स्टेट बैङ्क अफ इण्डियाले ब्याजदर बढाउने
पुस १७, मुम्बई (भारत) । भारतको प्रमुख ऋणदाता राज्य नियन्त्रित स्टेट बैङ्क अफ इण्डियाले ऋण तथा निक्षेपमा ब्याजदर बढाउने भएको छ । जनवरी ३ देखि उक्त वृद्धि लागू हुने बैङ्कले शुक्रवार बताएको छ । उसले कर्जामा लिने ब्याजको आधार दरलाई पहिलेको ७ दशमलव ६० बाट बढाएर ८ प्रतिशतमा पुर्याउने भएको छ भने प्राइम दरलालाई १२ दशमलव ५० बाट बढाएर १२ दशमलव ७५ प्रतिशतमा पुर्याइएको छ । साथै बैङ्कले विभिन्न निक्षेपको ब्याजदरमा पनि ५० देखि १ सय आधार बिन्दुले वृद्धि गरिने बताएको छ । त्यसैगरी भारतको दोस्रो ठूलो ऋणदाता आईसीआईसीआई बैङ्कले पनि जनवरी ३ बाटै आधार दरमा ५० आधार बिन्दुले तथा प्राइम दरमा २५ आधार बिन्दुले बृद्धि गरिने शुक्रवार बताएको छ । रोयटर्स
इरान र भारतबीचको भुक्तानी विवाद यथावत्
पुस १७, नयाँदिल्ली/तेहरान । इरानले उसको भारतसँगको तेल भुक्तानीसम्बन्धी विवाद समाधान भएको शुक्रवार बताएको छ । यद्यपि भारतीय स्रोतहरूले भने समाधान अझै ननिस्किएको भन्दै वार्ता जारी रहने बताएका छन् । भुक्तानीको मुद्रामा परिवर्तन गरेपछि समाधान निस्किएको इरानको समाचार संस्था फार्सले जनाएको छ । यसबाट दुइ देशबीच प्रतिवर्ष१२ अर्ब डलरमा रहेको कच्चा तेलको व्यापार जोगिएको अपेक्षा उसले गरेको छ । भारतले इरानबाट प्रतिदिन ४ लाख ब्यारेल कच्चा तेल आयात गर्दछ । त्यस्तो आयातको भुक्तानी एशियन क्लियरिङ युनियनमार्फत हुने गर्दछ । इरान तथा दक्षिण एशियाली देशका केन्द्रीय बैङ्कहरूले सन् १९७० मा आपसी व्यापार गर्नुपर्ने भुक्तानीका लागि त्यस्तो व्यवस्था गरेका थिए ।
इरान तथा भारतको केन्द्रीय बैङ्कका पदाधिकारीहरूले शुक्रवार मुम्बईमा बैठक गरेका थिए । तेलको व्यापार कायम राख्न तथा नयाँदिल्लीलाई उसको ऊर्जा आवश्यकता तथा अन्तरराष्ट्रिय कूटनीतिक चासोबीच सन्तुलन कायम राख्न यो बैठक गरिएको थियो । तेलको व्यवसाय गर्न भुक्तानी मुद्रामा परिवर्तन गरेपछि समास्या समाधान भएको इरानी तेल उपमन्त्री अहमद खालेदीले बताए । रिजर्भ बैङ्क अफ इण्डिया (आरबीआई)ले लामो समयदेखि विद्यमान रहेको क्लियरिङ हाउस सिष्टमअन्तर्गत इरानबाट आयात गरिने तेलको भुक्तानी आगामी दिनहरूमा लागू नरहने भनेको थियो ।रोयटर्स