अमेरिकी प्रतिनिधिसभाद्वारा ऋणसीमा प्रस्ताव पारित
साउन १७, वाशिङटन (अमेरिका) । अमेरिकी प्रतिनिधिसभा 'हाउस अफ रिप्रिजेण्टेटिभ्स'ले ऋणसीमासम्बन्धी प्रस्ताव बहुमतले पारित गरेको छ । सरकारको प्रस्तावमा सहमति हुन नसक्दा लम्बिएको राजनीतिक गतिरोध अन्त्य गर्दै सोमवार सत्तारूढ र प्रतिपक्षी सांसदहरूले २ दशमलव १ ट्रिलियन डलरको ऋणसीमा योजनामा सहमति जनाएका थिए । सोमवार राति भएको मतदानमा प्रस्तावको पक्षमा २ सय ६९ र विपक्षमा १ सय ६१ मत परेको थियो । यसअघि राष्ट्रपति बाराक ओबामाले प्रस्तुत गरेको योजनामा भने सरकारले १४ दशमलव ३ ट्रिलियन डलरसम्म ऋण लिन सक्ने प्रस्ताव गरिएको थियो । रिपब्लिकनहरूसँग गरिएको सहमतिमा आगामी १० वर्षको अवधिसम्मका लागि खर्चहरूमा कटौती गर्दै जाने, नयाँ करहरूको घोषण नगर्ने, बजेट घाटा कम गर्न र सन् २०१३ पछि ऋणसीमा बढाउन एक शक्तिशाली संसदीय समिति गठन गर्नेजस्ता विषय समावेश छन् । एजेन्सी
कोरियाद्वारा १ अर्ब अमेरिकी डलरको सुन खरीद
साउन १७, सोल (दक्षिण कोरिया) । विश्व अर्थतन्त्रको वृद्धिमा आएको सुस्ती र आन्तरिक ऋण समस्याका कारण विश्वभरका केन्द्रीय बैङ्कले विदेशी मुद्रा सञ्चितिमा विविधता र विकल्प खोज्न थालेका छन् । केन्द्रीय बैङ्कहरू सुनजस्ता बहुमूल्य धातुको सञ्चिति बढाउन अग्रसर हुँदै गएको देखिएका छन् । यसैक्रममा दक्षिण कोरियाको बैङ्क अफ कोरिया (केन्द्रीय बैङ्क)ले मङ्गलवार १ अर्ब अमेरिकी डलरको सुन खरीद गरेको बताएको छ ।
बैङ्कले मङ्गलवार जारी गरेको विज्ञप्तिमा विगत २ महीनाको अवधिमा २५ टन सुन खरीद गरेको जानकारी दिएको छ । विज्ञप्तिमा उक्त खरीदपछि बैङ्कको सुन सञ्चिति बढेर ३९ दशमलव ४ टन पुगेको उल्लेख छ । एक दशक अवधिमा बैङ्कले यो सुन खरीद पहिलो हो । नाम उल्लेख नगर्ने शर्तमा बैङ्कका एक उच्च अधिकारीले विश्व अर्थतन्त्रमा आएको समस्याका कारण डलर र यूरोजस्ता मुद्राको प्रभाव कम हुँदै जाँदा सुनलाई सुरक्षित लगानी र सञ्चितिका रूपमा हेरिएको बताएका छन् । खरीदको समाचार आएपछि गत शुक्रवार अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य तीव्र वृद्धि भएको थियो । गत शुक्रवार सुनको मूल्य १ हजार ६ सय ३२ दशमलव ३० अमेरिकी डलर प्रतिऔंस कायम भएको थियो । तर, दक्षिण कोरियाको उक्त सञ्चिति अन्य प्रमुख एशियाली राष्ट्रको भन्दा निकै थोरै रहेको छ । वर्ल्ड गोल्ड काउन्सिलले दिएको तथ्याङ्कअनुसार एशियामा १ हजार ५४ टनसहित चीनमा सबैभन्दा धेरै सुन सञ्चिति रहेको छ । त्यसैगरी जापानमा ७ सय ५६ र भारतमा ५ सय ५७ टन सुन सञ्चिति रहेको छ । एजेन्सी
