शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अन्तरराष्ट्रिय हवाई यात्रु सङ्ख्या वृद्धि

माघ १९, जेनेभा (स्वीट्जरल्याण्ड) । अन्तरराष्ट्रिय यात्रुको सङ्ख्यामा गतवर्ष८ दशमलव २ प्रतिशत र हवाई मार्गबाट हुने ढुवानीमा २० प्रतिशतले वृद्धि भएको छ । तर, त्यसबाट वायुसेवा कम्पनीहरूको नाफाको 'मार्जिन'मा खासै वृद्धि हुन नसकेको वायुसेवा उद्योगसम्बद्ध समूह आईएटीएले बुधवार बताएको छ । यात्रुबाहक क्षमता ४ दशमलव ४ प्रतिशत तथा कार्गो ढुवानी त्यसको दोब्बरले बढे तापनि मागमा भएको वृद्धिलाई धान्न सकेको थिएन । 'उड्डयनकै इतिहासमा २००९ मा हालसम्मकै मागमा कमी आएको थियो । तर, २०१० मा मानिसहरूले फेरि व्यवसाय यात्रा गर्न थालेका छन्’ आईएटीएका प्रमुख कार्यकारी अधिकृत जीओभानी बिसिन्यानीले भने ।विमानसेवाहरूले २००८ को शुरूतिरको भन्दा पनि बढी यात्रु ओसारेका छन्, तर नाफाको मार्जिन २ दशमलव ७ प्रतिशत मात्र रहेको बिसिन्यानीले बताए । हवाई यात्राको मागमा भइरहेको वृद्धिलाई दिगो नाफामा कसरी बदल्ने भन्ने चुनौती देखिएको बिसिन्यानीको विचार छ । जेनेभास्थित आईएटीएले लगभग २ सय ३० ओटा प्रमुख अन्तरराष्ट्रिय वायुसेवाहरूको प्रतिनिधित्व गर्दछ । तेलको मूल्यका कारण आगामी दिनहरूको नाफाबारे अनिश्चितता रहेको आईएटीएले बताएको छ । तेलको मूल्य ८४ डलर प्रतिब्यारेलका दरमा २०११ को नाफा ९ अर्ब १० करोड डलर रहने उसले पूर्वानुमान गरेको थियो । तर, तेलको मूल्यमा हाल भइरहेको उच्च वृद्धिले नाफाको परिमाण घट्न सक्ने आईएटीएले चेतावनी दिएको छ । एपी/रासस

मित्सुबिशीको आम्दानी बढी, नाफा कम

माघ १९, टोकियो (जापान) । जापानको मित्सुबिशी मोटर्स कर्पोरेशनको खुद नाफा पछिल्लो त्रैमासमा ७५ प्रतिशतले घटेको छ । सञ्चालन खर्चको वृद्धि र विदेशी मुद्राको विनिमयमा घाटा भएकाले टोकियोस्थित उक्त कम्पनीको खुद नाफा घटेको हो । डिसेम्बर ३१ सम्मको तीन महीनामा २ अर्ब ६८ करोड येन (३ करोड २९ लाख डलर) खुद नाफा भएको मित्सुबिशीले बुधवार बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा मित्सुबिशीले १० अर्ब ७० करोड येन खुद नाफा गरेको थियो ।एशिया तथा अन्य उदीयमान बजारको मागमा वृद्धि भएकाले कम्पनीको आम्दानी १८ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४८ करोड डलर पुगेको छ । तर, कम्पनीको व्यापारसूचक जनाउने सञ्चालन नाफा भने ५२ प्रतिशतले घटेर ७ करोड ४६ लाख ७० हजार डलरमा झरेको छ । विज्ञापन, ढुवानी, अनुसन्धान र विकास खर्च बढ्नुका साथै कर तथा बलियो येनका कारण पनि घाटा बढेको मित्सुबिशीले बताएको छ ।  एपी/रासस  

