अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर हमला
साउन १८, बोष्टन (अमेरिका) । कम्प्युटर सुरक्षा विशेषज्ञहरूले अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर हमला भएको पत्ता लगाएका छन् । इतिहासमै सबैभन्दा ठूलो भनिएको उक्त हमलामा संयुक्त राष्ट्रसङ्घ, विभिन्न देशका सरकारहरू र ठूला सुरक्षा र व्यापारिक प्रतिष्ठानहरूसहित ७२ ओटा संस्थाको नेटवर्कमा घूसपैठ गरिएको पत्ता लागेको बताइएको छ । कम्प्युटर सुरक्षा क्षेत्रमा काम गर्ने अमेरिकी कम्पनी म्याकाफेले पत्ता लगाएको उक्त हमला कुनै एक देशले गराएको आफूहरूले थाहा पाएको कम्पनीले जानकारी दिएको छ । तर, साइबर हमला गर्ने उक्त देशको नाम बताउन भने म्याकाफेले अस्वीकार गरेको छ । उक्त हमलालाई नजिकबाट अध्ययन गरिरहेका नाम नखुलाइएका एक नेटवर्क सुरक्षा विशेषज्ञले भने चीनतर्फसङ्केत गरेका छन् ।
लगातार ५ वर्षसम्म भएका ⋲याकिङ, घूसपैठ र सूचनाहरूको चोरीबाट अमेरिका, ताइवान, भारत, दक्षिण कोरिया, भियतनाम र क्यानडा सरकारका नेटवर्कबाट विभिन्न सूचना चोरिएको बताइएको छ । त्यसैगरी संयुक्त राष्ट्रसङ्घ, दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आशियान), अन्तरराष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), द वर्ल्ड एण्टी डोपिङ एजेन्सीजस्ता संस्थाहरूको नेटवर्क पनि ह्याक गरिएको उल्लेख छ । त्यस्तै लकहिड मार्टिन, आरएसए सेक्युरिटी, सोनी कर्पोरेशन र सिटी ग्रूपलगायतका सुरक्षा प्रविधि र ठूला व्यापारिक प्रतिष्ठानका हजारौं सूचना र तथ्याङक पनि हराइरहेको खुलेको छ ।
म्याकाफेले बुधवार यससम्बन्धी प्रकाशित गरेको १४ पृष्ठ लामो प्रतिवेदनमा हमलाको विशाल विविधता र आक्रमणकारीहरूको दुस्साहसबाट अचम्मित भएको उल्लेख छ । प्रतिवेदनमा चोरी गरिएका तथ्याङ्क र सूचनाहरूबाट भइरहेका कामबारे थाहा हुन नसकेको उल्लेख छ । तथापि, चोरी भएका सूचनाहरूको प्रयोग उत्पादन र व्यापारका लागि गरिने हो भने त्यसले ठूलो आर्थिक र सुरक्षा खतरा उत्पन्न गर्ने भएकाले सम्बन्धित सबैलाई सजग गराइएको छ । म्याकाफेले सन् २०११ को मार्च महीनामा कमाण्ड एण्ड कण्ट्रोल सभरको पुनरवलोकन गरिरहँदा उक्त हमलाबारे पत्ता लगाएको थियो । एजेन्सी
सोसिटे जेनेरालको आम्दानी घटयो
साउन १८, पेरिस (फ्रान्स) । फ्रान्सको दोस्रो र यूरोपको आठौं ठूलो बैङ्क सोसिटे जेनेरालले स्न २०११ को दोस्रो त्रैमासिकमा आम्दानी घटेको जानकारी दिएको छ । बैङ्कले बुधवार प्रकाशित गरेको दोसो त्रैमासिक प्रतिवेदनमा सन् २०११ को अप्रिल-जुन अवधिमा आम्दानी ७० करोड ४७ लाख यूरो मात्र भएको बताएको छ । अघिल्लो वर्षको यही अवधिभन्दा यो ३१ दशमलव १ प्रतिशतले कम हो । बैङ्कले ग्रीसको आर्थिक सङ्कटका कारण ३० करोड ९५ लाख यूरो पूर्व कर घाटा बेहोरेको बताएको छ ।
