भारतमा पूर्वमन्त्रीलगायतलाई भ्रष्टाचार मुद्दा
चैत १९, नयाँ दिल्ली (भारत) । केन्द्रीय अनुसन्धान विभागले शनिवार पूर्वमन्त्री अण्डिमुथु राजा, रिलाएन्स एडीए समूह र एस्तिलातको भारतीय शाखामाथि दूरसञ्चार अनुमतिपत्रमा भ्रष्टाचारको मुद्दा हालेको छ । २००८ मा भएको मोबाइल फोन अनुमतिपत्र सम्बन्धि उक्त भ्रष्टाचार काण्डलाई भारतकै हालसम्मको ठूलो भ्रष्टाचार मानिएको छ । तत्कालीन दूरसञ्चारमन्त्री राजालगायत युनिटेकका कार्यकारी निर्देशक सञ्जय चन्द्रा र रिलाएन्स एडीएका तीन अधिकारीमाथि पनि मुद्दा हालिएको सरकारी वकिल एके सिंहले बताए ।उनीहरूमाथि षड्यन्त्र, ठगी, कागजातको जालसाजी, अख्तियार दुरूपयोग र मिलेमतोको आरोप लागेको सिंहले जानकारी दिएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र छानबिनमा तदारूकता देखाउन नसकेको भन्दै विपक्षीहरूले प्रधानमन्त्री मनमोहन सिंहसमेतको राजीनामा मागेका छन् । साथै एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा लगानी गर्न चाहने विदेशी लगानीकर्तासमेत भ्रष्टाचार काण्डबाट सशङकित भएका छन् । रोयटर्स
श्रीलङ्कामा तेलको भाउ बढ्यो
चैत १९, कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काले तेलको मूल्य ७ दशमलव ५ प्रतिशतले बढाएको छ । कच्चा तेलको आयात खर्चमा भएको वृद्धिलाई धान्न मूल्यवृद्धि गर्नुपरेको श्रीलङ्का सरकारले बताएको छ । पेट्रोलको मूल्य शनिवार १० श्रीलङ्काली रूपिया (१ दशमलव ३ डलर)ले बढेर प्रतिलिटर १ सय ४३ रूपिया पुगेको छ । त्यसैगरी सार्वजनिक यातायातमा व्यापक प्रयोग गरिने डिजेलको मूल्य भने प्रतिलिटर ३ दशमलव ५ प्रतिशतले बढेर ९३ रूपिया पुगेको छ । श्रीलङ्काले आफूलाई चाहिने सम्पूर्ण तेल आयात इरान, सउदी अरेबिया र मलेशियाजस्ता देशबाट आयात गर्दछ । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यवृद्धि भएकाले आफूहरूले पनि तेलको भाउ बढाउनुपरेको श्रीलङ्काली पेट्रोलियम कर्पोरेशनका एक अधिकारीले बताए ।तेलको मूल्यवृद्धिले झनै महँगी बढाउने देखिएको छ । मार्चको मूल्यस्फीति २ वर्षपछिकै उच्च ८ दशमलव ६ प्रतिशतमा उक्लेको छ । श्रीलङ्काको केन्द्रीय बैङ्कले २०११ को अन्तिमसम्ममा ६ देखि ७ प्रतिशतको मूल्यस्फीति दर पूर्वानुमान गरेको छ । एएफपी/रासस
दशलाख वेबसाइटमा लिजामून आक्रमण
चैत १९, सियाटल (अमेरिका) । दश लाखभन्दा बढी वेबसाइटमा एउटा उच्च प्रविधिको ह्याकिङ आक्रमण भएको छ । त्यस्तो ह्याकिङबाट प्रयोगकर्तालाई एउटा जालसाजीपूर्ण सफ्टवेयर विक्रीतर्फ प्रोत्साहित गरिन्छ । 'मास इन्जेक्शन’ भनिने सो सो आक्रमणलाई हालसम्मकै ठूलो भनिएको छ । त्यसरी पठाइएको कोडबाट इण्टरनेट हुँदै प्रयोगकर्ताको सभरमा रहेको डाटासमेत चोर्न सकिन्छ ।पहिलोपटक त्यस्तो आक्रमणबारे पत्ता लगाउने वेबसेन्सले त्यस्तो आक्रमणलाई 'लिजामून’ भनेको छ । प्रयोगकर्ताले आफूहरूलाई अर्कैतिर लान खोजिएको थाहा पाउने र त्यसपछि उक्त विण्डोलाई बन्द गरेमा कुनै हानि नपुग्ने वेबसेन्सका सुरक्षा अनुसन्धानकर्ता प्याटि्रक रूनाल्डले बताए । तर, उक्त आक्रमणले हालसम्म साना वेबसाइटलाई मात्र लक्षित गरेको हुनाले ठूला लोकप्रिय र सरकारी वेबसाइटमा त्यस्तो आक्रमण फेला नपारिएको रूनाल्डले जानकारी दिएका छन् ।तत्काल त्यस्तो पेजलाई बन्द नगरेमा 'विण्डोज स्टेबिलिटी सेण्टर’को छद्म मेसेज देखिन्छ । माइक्रोसफ्ट कर्पोरेशनको नामबाट आउने त्यस्तो मेसेजमा प्रयोगकर्ताको प्रणालीमा गम्भीर समम्या रहेकाले मरमतको लागि पैसा तिर्न प्रोत्साहित गरिएको हुन्छ । रोयटर्स
भारतमा यौनसामग्री वेबसाइटमाथि प्रतिबन्ध
