शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

पाइपलाइन फुटेर नदीमा तेल पोखियो

असार २०, मोण्टाना (अमेरिका) । अमेरिकाको मोण्टाना राज्यमा शनिवार येलोष्टोन नदीको पिँधबाट लगिएको पाइपलाइन चुहिएर तेल पोखिएको छ । तेल कम्पनी एक्सन मोबिलको उक्त पाइपलाइनबाट चुहिएको तेल नदीको २५ माइल क्षेत्रफलमा फैलिएको छ । तेल चुहिनाले नदी र किनाराका क्षेत्रमा प्रदूषण फैलिएको छ भने पाइपलाइनमा आगो लागेको छ । पाइपलाइन विस्फोटनको आशङ्काले लौरेल क्षेत्रका १ सय ४० घरपरिवारलाई अस्थायी रूपले हटाइएको थियो । उनीहरूलाई आगो नियन्त्रणमा आएपछि बिहान चार बजेमात्र र्फकने अनुमति दिइएको अधिकारीहरूले बताएका छन् । तेल चुहिएपछि सफाइकर्ताहरूले नदी किनारामा तेल सोस्ने 'बुम'हरू बिछयाएका थिए ।

दुर्घटनापछि एक्सन मोबिलले क्षमा माग्दै नदी सफाइमा सहयोग गर्ने बताएको छ । कम्पनीका प्रवक्ता पाम मालेकले घटनाबारे बोल्दै नदीमा ७ सय ५० देखि १ हजार ब्यारेल कच्चा तेल पोखिएको हुन सक्ने बताएका छन् । एक्सनका अन्य अधिकारीहरूले भने ४२ हजार ग्यालन पोखिएको हुन सक्ने अनुमान गरेका छन् । तेल चुहिएपछि कम्पनीले उक्त पाइपलाइनबाट हुने तेल आपूर्ति बन्द गरेका थिए । येलोष्टोन नदीको पिँधभन्दा ६ फिट तलबाट उक्त पाइपलाइन
लगिएको थियो ।      एपी/रासस

बङ्गलादेशमा ऊर्जा सम्झौताको विरोधमा प्रदर्शन 

असार १९, ढाका (बङ्गलादेश) । बङ्गलादेशको एक नागरिक समूहले राजधानी ढाकामा आइतवार ६ घण्टे हडताल आह्वान गरेको छ । अमेरिकी ऊर्जा कम्पनी कोनोकोफिलिप्ससँग ग्यास स्रोत उत्खननबारेको सम्झौता रद्द गर्नुपर्ने मागका साथ गरिएको उक्त हडतालका कारण व्यापार र यातायत प्रभावित भएका छन् ।क्रुद्ध प्रदर्शनकारीको भीडले सडकमा गुडेका गाडीमा तोडफोड गरिरहेको दृश्य एटीएन बाङ्गला टेलिभिजनले देखाएको छ । ढाकाको पुरानो पल्टनमा जम्मा भएका प्रदर्शनीकारीलाई सुरक्षा अधिकारीहरूले कडा घेरामा राखेका थिए । हडतालका क्रममा ५० जना पक्राउ पर्नुका साथै स्कूलहरू पनि बन्द भएका थिए ।

गत महीना बङ्गलादेश सरकारले बङ्गालको खाडीमा ग्यासको उत्खननका लागि कोनोकोफिलिप्ससँग सम्झौता गरेको थियो । बढदो ऊर्जाको मागलाई सम्बोधन गर्न त्यस्तो उक्त सम्झौता आवश्यक रहेको सरकारको तर्क छ । तर, तेल, ग्यास, खनिज स्रोत, ऊर्जा र बन्दरगाहको राष्ट्रिय सुरक्षा समिति भनिने उक्त प्रदर्शनकारी समूहले भने सरकारले राष्ट्रिय हितविपरीत उक्त सम्झौता गरेको आरोप लगाएको छ । उता, सरकारले भने सम्झौताका प्रावधानलाई आलोचकहरूले गलत व्याख्या गरेको जिकिर गर्दै आएको छ । बङ्गाल खाडीको केही क्षेत्रमा बङ्गलादेश, भारत र म्यानमारबीच स्वामित्वसम्बन्धी पनि विवाद रहँदै आएको छ । एपी/रासस

