शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सिटीग्रूपको चिनियाँ सेक्युरिटिज बजारमा संयुक्त लगानी 

जेठ १९, बेइजिङ (चीन) । अमेरिकी बैङ्क सिटीग्रूपले चिनियाँ सेक्युरिटीज कम्पनी ओरिएण्टसँग संयुक्त लगानी गर्ने बिहीवार घोषणा गरेको छ । त्यसपछि चीनको बढ्दो पूँजीबजारमा अन्य विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सजिलो हुने सिटीग्रूपको अपेक्षा छ । संयुक्त लगानीमा ओरिएण्ट सेक्युरिटिज कम्पनी लिमिटेडको ६७ प्रतिशत हिस्सा हुनेछ भने बाँकी हिस्सा सिटीग्रूपको हुनेछ ।तर, त्यस्तो संयुक्त लगानीले चिनियाँ नियामक निकायबाट अनुमति पाउन बाँकी नै छ । सिटीग्रूपले चीनभरि नै खुद्रा र कर्पोरेट बैङ्किङ सञ्चालन गरेको छ । हालको संयुक्त लगानीपछि उसले चिनियाँ र विदेशी कम्पनीहरूका लागि शेयर तथा वण्डको प्रत्याभूति (अण्डरराइट) गर्न सक्नेछ । त्यसका साथै, उसले घरेलु विलयन र अधिग्रहणका लागि पनि परामर्श सेवा दिन सक्नेछ ।

ओरिएण्ट र सिटीग्रूपले अनुसन्धान र तालीमजस्ता अन्य क्षेत्रमा पनि सहयोगको सम्भावना खोजी गर्ने विज्ञप्तिमा भनिएको छ । सिटीग्रूपको गुआङ्डङ विकास बैङ्क र साङ्र्घाई पुडोङ विकास बैङ्कमा पनि हिस्सा रहेको छ । ओरिएण्टसँगको संयुक्त लगानीलाई यस वर्षको अन्तिमसम्ममा नियामक निकायबाट अनुमोदन गरिने र २०१२ को पूर्वार्द्धबाट सञ्चालन शुरू गर्ने सिटीग्रूपको अपेक्षा छ ।  वास्तवमा सिटीग्रूपले चीनको इन्भेष्टमेण्ट बैङ्किङ उद्योगमा तुलनात्मक रूपले ढिलो प्रवेश गरेको छ । यसअघि नै यूबीएस, गोल्डम्यान साख, मोर्गन स्टान्ली, क्रेडिट सुइसे र डोचे बैङ्कजस्ता ठूला विदेशी बैङ्कहरूले चीनको सेक्युरिटिज बजारमा संयुक्त लगानी खोलिसकेका छन् । एएफपी/रासस

अन्तरराष्ट्रिय हवाईयात्रा मन्दीपूर्वकै अवस्थामा

जेठ १९, सिङ्गापुर (सिङ्गापुर) । अन्तरराष्ट्रिय हवाईयात्रा फेरि २००८ को मन्दीअघिकै अवस्थामा आइपुगेको छ । तर, जेट इन्धनको उच्च मूल्य र अन्य समस्याका कारण हालको सुधार फेरि सङ्कटमा पर्नसक्ने अन्तरराष्ट्रिय हवाई यातायात सङ्गठन आईएटीएले बताएको छ । यस वर्षको शुरूका ४ महीनामा आइपरेका समस्या र उतारचढावले नाफा घटेको आईएटीएका महानिर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जिओभान्नी बिसिग्नानीले बताए ।अप्रिलसम्मको वर्षमा अघिल्लो वर्षको भन्दा १६ दशमलव ५ प्रतिशतले हवाई यात्रुसङ्ख्या बढेको छ । त्यसमध्ये, यूरोपेली र ल्याटिन अमेरिकी विमानसेवाले राम्रो प्रदर्शन गरेका छन् । तर, अप्रिलमा आइसल्याण्डको ज्वालामुखी विस्फोटनपछि यूरोपतर्फो यात्रा कटौती भएकाले सुधारसम्बन्धी तथ्याङ्क 'अतिशोयक्तिपूर्ण’ हुन पुगेको सङ्गठनको मूल्याङ्कन छ ।
 
