छ । गत २ वर्षयता ऋण दिने कार्यमा भएको ठूलो वृद्धिले अत्यधिक लगानी गराएको ठानिएको छ । उता, खडेरी र विद्युत्को कमीले गर्दा मूल्य वृद्धिदर झनै बढेको देखिन्छ । त्यसैले मूल्यवृद्धि नियन्त्रणका लागि चीनको केन्द्रीय बैङ्कले ब्याजदरमा झनै कडाइ गर्ने देखिएको छ । एजेन्सी

जापानको अर्थतन्त्र पुनर्बहालीतर्फ तर बढ्दो ऋण समस्याजनक

जेठ १७, टोकियो (जापान) । जापानको अर्थतन्त्रमा थप सुधारको सङ्केत देखिएको छ । मार्चमा आएको भूकम्प र सुनामीपछि अर्थतन्त्र मन्दीतर्फलागेको थियो । विपत्तिलगत्तै जापान ३ वर्षभित्रकै दोस्रो मन्दी र एक दशकभित्रकै तेस्रो अधोगतितर्फलागेको थियो । अहिले अर्थतन्त्रमा केही सुधार देखिए तापनि बढ्दो ऋणलाई नियन्त्रणमा ल्याउन हालको आर्थिक वृद्धि र सरकारी प्रयास दुवै पर्याप्त नरहेको रेटिङ एजेन्सी मूडीजले चेतावनी दिएको छ ।भूकम्प र सुनामीलगत्तै अत्यन्तै ओरालो लागेको औद्योगिक उत्पादन गत महीना भने १ प्रतिशतले बढेको छ । मे र जुनको अवधिमा औद्योगिक उत्पादन बढाएर विपत्ति पहिलाकै अवस्थामा पुर्याउने कम्पनीहरूले योजना बनाएका छन् ।

हालको उत्साहजनक परिदृश्यले विश्वकै तेस्रो ठूलो अर्थतन्त्र जापान भी आकारको पुनर्बहालीतर्फ लागेको हुन सक्ने चर्चा चलेको छ । टोकियो शेयरबजार २ प्रतिशतले उकालो लागेको छ । मूडीजको चेतावनीले निर्यातकर्ताका शेयरलाई थप बल प्रदान गरेपछि जापानी मुद्रा येन केही कमजोर भएको छ । त्यसैगरी, सरकारी बण्डको प्रतिफल  पनि बढ्दै गएको छ ।  तर, उत्पादनकर्ताहरूको यस्तो उत्साहले मूडीजलाई प्रभावित गर्नसकेको देखिएन । किनभने मूडीजले जापानको सभरेन ऋणलाई सम्भावित न्यूनमूल्याङ्कनको सूचीमा राखेको छ । त्यसैगरी विपत्तिपछिको आर्थिक चुनौतीको सामना गर्नेतर्फसरकारी प्रयास पर्याप्त नरहेको तर्फपनि मूडीजले ध्यानाकर्षण गरेको छ ।              एजेन्सी

भारतमा पाँच त्रैमासकै न्यून आर्थिक वृद्धिदर

जेठ १७, नयाँ दिल्ली (भारत) । भारतको अर्थतन्त्र मार्चदेखिको त्रैमासमा पछिल्ला पाँच त्रैमासमध्येकै न्यूनदरले वृद्धि भएको छ । उक्त त्रैमासमा वार्षिक खुद गार्हस्थ्य उत्पादन ७ दशमलव ८ प्रतिशतले बढेको छ । जबकि, त्यसअघिको त्रैमासमा ८ दशमलव ३ प्रतिशतले विस्तार भएको थियो । आर्थिक वर्ष२०१०/११ मा ८ दशमलव ५ प्रतिशतले अर्थतन्त्र विस्तार भएको थियो । बढ्दो ब्याजदरका कारण खपत र लगानीमा कमी आएपछि आर्थिक वृद्धिदर घटेको हो । यद्यपि, केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डिया (आरबीआई)ले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा अझै कडाइ गर्ने सम्भावना छ । वृद्धिदरमा केही कमी आउनाले कुनै सङ्कट ननिम्तिने सिङ्गापुरस्थित वेष्टप्याक इन्षिटच्युशनल बैङ्कका एक वरिष्ठ रणनीतिकार जोनाथन क्याभेनाघले बताए । तर, उदीयमान देशहरूले लागू गरेका कडा मौद्रिक नीतिको असर देखा पर्न थालेको क्याभेनाघको मूल्याङ्कन छ ।