विश्वकै सबैभन्दा ठूलो रेल सेवा चीनमा

माघ १९, साङ्र्घाई (चीन) । नयाँ वर्षको उपलक्ष्यमा घर फर्कंदै गरेका आप्रवासी कामदार चेन वेइवेइ एकाएक इण्टरनेटमा चर्चित भएका छन् । घन्टौं लामो लाइनमा बस्दा पनि रेलको टिकट नपाउँदा आजित भएका चेनले विरोध प्रदर्शन गर्ने विचार गरे । उनले कट्टु र मोजाबाहेक आफ्ना सबै लुगा फुकाले, अनि ठूलो स्वरले चिच्याउँदै विरोध व्यक्त गरे । चेनको जस्तो दिक्दारी चीनका करोडौं जनताले भोगिरहेका छन् । किनभने विश्वकै सबैभन्दा लामो रेल्वे लाइन भएको चीनमा चाडबाडका बेला रेलको टिकट पाउन एकदम मुश्किल हुन्छ । यसबाट चीनको अर्थतन्त्र, पूर्वाधारका साथै त्यहाँका जनताले पाउने सेवाको गुणस्तरबारे पनि झझल्को दिन्छ । वर्षको प्रमुख चाडका बेला घर फर्कने कामदारको भीडले चीन विश्वमै सबैभन्दा धेरै आप्रवासन हुने देश भएको स्पष्ट हुन्छ । चीनको वार्षिक आप्रवासन सङ्ख्या २३ करोडको हाराहारीमा छ ।   झण्डै ९१ हजार किलोमिटर लामो लाइन भएको चीनको रेल्वेका कतिपय रुटमा विश्वकै तीव्र गतिका रेलसमेत गुड्छन् । चीनले द्रुतगतिको रेल प्रविधि विकासलाई आफ्नो अन्तरिक्ष कार्यक्रमजत्तिकै महत्त्व दिएको छ । चीनको रेल्वे प्रणालीमा झण्डै ३२ लाख कर्मचारी छन्, जबकी त्यहाँको सेनाको सङ्ख्या २३ लाख मात्र छ । बुलेट ट्रेन भनिने दु्रतगतिका रेलसेवाहरूले दुर्गम हिमाली क्षेत्रका शहरहरूलाई समेत जोडेका छन् । यस वर्षपनि चीनले १ खर्ब ६ अर्ब डलर रेल्वे निर्माणमा लगानी गर्ने भएको छ । वर्षको अन्त्यसम्ममा १३ हजार किलोमिटर लामो द्रुतगतिको रेल गुड्ने लाइन तयार गर्ने लक्ष्य रहेको छ । त्यसमा राजधानी बेइजिङ र व्यापारिक राजधानी साङ्र्घाईलाई जोड्ने १ हजार ४ सय किलोमिटर लामो द्रुतगतिको रेल्वे लाइन पनि हुनेछ । डिसेम्बरमा गरिएको एउटा परीक्षणमा चिनियाँ रेलको इतिहासमा हालसम्मकै सबैभन्दा द्रुतगति ४ सय ८६ किलोमिटर प्रतिघण्टाको कीर्तिमान राखेको छ । विदेशी प्रविधिलाई आफ्नै शैलीको अनुसन्धान र विकास कार्यक्रममा प्रयोग गर्न सफल भएका चीनका कम्पनीहरू विश्वस्तरकै विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने भएका छन् । एपी/रासस


चीनले ब्याजदर बढाउने सम्भावना

माघ १९, बेइजिङ (चीन) । चीनले फेब्रुअरीभित्रै ब्याजदर बढाउने सम्भावना रहेको न्यूयोर्क टाइम्सले बुधवार बताएको छ । चिनियाँ नीतिनिर्माताहरूको चिन्तनशैलीबारे जानकार अर्थशास्त्री र बैङ्करहरूको पूर्वानुमानलाई उद्धरण गर्दै टाइम्सले सो जानकारी दिएको हो ।   हङकङबाट प्रेषित उक्त समाचारको स्रोत भने सूचनाको संवेदनशीलताका कारण खुलाइएको छैन । त्यसका साथै चीनले आफ्नो मुद्रा युआनलाई बलियो बनाउने सम्भावना अर्थशास्त्री र बैङ्करहरूले हाललाई नदेखेको पनि टाइम्सले उद्धृत गरेको छ । बढ्दो मुद्रास्फीतिको सामना गर्ने उपायका रूपमा युआनको मूल्य बढाइने सम्भावना व्यक्त गरिँदै आएको थियो । साथै चीनले यो वर्षको मध्यसम्म थप दुइपटक ब्याजदर बढाउने सम्भावना रहेको रोयटर्सको सर्वेक्षणमा भाग लिएका विश्लेषकहरूले व्यक्त गरेका छन् । जनवरी महीनाका लागि चीनको वार्षिक मुद्रास्फीति २ वर्षपछिकै उच्च ५ दशमलव ३ प्रतिशतमा रहने ती अर्थशास्त्रीहरूले पूर्वानुमान गरेका छन् ।
रोयटर्स


