शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

जापानमा विद्युत् समस्या सम्बोधनका लागि नौलो कार्यशैली

असार १८, योकोसुका (जापान) । निशान कम्पनीले उसको विद्युतीय कार लिफका साथै अन्य मोडल शनिवार सार्वजनिक गर्ने भएको छ । भूकम्प र सुनामीपछिको आणविक सङ्कटले विद्युत् आपूर्तिमा समस्या आएपछि आफूले पनि नयाँ मोडेलको विद्युत् गाडी निकालेको निशानले बताएको छ । मार्च ११ मा आएको भूकम्प र सुनामी पछि फुकुशिमा दाइची आणविक भट्टी दुर्घटनाग्रस्त भएपछि जापानमा 'सेत्सुदेन’ अर्थात् 'विद्युत् जोगाऊँ’ भन्ने नारा निकै लोकप्रिय भएको छ । जापान सरकारले पनि देशका प्रमुख कम्पनीहरूलाई १५ प्रतिशतले विद्युत् खपत घटाउन भनेको छ ।

विद्युत् समस्या सम्बोधनका लागि निशानलगायत जापानका अन्य गाडी कम्पनीले जुलाई, अगष्ट र सेप्टेम्बरका केही दिन सप्ताहान्तमा काम गरेर बिहीवार र शुक्रवार बिदा गर्नेभएका छन् । उत्पादनमा बाधा नपुर्याउन तथा देशको अर्थतन्त्रमा पुनर्बहाली ल्याउन त्यस्तो कार्यतालिका अपनाइएको निशानका एक उच्च अधिकारीले बताए । त्यसबाट विद्युत् खपतको उच्च माग अर्थात् पिक पावर नीडको अवस्थाका बेला विद्युत् वितरणको समस्या केही मात्रामा भए पनि सम्बोधन हुने अपेक्षा गरिएको छ ।    एपी/रासस

भारतको ग्रामीण भेगमा सौर्य ऊर्जाको आकर्षण

असार १८, नाडा (भारत) । भारतका ग्रामीण भेगका किसानहरूले तारबाट प्रसारण हुने जलविद्युत्को साटो सौर्य ऊर्जाबाट उत्पादित विद्युत् प्रयोग गर्न थालेका छन् । त्यतिमात्र नभई पहिले कहिल्यै बिजुली बत्ती नदेखेका कतिपय गाउँका बासिन्दा पनि सौर्यबत्तीको झलमल पाएकोमा दङ्ग छन् । भारतभरिका हजारौं घरले केन्द्रीय विद्युत् आपूर्ति प्रणालीको साटो साना कम्पनीबाट वितरित सौर्य ऊर्जा पाइरहेका छन् । अझै पनि भारतको ग्रामीण क्षेत्रका ४० प्रतिशत घरमा विद्युत् पुगेको छैन भने कृषिक्षेत्रका ३ करोड वाटरपम्प अनुदानप्राप्त डिजेलबाट सञ्चालित छन् । त्यसैले भारतको ग्रामीण क्षेत्रमा विकेन्द्रित सौर्य केन्द्रहरूको ठूलो सम्भावना रहेको परामर्शदाता कम्पनी केपीएमजीका सन्तोष कामथले बताए ।

दशकौंसम्म तीव्र आर्थिक वृद्धि हासिल भए तापनि कम्तीमा अझै पनि जनसङ्ख्याको एक चौथाइ अर्थात् ३० करोड भारतीयका घरमा बिजुली छैन । कतिपयले अझै पनि गोबरबाट निर्मित गुइँठालाई नै इन्धनको स्रोतका रूपमा उपयोग गरिरहेका छन् । त्यसैगरी, धेरैजसो निम्न आय र ग्रामीण भेगका मानिस पनि आयातित मट्टीतेलमा नै निर्भर छन् । त्यसैले जलवायु चिन्ताका कारण नभई सौर्य ऊर्जाले नै आफ्ना आवश्यकता पूर्ति हुने देखेर ग्रामीण भेगका मानिसहरू सौर्य ऊर्जाप्रति आकर्षित भएका हुन् । एपी/रासस