जापानमा बोइङ ७८७ डि्रमलाइनरको पहिलो अवतरण


असार १९, टोकियो (जापान) । बोइङ कम्पनीको ड्रिमलाइनर भनिने ७८७ जहाजले लामो समयको प्रतीक्षापछि प्रशान्त महासागर पार गर्दै जापानमा अवतरण गरेको छ । जापानी विमानसेवा अल निप्पन एयरवेजले परिष्कृत र अझ बढी इन्धन कुशल भनिएको उक्त नयाँ विमानको एक हप्तासम्म परीक्षण उडान गर्नेछ । त्यसपछि  विमानलाई पहिलो व्यावसायिक उडानमा प्रयोग गर्ने सम्बन्धमा अल निप्पन एयरवेजले तयारी गरिरहेको छ ।'ड्रिमलाइनर’ले सियाटलबाट टोकियोको हानेदा विमानस्थल अवतरण गर्दा उडान प्राविधिक र कर्मचारीले 'जापानमा स्वागत छ’ लेखेको ब्यानर बोकेर स्वागत गरेका थिए । विमान ह्याङ्गर नजिकै पुग्दा खुशियाली मनाउन दुई अग्निशामक ट्रकले हावामा पानीको फोहरा छाडेका थिए ।विमान अवतरण गरिरहेको दृश्यलाई अल निप्पनले युस्टि्रममार्फत प्रत्यक्ष प्रसारण गरेको थियो । विश्वभरिका विमानसेवाहरूले इन्धनको बढ्दो मूल्य सामना गरिरहेकाले इन्धनको न्यून खपत गर्ने विमानको माग   बढिरहेको छ ।       एपी/रासस

बजेटघाटा कम गर्न कर छूट हटाउनुपर्छ : ओबामा


असार २०, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बजेटघाटा कम गर्न कर छूट हटाउनुपर्ने बताएका छन् । आफ्नो साप्ताहिक रेडियो र इण्टरनेट सम्बोधनका क्रममा शनिवार उनले यस्तो बताएका हुन् ।सम्बोधनमा बजेटघाटा कम गर्नका लागि कर छूटको योजनामा सहयोग गर्न उनले 'हेज फण्ड' प्रबन्धकहरू, तेल कम्पनीहरू र अर्बपतिहरूलाई आग्रह गरेका छन् । आफ्नो सरकारले कर छूटलाई अब जारी राख्न नसक्ने पनि उनले बताएका थिए । ओबामाले अर्बपतिहरूलाई कर छूट दिइराख्ने हो भने सरकारले अरू थुप्रै सार्वजनिक खर्चहरू घटाउनुपर्ने उल्लेख गरेका छन् । उनले डेमोक्रयाटिक पार्टीका प्राथमिकतामा परेका ठानिएका शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा सरकारले लगानी बढाउनेमा जोड दिएका थिए ।अमेरिकी अर्थमन्त्री टिमोथी गेइथ्नरले गत हप्ता अमेरिकी कङ्ग्रेसले १४ दशमलव ३ खर्ब डलरको ऋण सीमा योजना पारित नगरेमा सन् २०११ अगस्त २ पश्चात् अमेरिकी सरकार टाट पल्टने बताएका थिए ।

