भारतले मूल्यवृद्धिका कारण आयात कर घटाउँदै
माघ १७, दाभोस (स्वीट्जरल्याण्ड) । तेल तथा वस्तुको मूल्यमा विश्वव्यापी वृद्धिबाट चिन्तित भारतले थप खाद्य उत्पादनहरूमा आयात कर घटाउने भएको छ । एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा भइरहेको खाद्यपदार्थको कमी तथा मुद्रास्फीतिलाई नियन्त्रण गर्न त्यसो गर्न लागिएको हो । उक्त कुरा वर्ल्ड इकोनोमिक फोरमको दाभोस बैठकमा सहभागी भारतीय व्यापारमन्त्री आनन्द शर्माले बताएका हुन् । भारतले यसअघि नै कच्चा वनस्पति तेलमा आयात कर मिनाहा गरिसकेको छ । त्यहाँ खाद्यपदार्थको मूल्यमा अझै पनि दोहोरो अङ्कले वृद्धि भइरहेको छ ।बजारमा कमी देखिएका वस्तुमा आयात कर घटाउनु नै उपयुक्त हुने मन्त्रीको विचार छ । पहिले उच्च कर तिरेर आयात गर्ने अनि सार्वजनिक वितरण प्रणालीअन्तर्गत त्यसमा अनुदान दिने तर्कसङ्गत नहुने शर्मा बताए । भारतमा खाद्यवस्तुको महँगी मध्यजनवरीमा १५ दशमलव ५७ प्रतिशतको दरले बढिरहेको थियो । बेमौसमको पानीले प्याज, आलु तथा गोलभेंडाजस्ता प्रमुख तरकारीहरूलाई नोक्सान गरेपछि भाउ चर्केको थियो । गत मङ्गलवार भारतको केन्द्रीय बैङ्कले मार्चपछि सातौंपटक ब्याजदर बढाएको छ । बैङ्कले ब्याजदर अझै बढाउने विश्लेषकहरूले पूर्वानुमान गरेका छन् । रोयटर्स
इजिप्टको प्रदर्शनले तेलको मूल्य १ सय डलर
माघ १७, लण्डन (बेलायत) । इजिप्टको हिंसात्मक प्रदर्शनका कारण तेलको मूल्य झण्डै १ सय डलर ब्यारेल पुगेको छ । विश्लेषकका अनुसार, प्रदर्शनका कारण स्वेजमार्फ हुँदै पश्चिमतिर जाने तेलको आपूर्तिमा अवरोध आउने आशङ्काले तेलको मूल्यमा वृद्धि भएको हो । मार्चमा आपूर्ति हुने भएको ब्रेण्ट नर्थ सी कच्चा तेलको मूल्य ९९ दशमलव ९७ डलर प्रतिब्यारेल पुगेको छ । लण्डन व्यापारमा भने शुक्रवारको भन्दा ४७ सेण्टले तल झरेर ९८ दशमलव ९५ डलर प्रतिब्यारेल पुगेको छ । त्यसैगरी न्यूयोर्कतर्फमार्चमा आपूर्ति हुने लाइट स्वीट कच्चा तेलको मूल्य ४ सेण्टले झरेर प्रतिब्यारेल ८९ दशमलव ३० डलर पुगेको छ । सन् २००८ को अक्टोबरमा कच्चा तेलको एशियाली व्यापार मूल्य १ सय डलर पुगेको थियो । बीएनपी परिबासका टम बेञ्जका अनुसार स्वेज नहरमार्फत प्रत्येक दिन झण्डै १० लाख ब्यारेल तेल आपूर्ति हुने गर्दछ । त्यसैगरी इजिप्टको प्रदर्शन तथा तेलको बढ्दो मूल्यका कारण एशियाभरिका शेयरबजार ओरालो लागेका छन् । एएफपी/रासस
जापानको औद्योगिक उत्पादनमा वृद्धि
माघ १७, टोकियो (जापान) । जापानको औद्योगिक उत्पादन डिसेम्बरमा ११ महीनाकै उच्च हुन पुगेको सोमवार प्रकाशित एक तथ्याङ्कले देखाएको छ । जापानी वस्तुको अन्तरराष्ट्रिय माग फेरि बढ्न थालेपछि अर्थतन्त्रमा देखिएको हालैको मन्दीबाट जापानले पार पाउँदै गएको सङ्केत मिलेको छ । जापानको औद्योगिक उत्पादन डिसेम्बरमा अघिल्लो महीनाभन्दा ३ दशमलव १ प्रतिशतले बढेको छ । लगातार दोस्रो महीनामा भएको डिसेम्बरको वृद्धिले २ दशमलव ९ प्रतिशतको पूर्वानुमानलाई नाघेको छ ।अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयले उसको अघिल्लो महीनाको उत्पादनसम्बन्धी प्रतिवेदनमा सुधार गरेको छ । अघिल्लो महीना उत्पादन अझै कमजोर रहेको मन्त्रालयले बताएको थियो । तर, यो महीनामा भने उत्पादन वृद्धितर्फउन्मुख देखिएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार, चीन र अमेरिकाजस्ता प्रमुख बजारबाट सुदृढ माग भएकाले निर्यातकर्ताहरूमाथि बलियो येनको नकारात्मक असर कम भएको छ ।
