शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कात्तिक १३, अमेरिका (अपहयाम) । किशोरावस्थादेखि नै बेलायती व्यापारी रिचर्ड ब्रान्सनको अन्तरिक्षमा जाने सपना थियो । अब भने उनको सपना पूरा हुने भएको छ । भर्जिन ग्याल्याक्टिक अन्तरिक्ष यानले पर्यटकहरूलाई अन्तरिक्षमा उडाउन थालेपछि उनको सपना साकार हुनेछ । ग्याल्याक्टिकले न्यूमेक्सिको मरुभूमिमा अन्तरिक्ष उडानका लागि विशेष रूपमा डिजाइन गरिएको अन्तरिक्ष उडान अड्डा -स्पेसपोर्ट बाट व्यावसायिक उडान गर्नेछ ।अन्तरिक्षका विषयमा ठूलो रुचि राख्ने गभर्नर बिल रिचर्डसनले अन्तरिक्षयात्री एलन शेपार्ड अन्तरिक्षमा पुगेको र मानिसले चन्द्रमामा प्रथम पाइला राखेको बिर्सेको छैनन् । उनी पनि अन्तरिक्ष हेर्न चाहन्छन् । तर, उनी ब्रान्सनको यो सुन्दर योजनाको पहिलो यात्री बन्न भने चाहन्नन् ।

ब्रान्सन र रिचर्डसनले पाँच वर्षअघि अन्तरिक्षमा उडान गर्ने यो विशेष पोर्ट बनाउन सहकार्य थालेका थिए । पोर्टको ४५ माइलको धावनमार्गको निर्माण पूरा भएको छ भने टर्मिनल र हयाङ्गरको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । तीव्र गतिमा विकास हुँदै गरेको व्यावसायिक अन्तरिक्ष पर्यटन उद्योगका लागि यो कोसेढुङ्गा बन्नेमा उनीहरूलाई विश्वास छ । यस्तो उद्योग शुरू हुन अब धेरै समय कुर्नु नपर्ने विशेषज्ञहरूको भनाइ छ । 'हाम्रो सपना साकार भएको छ । न्यू मेक्सिकोले अन्तरिक्ष पर्यटनको नेतृत्व गर्दै छ', झण्डै दुइ किलोमिटर लामो 'स्पेसपोर्ट अमेरिका'को पक्की धावनमार्गमा उभिएर रिचर्डसनले गतहप्ता भनेका थिए । त्यहाँ विश्वभरिबाट आएका १ सय ३० पत्रकार, बेलायती विद्यार्थीहरूको एक समूह, भर्जिन ग्याल्याक्टिकको पहिलो यात्री बन्न ठूलो रकम पहिले नै जम्मा गरेका केही दर्जन मानिसहरू र सन् १९६९ मा चन्द्रमामा हिँडिसकेका पूर्वनासा अन्तरिक्षयात्री बज एल्डि्रन पनि थिए ।

ब्रान्सन र रिचर्डसनले आगामी नौदेखि १८ महीनाभित्र दक्षिणी न्यू मेक्सिकोको यो ठाउँ पनि चर्चित गन्तव्य बन्ने भविष्यवाणी गरे । तर, यो एक्लो स्पेसपोर्ट भने हुने छैन । व्यावसायिक अन्तरिक्ष उद्योग द्रुतगतिमा विकसित भैरहेको छ । हथ्रोन, क्यालिफोर्नियाको स्पेसएक्सले नासालाई अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रको आपूर्ति गर्न रुचि देखाएको छ । स्पेसएक्स, पे-पलका संस्थापक एलोन मस्कले चलाइरहेको कम्पनी हो । यसले अन्तरिक्षमा सामान पठाउने परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने अब स्याटेलाइट नै पठाउने ठेक्का पाएको छ । क्यालिफोर्नियाकै मोजाभस्थित माष्टेन स्पेस सिष्टम र रकवेल, टेक्सासस्थित अर्माडिलो एरोस्पेसले पनि मानवरिहत यानहरूलाई अन्तरिक्षमा पठाउने परीक्षण गरिरहेका छन् । अमेजन डट कमका प्रमुख कार्यकारी जेफ बेजोस पनि ब्लू ओरिजिन कम्पनीका साथ यो दौडमा सामेल भएका छन् । ब्लू ओरिजिन एउटा 'वाशिङ्टन स्टेट' कम्पनी हो जसले अन्तरिक्ष टयाक्सी सञ्चालन गर्ने योजना बनाएको छ ।

बोइङ कर्पोरेशन पनि 'स्पेस एडभेञ्चर'को साथ अन्तरिक्ष यात्रामा लाग्ने भएको छ । भर्जिनियास्थित एडभेञ्चरले सात यात्री क्षमताको अन्तरिक्षयानको आरक्षण बेचिरहेको छ । बोइङको यो यानले सन् २०१५ देखि अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा उडान थाल्नेछ । अहिले यस एडभेञ्चरले रूसमा निर्मित सोयुज अन्तरिक्षयानका यात्रीहरूका लागि टिकट बेच्दै आइरहेको छ । अन्तरिक्ष उद्योगमा भएको यो प्रगति नासाको निजीक्षेत्रसँगको सहकार्य गर्ने चाहनाको नतीजा भएको नासाकी उप-प्रशासक लोरी गार्भर बताउँछिन् । गत महीना मात्र अमेरिकी कङ्ग्रेसले पृथ्वीनजीकको अन्तरिक्षमा मानव लैजान व्यावसायिक यानहरूको प्रयोग गर्ने राष्ट्रपति बाराक ओबामाको चाहनालाई स्वीकृति प्रदान गरेको थियो । नयाँ स्पेसपोर्टले अन्तरिक्षयानहरूलाई उडान र अवतरण गर्ने स्थान उपलब्ध गराउनेछ । 'यसले व्यावसायिक अन्तरिक्ष उद्योगको राम्रो शुरुआत गर्नेछ भने उद्योगलाई अझ प्रतिस्पर्धी बनाउनेछ' गार्भरले भनिन् । अबको पाँचदेखि १० वर्षको धेरै मानिसले अन्तरिक्षयात्रा गरिसकेको हुने उनले बताइन् । एपी