बलियो जापानी येनमाथि सरकारी हस्तक्षेपको सम्भावना
साउन १७, टोकियो (जापान) । जापानी मुद्रा येन हालसम्मकै बलियो हुन लागेकाले जापान सरकारले मुद्रा बजारमा हस्तक्षेप गर्ने सम्भावना बढेको छ । मार्चको भूकम्पपछि प्राप्त हुन लागेको आर्थिक पुनर्बहालीलाई बलियो मुद्राले जोखिममा पार्ने सम्भावना बढेकाले सरकारी हस्तक्षेपको अपेक्षा गरिएको हो । अमेरिकाको कमजोर आर्थिक परिदृश्यका कारण डलरको मूल्य झरेर सोमवार झण्डै ७६ दशमलव २९ येन पुगेको थियो । गत मार्च ११ पछिको भूकम्प र सुनामीपश्चात् डलरको भाउ दोस्रो विश्वयुद्धपछिकै न्यून ७६ दशमलव २५ हुन पुगेको थियो ।
बलियो येनका कारण जापानी कम्पनीको मुनाफा कमजोर हुनुका साथै पुनर्बहाली गर्न खोजिरहेको अर्थतन्त्रमै धक्का लागेको पछिल्ला प्रतिवेदनले देखाएका छन् । सरकारले मुद्रा बजारमा हस्तक्षेप गर्छ कि भन्ने प्रश्नमा जापानी अर्थमन्त्री योशिहिको नोदाले भने कुनै टिप्पणी गर्न चाहेनन् ।तर, येन बलियो हुँदै गइरहेको तर्फभने नोदाले चिन्ता व्यक्त गरे । साथै, येन बलियो हुने क्रमलाई नियन्त्रण नगरे जापानी कम्पनीहरूलाई अप्ठयारो पर्ने कुरा नोदाले स्वीकार गरेका छन् । एपी/रासस
दोस्रो चौमासिकमा टोयोटाको घाटा ९९ प्रतिशत
साउन १७, टोकियो (जापान) । विश्वको सबैभन्दा ठूलो मोटर निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले दोस्रो चौमासिकमा ठूलो घाटा बेहोरेको छ । कम्पनीले मङ्गलवार प्रकाशित गरेको दोस्रो चौमासिक हिसाब प्रतिवेदनमा १ दशमलव ४ अर्ब अमेरिकी डलर घाटा भएको बताइएको छ । अघिल्लो वर्षको यही अवधिमा टोयोटाले २ दशमलव ७३ अर्ब डलर नाफा गरेको थियो । सन् २०११ मार्चमा गएको भूकम्प, सुनामी र फुकुसिमा आणविक दुर्घटनाका कारण उत्पादन र विक्रीमा परेको प्रतिकूल प्रभावले घाटा बेहोर्न बाध्य भएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले बेहोरेको यो घाटा २ वर्षको अवधिमा पहिलो भएको बताइएको छ । अवस्थामा सुधार भइरहेकाले सन् २०१२ मार्चसम्म टोयोटाले ५ दशमलव ८१ अर्ब डलर आम्दानी गर्ने पूर्वानुमान पनि प्रतिवेदनमा गरिएको छ । तर, उक्त पूर्वानुमानमा चीनमा हुने विक्रीलाई समावेश गरिएको छैन । स्वतन्त्र विश्लेषकहरूले भने टोयोटाले आगामी वर्षको मार्चसम्म ६ दशमलव ८४ अर्ब डलर आर्जन गर्ने अनुमान गरेका छन् । एजेन्सी
अमेरिकी शेयरबजार ओर्लियो