सोसिटे जेनेरालको ग्रीसका ऋणपत्रहरूमा २ दशमलव ६५ अर्ब यूरो लगानी रहेको छ । त्यसैगरी बैङ्कको कुल आम्दानीमा २ दशमलव ६ प्रतिशतले कमी आएको बताइएको छ । सन् २०११ को जुन महीनासम्म बैङ्कले ६ दशमलव ५ अर्ब यूरो आम्दानी गरेको छ । यसअघि 'जेनेराल’ले ६ दशमलव ६२ अर्ब यूरो आर्जन गर्ने पूर्वानुमान गरिएको थियो । दोस्रो त्रैमासिक प्रतिवेदन आएपछि बैङ्कका प्रमुख कार्यकारी फ्रेडरिक औडिएले एक विज्ञप्ति प्रकाशित गर्दै अनिश्चित र प्रतिकूल आर्थिक एवम् वित्तीय अवस्था हुँदा पनि बैङ्कले दोस्रो चौमासिकमा केही उत्साहजनक प्रदर्शन गरेको दाबी गरेका छन् । यसका साथै बैङ्कले सन् २०१२ मा ६ अर्ब यूरो खुद मुनाफा गर्ने यसअघि घोषणा गरिएको लक्ष्य हासिल गर्न गाह्रो हुने बताएको छ । एजेन्सी
अमेरिकाको 'ट्रिपल ए’ रेटिङ कायमै
साउन १८, न्यूयोर्क (अमेरिका) । विश्वभरि चौतर्फी रूपमा गरिएका आशङ्काविपरीत क्रेडिट रेटिङ एजेन्सीहरू 'मुडिज’ र 'फिच’ले अमेरिकाको 'ट्रिपल ए’ रेटिङ कायमै भएको बताएका छन् । ती दुई एजेन्सीहरूले मङ्गलवार अमेरिकाको कङ्ग्रेसबाट पारित भएको ऋणसीमा प्रस्तावका कारण पुरानै रेटिङ कायम गरिएको उल्लेख गरेका छन् । मुडिज इन्भेष्टर सर्भिस र फिच रेटिङ्सले सरकारले आफ्नो वित्तीय व्यवस्थामा सन्तुलन राखिराख्न बजेटघाटा कम गर्ने थप योजनाहरू ल्याउनुपर्ने आवश्यक भएको सुझाव दिएका छन् । मुडिजले हालका लागि अमेरिकाको 'ट्रिपल ए’ रेटिङ कायमै भए पनि आगामी १२ देखि १८ महीनाको अवधिमा परिस्थिति परिवर्नन हुनसक्ने बताएको छ ।
त्यसैगरी फिचले सन् २०११ अगष्ट महीनाको अन्त्यसम्ममा अमेरिकी अर्थतन्त्रको पुनरवलोकन गरेर परिस्थितिको मूल्याङ्कन गर्ने जानकारी दिएको छ । यी दुई रेटिङ एजेन्सीपछि मानिसहरूको ध्यान स्ट्याण्डर्ड एण्ड पोर (एस एण्ड पी)ले गर्ने निर्णयतर्फ गएको छ । एस एण्ड पीले मुडिज र फिचभन्दा कडा भाषामा बजेटघाटा कम नगरिए सन् २०११ को अक्टोबरबाट रेटिङ् घटाउने चेतावनी दिएको थियो । मुडिज र फिचले मङ्गलवार प्रकाशित गरेका रिपोर्टहरूमा अमेरिकी अर्थतन्त्रको अवस्थामा पनि गम्भीर चासो प्रकट गरेका छन् । फिचका एक प्रमुख विश्लेषक डेभिड राइलिले अमेरिकाको कुल गार्हस्थ्य उत्पादन घट्नु आफूहरूले सोचेभन्दा ठूलो भएको र चिन्ताको प्रमुख विषय भइरहेको बताएका छन् । त्यस्तै, मुडिजसँग आबद्ध विश्लेषक स्टेभन हेसले आर्थिक वृद्धि घट्दै जानुलाई आर्थिक सङ्कटले पुर्याएको स्थायी क्षति हुन सक्ने बताएका छन् ।अमेरिकी आर्थिक वृद्धि सन् २०११ को पहिलो ६ महीनामा नराम्ररी हल्लिएको थियो । पहिलो त्रैमासिकमा मात्र शून्य दशमलव ४ प्रतिशतले वृद्धि भएको कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा भने १ दशमलव ३ प्रतिशतले वृद्धि भएको बताइएको छ । एजेन्सी
