शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पाकिस्तानमा तेलको मूल्यवृद्धि

वैशाख १८, इस्लामावाद (पाकिस्तान) । पाकिस्तानले तेलको मूल्यमा १२ प्रतिशतसम्म वृद्धि गरेको छ । अन्तराष्ट्रिय रूपमै कच्चा तेलको मूल्य बढेकाले तेलको मूल्य बढाउनुपरेको पाकिस्तानको तेल र ग्यास नियामक निकाय (आयल एण्ड ग्यास रेगुलेटरी अथोरिटी, ओग्रा)ले बताएको छ । तेलको मूल्य बढाएपछि पहिलेदेखि नै कमजोर रहेको पाकिस्तानी सरकारले थप समस्या सामना गर्नुपर्ने देखिएको छ ।राष्ट्रपति आसिफ अलि जर्दारी नेतृत्वको गठबन्धन सरकारले गत मार्चमा पेट्रोलियम पदार्थको मूल्य आधाले कटौती गरेको थियो । जनवरीमा तेलको मूल्य बढाउँदा गठबन्धनमध्येको एउटा दलले विरोधस्वरूप सरकार नै छाडेकाले मार्चमा तेलको मूल्य आधा गरिएको थियो । हालको मूल्यवृद्धिको भने लगभग सबै राजनीतिक दलहरूले विरोध गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

आइतवारदेखि लागू भएको हालको मूल्यवृद्धिअनुसार, पेट्रोलको मूल्यमा ५ दशमलव ८० प्रतिशतले वृद्धि भएर प्रतिलिटर १ दशमलव शून्य ४ डलर पुगेको छ । त्यसैगरी, लाइट स्पीड डिजेलको मूल्य ११ दशमलव ८ प्रतिशतले बढेर प्रतिलिटर १ दशमलव शून्य ४ डलर पुगेको छ ।मार्चमा पाकिस्तानको उपभोक्ता मूल्य परिसूचक गतवर्षको मार्चमा भन्दा १३ दशमलव १६ प्रतिशतले बढेको छ । तेलको मूल्यमा हाल भएको मूल्यवृद्धिले उक्त परिसूचक अझै बढ्ने सम्भावना छ । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले पाकिस्तानलाई तेल र ऊर्जा क्षेत्रमा दिँदै आएको सबै अनुदान कटौती गर्न दबाब दिएको छ । त्यस्तो अनुदान कटौती गरेर पाकिस्तानले विद्युत् उत्पादनका लागि स्रोत जुटाउनुपर्ने आईएमएफको तर्क छ । रोयटर्स   

दोहा बैठक असफलताको सङ्घारमाः लामी

वैशाख १८, जेनेभा (स्वीट्जरल्याण्ड) । विश्व व्यापार सङ्घ (डब्ल्यूटीओ) प्रमुख पास्कल लामीले स्वतन्त्र व्यापार विस्तारप्रति लक्षित अन्तरराष्ट्रिय वार्ता 'दोहा बैठक' भङ्ग हुने अवस्थामा पुगिसकेको चेतावनी दिएका छन् । दोहा बैठक भङ्ग भएमा त्यसबाट डब्ल्यूटीओलाई समेत चुनौती आउने विशेषज्ञहरूको आशङ्का छ । दोहा बैठक असफलतातर्फलम्किएको चेतावनी लामीले यस वर्षको शुरूदेखि नै पटकपटक दोहोर्‍याउँदै आएका थिए ।दश वर्षदेखि अवरूद्ध दोहा बैठक पुनः सुचारू गर्न मध्यस्थकर्ताहरूले पछिल्ला दिनहरूमा छलफल तीव्र पारेका थिए । तर, गैरकृषिजन्य वस्तुको बजार पहुँच (नन एग्रिकल्चरल मार्केट एक्सेस)सम्बन्धी मतभेदले अवरोध कायमै रहेको लामीले बताए ।

'प्रमुख खेलाडीहरूबीच रहेको विशाल मतभेदले दोहा बैठक असफलताको सङ्घारमै पुगिसकेको छ,’ लामीले भने । डब्ल्यूटीओका १ सय ५३ सदस्य देशबीच विश्वव्यापीकरण, संरक्षणवाद र आर्थिक सङ्कटसम्बन्धी मतभेदले दोहा बैठक अवरूद्ध भएको भनिँदै आएको छ । तर, आधारभूत विषयले नै दोहा बैठकको हलो अड्किएको लामीले जानकारी दिएका छन् । लामीका अनुसार, वर्तमान अवरोधको प्रमुख कारण परम्परागत व्यापारिक मुद्दा अर्थात् औद्योगिक उत्पादनमा करबारेको मतभेद रहेको छ । एएफपी/रासस