साउन १७, न्यूयोर्क (अमेरिका) । अमेरिकी अर्थतन्त्रमा कर्पोरेट आम्दानी अझै कमजोर रहेको प्रतिवेदन सार्वजनिक भएपछि शेयर बजार खस्केको छ । एस एण्ड पी इण्डेक्स १ दशमलव २ प्रतिशतले ओर्लेर १ हजार २ सय ७१, डाओ जोन्स शून्य दशमलव ९ प्रतिशतले ओर्लेर १२ हजार २१ मा रहेका छन् । त्यसैगरी, नास्दाक शून्य दशमलव ९ प्रतिशतले ओर्लेर २ हजार ७ सय १९ मा रहेको छ । जुन महीनाको उपभोक्ता खर्चमा २ वर्षयताकै ठूलो कमी आएको वाणिज्य मन्त्रालयले बताएको थियो । एपी/रासस
च्यारिटीहरूलाई दिइने सहयोगमा कटौती
साउन १७, (बेलायत) । बेलायतमा गरिएको एक अध्ययनले विभिन्न च्यारिटी र परोपकारी सङ्गठनहरूलाई दिइने आर्थिक सहयोगमा भारी कटौती भएको देखाएको छ । अध्ययनमा विभिन्न परोपकारी र सामाजीक सङ्गठनहरूलाई स्थानीय निकायबाट गरिँदै आएको कम्तीमा १ सय १० करोड पाउण्डको सहयोग रोकिएछि कतिपय बन्द हुने अवस्थामा पुगेको बताइएको छ । बेलायतमा सामाजिक क्षेत्रमा खर्चकटौतीको विरोध गरिरहेको 'फल्स इकोनोमी' नामक वेबसाइटले गरेको अध्ययनमा यस्तो देखिएको हो । वेबसाइटका अनुसार खर्च कटौतीबाट बेलायतभरका २ हजार च्यारिटी र सामुदायिक समूहहरू अप्ठ्यारोमा परेका छन् । यस्ता समूहहरूमध्ये अधिकांश बालबालिका, वृद्ध/वृद्धा, अपाङ्गलगायतका लक्षित वर्गमा कार्यक्रम चलाउने भएको र खर्च कटौतीबाट लक्षित वर्ग प्रत्यक्ष प्रभावित हुने वेबसाइटले बताएको छ । साथै वेश्यावृत्ति , मानव ओसारपसार र लागूऔषधजस्ता समस्याहरूविरुद्ध काम गरिरहेकाहरूको कार्यक्रम पनि बीचैमा अलपत्र पर्ने सम्भावना बढ्दै गएको 'फल्स इकोनोमी'ले उल्लेख गरेको छ ।
एएफपी/रासस
अम्बानीको घरमाथि छानबिन
साउन १७ । भारतका सर्वाधिक धनाढ्य व्यक्ति मुकेश अम्बानीमाथि २७ तले विलासी घर बनाएबापत छानबिन गरिने भएको छ । अम्बानीको उक्त घर विश्वकै महँगा निजी निवासमध्ये पर्दछ । त्यसैगरी फोर्ब्स पत्रिकाका अनुसार रिलायन्स उद्योगसमूहका अध्यक्ष अम्बानी विश्वकै नवौं धनी व्यक्ति हुन् । गतवर्षदेखि अम्बानीले बसोबास थालेका उक्त घरको उचाइ ५ सय ७० फुट अर्थात् १ सय ७४ मिटर रहेको छ ।
अम्बानीको घर रहेको जग्गा विक्रीका बेला भएको अनियमितताबारे छानबिन गर्न महाराष्ट्र सरकारले केन्द्रीय छानबिन निकायलाई जिम्मा दिनेबारे सोचिरहेको सञ्चारमाध्यमले बताएका छन् ।दक्षिण मुम्बईको अल्टामाउण्ट रोडस्थित उनको घरमा पार्किङ, स्वीमिङ पूल, बलरूम, सिनेमा र तीनओटा हेलिप्याडका लागि छुट्टाछुट्टै तला रहेका छन् । तर, उक्त घर बनेको जग्गा शुरूमा मुश्लिम केटाकेटीहरूका लागि शिक्षालय बनाउन छुट्टयाएको महाराष्ट्रका अल्पसङ्ख्यक मामिला तथा वाक्फमन्त्री मोहम्मद आरिफ नसीम खानले बताए ।