शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

रूसको तेल उत्पादन हालसम्मकै उच्च

पुस १८, मस्को (रूस) । रूसमा २०१० को तेल उत्पादन २ दशमलव २ प्रतिशतले बढेर दैनिक औसत १ करोड १ लाख ब्यारेल पुगेको छ । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले विश्वकै सबैभन्दा ठूलो तेल निर्यातक राष्ट्र रूसले पनि आफ्ना नयाँ तेल खानीबाट उत्पादनमा वृद्धि गरेको हो । कतिपय विश्लेषकहरू रूसको कच्चा तेलको उत्पादनमा भएको वृद्धिलाई आश्चर्यजनक मान्दछन् । सन् २०१० शुरू हुनुभन्दा केही अघि मात्रै लिइएको एक सर्वेक्षणमा तेलको उत्पादनमा १ दशमलव १ प्रतिशतले मात्र वृद्धि हुने अपेक्षा गरिएको थियो । ऊर्जा मन्त्रालयको तथ्याङ्क अनुसार रूसमा गतवर्ष प्रतिदिन १ करोड १ लाख ४५ हजार ब्यारेल कच्चा तेल उत्पादन भएको थियो । सो परिमाण सोभियत सङ्घको विघटनपछिकै सबैभन्दा ठूलो हो ।

त्यसैगरी सन् २००९ मा प्रतिदिन ९९ लाख ३० हजार ब्यारेल तथा सन् २००८ मा प्रतिदिन ९७ लाख ८० हजार ब्यारेल कच्चा तेल उत्पादन भएको थियो । २०११ मा भने तेलको उत्पादन घट्ने सम्भावना रहेको सरकारले गत महीना बताएको थियो । गतवर्ष प्रतिदिन १ करोड ब्यारेलभन्दा बढी तेल उत्पादन गर्ने राष्ट्रमा रूस मात्र थियो । ऊ ओपेकको सदस्य छैन । तेलको मूल्य गत २६ महीनाकै उच्च ९० डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ । यसले तेल उत्पादनमा प्रोत्साहन मिलेको छ । तेलको दोस्रो ठूलो उत्पादक सउदी अरेबियाले हालका महीनामा प्रतिदिन ८२ लाख ५० हजार ब्यारेलका दरले उत्पादन गर्दै आएको छ । यो परिमाण कच्चा तेलको भाउमा गिरावट आएपछि त्यसलाई बढाउन  २००८ को डिसेम्बरमा ओपेकले घटाएको उत्पादन कोटा अनुसारको हो ।   रूसी पाइपलाइनमार्फत रूसबाट निर्यात भएको तेल डिसेम्बरमा प्रतिदिन ४३ लाख ७० हजार ब्यारेल पुगेको थियो । त्यसबाट रूसको औसत वार्षिक तेल निर्यात २००९ को प्रतिदिन ४२ लाख ४० हजार ब्यारेलबाट बढेर २०१० मा प्रतिदिन ४२ लाख ९० हजार ब्यारेलको दरमा पुगेको छ । रूसले पूर्वी साइबेरियामार्फत चीनतर्फतेल निर्यात गर्ने योजना शनिवारबाट कार्यान्वयन गरेको हुनाले उसको यस वर्षको तेल  निर्यात झनै बढ्ने देखिन्छ । रोयटर्स


भियतनाममा नयाँ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण

पुस १८, हनोई (भियतनाम) । भियतनामले उसको दक्षिणी क्षेत्र मेकङ डेल्टामा एउटा नयाँ अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन गरेको भियतनामी सरकारी सञ्चारमाध्यमले आइतवार बताएको छ । लगभग २० हजार ७ सय ५० वर्गमिटरको क्षेत्रफलमा फैलिएको क्यान थो अन्तरराष्ट्रिय विमानस्थलको लागत १५ करोड डलर परेको बताइएको छ । उक्त विमानस्थलले वार्षिक ५ लाखसम्म यात्रुलाई सेवा दिन सक्ने भियतनाम न्यूज एजेन्सीले जनाएको छ ।  'देशको दक्षिण-पश्चिमी क्षेत्र तथा विशेषगरी क्यान थो सिटीको द्रुत एवम् दिगो विकासका लागि विमानस्थलले ठूलो अवसर प्रदान गर्नेछ । त्यसका साथै सो क्षेत्र हवाईसेवा प्रदान गर्न पनि सजिलो हुनेछ’, प्रधानमन्त्री न्गुयेन थाङ दुङले विमानस्थलको उदघाटन अवसरमा शनिवार बताए । विमानस्थलले मेकङ डेल्टाको अर्थतन्त्र वृद्धिमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ । त्यसका साथै विमानस्थलको निर्माणबाट प्रतिरक्षा, सुरक्षा तथा अन्तरराष्ट्रिय समन्वयमा पनि सहयोग पुग्ने एजेन्सीले बताएको छ ।  एएफपी/रासस


