शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिकी र सिङ्गापुर कम्पनीको हिरो होण्डामा लगानी

माघ १८, सिङ्गापुर । अमेरिकी प्राइभेट इक्विटी कम्पनी बेन क्यापिटल र गभर्नमेण्ट अफ सिङ्गापुर इन्भेष्टमेण्ट कर्पोरेशन (जीआईसी)बीच भारतीय मोटरसाइकल कम्पनी हिरो होण्डाको शेयर खरीद गर्नेबारे सम्झौतानजिक पुगेका फाइनान्सियल टाइम्सले बताएको छ । सम्बन्धित विषयमा जानकार अज्ञात स्रोतलाई उद्धरण गर्दै कारोबारको मूल्य १ अर्ब ७५ करोड डलरसम्म हुन सक्ने पत्रिकाले मङ्गलवार बताएको छ । हिरो होण्डाका मुञ्जल परिवारबाट त्यस्तो शेयर खरीद गरिनेछ । गतवर्ष जापानको होण्डा मोटरले भारतीय कम्पनी हिरो होण्डामा रहेको आफ्नो २६ प्रतिशत शेयर भारी छूटमा मुञ्जल परिवारलाई बेचेको थियो ।विश्वकै दोस्रो धेरै जनसङ्ख्या भएको देश भारत मोटरसाइकलको प्रमुख बजार हो । गतवर्ष हिरो होण्डाले झण्डै ५० लाख मोटरसाइकल उत्पादन गरेको थियो । सिङ्गापुरका दुइओटा सरकारी लगानी कोषमध्ये एउटा जीआईसी र अर्को टेमासेक होल्डिङ्स हुन् । जीआईसीले सिङ्गापुरको १ खर्ब डलरभन्दा पनि बढीको विदेशी मुद्रा सञ्चितिलाई लगानी गर्ने काम गर्छ । जीआईसीले आफूसँग भएको शेयरको मूल्यबारे सार्वजनिक जानकारी दिँदैन, तर अमेरिकास्थित सोभरेन वेल्थ फण्डले जीआईसीको सम्पत्ति २ खर्ब ४७ अर्ब ५० करोड डलर मूल्यबराबर रहेको भन्दै जीआईसीलाई विश्वकै सातौं ठूलो होल्डिङ कम्पनी भनेको छ ।              एएफपी/रासस


ताइवानको वृद्धिदर हालसम्मकै उच्च

माघ १८, ताइपेइ (ताइवान) । ताइवानको अर्थतन्त्र २०१० मा २३ वर्षकै उच्च १० दशमलव ४७ प्रतिशतका दरले बढेको छ । तर २०११ मा सो वृद्धिदरमा आधाले कमी आउने त्यहाँको सरकारले आफ्नो प्रारम्भिक अनुमानमा उल्लेख गरेको छ । गतवर्षको वृद्धिदर १९८७ पछिकै उच्च रहेको बजेट, लेखापालन तथा तथ्याङ्क महाशाखाले आफ्नो वेबसाइटमा सोमवार राखेको विज्ञप्तिमा भनेको छ ।'गत वर्ष ताइवानको व्यापार वृद्धि हुनुमा चीनको प्रमुख भूमिका छ । साथै दुइ देशको अर्थतन्त्रबीच नजिकको सम्बन्ध छ,’ सिटी बैङ्क ताइवानका अर्थशास्त्री चेङचेङ माउण्टले भने ।  गत वर्ष ताइवानको निर्यात ३४ दशमलव ८० प्रतिशतले बढेर २ खर्ब ७४ अर्ब ६४ करोड डलर पुगेको छ । त्यसमध्ये चीन र हङकङतर्फको निर्यात कुल निर्यातको ४१ दशमलव ८० प्रतिशतमा रहेर हालसम्मकै उच्च हुन पुगेको छ । तर, विकसित देशमा देखिएको रोजगारको सुस्त वृद्धिलगायत अनिश्चित कारणहरूले गर्दा २०११ मा ५ दशमलव शून्य ३ प्रतिशतको आर्थिक वृद्धि महाशाखाले अनुमान गरेको छ । एएफपी/रासस



इटालीमा कर छलीविरूद्ध अभियान
माघ १८, मिलान (इटाली) । इटालीमा २०१० को वर्षमा लगभग ५० अर्ब यूरो (६८ अर्ब डलर)बराबर आम्दानीको स्रोत नखुलाइएको पाइएको छ । कर छलीविरूद्धको अभियानअन्तर्गत प्रस्तुत आर्थिक मामिलाबारेको पुलिस रिपोर्टमा त्यस्तो उल्लेख गरिएको हो । सोमवार प्रस्तुत गरिएको उक्त रिपोर्टअनुसार कर छलीका घटनामा गतवर्षन्दा ४६ प्रतिशतले वृद्धि भएको छ ।त्यसमध्येको २० अर्ब यूरो ८ हजार ८ सय ५० जना रोजगारमा रहेका व्यक्तिहरूसँग सम्बन्धित छ । त्यसैगरी १० अर्ब यूरोभन्दा बढी रकम कर छल्ने उद्देश्यले विदेश पठाइएको थियो । बाहिर पठाइएको मध्ये २६ प्रतिशत लक्जेम्बर्गतर्फ तथा २५ प्रतिशत स्वीट्जरल्याण्डतर्फ पठाइएको थियो । त्यसैगरी ७ प्रतिशत ब्रिटेनतर्फ तथा ६ प्रतिशत पनामातर्फ पठाइएको रिपोर्टमा उल्लेख गरिएको छ । इटालीले सरकारी आम्दानी बढाउने तथा सार्वजनिक क्षेत्रको घाटा कम गर्ने उद्देश्यले कर छली तथा भूमिगत अर्थतन्त्रविरूद्धको अभियान तीव्र बनाएको छ । गत मे महीनामा इटालीका प्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीले अर्थतन्त्रको झण्डै एक तिहाइ हिस्सा करको दायराबाहिर रहने खुलासा गरेका थिए । एएफपी/रासस  