धार्मिक र कल्याणकारी कार्यलाई छुट्टयाइएको जग्गालाई इस्लामिक कानूनअनुसार वाक्फ भनिने गरिन्छ । उक्त जग्गा सन् २००२ मा अम्बानीलाई करिमभाइ इब्राहिम खोजा अनाथ ट्रष्टले २१ करोड ५० लाख भारूमा बेचेको मन्त्रीले जानकारी दिए । एएफपी/रासस
अमेरिका विश्व अर्थतन्त्रका लागि परजीवी : पुटिन
साउन १७, लेक सेलिगर (रसिया) । रसियाली प्रधानमन्त्री भ्लादिमीर पुटिनले संयुक्त राज्य अमेरिका विश्व अर्थतन्त्रको परजीवी भएको आरोप लगाएका छन् । रसियाको लेक सेलिगरमा सोमवार आयोजित क्रेमलिन समर्थक युवाहरूसँगको भेटघाटमा पुटिनले यस्तो आरोप लगाएका हुन् । अमेरिकाले आफ्नो अर्थतन्त्रमा आएका जटिलता विश्व अर्थतन्त्रमा सारिरहेको र अमेरिकी मुद्रा डलरको आधिपत्यले समस्या झन् थपिँदै गएको उनको कथन थियो । तर, पुटिनले अमेरिकी काङ्गे्रसमा ऋणसीमाबारे भएको सहमतिको भने व्यङ्ग्यात्मक रूपमा समर्थन गरे । उनले उक्त सहमतिका लागि भगवान्लाई धन्यवाद दिँदै अमेरिकीहरूमा सन्तुलित निर्णय गर्ने व्यावहारिक सोच रहेको बताएका थिए ।साथै उनले रसिया र चीनजस्ता राष्ट्रले अमेरिकी मुद्रा डलर ठूलो परिमाणमा सञ्चित गरेकाले त्यसको सुरक्षामा जोड दिँदै अन्य मुद्रा पनि सञ्चय गरिनुपर्ने धारण राखेका थिए । एजेन्सी
क्यानेडियन सोलरको भारतमा लगानी
असार १७ । क्यानाडेली सोलार प्यानल निर्माता क्यानेडियन सोलार इङ्कले भारतीय कम्पनी साइरस सोलार सिष्टम्स प्राइभेट लिमिटेडलाई ३३ मेगावाटको सोलार मोड्युल आपूर्ति गर्नेबारे सम्झौता गरेको छ । हैदराबादस्थित कम्पनी साइरसले सौर्य ऊर्जा परियोजनाका लागि आवश्यक प्रविधि निर्माण गर्दछ । ती मोड्युल्सहरूलाई गुजरातस्थित सरकारी सौर्य पार्कमा प्रयोग गरिनेछ । यसैवर्षको डिसेम्बरमा उक्त पार्कको निर्माण सकिने योजना छ । क्यानेडियन सोलारले खासगरी चीनमा आफ्ना परियोजना सञ्चालन गरेको छ । एजेन्सी
'यूरोपियन टुर’ का खेलहरू बहराइनमा हुने सम्भावना कम
साउन १७, लण्डन (बेलायत) । सन् २०१२ मा हुने 'यूरोपियन टुर' गोल्फ प्रतियोगिताका बहराइनमा खेलिने खेलहरू रद्ध हुन सक्ने देखिएका छन् । यूरोपियन टुरअन्तर्गतको 'भोल्भो गोल्फ च्याम्पियन्स' प्रतियोगिताका केही खेलहरू बहराइनमा नखेलाइने सम्भावना बढेको आयोजक 'इण्टरनेशनल म्यानेजमेण्ट ग्रूप'ले जानकारी दिएको छ । आयोजकले बहराइनमा भइरहेका आन्दोलन र हिंसाका कारण रोयल गोल्फ क्लबमा खेलाइने स्पर्धाहरू अनिश्चित भएको बताएको छ । तर, इण्टरनेशनल म्यानेजमेण्ट ग्रूपले बहराइनको स्थिति समीक्षा गर्दै सन् २०११ जुलाई अन्त्यसम्ममा निर्णयलिइने पनि उल्लेख गरेको छ । एपी/रासस