भ्याटिकन नाफामा, तर चन्दा कम

असार १९, भ्याटिकन सिटी । तीन वर्षसम्मको घाटापछि भ्याटिकन गतवर्ष पहिलोपटक नाफामा देखिएको छ । तर, अझै पनि भ्याटिकनका समर्थकहरूले दिने गरेका दान झण्डै १८ प्रतिशत अर्थात् १ करोड ५० लाख डलरले झरेको छ । चर्को आर्थिक समस्याका साथै पादरीहरूको यौन काण्डले भ्याटिकनको आम्दानीमा समेत कमी आएको थियो ।भ्याटिकनले शनिवार प्रस्तुत गरेको सन् २०१० को वार्षिक अर्थिक प्रतिवेदनमा १ करोड ४३ लाख डलर नाफा गरेको बताएको छ । त्यसअघिको वर्ष२००९ मा ५८ लाख डलरले घाटा भएको थियो भने २००७ र २००८ मा पनि घाटा भएको थियो । त्यसैगरी, छुट्टै प्रशासित भ्याटिकन सिटीले खासगरी भ्याटिकन सङ्ग्रहालयको टिकट विक्रीबाट ३ करोड ६ लाख डलर नाफा गरेको छ ।  तर, भ्याटीकनलाई विश्वभरिबाट आउने व्यक्तिगत दान अर्थात् पिटस पेन्स भने अघिल्लो वर्षको भन्दा २०१० मा १८ प्रतिशतले घटेर ६ करोड ७७ लाख डलरमा आइपुगेको थियो । भ्याटिकन बैङ्कले भने उसले पोपलाई दान पुण्यकार्यका लागि दिँदै आएको चन्दामा ७० लाख २६ हजार डलरले वृद्धि गरेको छ ।                    एपी/रासस

जोकोभिक विम्बल्डन च्याम्पियन

आइतवार सम्पन्न पुरुष एकलतर्फो विम्बल्डन टेनिसको उपाधि नोभाक जोकोभिकले जितेका छन् । उनले विश्व नं. १ राफेल नाडाललाई ६-४, ६-१, १-६ र ६-३ ले हराए । जोकोभिक विश्व वरीयतामा २ नं. मा थिए । अब उनी १ नं. मा उक्लनेछन् । नाडाल लगातार पाँचौंपटक विम्बल्डन फाइनलमा पुगेका थिए ।उता, अष्ट्रेलियाकी एशले बार्टीले रूसकी इरिना ख्रोमाचेभालाई आइतवारको फाइनलमा ७-५, ७-६, (७/३) को सेटले पराजित गर्दै विम्बल्डन गर्ल्स सिङ्गल्सको टाइटल जितेकी छिन् । त्यसपछि १५ वर्षीया बार्टी  जुनियर विम्बलडन सिङ्गल्स जित्ने दोस्रो अष्ट्रेलियाली नागरिक हुन पुगेकी छन् । एक दिनअघि मात्रै अष्ट्रेलियाकै ल्युक साभिलले ब्रिटेनका लियाम ब्रोडीलाई हराउँदै बोयज टाइटल जितेका थिए । एएफपी/रासस

इरानद्वारा भारततर्फको तेल निर्यात रोक्ने चेतावनी

असार १९ । इरानले भारतलाई तेलको पुरानो हिसाब फछर्योट नगरेमा कच्चा तेलको आपूर्तिलाई नै रोक्का गरिदिने 'गम्भीर चेतावनी’ दिएको छ । इरानमाथिको अन्तरराष्ट्रिय प्रतिबन्धका कारण भारतले तेलको भुक्तानी गर्न ढिलाइ गरिरहेको छ ।त्यसैले भारतले स्पष्ट समाधान नखोजेमा आफूहरूले तेलको निर्यात नै बन्द गर्नसक्ने राज्यनियन्त्रित नेशनल इरानियन आयल कम्पनीका प्रमुख अहमद घलेबानीले चेतावनी दिएका छन् । चीनपछि भारत इरानको दोस्रो ठूलो कच्चा तेल आयातकर्ता देश हो । तर, चेतावनी दिए तापनि निर्यात नरोकिएको र भारततर्फो निर्यात रोक्ने योजना नरहेको पनि कम्पनीका अन्तरराष्ट्रिय मामिला प्रमुख मोहसिन घम्सारीले स्पष्ट पारे ।

भारतले विगत ६ महीनादेखि नै विभिन्न एशियाली र यूरोपेली देशका बैङ्किङ माध्यममार्फत इरानलाई तेलको भुक्तानी तिर्न खोजिरहेको छ । तर, इरानले भारतीय मुद्रामा भुक्तानी लिन नमानेकाले अप्रिलदेखि झण्डै २ अर्ब डलर तिर्न बाँकी छ । त्यसैले सुनमार्फत भुक्तानी दिन सकिने विषयमा पनि छलफल भइरहेको इरानी तेल मन्त्रालयबाट प्राप्त सूचनामा भनिएको छ । एएफपी/रासस

Admin 2011-07-04