बेयरद्वारा किसानलाई क्षतिपूर्ति

असार १८, लिटल रक (अमेरिका) । जर्मनीको कृषिक्षेत्रको विशाल कम्पनी बेयरक्रप साइन्स अमेरिकी किसानहरूलाई ७५ करोड डलरको क्षतिपूर्ति दिन सहमत भएको छ । उक्त रकम जैविक रूपले परिष्कृत बालीको इतिहासकै सबैभन्दा ठूलो क्षतिपूर्तिका रूपमा हेरिएको छ । बेयरले जैविक रूपले परिष्कृत गरेको तर अझै स्वीकृत नभइसकेको चामलको एक प्रकारले खाद्यप्रणालीलाई नै दूषित बनाएको आरोपमा उक्त कम्पनीमाथि मुद्दा हालिएको थियो ।  बेयरले २००६ मै आफूले अनुसन्धान गरिरहेको वंशाणुगत रूपमा परिष्कृत धानबाट उत्पादित चामलले अमेरिकी खाद्य प्रणालीमा पाइएको स्वीकार गरेको थियो । त्यसबाट मानवीय स्वास्थ्य कुनै समस्या नदेखिए तापनि बालीको मूल्यमा नोक्सान पुगेको आरोपमा मुद्दा हालिएको थियो ।

अमेरिकाका आर्कन्सस, लुइजिआना, मिसिसिपी, मिसाउरी र टेक्ससलगायत राज्यले बेयरमाथि क्षतिपूर्तिका लागि मुद्दा हालेका थिए । कुल अमेरिकी उत्पादनमध्ये झण्डै आधाजति अर्कान्सस राज्यले मात्र उत्पादन गर्छ । शुक्रवार भएको सहमतिअनुसार २००६ देखि २०१० सम्म लाम्चो आकारको चामल फलाउने सबै अमेरिकी किसानले क्षतिपूर्ति पाउनेछन् । बेयरले जिम्मेवारीपूर्वक नै काम गरेको भए तापनि कम्पनीको आधारभूत लक्ष्यलाई ध्यानमा राख्दै क्षतिपूर्ति दिन कम्पनी सहमत भएको बेयरका प्रवक्ता ग्रेग कफीले बताए ।                एपी/रासस

कहान मुद्दा नयाँ मोडमा

असार १८, न्यूयोर्क (अमेरिका) । यौन दुराचार अभियोग लागेका आईएमएफ पूर्वप्रमुख डोमिनिक स्ट्राउस काहानको मुद्दामा नयाँ मोड देखिएको छ । अभियोग छानबिन गरिरहेका अभियोक्ताहरूले काहानद्वारा बलात्कार गरिएको भनिएकी होटल कामदारले झूट बोलेको पाइएको बताएका छन् । कथित यौन हमलापछि ती कामदार काहान बसेको कोठाबाट नभागेर अर्को कोठा सफा गर्न गएको र फेरि काहानकै कोठा सफा गर्न फर्किएको पाइएको उनीहरूले बताएका छन् ।त्यस्तै, उनले ७ वर्षअघि अमेरिकामा बसोबास पाउन झूट बोलेको र आफ्नो आम्दानीका बारेमा गलत जानकारी दिएर करछली गरेको पनि छानबिनको क्रममा देखिएको बताइएको छ । ती कामदारले आफ्ना केही बयान फेरेको पनि उनीहरूले जानकारी दिएका छन् । महिला कामदारको बयानमा सत्यता नभेटिएपछि अदालतले काहानलाई शुक्रवार नजरबन्दबाट मुक्त गरेको थियो । मुद्दामा तारेख खेपिरहेका काहानलाई अमेरिका छाड्न भने अदालतले अनुमति दिएको छैन ।
एपी/रासस

