नोबेल विजेता युनुस बैङ्क कार्यकारीबाट बर्खास्त
फागुन १८, ढाका (बङ्गलादेश) । बङ्गलादेशका नोबेल पुरस्कार विजेता तथा ग्रामीण बैङ्कका प्रमुख मुहम्मद युनुस पदमुक्त गरिएका छन् । केन्द्रीय बैङ्कले युनुसले सेवानिवृत्ति सम्बन्धी कानून उल्लङ्घन गरेको आरोप लगाउँदै पदमुक्त गर्ने आदेश दिएको छ । लघुवित्त कार्यक्रममार्फत गरीब उद्यमीलाई ऋण दिने ग्रामीण बैङ्कको २५ प्रतिशत हिस्सामा सरकारी स्वामित्व रहेको छ । त्यसैले बैङ्कले सरकारी नियम पालना गर्नुपर्ने भन्ने केन्द्रीय बैङ्कको आदेश आएको हो । ७० वर्षीय युनुसले ६० वर्षमा सेवानिवृत्त हुनुपर्ने सरकारी नियम उल्लङ्घन गरेको आरोप केन्द्रीय बैङ्कले लगाएको छ ।
तर, सन् १९८३ को विशेष कानून मातहत बैङ्कको स्थापना गरिएकाले सरकारी नियम लागू नहुने ग्रामीण बैङ्कको जिकीर छ । त्यसैगरी, युनुस ६० वर्षकै रहेका बेला सन् २००० मा उनलाई अनिश्चित कालसम्मका लागि प्रबन्ध निर्देशक नियुक्त गरिएको पनि बैङ्कले बताएको छ । हालै एउटा अवैध कोषका सम्बन्धमा ग्रामीण बैङ्कको भूमिका विवादास्पद रहेको समाचार आएको थियो ।युनुसले पूर्वसैनिक समर्थित अन्तरिम सरकारको समर्थन गरेको आरोप पनि उनका विरोधीहरूले लगाउँदै आएका छन् । युनुसले राजनीतिकर्मीहरू पैसाबाट सञ्चालित रहेको टिप्पणी २००७ मा गरेका थिए । त्यतिखेर बङ्गलादेशमा सङ्कटकाल लागू गरिनुका साथै वर्तमान प्रधानमन्त्री शेख हसिना भ्रष्टाचारको आरोपमा जेलमा थिइन् । सरकारको प्रखर आलोचक रहेकाले पनि युनुसमाथि राजनीतिक प्रतिशोध लिइएको कतिपय विश्लेषकले टिप्पणी गरेका छन् । एपी/रासस
दक्षिण कोरियामा दुइ वर्षकै उच्च मूल्यस्फीति
फागुन १८, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको मूल्यस्फीति दर फेब्रुअरीमा २ वर्षयताकै उच्च ४ दशमलव ५ प्रतिशत पुगेको छ । दक्षिण कोरियामा त्यस्तो मूल्यस्फीति सन् २००८ को नोभेम्बरपछिकै उच्च हो । जनवरीमा पनि ४ दशमलव १ प्रतिशतले मूल्यस्फीति बढेको थियो । जबकि केन्द्रीय बैङ्क, बैङ्क अफ कोरिया (बीओके)ले ३ प्रतिशतको मूल्यस्फीति लक्ष्य राखेको छ । तर, हालको मूल्यस्फीतिलाई आधार मानेर केन्द्रीय बैङ्कले आगामी हप्ता ब्याजदर बढाउनुपर्ने विषयमा भने अर्थशास्त्रीहरूमा मतभिन्नता देखिएको छ । खाद्य र ऊर्जाको बढ्दो मूल्यले चर्किएको मूल्यस्फीतिले धेरै देशका मौद्रिक निकायमाथि ब्याजदर बढाउन दबाब परेको छ । यस वर्षब्राजिल, चीन, दक्षिण कोरिया, इण्डोनेशिया र हङ्गेरीलगायतका देशका केन्द्रीय बैङ्कहरूले ब्याजदर बढाइसकेका छन् । बीओकेले पनि गतवर्षको जुलाईदेखि तीनपटक ब्याजदर बढाइसकेको छ । जनवरीको उपभोक्ता मूल्यमा वृद्धिसँगै बीओकेले ब्याजदर नबढाएकोमा कतिपय अर्थशास्त्रीहरूले आर्श्चर्य मानेका थिए । एपी/रासस
चीनको द्रुत रेलवेमा भ्रष्टाचार छानबिन