यूरोपेली विमानसेवाहरूको यात्रुसङ्ख्या अप्रिलमा २९ दशमलव ३ प्रतिशतले र ल्याटिन अमेरिकी विमानसेवाहरूको  २५ दशमलव ९ प्रतिशतले बढेको छ । एशिया प्रशान्त क्षेत्रमा भने मुख्यत: चीन र भारतबाट हुने हवाईयात्रामा ५ दशमलव १ प्रतिशतको वृद्धि भएको छ । तर, जापानको भूकम्प र सुनामी तथा मध्यपूर्व र उत्तर अफ्रिकाजस्ता लोकप्रिय पर्यटक क्षेत्रमा देखिएको अस्थिरताले भने ती क्षेत्रमा हुने हवाईयात्रामा कमी आएको छ । त्यति हुँदाहुँदै पनि अन्तरराष्ट्रिय हवाईयात्रा २००८ को मन्दी शुरू हुने बेलाको भन्दा ७ प्रतिशत माथि रहेको विसिग्नानीले विज्ञप्तिमा भनेका छन् ।    एएफपी/रासस

दूरसञ्चार भ्रष्टाचार काण्डमा टाटालाई सफाइ

जेठ १९, नयाँ दिल्ली (भारत) । भारतको केन्द्रीय अनुसन्धान विभाग सीबीआईले टाटा समूहलाई दूरसञ्चार अनुमतिपत्र काण्डमा सफाइ दिएको छ । भारतको अत्यन्त सम्मानितमध्येको व्यापारिक घराना टाटा समूह हाल रतन टाटाको नेतृत्वमा छ ।टाटा समूहअन्तर्गतको टाटा टेलिकमलाई दिइएको अनुमतिपत्र अवैध नरहेको सीबीआईले नयाँ दिल्लीस्थित अदालतलाई बताएको छ ।  टुजी मोबाइल अनुमतिपत्र पाउनेमध्ये नयाँ कम्पनीहरूले नै उक्त काण्डबाट फाइदा उठाएका सीबीआईको भनाइ छ । अधिकारीहरूले पूर्व दूरसञ्चारमन्त्री ए राजाले २००८ मा आफूले रोजेका कम्पनीहरूलाई टुजी मोबाइल अनुमतिपत्र दिएको आरोप लगाएका छन् । भारत मोबाइल फोनको विश्वमै अग्रणी बजार हो । झण्डै ४० अर्ब डलर घाटा लागेको भनिएको उक्त काण्डले प्रधानमन्त्री मनमोहन सिंहको सरकारलाई नै हल्लाइदिएको छ । राजालगायत एक दर्जनभन्दा बढी उच्च अधिकारी र व्यापारिक कार्यकारीहरू हाल छानबिनका क्रममा जेलमा रहेका छन् । भारतको मोबाइल फोन क्षेत्रको अर्को विशाल कम्पनी रिलायन्स कम्युनिकेशनका अधिकारीसमेत जेलमा छन् । रिलायन्स एडीए समूहका प्रमुख र भारतका अर्का चर्चित उद्योगपति अनिल अम्बानीलाई पनि संसद्को सार्वजनिक लेखा समितिले सोधपुछ गरिसकेको छ ।  एएफपी/रासस

आईएमएफ प्रमुख बन्ने कसरत जारी

जेठ १९, बेइजिङ (चीन) । अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)को प्रमुखमा आफ्नो उम्मेदवारीमा समर्थन जुटाउने क्रममा फ्रान्सकी अर्थमन्त्री क्रिष्टिन लागार्देले जुनुको शुरूमा चीन भ्रमण गर्ने भएकी छन् ।चीनको केन्द्रीय बैङ्क पिपल्स बैङ्क अफ चाइनाले लागर्देको भ्रमणका बेला उनीसँग छलफल गर्ने विदेश मन्त्रालयका प्रवक्ता हङ लेइले जानकारी दिए ।कोष प्रमुखको छनोट र उक्त संस्थाको पुन:संरचनाका महत्त्वपूर्ण विषय रहेको लेइले जोड दिएका छन् । कोष प्रमुख को उम्मेदवार छनोट योग्यता र पारदर्शितामा आधारित हुनुपर्नेमा चीनले जोड दिँदै आएको छ ।उता, कोष प्रमुखको पदमा यूरोपले विश्वनीयता गुमाइसकेको मेक्सिकोका केन्द्रीय बैङ्क गभर्नर अगस्टिन कासटेन्सले दाबी गरेका छन् ।वर्तमान सन्दर्भमा यूरोपियन देशहरूले आफ्नो विश्वसनीयता प्रमाणित गर्ने अवस्था नरहेको कान्सटेन्सले आफ्नो ब्राजिल भ्रमणका बेला भनेका छन् । एजेन्सी