चीनका कारखानाको उत्पादनमा खुकुलोपन

पुस १८, हङकङ (चीन) । चीनका कारखानाहरूको उत्पादन वृद्धिमा डिसेम्बरमा केही खुकुलोपन आएको एउटा सर्वेक्षणले देखाएको छ । महँगी नियन्त्रण गर्न अधिकारीहरूले ल्याएका कडा नीतिहरूको परिणामस्वरूप त्यस्तो भएको हो । राज्यसँग आबद्ध चाइना फेडरेशन अफ लजिस्टिक एण्ड पर्चेजिङका अनुसार उसको पर्चेजिङ म्यानेजर्स इण्डेक्स (पीएमआई) नोभेम्बरको ५५ दशमलव २  तथा अक्टोबरको ५४ दशमलव ७ प्रतिशतबाट घटेर डिसेम्बरमा ५३ दशमलव ९ मा झरेको थियो । तर, गएको पाँच महीनामा पहिलोपटक गत महीना सबैभन्दा न्यून मापन भए तापनि उक्त इण्डेक्स अझै पनि ५० भन्दा माथि नै रहेको छ ।  यो इण्डेक्स ५० भन्दा माथि हुनु भनेको अझै विस्तारकै चरणमा रहनु हो ।  

विविध क्षेत्रका ८ सय २० ओटा कम्पनीहरूमा शनिवार उक्त सर्वेक्षण गरिएको थियो । अझै पनि उक्त इण्डेस ५० भन्दा माथि नै रहेकाले आर्थिक वृद्धि जारी रहने फेडरेशनले आफ्नो वेबसाइटमा भनेको छ । कच्चा पदार्थ, ऊर्जा तथा अन्य आपूर्तिका वस्तुहरूको परिसूचकाङ्क पनि नोभेम्बरको ७३ दशमलव ५ बाट डिसेम्बरमा ६६ दशमलव ७ मा झरेको थियो । त्यसबाट मूल्य नियन्त्रणमा राख्ने सरकारी प्रयास प्रारम्भिक रुपमा सफल देखिएको फेडरेशनले बताएको छ । तर, सामानको मूल्यवृद्धिका लागि अझै पनि बजारमा ठूलो दबाब रहेको बताइएको छ ।  चीनले ब्याजदरमा तीन महीनाभित्र दोस्रोपटक डिसेम्बर २५ मा वृद्धि गरेको थियो । नोभेम्बरको मुद्रास्फीति २८ महिनाकै सबैभन्दा उच्च ५ दशमलव १ प्रतिशतमा पुगेपछि ब्याजदरमा वृद्धि गरिएको थियो । अधिकारीहरूले बैङ्कहरूले मौज्दातमा राख्नुपर्ने रकममा पनि वृद्धि गरेका छन् । ठूलो मात्रामा ऋण दिँदा अर्थतन्त्रमा वृद्धि भए तापनि मुद्रास्फीति पनि बढ्ने हुनाले बैङ्कहरूको ऋण दिने कार्यमा नियन्त्रण गर्न त्यसो गरिएको हो ।  

अन्तरराष्ट्रिय वित्तीय संस्था गोल्डम्यान स्याक्सले एउटा अध्ययनमा जनाएअनुसार एशियाली खेलकुद महोत्सवका बेला चीनको एउटा प्रमुख औद्योगिक क्षेत्र ग्वाङडोङ प्रान्तमा औद्योगिक गतिविधिमा लगाइएको नियन्त्रण डिसेम्बरको शुरुतिर खुकुलो गराइए पनि सो प्रान्तमा डिसेम्बरमा उत्पादन घटेको थियो । 'यसबाट वित्तीय अवस्थामा ल्याइएका कठोर नीतिहरूको परिणाम अपेक्षा गरिएभन्दा पनि निकै कडा भएको देखिन्छ’, गोल्डम्यानले भनेको छ । त्यसैगरी बिहीवार प्रकाशित गरिएको एउटा अर्को सर्वेक्षण एचएसबीसी चाइना म्यानुफ्याक्चरिङ पर्चेजिङ म्यानेजर्स इन्डेक्स पनि डिसेम्बरमा गत तीन महीनाकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ । उक्त सर्वेक्षण ४सयओटा कम्पनीमाथि गरिएको थियो ।  एपी/रासस