लादेनको मृत्युको खबरले सुनको भाउ खस्कियो
वैशाख १९, लण्डन (बेलायत) । बिन लादेनको मृत्युको खबरपछि अन्तरराष्ट्रिय बजारमा डलर ३ वर्षयताकै बलियो हुनुका साथै तेल, सुन र चाँदीको मूल्य खस्किएको छ । हालसम्मकै उच्च रहेको सुनको मूल्य लादेनको मृत्युको खबरसँगै खस्किएको छ भने चाँदीको मूल्य २००८ को डिसेम्बरपछि सबैभन्दा तल ओर्लेको छ ।सुनको मूल्य प्रतिआउन्स १ हजार ५ सय ७५ दशमलव ७९ डलर पुगेको सुनको मूल्य घटेर झण्डै १ हजार ५ सय ४० डलरमा ओर्लेको थियो । सोमवार दिउँसोसम्ममा भने मूल्यमा केही सुधार भएर प्रतिआउन्स १ हजार ५ सय ५३ डलर पुगेको छ । त्यसैगरी चाँदीको मूल्य प्रतिआउन्स ४७ दशमलव ८० डलरबाट घटेर ४३ दशमलव शून्य ४ डलरसम्म झरेको थियो । चाँदीको मूल्यमा पनि पछि केही सुधार भएर प्रतिआउन्स ४७ दशमलव ८० डलरमा रहेको छ ।
चाँदीको मूल्य १० प्रतिशतले तल ओर्लेको छ, जुन २००८ को अन्तिमपछि कै तल्लो बिन्दु हो । कतिपय व्यापारीले चाँदीको मूल्यमा तीव्र ओरालो लाग्नुलाई सुन-चाँदीको अनुपात तथा स्टप लस अर्डरसँग जोडेर हेरेका छन् । एशियाका धेरै भागमा तथा यूरोपका प्रायः क्षेत्रका बजार मे दिवसका अवसरमा बन्द रहेका थिए । त्यसले पनि बजारमा खेलाडीको सङ्ख्या घटनुका साथै व्यापारलाई अस्थिर बनाएको हो ।लादेनको मृत्युको खबरलगत्तै सुनको मूल्य प्रतिआउन्स ५ डलरले कमी आएको थियो । तर, अहिलेको बृहत् आर्थिक अवस्था र राजनीतिक वातावरणका कारणले सुनको मूल्य बढ्दो क्रममै रहने व्यापारीहरूले अपेक्षा गरेका छन् । रोयटर्स
भारतमा विशाल स्टील कारखाना निर्माण
वैशाख १९, नयाँ दिल्ली (भारत) । भारतले दक्षिण कोरियाको स्टील कम्पनी 'पोस्को'लाई एउटा विशाल स्टील कारखाना निर्माण गर्ने अनुमति सोमवार दिएको छ । १२ अर्ब डलर लागतमा बन्न लागेको उक्त कारखाना भारतले १९९१ मा खुलाबजार अँगालेपछिको सबैभन्दा ठूलो विदेशी लगानी हो । कारखाना भारतको पूर्वी राज्य उडिसामा स्थापना गरिनेछ । कारखाना स्थापनाको विरोधमा स्थानीय जनताले २००५ देखि नै अभियान चलाउँदै आएका छन् । कारखाना स्थापना हुँदा ठूलो मात्रामा कृषियोग्य जमीन र वनजङ्गल विनाश गर्ने अभियानकर्ताहरूले आरोप लगाएका छन् ।