युक्रेनमा भ्रष्टाचारीमाथि कडा कारबाही

असार १८, किएभ (युक्रेन) । युक्रेनका राष्ट्रपति भिक्टर यानुकोविचले भ्रष्टाचार गर्ने कर्मचारीमाथि अत्यन्त कडा कारबाही गरिने चेतावनी दिएका छन् । भ्रष्ट कर्मचारीलाई जिउँदै गाड्ने र टाउको काट्नेजस्ता भयानक चेतावनीसमेत उनले दिएका छन् ।

यानुकोभिचले भ्रष्टाचारविरुद्ध

निर्ममतापूर्वक लड्ने वाचा गर्दै आएका छन् । १९९७ देखि २००२ सम्म देशको पूर्वीक्षेत्र दोनेत्स्कका गभर्नरसमेत रहिसकेका यानुकोभिचले युक्रेनमा भ्रष्टाचार संस्थागत भइसकेको स्वीकार गरेका छन् ।व्यापारिक समुदायले पनि देशको आर्थिक विकासका लागि भ्रष्टाचार प्रमुख बाधा रहेको गुनासो गर्दै आएका छन् । कतिपय व्यापारीले त २०१० मा यानुकोविच राष्ट्रपतिमा निर्वाचित भएपछि अवस्था झन् खराब भएको बताएका छन् ।

निर्वाचित भएपछि यानुकोविचले पूर्वप्रशासनका थुप्रै अधिकारीमाथि कानूनी कारबाही चलाइसकेका छन् । तीमध्ये धेरैजसो विपक्षी दलमा छन् र यानुकोविचले राजनीतिक पूर्वाग्रह राखेको आरोप लगाएका छन् । गत हप्ता पनि युक्रेनका पूर्वप्रधानमन्त्री युलिआ टाइमोशेन्कोमाथि अख्तियार दुरुपयोगको आरोपमा मुद्दा चलाइएको थियो । युलिआले भने त्यस्तो मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित नाटक र सकसमात्र रहेको भन्दै निन्दा गरेकी थिइन् । अमेरिका र यूरोपियन युनियनले पनि उनीमाथिको मुद्दामा असहमति जनाउँदै आएका छन् । एएफपी/रासस

लोयड्स बैङ्कका १५ हजार कर्मचारी हटाइँदै

असार १८, लण्डन (बेलायत) । बेलायतको लोयड्स बैङ्कका नयाँ कार्यकारी प्रमुखले बैङ्कमा कार्यरत १५ हजार कर्मचारी हटाउने बताएका छन् । नयाँ कार्यकारी प्रमुख एण्टोनियो होर्टा ओशोरियोले बैङ्कको वर्तमान अवस्थामा सुधार ल्याउन सो योजना ल्याइएको जानकारी दिएका छन् । बैङ्कले बिहीवार जारी गरेको वक्तव्यमा यसबाट बैङ्कमा सन् २०१४ सम्ममा वार्षिक डेढ अर्ब पाउण्ड बचत हुने र त्यसले थप २ अर्ब लगानी गर्न सहयोग पुग्ने उल्लेख छ । साथै, बैङ्कले हाल ३० देशमा रहेको अन्तरराष्ट्रिय कारोबार १५ मा झार्ने पनि बताएको छ । आफ्ना योजनाले बैङ्कका गतीविधिलाई चुस्त र थप जिम्मेवार बनाउने ओशोरियोले बताएका छन् । उनले बैङ्क सुधार योजनाबाट ग्राहकहरूले राम्रो सेवा र शेयर होल्डरहरूले स्थायी प्रतिफल पाउने प्रतिक्रिया दिएका छन् । विज्ञप्तिमा लोयड्सले 'बैङ्कान्सुरेन्स' आफ्नो कामको केन्द्रीय भाग रहिरहने र छिट्टै लाभांश वितरण गर्ने कार्य शुरू गरिने बताएको छ ।बैङ्कको सहायक संस्थाको रूपमा बैङ्किङ  र इन्सुरेन्स कम्पनी 'एचबीओएस' रहेको छ । लोयड्स बैङ्कलाई आर्थिक मन्दी शुरू भएपछि सन् २००९ मा बेलायती सरकारले आंशिक राष्ट्रियकरण गरेको थियो । त्यहाँ सरकारको लगानी ४१ प्रतिशत रहेको छ । विश्वभर लोयड्सका ३ करोड ग्राहक छन् ।          एजेन्सी