फागुन १८, साङ्र्घाई (चीन) । चीनको शक्तिशाली मानिएको रेलवे मन्त्रालयभित्रको भ्रष्टाचारबारे छानबिन गहिरिँदै गएको छ । हाल सञ्चालनमा रहेको अर्बौं डलर पर्ने द्रुत रेलवेको निर्माण प्रक्रियामा पनि छानबिनले प्रश्न उठाएको छ । तर, छानबिनले निर्माण कार्यक्रमलाई नै भने रोक्का गर्ने छैन । आयोजनाका आकार र खर्च घटाउने बारे त्यहाँको संसद् नेशनल पिपल्स कङ्ग्रेसमा पनि छलफल हुने भएको छ । द्रुत रेलवे विस्तार आयोजनाका आलोचकहरूले रेलको टिकट महँगो हुनुका साथै त्यसले सामान्य यात्रुका आवश्यकता पूरा नगर्ने आरोप लगाउँदै आएका छन् । त्यसैगरी, आयोजनामा रहेको भ्रष्टाचारबारे पनि प्रश्न उठाइएको छ । गत महीना अनुशासनको चरम उल्लङ्घन गरेको भन्दै तत्कालीन रेलवे मन्त्री लिउ झिजुनलाई पदमुक्त गरिएको थियो । आयोजनामा घूसखोरी, अवैध ठेक्का र यौन दुराचारलगायत समस्याबारे स्थानीय पत्रपत्रिकाले पनि प्रश्न उठाउँदै आएका छन् । केही अघिसम्म मात्रै पनि द्रुत गतिको उक्त रेलवे कार्यक्रमलाई चीनको अन्तरिक्ष कार्यक्रम जत्तिकै महत्त्वपूर्ण मानिने गरिन्थ्यो । एपी/रासस
नोकियाको मोबाइल कारखाना भियतनाममा
फागुन १८, पेरिस (फ्रान्स) । नोकियाले भियतनामको हनोइमा एउटा नयाँ मोबाइल फोन कारखाना स्थापनाका लागि २७ करोड ६० लाख ३० हजार डलरको लगानी गर्ने भएको छ । साथै, भविष्यमा त्यस क्षेत्रमा थप लगानी गर्ने योजना भएको पनि उसले बताएको छ । भियतनामको भौगोलिक अवस्था र विकास हुँदै गरेको पूर्वाधारका कारण त्यहाँ लगानी गर्न लागिएको नोकियाको विज्ञप्तिमा भनिएको छ । त्यसका साथै, भियतनाममा नोकिया फोनको राम्रो बजार रहेको पनि कम्पनीले विश्लेषण गरेको छ । त्यसरी खुल्ने पहिलो कारखाना सन् २०१२ बाट सञ्चालनमा आउनेछ । नोकियाले विश्वभरि नै सुदृढ पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको छ । विश्वकै सबैभन्दा ठूलो मोबाइल फोन विक्रेता नोकियाको ब्राजिल, रोमानिया, भारत, चीन, बेलायतलगायत विश्वभरि नै सुदृढ पूर्वाधार रहेको छ । एजेन्सी
चीनको १२औं पञ्चवर्षीय योजना सार्वजनिक
फागुन १८, बेइजिङ -चीन) । चीनले कामदारको ज्याला बढाउन र बढ्दो सम्पत्ति दूरीलाई नियन्त्रण गर्न आगामी ५ वर्षमा आर्थिक वृद्धिको नौलो संरचना ल्याउने भएको छ । बढ्दो असमानताले सामाजिक अस्थिरता आउने सम्भावनाबाट चिन्तित चिनियाँ नेतृत्वले त्यस्तो योजना ल्याउने भएको हो । दशकौंसम्म ठूलो आर्थिक वृद्धि हासिल गरेपछि चीन अहिले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । हालका समयमा चीनले निर्यात र लगानीमाथिको निर्भरता घटाउँदै घरेलु खपत बढाएर दिगो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । संसद्को वार्षिक बैठकका बेला सन् २०११ देखि २०१५ सम्मको १२औं पञ्चवर्षीय योजना शनिवार सार्वजनिक गरिने भएको छ । त्यसमा सामाजिक कल्याण, नवप्रवर्तन र कार्बनमाथिको निर्भरता घटाउनेजस्ता लक्ष्य राखिएका छन् । योजनाको सफल कार्यान्वयन भएमा हालको आर्थिक वृद्धिदर केही सुस्त हुनुका साथै प्रमुख व्यापार साझेदारहरूसँगको तनाव घट्ने विश्लेषकहरूको अनुमान छ । एएफपी/रासस
भारतमा 'बाघ मान्छे’को मृत्यु