'कारखाना निर्माणका लागि १ हजार २ सय ५३ हेक्टर वनक्षेत्र पोस्कोलाई हस्तान्तरण गर्नका लागि राज्य सरकारलाई अन्तिम अनुमति प्रदान गरिएको छ,’ वातावरणमन्त्री जयराम रमेशले एक विज्ञप्तिमा भनेका छन् । तर, पोस्कोले उक्त क्षेत्रफलबराबर अन्यन्त्र तोकिएको ठाउँमा वनक्षेत्र सृजना गर्नुपर्ने तथा हाल दिइएको जमीनको मुआब्जा पनि तिर्नुपर्ने रमेशले बताए । रमेशका अनुसार, उक्त कारखाना अत्यन्तै सुलभ तथ प्राविधिक र रणनीतिक रूपले महत्त्वपूर्ण हुनेछ । तर, त्यसका साथै वातावरण र वनजङ्गलसम्बन्धी कानूनको पनि गम्भीरतापूर्वक पालना गर्नुपर्ने रमेशले निर्देशन दिएका छन् । एएफपी/रासस
जापानी संसद्द्वारा पूरक बजेट पारित
वैशाख १९, टोकियो (जापान) । जापानको संसद्ले हालै आएको सुनामीले पुर्याएको क्षतिको परिपूर्तिका लागि ४८ अर्ब डलरको बजेट पारित गरेको छ । शनिवार संसद्को तल्लो सदनले बजेट पारित गरेपछि सोमवार माथिल्लो सदनले पनि पारित गरेको छ । उक्त रकमलाई सरकारले अप्रिलमा शुरू भएको आर्थिक वर्षको पूरक बजेटका रूपमा प्रस्तुत गरेको थियो । यसअघि नै भूकम्प र सुनामीबाट उत्पन्न उक्त प्राकृतिक विपत्ति हालसम्मकै महँगो विपत्ति हुन पुगेको छ ।हाल पारित बजेटबाट अझै पनि उचित बसोबास नभएका १ लाख पीडित मानिसका लागि नयाँ घर बनाइनेछ । त्यसका साथै, सुनामीले थुपारेको फोहोर र भग्नावेशष सफा गर्न, माछा मार्ने क्षेत्रको पुनर्निर्माण गर्न र विपत्तिबाट पीडित व्यापार तथा तिनका कर्मचारीलाई सहयोग गर्न पनि बजेट प्रयोग गरिनेछ । सुनामीपछि सरकारले उचित प्रबन्ध मिलाउन नसकेको जनगुनासो र फुकुशिमा आणविक दुर्घटनाका कारणले हालको सरकार नै सङ्कटमा परेको छ ।'तत्काल पुनर्निर्माण कार्य शुरू होस् भनेर मात्र हामीले यो बजेट योजनालाई समर्थन गरेका हौं,’ विपक्षी कम्युनिष्ट पार्टीका सांसद् मिकिशी दाइमोनले आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने । विपत्तिअघि नै अलोकप्रिय रहेका कानलाई सङ्कटको उचित व्यवस्थापन गर्न नसकेको भन्दै विपक्षीहरूले राजीनामा गर्न आह्वान गरेका छन् । एपी/रासस
अमेरिकाका टीनएजर बेरोजगार
वैशाख १९, शिकागो (अमेरिका) । आगामी महीनाहरूमा निकै कम अमेरिकी नवयुवा अर्थात् टीनएजरहरूले काम पाउनेछन् । कमजोर रोजगार बजार र केन्द्रीय सरकारको अनुदान कटौतीले टीनएजरले पाउने गृष्मयामको काम अर्थात् समर जबमा पनि कटौती हुनेभएको छ ।सोमवार जारी एक प्रतिवेदनअनुसार आगामी समर जबमा चारमध्ये एक टीनएजरले मात्र काम पाउनेछन् । त्यसले सामाजिक अस्थिरतासमेत निम्त्याउन सक्ने विशेषज्ञहरूले औंल्याएका छन् । किनभने शिकागोजस्तो शहरका १६ देखि १९ वर्षसम्मका अफ्रिकी मूलका अमेरिकन नवयुवामध्ये ९० प्रतिशत बेरोजगार हुनेछन् । त्यसबाट सडक प्रदर्शन र हिंसासमेत बढ्न सक्ने विशेषज्ञहरूको चेतावनी छ । गृष्मयाम अर्थात् समरका महीनाहरूमा युवा बेरोजगारीले ल्याउने सम्भावित हिंसाप्रति स्थानीय र राष्ट्रिय दुवै तहका नेतृत्वले उपेक्षा गरिरहेको शिकागो अर्बन लिगका प्रेजिडेण्ट एण्ड्रिआ जोपले एक विज्ञप्तिमा भनेका छन् । रोयटर्स