यूरोजोनले ग्रीसलाई ८ दशमलव ७ अर्ब यूरो दिने

असार १८, ब्रसेल्स (बेल्जियम) । ऋणसङ्कट समाधान गर्न यूरोजोनले ग्रीसलाई सहायता प्रदान गर्ने भएको छ । यूरोजोनमा सम्मिलित १७ देशका अर्थमन्त्रीको शनिवारको बैठकबाट ग्रीसलाई पहिलो किस्तामा ८ दशमलव ७ अर्ब यूरो प्रदान गर्न लागिएको हो । ग्रीसलाई प्रदान गरिने १२ अर्ब यूरोमध्ये बाँकी ३ दशमलव ३ अर्ब यूरोचाँहि अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) को अर्को हप्ता बस्ने बैठकबाट स्वीकृत हुने अपेक्षा गरिएको छ । यो रकम उपलब्ध नभएमा केही दिनभित्रै ग्रीस टाट पल्टने अनुमान गरिएको थियो ।

व्यापक विवादबीच ग्रीसको संसद्ले गत हप्ता सार्वजनिक खर्च कटौतीबारे निर्णय गरेको थियो । यूरोपियन केन्द्रीय बङै्कले ग्रीसको ऋणसङ्कटबाट समग्र यूरोजोनकै आर्थिक व्यवस्थामा असर पर्ने बताउँदै आएको थियो । तर, प्रदान गर्न लागिएको पछिल्लो सहयोग मात्रैले ग्रीसको ऋणसङ्कट समाधान हुनेमा धेरै अर्थशास्त्रीले शङ्का व्यक्त गरेका छन् । ग्रीसले भने आफ्नो समग्र अर्थ व्यवस्थालाई सही मार्गमा ल्याउन १ सय १० अर्ब यूरो सहायता मागेको थियो । हाल ग्रीसको कुल गार्हस्थ्य उत्पादनभन्दा ऋणको अनुपात १ सय ६० प्रतिशतले बढी छ । एपी/रासस    

विम्बल्डन २०११ महिला उपाधि क्वितोभालाई

असार १८, लण्डन (बेलायत) । चेक खेलाडी पेत्रा क्वितोभाले विम्बल्डन टेनिस च्याम्पियनशिपको महिलातर्फो उपाधि जितेकी छन् ।शनिवार भएको फाइनल खेलमा उनले २००४ की च्याम्पियन रूसकी मारिया सारापोभालाई ६-३ र ६-४ ले हराइन् ।आइतवार पुरुषतर्फको फाइनल खेलमा स्पेनका राफेल नाडालबाट उपाधि खोस्न सर्बियाका नोभाक जोकोभिकले प्रयास गर्नेछन् । शुक्रवार भएको सेमिफाइनलमा नाडालले बेलायतका एण्डी मुरेलाई ५-७, ६-२, ६-२ र ६-४ ले हराए भने जोकोभिकले फ्रान्सका जो-विल्फ्रेड सोङ्गालाई ७-६ (४), ६-२,  ६-७ (९) र  ६-३ ले हराए ।फाइनलमा हारे भने पनि जोकोभिकले सेमिफाइनल विजयसँगै नाडालबाट विश्व नं. १ को स्थान खोसिसकेका छन् ।         एजेन्सी

Admin 2011-07-03