स्पेनमा आर्थिक वृद्धिका लागि सामाजिक सम्झौता

माघ १९, बेइजिङ (चीन) । स्पेनको सरकार, श्रम युनियन तथा व्यापारिक नेताहरूले एउटा 'महत्त्वपूर्ण सामाजिक सम्झौता’ मा बुधवार हस्ताक्षर गरेका छन् । अर्थतन्त्रलाई पुनर्जीवन दिन तथा अति उच्च बेरोजगारीको अवस्थामा सुधार गर्न आमूल परिवर्तन ल्याउने उद्देश्यले त्यसो सामाजिक सम्झौता गरिएको हो ।श्रमक्षेत्रको सुधार अप्ठेरो भए पनि त्यसलाई कार्यान्वयन गर्न स्पेन दृढ छ भनेर बजारलाई विश्वास दिलाउन उक्त सम्झौता महत्त्वपूर्ण छ । अर्थतन्त्रलाई गति दिन, खर्चमा कटौती गर्न र ऋण उद्धारका लागि स्पेनले श्रमक्षेत्रमा सुधार गरी बजारलाई विश्वस्त तुल्याउनु आवश्यक छ । किनभने आयरल्याण्ड र ग्रीसजस्तै स्पेन पनि ऋणसङ्कटमा जेलिन्छ कि भनेर लगानीकर्ताहरू आशङ्कित छन् । त्यसैले यूरोपियन युनियन र आईएमएफसँग ऋण उद्धारका लागि अनुरोध गर्न उनीहरूले स्पेनलाई दबाब दिँदै आएका छन् ।'यस सम्झौताका तीनओटा उद्देश्य छन्: आर्थिक वृद्धि, रोजगार र हाम्रो सार्वजनिक वित्तको दिगोपन,’ प्रधानमन्त्री जोसे लुइ रोड्रिगेज जापातेरोले हस्ताक्षर समारोहपछिको भाषणमा भने । उक्त सम्झौताको केन्द्रमा शुक्रवार गरिएको एउटा सम्झौता छ, जसअनुसार २०२७ सम्म सेवानिवृत्तिको उमेर ६५ वर्षबाट बढाएर ६७ वर्ष पुर्याइनेछ । एपी/रासस


अमेरिकामा निजी क्षेत्रबाट थप रोजगार

माघ १९, न्युयोर्क (अमेरिका) । अमेरिकाको निजीक्षेत्रले जनवरीमा थप १ लाख ८७ हजार जनालाई रोजगार दिएको अटोम्याटिक डाटा प्रोसेसिङ इङ्क (एडीपी) को प्रतिवेदनले देखाएको छ । डिसेम्बरमा २ लाख ४७ हजार रोजगार सृजना भएको संशोधित तथ्याङ्क आएपछि जनवरीका लागि त्यस्तो तथ्याङ्क देखिएको हो । यसअघि डिसेम्बरमा २ लाख ९७ हजार ओटा रोजगार थपिएको भन्ने प्रतिवेदन आएको थियो ।अमेरिकी सरकारले आउँदो शुक्रवार बृहत् श्रमबजार प्रतिवेदन प्रस्तुत गर्नुअघि एडीपीको त्यस्तो प्रतिवेदन आएको छ । अमेरिकी सरकारको बृहत् प्रतिवेदनमा सार्वजनिक र निजी दुवै क्षेत्रको रोजगारसम्बन्धी तथ्याङ्क समाविष्ट हुन्छ । रोयटर्स


गूगलको माइक्रोसफ्टमाथि चोरीको आरोप

माघ १९, वाशिङ्टन (अमेरिका) । विश्वकै सबैभन्दा ठूलो इण्टरनेट सर्च कम्पनी गूगलले आफ्नो प्रतिस्पर्धी माइक्रोसफ्टको बिङ्गलाई सर्च रिजल्ट चोरेको आरोप लगाएको छ । तर, माइक्रोसफ्टले भने सो आरोपको खण्डन गरेको छ ।बिङ्गका कतिपय रिजल्ट अपूर्ण हुनुका साथै गूगलको पुरानो रिजल्टसँग मिल्दोजुल्दो देखिन्छन् । यो सरासर चोरी हो, गूगलका एक सर्च इञ्जिनीयर अमित सिङ्घलले भने ।गूगलका अनुसार २०१० को गृष्मयाममा बिङ्गले गलत हिज्जे राखेर खोजिएको एउटा शब्दका लागि कुनै पनि रिजल्ट देखाएको थिएन । आखाँको शल्यक्रियासँग सम्बन्धित उक्त शब्द 'टार्र्सोह्राफी’ थियो । पछि बिङ्गले उक्त गलत हिज्जेलाई नसच्याईकनै गूगलको रिजल्टजस्ताको त्यस्तै आफ्नो र्सचमा देखाएको सिङ्घलले दाबी गरे ।अरू केही अर्थ नदिने शब्दहरूको खोजी गर्दा पनि बिङ्गले गूगलकै जस्तो रिजल्ट देखाएको उक्त कम्पनीको दाबी छ ।  तर, माइक्रोसफ्टले भने आफ्नो सर्च फरक भएको प्रतिवाद गरेको छ । बिङ्गका कर्पोरेट भाइस प्रेजिडेण्टले गूगलको दाबी सस्तो लोकप्रियताका लागि जासूसी उपन्यासको कथाजस्तो रहेको आरोप लगाएका छन् । एएफपी/रासस