एएफपी/रासस
भारतमा हालसम्मकै ठूलो विदेशी लगानी
माघ १७, नयाँ दिल्ली (भारत) । भारतको वातावरण मन्त्रालयले दक्षिण कोरियाली स्टील कम्पनी पोस्कोको १२ अर्ब डलरको लागतमा स्टील कारखाना स्थापना गर्ने योजनालाई स्वीकृत गरेको छ । सो लगानी भारतमा हालसम्मकै सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ । एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा हालैका दिनहरूमा ठूलो विदेशी लगानी गर्ने वातावरण नरहेको चर्चा हुँदै आएको थियो । ढिलो गरी स्वीकृत भएको हालको उक्त लगानीले भारतमा फेरि विदेशी लगानीको वातावरण बन्ने अपेक्षा गरिएको छ । गएको वर्ष वातावरण मन्त्री जयराम रमेशले थुप्रै विदेशी लगानीका प्रस्तावलाई रोकेका थिए । त्यसपछि उनीमाथि देशकै आर्थिक वृद्धिमा खेलबाड गरेको आरोप लागेको थियो ।र्वाधारको विकास गर्न तथा अर्थतन्त्रमा झण्डै दोहोरो अङ्कको हालको वृद्धि कायम राख्न भारतलाई विदेशी लगानीको आवश्यकता छ । तर, देशका अधिकांश गरीब किसानले त्यस्तो विदेशी लगानीले उनीहरूको सानो लगानीलाई नोक्सान गर्ने भन्दै विरोध गर्दै आएका छन् । 'विदेशी कम्पनीहरूलाई भारतमा काम गर्न चीनमा जस्तो सजिलो छैन । खासगरी वातावरणसम्बन्धी अनुमति पाउन गाह्रो हुनुका साथै भारत एकदमै लालफिताशाही भएको देश हो,’ एकजना विदेशी लगानीकर्ताले भने । रोयटर्स
बङ्गलादेशमा मुल्यवृद्धि पूर्वानुमान
माघ १७, ढाका (बङ्गलादेश) । बङ्गलादेशको केन्द्रीय बैङ्कले आर्थिक वर्ष२०१०/११ मा मुद्रास्फीति बढेर ७ प्रतिशतमा पुग्ने पूर्वानुमान गरेको छ । खासगरी खाद्यपदार्थको मूल्यमा भइरहेको उच्च वृद्धिका कारण मुद्रास्फीति बढ्ने बैङ्कले बताएको छ ।२००९/१० को वर्षमा जुनको अन्त्यसम्म मुद्रास्फीति बैङ्कको लक्ष्य ६ दशमलव ५ प्रतिशतलाई नाघेर ७ दशमलव ३१ प्रतिशत पुगेको थियो । विश्वका थुप्रै भागमा खराब मौसमका कारण खाद्यपदार्थको मूल्यमा तीव्र वृद्धि हुनाले मुद्रास्फीति बढेको बैङ्कका गभर्नर अतिउर रहमानले आइतवार बताएका छन् । जनवरीदेखि जुनसम्मका लागि बैङ्कको मौद्रिक नीति सार्वजनिक गर्दै रहमानले सो कुरा बताएका हुन् ।झण्डै १ सय डलर प्रतिब्यारेलको नजिक रहेको तेलको उच्च मूल्यका कारण गरीब देशहरूको व्यापार घाटा बढिरहेकोमा पनि रहमानले चिन्ता व्यक्त गरे । रोयटर्स
अमेरिका र चीनको प्रतिस्पर्धा
माघ १७, वाशिङ्टन (अमेरिका) । अमेरिकाका कारखानाहरू बन्द भइरहेका छन् । अमेरिकी म्यानुफ्याक्चरिङ रोजगार समुद्रपार सृजना भइरहेका छन् । चीनको औद्योगिक शक्ति वर्षेनि बढिरहेको छ । यी तथ्यहरूबाट अमेरिकामा राम्रो गुणस्तरको सामान बन्न छाडिसके भन्ने लाग्न सक्छ । तर, अमेरिका अझै पनि विश्वको नम्बर १ म्यानुफ्याक्चरिङ देश हो । उसले म्यानुक्याचरिङ क्षेत्रमा चीनले भन्दा ४० प्रतिशत बढी उत्पादन गर्दछ । अमेरिकी कारखानाहरूले थोरै कामदारबाट धेरै सामान उत्पादन गरेका