'मूल्यवृद्धि दर अझै निकै माथि रहेकाले आरबीआईले थप कडा नीति ल्याउने सम्भावना छ,' उनले भने । 'तर, इक्विटी बजारले भने त्यस्ता कडा नीतिलाई स्वागत गर्ने सम्भावना छैन,' क्याभेनाघले भने । आगामी जुन १६ मा हुने ब्याजदर नीति समीक्षाका बेला आरबीआईले उसको प्रमुख नीतिगत ब्याजदरलाई फेरि २५ आधार अङ्कले बढाउने सम्भावना छ । मेको शुरूतिर पनि आरबीआईले अपेक्षाभन्दा बढी ५० आधार अङ्कले ब्याजदर बढाएको थियो । २०१० को मार्चदेखि आरबीआईले नौपटकमा कुल २५० आधार अङ्कले ब्याजदर बढाइसकेको छ । उच्च मूल्यवृद्धि दर नियन्त्रणका लागि प्रयासरत आरबीआईले यस वर्षको अन्त्यसम्ममा थप ७५ आधार अङ्कले ब्याजदर बढाउने सम्भावना छ । एजेन्सी

आईएमएफ प्रमुखमा उदीयमान देशहरूको पनि दाबी

जेठ १७, केप टाउन (दक्षिण अफ्रिका) । उदीयमान देशहरू अझै पनि आफूहरू मध्येबाटै अन्तरराष्ट्रिय मुद्राकोष प्रमुखको उम्मेवार प्रस्तुत गर्न वार्तामा रहेको दक्षिण अफ्रिकी अर्थमन्त्री प्रविन गोर्धनले मङ्गलवार बताए । आफ्ना सर्वसम्मत उम्मेदवार प्रस्तुत गर्न उदीयमान देशहरूसँग जुन १० सम्मको समय रहेको पनि गोर्धनले बताएका छन् ।कोष प्रमुखबाट डोमिनिक स्ट्राउस कानले राजीनामा दिएपछि उनको उत्तराधिकारीको खोजी  तीव्र भएको छ । कोष प्रमुखमा जहिले पनि यूरोपेली उम्मेदवार रहने परम्पराको उदीयमान देशहरूले विरोध गरिरहेका छन् । । त्यसैले बलियो उम्मेदवारका रूपमा देखिएकी फ्रान्सकी अर्थमन्त्री क्रिष्टिने लागार्दे हाल ब्राजिलको भ्रमणमा छिन् ।

ब्राजिल ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र हुनुका साथै प्रभावशाली कूटनैतिक शक्ति पनि हो । ब्राजिललाई विश्वासमा लिएर विकासशील देशहरूलाई मनाउन लागार्देले ब्राजिल भ्रमण गरेकी हुन् । आफूलाई कोष प्रमुखमा समर्थन गरेमा उदीयमान देशहरूको भूमिका बलियो बनाउनेतर्फपहल गर्ने लागार्देले प्रतिबद्धता व्यक्त गर्दै आएकी छन् ।कोष प्रमुखमा मेक्सिकोका केन्द्रीय बैङ्क प्रमुख अगष्टिन कासटेन्स पनि लागार्देको प्रतिद्वन्द्वी हुनेछन् । त्यसैले लागार्देलाई समर्थन गर्ने कि कासटेन्सलाई भन्नेबारे ब्राजिलले निर्णय गर्न बाँकी नै रहेको अर्थमन्त्री गुइदो मण्टेगाले बताए । अफ्रिकाको प्रमुख अर्थतन्त्र दक्षिण अफ्रिकाले पनि आफ्नै उम्मेदवार उठाउने विचार गरिरहेको गोर्धनले बताए । एजेन्सी

Admin 2011-06-01