यूरोपेली वायुऊर्जा २०२० सम्ममा हालको भन्दा तीन गुणा बढी
साउन १८ । यूरोपेली क्षेत्रमा वायुऊर्जाको उत्पादन सन् २०२० सम्ममा हालको भन्दा तीन गुणाले बढ्ने यूरोपियन विण्ड इनर्जी एशोसिएशन (ईडब्ल्यूईए)ले बताएको छ । विशाल परिमाणको वायुऊर्जाका लागि अझ ठूलो विण्ड टर्वाइन स्थापना गरिने ईडब्ल्यूईएले जानकारी दिएको छ ।गतवर्षको अन्त्यसम्ममा २७ देश आबर्द्धईयू क्षेत्रमा रहेको ऊर्जा मागमध्ये ५ दशमलव ३ प्रतिशत आपूर्ति वायुऊर्जाबाट गरिएको थियो । वायुऊर्जाको त्यस्तो योगदान सन् २०२० सम्ममा १५ दशमलव ७ प्रतिशत अर्थात् ५ सय ८१ टेरावाट आवस पुग्नेछ । त्यसका लागि २०१० मा १२ अर्ब ७० करोड यूरो (१८ अर्ब डलर) रहेको लगानी २०२० मा २६ अर्ब ६० करोड यूरो पुग्नेछ । बृहत् जलवायु प्रतिबद्धताअन्तर्गतईयूले नवीकरणीय ऊर्जा उत्पादनको लक्ष्यलाई हालको १९ प्रतिशतबाट बढाएर २०२० सम्ममा ३४ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ ।
तर, हालका वर्षरूमा देखिएको गहिरो मन्दीका कारणईयूका देशहहरू त्यस्तो खर्चिलो लक्ष्य पुर्याउन अनिच्छुक देखिन्छन् र्।ईयूले उत्पादन गर्ने कुल वायुऊर्जाको आधाभन्दा पनि बढी जर्मनी र स्पेनले मात्र उत्पादन गर्छन् । गत मार्चमा जापानमा भएको आणविक दुर्घटनापछि जर्मनीले आणविक ऊर्जा कार्यक्रम बन्द गर्दै जाने घोषणा गरेको छ । त्यसैले, आउँदो एक दशकसम्ममा जर्मनीले मात्रईडब्ल्यूईएको लक्ष्यमध्ये २० प्रतिशत पूरा गरिदिने उक्त संस्थाको अनुमान छ । एएफपी/रासस
चीनद्वारा अन्तरराष्ट्रिय मौद्रिक व्यवस्था अस्थिर बन्ने चेतावनी
साउन १८, साङ्र्घाई (चीन) । चीनको केन्द्रीय बैङ्कका गर्भनरले अमेरिकी ट्रेजरी बजारमा देखिएका अनिश्चितताका कारण अन्तरराष्ट्रिय मौद्रिक व्यवस्था र विश्वव्यापी आर्थिक वृद्धि अवमूल्यन हुन सक्ने चेतावनी दिएका छन् । पिपल्स बैङ्क अफ चाइनाका गभर्नर झु जिआओचुहानले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा ऋणसङ्कट समाधान गर्न तर्कसङ्गत र जिम्मेवारीपूर्ण ढङ्गले लाग्न अमेरिकीहरूलाई आग्रह गरेका छन् ।
झुले अमेरिकी कङ्गे्रसमा भएको सहमतिको स्वागत गर्दै ट्रेजरी बजारमा आत्मविश्वास बढाउन पनि आह्वान गरेका छन् । साथै, आफूहरूले स्थितिलाई नजिकबाट नियालिरहेको र अमेरिकी योजनाहरू कसरी लागू गरिन्छन् भन्ने प्रश्न प्रमुख चासोको विषय रहेको उल्लेख गरेको छन् । विज्ञप्तिमा उनले चीनको विदेशी मुद्रा सञ्चितिको विविधीकरण गर्नेबारे पनि छलफल चलिरहेको जानकारी दिएका छन् । गभर्नर झुका टिप्पणीहरू चिनियाँ क्रेडिट रेटिङ एजेन्सीले अमेरिकाको 'ए प्लस' रेटिङ घटाउँदै 'ए' मा झारेपछि आएको हो । हालैका केही वर्षमा चीन अमेरिकाको सबैभन्दा ठूलो ऋणदाता रहँदै आएको छ । चीनको विदेशी मुद्रा सञ्चितिमा अमरिकी डलरले दुई तिहाइ भाग ओगटेको बताइन्छ । हाल ३ दशमलव २ खर्ब डलरसहित चीन विश्वको सबैभन्दा ठूलो अमेरिकी डलर सञ्चयकर्ताका रूपमा रहेको बताइन्छ । एजेन्सी