एशियाली म्यानुफयाक्चरिङमा सुदृढ वृद्धि  

माघ १८, बेइजिङ (चीन) । चीन र भारतको उत्पादन क्षेत्र जनवरी महीनामा सुदृढ रहेको छ । तर, उत्पादनका लागि प्रयोग हुने वस्तुमा भइरहेको वृद्धिले विकासशील देशहरूको मुद्रास्फीति नियन्त्रण नआएको एचएसबीसीको एउटा सर्वेक्षणले मङ्गलवार देखाएको छ । तेल, तामा, गहुँ तथा अन्य वस्तुहरूको मूल्यवृद्धिले एशियाभरि नै मुद्रास्फीति बढाइरहेको छ । फलस्वरूप, चीन, भारत, दक्षिण कोरिया, ताइवान र थाइल्याण्डका केन्द्रीय बैङ्कहरू ब्याजदर बढाउन बाध्य भएका छन् । एचएसबीसीको मौसम समायोजित पर्चेजिङ म्यानेजर्स इण्डेक्स (पीएमआई)अनुसार चीनको उत्पादन गतिविधि डिसेम्बरको ५४ दशमलव ४ बाट बढेर जनवरीमा ५४ दशमलव ५ पुगेको छ । भारतको पीएमआई भने डिसेम्बरको ५६ दशमलव ७ बाट बढेर जनवरीमा ५६ दशमलव ८ पुगेको छ । पीएमआई सूचकाङ्क ५० भन्दा माथि भएमा त्यसले उत्पादन क्षेत्रको विस्तार जनाउँछ भने ५० भन्दा तलले सङ्कुचन जनाउँछ । भारतको वार्षिक मुद्रास्फीति डिसेम्बरमा ८ दशमलव ४३ प्रतिशत पुगेको छ, जुन अघिल्लो महीनाको भन्दा झण्डै १ प्रतिशतको वृद्धि हो ।     एएफपी/रासस

स्पेनमा अहोरोस बैङ्क सूचीकृत

माघ १८, म्याडि्रड (स्पेन) । स्पेनको एक प्रमुख बचत बैङ्क बाङ्को फाइनान्सिएरो डे अहोरोसले शेयर बजारमा सूचीकृत हुने निर्णय गरेको छ । सात कम्पनीको विलयबाट बनेको उक्त बैङ्कले निजीस्रोतको पूँजीबाट फाइदा उठाउन त्यसो गर्ने निर्णय गरेको हो ।  हालै स्पेन सरकारले बचत बैङ्कहरूलाई निजीस्रोतको पूँजी खोज्न भनेको थियो । अन्यथा आंशिक राष्ट्रियकरणका लागि तयार हुन चेतावनी दिएको थियो । अहोरोसको सूचीकृत हुने निर्णयबाट बचत बैङ्कहरूलाई ठूलो ऋणको जोखिम हटाउन प्रेरित गर्ने सरकारी उद्देश्य सफल भइरहेको देखिन्छ ।  'बजारसम्म पहुँच बढाउने, शेयरबजारमा सूचीकृत हुने तथा सरकारले तय गरेको 'कोर क्यापिटल’को मापदण्ड पालना गर्ने बैङ्कको योजना छ,’ अहोरोसका प्रेजिडेण्ट रोडरिगो रातोले भने ।   एएफपी/रासस


बेरोजगारी र मूल्यवृद्धिबाट युद्धको खतराः मुद्राकोष

माघ १८, सिङ्गापुर । विश्व अर्थतन्त्रमा देखिएको उच्च बेरोजगारी तथा उच्च मूल्यवृद्धिले व्यापार संरक्षणवादका साथै देशहरूभित्रै युद्धसमेत निम्त्याउने अन्तरराष्ट्रिय मुद्राकोषका प्रमुखले चेतावनी दिएका छन् । खाद्यवस्तु तथा तेलको बढ्दो मूल्यले गरीब देशहरूलाई आक्रान्त बनाइसकेको छ । टयुनिशिया र इजिप्टमा भएका हालैका विशाल सरकारविरोधी प्रदर्शनका पछाडि मूल्यवृद्धि र बेरोजगारीको पनि भूमिका छ ।'देशहरूबीच तनाव बढिरहँदा व्यापार र वित्तक्षेत्रमा संरक्षणवाद बढ्दै जानेछ । त्यसैगरी देशहरूभित्रै तनाव बढिरहँदा सामाजिक र राजनीतिक अस्थिरता बढ्नुका साथै युद्धसमेत हुन सक्छ,’ कोषका प्रमुख डोमिनिक स्ट्रस कानले भने ।कानले सिङ्गापुरमा मङ्गलवार एक भाषण दिँदै दुइ 'खतरनाक’ असन्तुलनले आगामी सङ्कटको बीउ रोप्ने टिप्पणी गरेका छन् । पहिलोमा, देशहरूको असन्तुलित पुनर्बहाली, अर्थात् विकसित देशहरूभन्दा उदीयमान देशहरूको तीव्र आर्थिक वृद्धि हो । त्यस्तो वृद्धिले अन्ततः उदीयमान अर्थतन्त्रहरू अति तात्ने (ओभर हिटिङ) सम्भावना देखिएको छ । दोस्रो असन्तुलन, देशभित्रैको सामाजिक तनाव, उच्च बेरोजगारी तथा आम्दानीको बढ्दो खाडल रहेको कानको धारणा छ । रोयटर्स