छन् । अमेरिकी म्यानुफ्याक्चरिङ उद्योगको उत्कर्षका बेला मध्य १९७९ मा अमेरिकी कारखानाहरूको रोजगार सङ्ख्या १ करोड ९६ लाख पुगेको थियो । त्यसपछिको तीन दशकमा ६० लाखओटा कारखानाको रोजगार कटौती भइसकेको छ । तैपनि अमेरिकी उत्पादकहरू विश्वको प्रमुख उत्पादकमा गणना हुन्छ । त्यसको कारण हो, उनीहरूले आफ्नो उत्पादकत्वमा ठूलो वृद्धि हासिल गरेका छन् । दक्षता बढाएर उत्पादकत्वमा वृद्धि हासिल गरेपछि थोरै कामदार हुँदा पनि राम्रो उत्पादन हुन्छ । त्यसैले अमेरिका अझै पनि विश्वको नम्बर १ म्यानुफ्याक्चरिङ देश हुन सफल भएको हो । सन् २००८ मा विश्वव्यापी म्यानुफ्याक्चरिङ उत्पादनको १८ प्रतिशत अमेरिकाले ओगटेको थियो । तर, चीनले अमेरिकालाई पछयाउँदै छ । सन् १९९८ मा ६ प्रतिशतमा रहेको चीनको त्यस्तो तथ्याङ्क २००८ मा १५ प्रतिशतमा पुगेको थियो । एपी/रासस
मलेसियाको अर्थतन्त्रमा ७ प्रतिशतले वृद्धि
माघ १७, अबुधाबी (यूएइ) । मलेसियाको अर्थतन्त्र २०१० मा ७ प्रतिशतले बढेको त्यहाँका प्रधानमन्त्री नजिब रजाकले बताएका छन् । '२०१० को जनवरीदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा ८ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । त्यसैले २०१० को वर्षरिकै लागि ७ प्रतिशतको लक्ष्य हासिल हुने अपेक्षा छ,’ रजाकले आइतवार भने । आर्थिक वृद्धि कायम राख्न निजीक्षेत्रको नेतृत्व हुनैपर्ने रजाकको विचार छ । गत हप्ता मलेसियाको केन्द्रीय बैङ्कले लगातार तेस्रो पटक ब्याजदरलाई स्थिरमै कायम गरेको छ । त्यसका साथै घरेलु मागको विस्तारका साथै वैदेशिक मागमा समेत केही वृद्धि हुने भएकाले स्थिर वृद्धि हासिल हुने बैङ्कको पूर्वानुमान छ । मलेसियाले २०११ मा सोभरेन इस्लामिक बण्ड अर्थात् सुकोक विक्री गर्न सक्ने पनि रजाकले बताए । अन्तरराष्ट्रिय ऋण बजारमा २००२ पछि पहिलोपटक २०१०मा मलेसियाले १ अर्ब २५ करोड डलर मूल्यको पाँचवर्षो अन्तरराष्ट्रिय सुकोक जारी गरेको थियो । रोयर्टस
सिरियामा क्यासिनो स्थापना
माघ १७, दमास्कस (सिरिया) । सिरियामा ४० वर्षपछि पहिलोपटक क्यासिनो खोलिएको छ । क्यासिनो दमास्कस भनिने उक्त जुवाघरको स्थापनाबाट सिरियाले विस्तारै आफ्नो समाजवादी विगत छाडेर खुला बजार अपनाउँदै गएको सङ्केत मिलेको छ । आर्थिक असन्तोषले टयुनिशिया र इजिप्टलाई हल्लाइरहेको बेला सिरियाली राष्ट्रपति बसर असाद क्रमबद्ध परिवर्तनले त्यस्तो सङ्कट छल्न सक्ने अपेक्षा राखेका छन् ।तर, सिरियाको सत्ता धर्मनिरपेक्ष भए पनि त्यहाँका कट्टर मुस्लिमहरूले भने क्यासिनोको स्थापनालाई सहज रूपमा लिने छैनन् । 'जुवा खेल्नु ठूलो पाप हो । त्यसैले जुनसुकै कानूनी उपाय अपनाएर भए पनि जुवालाई निषेध गर्नुपर्छ,’ संसद् सदस्य तथा इस्लामिक अध्ययन केन्द्रका निर्देशक मोहम्मद हबासले भने । हबासको विचारमा क्यासिनो र लागू पदार्थ भनेको उस्तै उस्तै हुन् ।छिमेकी लेबनान वा टर्कीको जस्तो चमकदमक सिरियाको क्यासिनोमा छैन् । तर, त्यसबाट सिरियाको कठोर र बन्द देशको छवि मेटन सहयोग पुग्ने अधिकारीहरूले अपेक्षा गरेका छन् । साथै तेल धनी अरब राष्ट्रहरूबाट पर्यटक आकर्षा गर्नु पनि क्यासिनो स्थापनाको लक्ष्य रहेको छ । एएफपी/रासस