तेलको चर्को मूल्यले विमानसेवाको नाफा घटयो
साउन १८, जेनेभा (स्वीट्जरल्याण्ड) । तेलको उच्च मूल्यले विश्वभरिका विमानसेवाहरूको नाफामा पनि कमी आएको छ । यद्यपि, गतवर्षको ज्वालामुखी विस्फोटनपछि समस्यामा परेका यूरोपेली विमानसेवाहरूले भने यस वर्ष पुनर्बहाली गरेका छन् । अन्तरराष्ट्रिय हवाई यातायात सङ्गठन (आईएटीए)का अनुसार विश्वभरिका विमानसेवामध्येका केहीमा गरिएको नमूना सर्वेक्षणबाट २०११ को दोस्रो त्रैमासमा १ खर्ब ४ अर्ब डलरको नाफा हुने देखिएको छ । जुन गतवर्षको सोही अवधिको २ अर्ब ८८ करोड डलरभन्दा निकै कम हो ।
नाफाबारेको स्पष्ट खाका बनाउन नमूना सर्वेक्षण निकै सानो रहे तापनि एशियाली विमानसेवाहरू बढी समस्यामा देखिएको आईएटीएको प्रतिवेदनले भनेको छ । तर, यूरोपेली क्षेत्रको सुधारले भने हवाईयात्रामा वार्षिक ४ देखि ५ प्रतिशतले वृद्धि हुने देखिएको छ । तैपनि, खासगरी जेटको तेलमूल्य १ सय ३० डलर प्रतिब्यारेलभन्दा पनि बढी भएकाले नाफामा समस्या रहने आईटीएको भनाइ छ । एपी/रासस
जिम्बावेलाई ४० करोड ८० लाख डलर सहयोग आवश्यक : संयुक्त राष्ट्रसङ्घ
साउन १८, हरारे (जिम्बावे) । संयुक्त राष्ट्रसङ्घले दक्षिण अफ्रिकी राष्ट्र जिम्बावेलाई सन् २०११ का लागि ४० करोड ८० लाख अमेरिकी डलर आवश्यक भएको बताएको छ । संयुक्त राष्ट्रसङ्घले जिम्बावेलाई दिइँदै आएको खाद्यान्न, स्वास्थ्य र अन्य मानवीय सहयोग कार्यक्रम सञ्चालन गर्न यो वर्ष उक्त सहयोग आवश्यक पर्ने बताएको हो ।संयुक्त राष्ट्रसङ्घको हरारेस्थित मानवीय सहायता कार्यक्रमका संयोजक एलेन नोउडेहोउले अनुमानित १४ लाख मानिस खेती बिग्रनु, अनियमित वर्षा र अन्य आर्थिक दबाबका कारणले भोकमरीको चपेटामा परेकाले सहयोग आवश्यक रहेको बताए । स्न २०११ को सहायताको मध्यकालीन समीक्षा गर्दै उनले छिमेकी राष्ट्र दक्षिण अफ्रिकाबाट धपाइएका दशौं हजार जिम्बावेलीलाई सहयोग गर्न पनि अन्तराष्ट्रिय दाताहरू अग्रसर हुनुपर्ने आग्रह गरेका छन् । एपी/रासस
माष्टरकार्डको नाफा ३३ प्रतिशतले वृद्धि
साउन १८, न्यूयोर्क (अमेरिका) । माष्टरकार्ड इण्टरनेशनल इङ्कले यस वर्षको दोस्रो त्रैमासको नाफा ३३ प्रतिशतले बढेको बताएको छ । वसन्तयाममा माष्टरकार्ड होल्डरहरूले धेरैपटक आफ्ना कार्डको प्रयोग गर्नुका साथै कम्पनीले थप बैङ्कमार्फत कार्ड जारी गरेकाले पनि नाफा बढेको हो । क्रेडिट र डेबिट दुवै थरीका कार्डको प्रयोग विश्वभरि नै बढ्नुका साथै खासगरी डेबिट कार्डको वृद्धि २८ प्रतिशतभन्दा पनि बढी छ । कम्पनीले मोबाइल भुक्तानी, सम्पर्कविहीन भुक्तानी र गूगल वालेटजस्ता नयाँ प्रविधिमा पनि लगानी गरिरहेको छ । एपी/रासस