भारत सरकारले यौनसामग्री भएका डट एक्सएक्सएक्स वेबसाइटलाई ब्लक गर्ने प्रस्ताव गरेको छ । वेबसाइट नियन्त्रण गर्ने अन्तराष्ट्रिय संस्था आइक्यानले यौनसामग्रीयुक्त वेबसाइटका लागि डट एक्सएक्सएक्स प्रत्ययलाई स्वीकृत गरेको थियो । २०११ को दोस्रो त्रैमासबाट त्यस्ता वेबसाइट आउने भएका छन् । त्यसबाट उदारवादी हुँदै गएका युवा तथा परम्परागत मान्यताबीचको द्वन्द्व पनि बढ्ने देखिन्छ ।तर, परम्परावादी समूहको लगातार विरोध रहे तापनि भारतमा यौनसामग्री सजिलै उपलब्ध हुने गरेको छ । हालसालै भारतको एक लोकप्रिय यौनसामग्री वेबसाइट सबिताभाभीलाई बन्द गरेपछि उक्त साइट विदेशी सभरबाट सञ्चालन हुन थालेको छ । भारतमा यौनसामग्रीको प्रचारप्रसारलाई अनैतिक मानिन्छ । साथै कानूनी रूपले अवैध पनि हो । विद्युतीय सञ्चारमाध्यममा त्यस्ता सामग्रीको वितरण गर्नेलाई ५ वर्षसम्मको जेल सजाय तथा १ लाख भारू.सम्मको जरीवाना हुन सक्छ । एशियाको तेस्रो ठूलो अर्थतन्त्रमा व्यापक सामाजिक परिवर्तन देखिँदैछ । मध्यमवर्गीय समूहको विस्तारका साथै मानिसका जीवनशैली पनि परिवर्तन भएका छन् । परम्परागत विवाहको साटो बिहे नै नगरी सँगै बस्ने चलनको विकास भइरहेको छ । त्यस्ता प्रवृत्तिले पुराना-नयाँ पुस्ताबीचको द्वन्द्व पनि चर्किंदै गएको छ । रोयटर्स
फुकुशिमामा विकिरणयुक्त पानी चुहियो
चैत १९, टोकियो (जापान) । जापानी प्रधानमन्त्री नाओतो कानले पहिलोपटक सुनामीबाट क्षतिग्रस्त क्षेत्रको शनिवार भ्रमण गरेका छन् । प्रधानमन्त्री कानले रिकुजेन्ताका गाउँमा बनाइएको अस्थायी टहरामा बसेका शरणार्थीसँग भेटघाट गरेका छन् । मार्च ११ मा आएको भूकम्प र सुनामीबाट हालसम्म २८ हजारको मृत्यु भएको सरकारी तथ्याङ्क छ । सुनामी छेक्ने पर्खाल बनाइएको भएतापनि त्यस दिन आएको सुनामीले गाउँलाई हिलो, पानी, र थुप्रोले पुरिदिएको थियो । यसबाट त्यस गाउँका धेरैजसो बासिन्दाको मृत्यु वा घाइते भएका थिए । थुप्रैलाई पानीले बगाएको थियो । सङ्कटको उचित व्यवस्थापन गर्न नसकेको भनेर कानको आलोचना हुनुका साथै राजीनामा समेत मागिएको छ ।फुकुशिमा आणविक केन्द्रका सञ्चालकले केन्द्रबाट विकिरणयुक्त पानी समुद्रमा चुहिरहेको जानकारी दिएका छन् । 'केन्द्र नजिकको समुद्रमा विकिरणको मात्रा बढ्दै गएकाले हामी त्यसको कारण पत्ता लगाउने प्रयास गर्दैछौं । विकिरणयुक्त पानी त्यसको कारण हुन सक्ने सम्भावना छ,’ आणविक तथा औद्योगिक सुरक्षा निकायका प्रमुख हिदेहिको निशियामाले भने । तर, थप अध्ययन गर्न बाँकी नै रहेकाले अहिले नै ठोकुवा गरेर भन्न नसकिने पनि उनले प्रस्टयाएका छन् । रोयटर्स
हिमताल जोगाउन दलाई लामाको आह्वान
चैत १९, नयाँ दिल्ली (भारत) । तिब्बतका हिमतालहरू पग्लिँदै गएकोमा दलाई लामाले चिन्ता व्यक्त गरेका छन् । साथै, तिब्बतका हिमतालबाट आउने पानी लाखौं भारतीय जनताले प्रयोग गर्ने भएकाले त्यसबारे भारतले पनि गम्भीर चासो राख्नुपर्ने उनको सुझाव छ ।तिब्बतका हिमताल संसारका अन्य हिमतालभन्दा तीव्र दरले खुम्चिरहेका भन्ने चिनियाँ विशेषज्ञहरूको भनाइलाई उद्धृत गर्दै दलाइ लामाले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् । साथै तिब्बतको पर्यावरणमा विशेष ध्यान दिनुपर्नेमा उनको जोड छ । 'यो अति महत्त्वपूर्ण कुरा हो,’ दलाइ लामाले भने ।तिब्बतका हिमतालहरू एशियाका ठूला नदीका स्रोत हुन् । त्यसैले तिब्बती हिमताल सुक्दा इण्डुस र गङ्गालगायतका ठूला नदीहरू पनि जोखिममा पर्नेछन् । 'यो राजनीतिको कुरा होइन । यसमा चीनलगायत सबैको चासो हुनुपर्छ,’ दलाइ लामाको जोड छ । विश्वकै एक तिहाइ जनसङ्ख्या रहेका भारत र चीनमा स्वच्छ पानीको अभाव बढ्दै गएको छ । एपी/रासस
Admin 2011-04-03