भारतमा भ्रष्टाचार आरोपीको मुद्दामा सुनुवाइ
वैशाख १९, नयाँ दिल्ली (भारत) । भारतको हालसम्मकै ठूलो भ्रष्टाचार काण्डका पाँच आरोपीको जमानत निवेदनबारे दिल्ली उच्च अदालतले बुधवारदेखि सुनुवाइ जारी गर्ने भएको छ । बुधावार सुनुवाइ हुन लागेका ती पाँच व्यक्ति भारतको व्यापारजगत्का उच्चपदस्थ कार्यकारी हुन् । तिनमा टेलिनोरका भारतीय साझेदार युनिटेकका सञ्जय चन्द्रा, एस्तिलातका भारतीय साझेदार कम्पनीका एक निर्देशक विनोद गोयन्कालगायत छन् । रिलायन्स एडीएका अन्य तीन जनाको जमानत अप्रिल २० मा तल्लो अदालतले अस्वीकार गरेपछि उनीहरूलाई जेलमा राखिएको छ ।
भारतको केन्द्रीय प्रहरीले २००७/०८ को दूरसञ्चार अनुमतिपत्र र रेडियो स्पेक्ट्रम काण्डमा ती पाँचलगायत थुप्रैमाथि मुद्दा चलाएको छ । उक्त काण्डबाट भारतले ३९ अर्ब डलरबराबरको आम्दानी गुमाएको हुन सक्ने त्यहाँको सरकारी लेखापरीक्षकले भनेको थियो । रोयटर्स
निभियाको सय वर्ष दीर्घ जीवनको रहस्य
वैशाख १९, फ्र्याङ्कफर्ट (जर्मनी) । यस वर्षनिभिया क्रिमले आफ्नो सयौं जन्मोत्सव मनाउने भएको छ । सन् १९११ मा एक जर्मन औषधि कम्पनीका प्रमुख ओस्कर ट्रोप्लोविजले तेल र पानीको एउटा सम्मिश्रण 'इयुकेरित’को आविष्कार गरे । उनको त्यो उत्पादन तत्काल लोकप्रिय भयो किनभने अन्य उत्पादनमा जस्तो त्यसमा ढुसी पर्दैनथ्यो । त्यसपछि ओस्करले त्यसमा सुन्तला, गुलाफ, सुगभागा आदिजस्ता विभिन्न बास्ना थपे अनि त्यस्तो नयाँ उत्पादनलाई 'निभिया’ भनेर नामकरण गरे ।
उक्त नाम ल्याटिनको 'निभियस’बाट लिइएको थियो, जसको अर्थ हिउँजस्तै सेतो हुन्छ । शुरूमा उच्च वर्गीयहरूमा मात्र निभियाले लोकिप्रियता पाएको थियो । तर, कालान्तरमा आज नीलो बट्टा भएको निभिया २ सय भन्दा बढी देशमा विक्री गरिन्छ जसमध्ये सबैभन्दा बढी विक्री हुने देश यूएइ हो ।निभियाको यस्तो सफलताको रहस्य के छ त ? विशेषज्ञका अनुसार निभियाको सबैभन्दा ठूलो सफलता भनेको कम मूल्यमा स्तरीय उत्पादन दिनसक्नु हो ।निभियाको दीर्घजीवनको अर्को रहस्य उसले आफूलाई अन्य उत्पादनसँग समायोजन र परिवर्तन गर्नसक्नु हो । निभियाले आफ्नो ब्राण्ड नेम १४ अन्य उत्पादनलाई समेत दिएको छ, जसमा सनस्क्रीनदेखि डिओडरेण्टसम्म छन् । एएफपी/रासस
Admin 2011-05-03