चीनमा घूस खाएको आरोपमा पार्टीबाट निष्कासित
साउन १८, बेइजिङ (चीन) । दक्षिण-पश्चिमी चीनका एक पूर्वअधिकारीलाई घूस लिएको आरोपमा कम्युनिष्ट पार्टीको सदस्यताबाट निष्कासन गरिएको छ । युनान प्रान्तका पूर्वगभर्नर याङ होङवेइलाई १६ लाख डलर नगद र १ लाख ४८ हजार डलरबराबरको मालसामान घूस खाएकोलगायतका आरोपमा पार्टीबाट निष्कासन गरिएको हो । याङले घूसखोरी र लागूपदार्थ दुर्व्यसनमा संलग्न हुनुका साथै पदीय जिम्मेवारीको समेत पालना नगरेको सरकारी समाचार संस्था सिन्⋲वाले बताएको छ । सिन्ह्वाका अनुसार, याङलाई अप्रिलमा नै पदमुक्त
गरिएको थियो । एपी/रासस
एअर इण्डियाको घाटा झण्डै ७० अर्ब पूर्वानुमान
साउन १८, नयाँ दिल्ली (भारत) । भारतको राष्ट्रिय विमानसेवा एयर इण्डियाले आर्थिक वर्ष२०११ मा करबाहेक ६९ अर्ब ९४ करोड भारू घाटा गर्ने नागरिक उड्डयनमन्त्री भायालर रविले बताएका छन् । घाटामा रहेको एयर इण्डियामा शेयर पूँजी थपेर विमानसेवालाई उकास्नेबारे मन्त्रीहरूको एक समितले छलफल गरिरहेको छ । संसद्लाई लिखित जवाफ दिने क्रममा रविले उक्त जानकारी दिएका हुन् । एयर इण्डियाले एयरपोर्ट शुल्कबापत मात्र जुनको अन्त्यसम्ममा ८ अर्ब ३४ करोड भारू तिर्न बाँकी छ ।
४ अर्ब डलरबराबरको आफ्नो पूँजीगत ऋणलाई पुन:संरचना गर्न एयर इण्डियाले बैङ्कहरूसँग वार्ता गरिरहेको छ । इण्डियन एयरलाइन्ससँग २००७ मा एकीकरण भएपछि एयर इण्डियाले हालसम्म नाफा गर्न सकेको छैन । त्यसैगरी कतिपय तलब-ज्याला तिर्न बाँकी हुनुका साथै मे महीनाको एक दिन तेलको भुक्तानी गर्न नसकेर उडानसमेत रद्द गर्नुपरेको थियो । एजेन्सी
दक्षिण कोरियामा एप्पलमाथि जरीवाना
साउन १८, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको सञ्चार नियामकले एप्पलको स्थानीय सञ्चालकलाई ३० लाख वोन (२ हजार ८ सय ३० डलर) जरीवाना गरेको छ । एप्पलले उसको आइफोन युजर लोकेशनको सूचनाका लागि अवैध रूपमा जानकारी सङ्कलन गरेको आरोपमा जरीवाना गरिएको हो ।देशको सूचना कानून उल्लङ्घन गरेकाले एप्पल कोरियालाई जरीवाना तिर्न आदेश दिइएको कोरिया कम्युनिकेशन्स कमिशनले बताएको छ । एप्पलका लागि त्यस्तो जरीवाना निकै सानो भए पनि त्यसले अरू नियामकलाई पनि प्रभावित गर्न सक्छ । अमेरिकामा अप्रिलमा एप्पल इङ्कको आइफोनले नजिकको टावर र वाइफाई केन्द्रबाट सूचना टिप्ने गरेको सार्वजनिक भएको थियो । त्यस्ता सूचनाबाट आइफोन प्रयोगकर्ताको गतिविधि निगरानी गर्न सकिने बताइएको छ । एपी/रासस
Admin 2011-08-04