सोनीद्वारा सूचना चोरीप्रति क्षमायाचना

वैशाख १८, टोकियो (जापान) । सोनीले आइतवार अनलाइन एकाउण्टको सुरक्षासम्बन्धी सूचना चोरी भएको घटनाप्रति क्षमायाचना गरेको छ । सोनीको प्लेस्टेशन नेटवर्क र क्युरियोसिटी अनलाइन सेवामा भएको त्यस्तो चोरीबाट ७ करोड ७० लाख एकाउण्ट प्रभावित भएका छन् । त्यसबाट लाखौं क्रेडिट कार्ड प्रयोगकर्ताहरूको सूचना चोरिएको हुन सक्ने भन्दै सोनीले माफी मागेको हो ।

'हाम्रो नेटवर्कविरूद्ध गरिएको यस्तो आपराधिक कार्यले हाम्रा उपभोक्तालाई मात्र नभई सम्पूर्ण उद्योगलाई नै गम्भीर असर गरेको छ,’ सोनीका उपाध्यक्ष काजुओ हिराइले भने । साथै उक्त अवैध आक्रमणबाट बृहत् साइबर सुरक्षाकै समस्या  उजागर भएको हिराइले बताए । २००६ मा स्थापना गरिएको प्लेस्टेशन नेटवर्क सिष्टमबाट कम्प्युटर गेम खेल्नेहरूले अनलाइनमार्फत एक अर्कासँग प्रतिस्पर्धा गर्नेलगायतका सुविधा पाएका थिए । त्यसैगरी क्युरिओसिटी प्रणालीमार्फत अनलाइनबाट सङ्गीत, फिल्म आदि क्षेत्रमा विभिन्न क्रियाकलाप गर्न सकिन्छ । एएफपी/रासस

भारतको विदेशी मुद्रा सञ्चिति बढयो

वैशाख १८, मुम्बई (भारत) । भारतको विदेशी मुद्रा सञ्चिति अप्रिल २२ मा अघिल्लो हप्ताको ३ खर्ब ७ अर्ब ९१ करोड ७० लाख डलरबाट बढेर ३ खर्ब ९ अर्ब ७० करोड ५० लाख डलर पुगेको छ । भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डियाले शुक्रवार प्रकाशित गरेको साप्ताहिक तथ्याङ्कमा उक्त जानकारी दिइएको हो ।विदेशी मुद्रा सञ्चितिमा हुने परिवर्तनलाई डलरको आधारमा मापन गरिन्छ । त्यसरी हुने परिवर्तनमा सञ्चितिमा राखिएका अन्य मुद्राहरू जस्तै यूरो, स्र्टर्लिङ पाउण्ड र येनमा हुने वृद्धि र अवमूल्यनसमेत समावेश गरिने आरबीआईले बताएको छ । केन्द्रीय बैङ्कका अनुसार उक्त विदेशी मुद्रा सञ्चितिको तथ्याङ्कमा भारतले अन्तरराष्ट्रिय मुद्रा कोषमा राखेको सञ्चिति रिजर्भ ट्राञ्च पनि समाविष्ट छ ।                        रोयटर्स

जर्मनी, अष्ट्रिया र स्वीट्जरल्याण्डद्वारा कामदार प्रतिबन्ध फुकुवा

वैशाख १८, बर्लिन (जर्मनी) । यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले यूरोपियन युनियनका पूवकम्युनिष्ट देशका कामदारमाथिको प्रतिबन्धलाई हटाएको छ । अब, आठ पूर्वी यूरोपेली देशबाट प्रत्येक वर्षकम्तीमा १ लाख मानिस रोजगारको खोजीमा जर्मनी आउने श्रम मन्त्री उसुला भोन डर लेयेनले बताइन् । त्यसरी आएका श्रमिकका लागि न्यूनतम ज्यालाको प्रत्याभूति गर्न तिनका कार्यक्षेत्रमा सरकारले अनुगमन बढाउने प्रतिबद्धता पनि मन्त्रीले गरिन् । तर, त्यसरी कामको खोजीमा जर्मनी आउने कामदारले जर्मनीको राज्यकोषको सुविधामा बोझ पनि बन्न नहुने लेयेनले स्पष्ट गरेकी छन् ।