चीनमा एक सय टनको सुनखानी पाइयो

कात्तिक १७, चीन (पेचिङ) । चीनको भित्री मङ्गोलियामा ठूलो सुनखानी पत्ता लागेको छ । खनिज अन्वेषणमा खटाइएको सशस्त्र प्रहरीका मुख्य इञ्जिनीयर हुवाङ चिछुवानलाई उद्धृत गर्दै सिन्ह्वाले दिएको समाचारअनुसार पाओतु भनिने ठाउँमा पाइएको यो खानीमा १ सय टन सुन भएको अनुमान छ । हुवाङका अनुसार त्यसको मूल्य ३५ अर्ब युआन (५ अर्ब २५ करोड डलर) हुन्छ ।  तर, खानीको गहिराइ, त्यसको स्वामित्व वा सुन निस्कन शुरू हुने समय र लाग्ने खर्चका बारेमा भने समाचारमा केही उल्लेख छैन ।चीनको भौगर्भिक सर्वेक्षण विभागको प्रतिवेदनअनुसार चीनमा १९९९ पछि पत्ता लागेका सबै खानीमा गरेर १ हजार ८ सय ३० टन सुन भएको अनुमान छ । रोयटर्स


एशियामा चामल महँगियो

कात्तिक १७, थाइल्याण्ड (बैङ्कक) । हालैको बाढीले बाली बिगारेको आशंका र थाई भाटको मूल्य वृद्धिका कारण बुधवार थाइल्याण्डमा चामलको मूल्य वृद्धि भयो । भियतनाममा पनि आपूर्ति माग धान्न मात्र मुश्किलले पुग्ने स्थितिमा भएकाले त्यहाँ चामलको मूल्य उच्च नै रहयो । तर विश्वका प्रमुख दुइ चामल उत्पादक यी दुवै देशमा धानबाली भियभयाउने काम अब एक दुइ हप्तामै शुरू हुने भएकाले व्यापारीहरु त्यसलगत्तै चामलको मूल्य घट्ने अपेक्षा गर्दछन् । बुधवार शतप्रतिशत 'बी’ ग्रेडको सेतो चामलको मूल्य ५ सय २० डलर प्रतिटन थियो । गत हप्ता यो ५ सय ५ डलर थियो । यस वर्ष थाई भाटको मूल्य १२ प्रतिशतले बढेर बुधवार १३ वर्षकै उच्च विन्दु २९ दशमल ७२ भाट प्रतिडलरको नजीकै थियो ।
 
हालै आएको दशककै पछिको ठूलो बाढीले थाइल्याण्डमा वर्ष२०१०।११ को प्रमुख धानबालीको उत्पादन घटाएर २ करोड २६ लाख टनमा ल्याइपुर्याउने आशङ्का छ । त्यहाँको मुख्य धानबालीको औसत उत्पादन वार्षिक २ करोड ३० लाख टन हुन्छ । सबै खाले धानबालीको उत्पादन भने वार्षिक ३ करोड टन हुन्छ । आगामी हप्ता थाइल्याण्डमा धान काटिएपछि बजारमा २ करोड टन धान आउने अपेक्षा गरिएको छ । भियतनाममा भने अहिलेको मौसममा भियभयाउने धानबाली थोरै हुन्छ । त्यहाँको प्रमुख धानबाली फेब्रुअरीमा मात्र भियभयाइन्छ । फेब्रुअरीको भियतनामी धानबाली १ करोड टन हुन्छ । आगामी हप्ता भियतनाममा अन्तरराष्ट्रिय चामल सम्मेलन हुदै छ । रोयटर्स


एसर पश्चिम चीनमा पनि

कात्तिक १७, चीन (ताइपेई) । पर्सनल कम्प्युटरको विश्वकै दोस्रो ठूलो निर्माता तथा विक्रेता एसर इन्कले अझ ठूलो प्रविधि कम्पनीलाई पछयाउने चीनको चोङकिङ शहरमा उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । साथै उसले सोही शहरमा आफ्नो चीनको दोस्रो मुख्यालय पनि स्थापना गर्ने भएको छ । एसर ताइवानी कम्पनी हो । कम्पनीले बुधवार प्रेस विज्ञप्तिमा जनाएअनुसार डिसेम्बरमा यस सम्बन्धमा चोङकिङ नगर सरकारसँग सम्झौतामा हस्ताक्षर हुनेछ । यसको वित्तीय विवरण भने कम्पनीले दिएको छैन । कम्पनीको चीनमा अहिलेको मुख्यालय साङ्घाइमा छ । चीनको पश्चिम क्षेत्रमा डेल, हयुलिट प्याकार्ड र कम्प्याक यसअघि नै गइसकेका छन् । त्यहाँ कामदार सजिलै पाइने र ज्यालादर पनि थोरै भएको बताइन्छ । चीन सरकारले समग्र पूर्वाधारमा सुधार गर्न गरेको प्रयासका फलस्वरुप पश्चिमी चीनमा सूचना/प्रविधिको नयाँ समाज उत्पन्न भइसकेको एसरले विज्ञप्तिमा जनाएको छ । रोयटर्स