फाइजरको औषधि विक्री घट्यो
असार १७, न्यूयोर्क (अमेरिका) । विश्वकै सबैभन्दा ठूलो औषधि निर्माता कम्पनी फाइजर इङ्कको विश्वव्यापी रूपमै विक्री घटेपछि उसको शेयर ३ दशमलव २ प्रतिशतले ओर्लेको छ । फाइजरको विश्वव्यापी फ्रेस्क्रिप्शन औषधि विक्री ३ प्रतिशतले ओर्लेर १४ अर्ब ६४ करोड डलरमा झरेको छ । त्यसैले कम्पनीले औषधीबाहेकको बढी नाफामूलक क्षेत्रमा लगानी मोड्न खोजेको छ ।प्राइमरी केयर, विशेषज्ञ केयर, ब्राण्डेड जेनरिक र क्यान्सरसँग सम्बन्धित औषधिको विक्री दोस्रो त्रैमासमा कमी आएको छ । तर, तीव्र वृद्धि गरिरहेका उदीयमान अर्थतन्त्रहरूमा भने उसको औषधि विक्री बढेको छ । एजेन्सी
तेलको मूल्य घट्यो
साउन १७ । अमेरिकाको ऋणसीमाबारेको अन्योलले अमेरिकी अर्थतन्त्रमा अनिश्चय देखिएपछि कच्चा तेलको मूल्य पनि ओर्लेको छ । यूरोपतर्फसेप्टेम्बरमा आपूर्ति गरिने कच्चा तेलको मूल्य मङ्गलवार दिउँसो ८० सेण्टले झरेर प्रतिब्यारेल ९४ दशमलव शून्य ९ डलरमा पुगेको छ । त्यसैगरी, लण्डनमा ब्रेण्ट क्रुडको मूल्य ४५ सेण्टले ओर्लेर प्रतिब्यारेल १ सय १६ दशमलव ३६ पुगेको छ । सोमवार भने अमेरिकी ऋणसीमाबारे सहमतिको खबरले तेलको मूल्य बढेको थियो । तर, अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्र अझै कमजोर रहेको प्रतिवेदन आएपछि तेलको मूल्य पनि झरेको हो । एपी/रासस
दक्षिण अफ्रिकामा द्रुत रेलवे सेवा प्रारम्भ
साउन १७ । दक्षिण अफ्रिकाको पहिलो द्रुत गतिको रेलले आर्थिक केन्द्र जोहानेसबर्गबाट राजधानी प्रिटोरियासम्म यात्रा गरेको छ । पहिलो दिनको यात्रामा अपेक्षाभन्दा थोरै यात्रु भए तापनि मानिसहरू बिहानीको चिसोमा पनि रेल हेर्न र चढन आएका थिए ।'गाउट्रेन’ नाम भएको उक्त ट्रेन अफ्रिकाको एक मात्र द्रुत गतिको ट्रेन हो । देशको कमजोर सार्वजनिक यातायातको क्षेत्रलाई ठूलो टेवा दिने अपेक्षा गरिएको उक्त द्रुत रेलवे ३ अर्ब ८० करोड डलरमा निर्माण गरिएको हो । गाउट्रेनको गति १ सय ६० किलोमिटर प्रतिघण्टा रहेको छ । साण्डटोनदेखि प्रिटोरियासम्म हाल कम्तीमा ४५ मिनेट लाग्ने गरेकोमा द्रुत रेलवेबाट सोही दूरी २७ मिनेटमा पार गर्न सकिनेछ । प्रतिदिन १ लाखभन्दा बढी यात्रुले ट्रेन यात्रा गर्ने स्थानीय अधिकारीहरूले अपेक्षा गरेका छन् । एजेन्सी
Admin 2011-08-03