जर्मनी र अष्ट्रियालगायतईयूमा आबद्ध नरहेको स्वीट्जरल्याण्डले पनि आफ्ना श्रम बजार पोल्याण्ड, चेक गणतन्त्र, हङ्गरी, स्लोभेनिया, इस्टोनिया, लिथुआनिया र लात्भियाका नागरिकका लागि खुला गरेका छन् । ती पूर्व कम्युनिष्ट पूर्वी यूरोपेली देशहरूले २००४ मा यूरोपियन युनियनमा प्रवेश गरेका थिए । तर, यूरोपियन युनियनका जर्मनी र अष्ट्रियाले सात वर्षसम्मको लागि आफ्नो श्रम बजारमा ती पूर्वी यूरोपेली देशका नागरिकको पहुँचमा प्रतिबन्ध लगाएका थिए । आफ्नो अर्थतन्त्रमा व्यापक विस्तार भइरहेको बेला मे १ को अवसर पारेर प्रतिबन्ध खुला गरिएको हो । एएफपी/रासस

अमेरिकी पूँजीपतिहरूको चीन मोह

वैशाख १८, न्यूयोर्क (अमेरिका) । चिनियाँ अर्थतन्त्र २०१६ सम्ममा अमेरिकी अर्थतन्त्रभन्दा पनि ठूलो हुने बारे अमेरिकी सञ्चारक्षेत्रमा व्यापक चर्चा चलेको छ । अन्तरराष्ट्रिय मुद्राकोषको पछिल्लो प्रतिवेदनपछि अमेरिकामा त्यस्तो चर्चा व्यापक हुन पुगेको हो । तर, त्यो खासै नयाँ कुरा भने होइन । चीनको विशाल आकार र उसको अर्थतन्त्रको वृद्धिदर हेर्दा चीनले एक दिन अमेरिकालाई उछिन्ने कुरा सामान्य हिसाबबाट पनि निष्कर्षनिकाल्न सकिन्छ । प्रश्न यति मात्र हो कि त्यो दिन ठयाक्कै कहिले हुनेछ ।

अमेरिकी पुँजीपतिहरूको कम्युनिष्ट चीन प्रतिको आकर्षण त्यो भन्दा पनि ठुलो आश्चर्य भएको छ । निजी सम्पत्तिले अर्थतन्त्रलाई कसरी सहयोग पुर्‍याउन सक्छ भन्नेबारे बुझ्न चीन सरकारका अधिकारीहरूमा ठूलो उत्साह रहेको कार्लाइल ग्रूपका प्रमुख डेभिड रुबेन्ष्टेइनको धारणा छ । अर्थतन्त्रमा निजी सम्पत्तिको भूमिकाबारे अमेरिकीमा भन्दा पनि चिनियाँहरूमा बढी चासो आफूले पाएको रुबेन्ष्टेइनले बताए । यसरी चीन कतिपय अवस्थामा अमेरिकाभन्दा पनि बढी व्यापारमैत्री रहेको रुबेइन्ष्टेइनजस्ता सफल अमेरिकी पूँजीपतिहरू समेत बताउँछन् । रोयटर्स

पेट्रोलियम पदार्थबाट नवजात शिशुमा स्वास्थ्य समस्या

वैशाख १८, वाशिङटन (अमेरिका) । कच्चा तेल अर्थात् पेट्रोलियम पदार्थमा पाइने इथाइल बेञ्जिन भनिने विशालु रसायनले गर्भमा रहेका शिशुहरूलाई जोखिममा पार्ने देखिएको छ । गाडीको धूवाँ, पेट्रोल पम्पको वाफ र चुरोटको धूवाँमा उक्त रसायन पाइन्छ ।त्यसरी गर्भमै उक्त रसायन सम्पर्कमा आएका शिशुहरूमा जन्मजात मुटु रोगको सम्भावना बढ्ने अमेरिकी अनुसन्धानकर्ताहरूले बताएका छन् त्यसैगरी, औद्योगिक धातु सफा गर्न प्रयोग गरिने ट्राइक्लोरोइथाइलिनले पनि शिशुहरूमा मुटुरोगको जोखिम बढाउने पाइएको छ । जन्मजात मुटुरोग अर्थात् कञ्जेनिटल हार्ड डिजिज (सीएचडी) भएका १ सय ३५ जना भर्खरै जन्मेका शिशुका दिसा जाँचबाट त्यस्तो पत्ता लागेको हो । ती शिशुका दिसामा कम्ती पनि १७ ओटा औद्योगिक रसायन भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । एएफपी/रासस

Admin 2011-05-02