फागुन १८, नयाँ दिल्ली (भारत) । भारतका एक जना अग्रणी संरक्षण अभियन्ता फतेहसिंह राठोरको ७३ वर्षको उमेरमा निधन भएको छ । बाघ मान्छे अर्थात् 'टाइगर म्यान’ उपनाम पाएका राठोरले भारतमा विनाश हुँदै गइरहेका बाघको संरक्षणमा ठूलो योगदान गरेका थिए । उनले राजस्थानमा रान्थमबोर वन्यजन्तु संरक्षण आरक्षको स्थापनामा पनि प्रमुख भूमिका खेलेका थिए ।भारतमा बाघ तीव्र गतिले लोप हुँदै गइरहेको जनावर हो । बाघको सङ्ख्या १९४७ मा ४० हजारबाट हाल आएर १ हजार ४ सयमा झरिसकेको अध्ययनहरूले देखाएका छन् । भारतीय वन्यजन्तु संरक्षण नीतिका प्रखर आलोचक राठोरले स्थानीय सरकारबाट असहयोग पाए पनि वन्यजन्तु क्षेत्रमा उनी एक प्रसिद्ध व्यक्तित्व हुन पुगेका थिए । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धी र पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिण्टनले पनि राठोरको योगदानको प्रशंसा गरेका थिए । साथै विश्व वन्यजन्तु कोषले पनि उनको सम्मान गरेको थियो । उनले स्थापना गरेको राथन्बोर आरक्षमा प्रत्येक वर्ष६० हजार पर्यटकले भ्रमण गर्छन् । एपी/रासस
बालबालिकामा दमको प्रमुख कारण वायुप्रदूषणः ईयूको अध्ययन
फागुन १८, पेरिस (फ्रान्स) । यूरोपका प्रमुख शहरहरूमा वायुप्रदूषण नियन्त्रण गर्न सके प्रत्येक वर्ष१९ हजार जनाको जीवन बचाउन सकिने एउटा अध्ययनले देखाएको छ । यूरोपका १२ देशका २५ शहरमा ३ वर्षलगाएर आफेकम भनिने सो अध्ययन गरिएको हो । अध्ययनका अनुसार, वायुप्रदूषण नियन्त्रणबाट स्थानीय अपेक्षित जीवनदरमा २ वर्षथपिनेछ । त्यसैगरी स्वास्थ्योपचार र कर्मचारीको गयल बचतबाट ४३ अर्ब ४० करोड डलर जोगिने देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनले वायुमा हुनुपर्ने अधिकतम सूक्ष्म प्रदूषकको मात्रा १० माइक्रोग्राम प्रतिक्युबिक मिटर तोकेको छ । अध्ययन गरिएका शहरमध्ये स्वीडेनको स्टकहोमले मात्र त्यस्तो मापदण्ड पूरा गरेको पाइएको छ । बुखारेष्टमा ३८ दशमलव २ माक्रोग्राम, बुडापेष्टमा ३३ दशमलव ७, बार्सिलोनामा २७, रोममा २१ दशमलव ४, पेरिसमा १६ दशमलव ४ र लण्डनमा १४ दशमलव १ माइक्रोग्राम वायु सूक्ष्मप्रदूषक पाइएका छन् ।त्यस्ता सूक्ष्मप्रदूषक हावाबाट फोक्सोको भित्री क्षेत्रसम्म पुग्नसक्छन् । त्यसबाट दीर्घकालमा श्वासप्रश्वास र मुटुरोग हुने सम्भावना हुन्छ । त्यस्ता प्रदूषक प्रायः गाडीको धूवाँमा पाइन्छन् । त्यसैले प्रमुख सडक नजिकका क्षेत्रमा त्यस्ता प्रदूषक धेरै मात्रामा पाइन्छन् । उक्त अध्ययनले देखाए अनुसार, बालबालिकामा हुने दमरोगमध्ये १५ देखि ३० प्रतिशतका कारण व्यस्त सडक नजिकको बसाइ जिम्मेवार रहेको पाइएको छ । एपी/रासस
अमेरिकी कम्पनीको विद्युतीय कार चीनमा निर्माण
फागुन १८, बेइजिङ (चीन) । क्यालिफोर्नियाको एक विद्युत कार निर्माताले उसको पहिलो मोडल चीनमा बन्ने र यसै वर्षअमेरिकामा विक्री गरिने बताएको छ । सीओडीए(कोडा) अटोमोटिभ इङ्कको चार ढोका भएको विद्युतीय सेडान कारको निर्माण उसको चिनियाँ साझेदारले गर्नेछ । परम्परागत इन्धनबाटै चल्ने कारको मोडललाई विद्युतीय मोडलमा परिवर्तन गरिएपछि अमेरिकी सुरक्षा मापदण्ड पनि पूरा गरिएको कम्पनीले दाबी गरेको छ ।उक्त कार सञ्चालनको लागि चाहिने ब्याट्री पनि चीनकै अर्को साझेदार कम्पनीले बनाउनेछ । कोडाले यसै वर्षबाट उक्त विद्युतीय कारको विक्री शुरू गर्ने बताएको छ । शुरूको १२ महीनामा १० हजार देखि १४ हजार ओटा कार विक्री हुने लक्ष्य कम्पनीले राखेको छ । एपी/रासस
Admin 2011-03-03