गूगलको आरोपबारे अमेरिकी चासो

जेठ १९, लण्डन (ब्रिटेन) । चिनियाँ ह्याकरहरूले चीनस्थित अमेरिकी अधिकृतहरूको सूचना चोरेको भन्ने गूगलको आरोपबारे अमेरिकी अधिकारीहरूले छानबिन गर्ने भएका छन् ।ह्याकरहरूले ती अमेरिकी अधिकारीका इमेलबाट सूचना चोरेको गूगलको आरोप छ । यस्ता घटनाबाट इण्टरनेट क्षेत्र अर्थात् साइबरस्पेसका चुनौती उजागर भएको साइबर मामिलासम्बन्धी अमेरिकी स्टेट डिपाटमेण्टका संयोजकले बताए ।

उच्च अमेरिकी अधिकारी, सैनिक अधिकारी र राजनीतिक अभियन्तालगायत सयौं उच्चपदस्थका व्यक्तिगत जीमेल एकाउण्टबाट सूचना चोरिएको गूगलले बुधवार बताएको थियो । त्यस्ता साइबर आक्रमण अर्थात् ह्याकिङ चीनको जिनान शहरबाट भएको पत्ता लागेको गूगलको आरोप छ ।उक्त शहरमा चीनको एउटा सैनिक व्यावसायिक स्कूल पनि रहेको छ । त्यस स्कूलका कम्प्युटरहरूबाट १७ महीनाअघि पनि आफ्नो प्रणालीमा आक्रमण भएको गूगलको आरोप थियो । तर, चीनले भने आफूले ह्याकिङलाई समर्थन नगरेको बताउँदै आएको छ ।साइबर सुरक्षाको क्षेत्रमा राज्य र गैरराज्यपक्षबाट आक्रमण भएको छ कि छैन भन्ने स्पष्ट गर्न निकै गाह्रो भएको अमेरिकी सरकारका साइबर संयोजक क्रिष्टोफर पेण्टरले बताए । त्यसैगरी, इण्टरनेट सोसाइटी अफ चाइनाकी युआन झुले चीनले साइबर चोरी अर्थात् फिशिङमाथि कडा कार्बाही गरिरहेको बताएकी छिन् । एएफपी/रासस

रूस र यूरोपियन युनियनबीच तरकारी विवाद

जेठ १९, मस्को (रूस) । रूसले यूरोपियन युनियनका २७ ओटै देशबाट ताजा तरकारीको आयातमा प्रतिबन्ध लगाएपछि युनियनबाट क्रुद्ध प्रतिक्रिया आएको छ । यूरोपियन युनियनका देशका त्रूटिपूर्ण स्वास्थ्य सेवा प्रणालीका कारण १७ जना व्यक्तिको मृत्यु भएको भन्दै रूसले ताजा तरकारीको आयातमा प्रतिबन्ध लगाएको हो । काङ्क्रालगायतका हरियो तरकारीबाट खतरनाक ब्याक्टेरिया सङ्क्रमणपछि जर्मनीमा व्यक्तिहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको थियो ।तर, रूसले लगाएको प्रतिबन्धलाई यूरोपेली आयोगका प्रवक्ताले तत्काल विरोध गरेका छन् । त्यस्तो 'अमिल्दो’ प्रतिबन्धका बारे मस्कोसँग आधिकारिक जवाफ मागिने ती प्रवक्ताले बताए ।

उता, रूसले लगाएको प्रतिबन्ध तत्काल लागू हुने बताइएको छ । त्यसका साथै, जर्मनीमा १७ जनाको रहस्यमय मृत्युका बारे यूरोपियन युनियनले थप स्पष्ट नगरेसम्म प्रतिबन्ध लागू नै रहनेछ ।सङ्क्रमणमा कमी आइरहेका बारे कुनै प्रमाण नदेखिएको तथा सङ्क्रमित बिरामीको उपचारका लागि पनि पर्याप्त प्रयास नगरिएको रूसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । स्पेनबाट आएको अर्गानिक काङ्क्राबाट सङ्क्रमण फैलिएको हुन सक्ने प्रारम्भिक अनुमान भने गलत रहेको जर्मनीले बताएको छ । त्यसपछि स्पेनका प्रधानमन्त्रीले क्षतिपूर्तिको समेत माग गरेका छन् ।रूसले आयात गर्ने तरकारीमध्ये २० प्रतिशत यूरोपियन युनियन र बाँकीमध्ये धेरैजसो चीन र टर्कीबाट आउने बताएको छ । तर, हालको प्रतिबन्धबाट वार्षिक ४ अर्ब ३० करोड डलरको तरकारी व्यापारमा धक्का लागेको यूरोपेली आयोगको गुनासो छ । एएफपी/रासस

Admin 2011-06-03