राष्ट्रसङ्घीय जलवायु प्रतिवेदनको आलोचना
मङ्सिर १९, कान्कुन (मेक्सिको) । अमेरिका एवम् केही विकासशील देशहरूले शनिवार संयुक्त राष्ट्रसङ्घबाट प्रस्तावित मस्यौदा प्रतिवेदनको आलोचना गरेका छन् । विश्वव्यापी तापक्रम वृद्धिदरलाई कम गर्ने उपायहरूबारे मेक्सिकोमा भइरहेको जलवायुसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ताहरूमा आएको गतिरोध तोड्न उक्त मस्यौदा ल्याइएको हो ।
नोभेम्बर २९ मा शुरू भएको सो सम्मेलन डिसेम्बर १० मा सकिन्छ । ३३ पृष्ठको उक्त मस्यौदाले हरितगृह ग्यास उत्सर्जनको भविष्यमा गरिने कटौती तथा विपन्न राष्ट्रहरूलाई दिइने सहायतासम्बन्धी विषयहरूमा धनी र गरीब राष्ट्रबीचको मतभिन्नतालाई उजागर गरेको छ ।
जलवायुसम्बन्धी अमेरिकी सहायक दूत जोनाथन पर्सिङले कान्कुनमा उपस्थित प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उक्त प्रतिवेदनका कतिपय महत्वपूर्ण क्षेत्रहरू अपूर्ण रहेको बताए ।
विकासशील देशहरूलाई सहयोग, उष्णतापीय जङ्गलको रक्षा तथा स्वच्छ प्रविधिको साझेदारी गर्नेलगायतका नयाँ लक्ष्यहरूको निर्धारण उक्त प्रतिवेदनले गर्दछ । गतवर्ष कोपनहेगनमा भएका विभिन्न चरणका वार्तामा विश्वका नेताहरू सहमतिमा पुग्न नसकेपछि ती विषयमा सन्धि हुनसकेको छैन ।
उक्त प्रतिवेदनले विकासशील देशहरूमा कार्बन उत्सर्जनदर कम गर्नेबारे पर्याप्त व्यवस्था नगरिएको पर्सिङले उदारहण दिए । प्रमुख कार्बन उत्सर्जकमा चीनले अमेरिकालाई उछिनिसकेको छ ।
विश्वव्यापी तापक्रम वृद्धिलाई अधिकतम औसत २ ड्रि्री सेल्सियसभन्दा कममा राख्ने उक्त प्रतिवेदनले प्रस्ताव गरेको छ । पूर्वऔद्योगिक कालभन्दा माथि रहेको उक्त मापदण्डको अर्थ धनी देशहरूका लागि अत्यन्त फितलो कार्ययोजना भएको केही विकासशील देशहरूले बताए । एएफपी/रासस
विकिलिक्सको प्रमुख आयस्रोत गुम्यो
मङ्सिर १९, बर्लिन (जर्मनी) । अनलाइन भुक्तानी सेवाप्रदायक पे-पालले अवैध गतिविधिमा संलग्न रहेको भन्दै विकिलिक्सको चन्दा जम्मा गर्ने खाता बन्द गरिदिएको छ, जसले गर्दा विकिलिक्सले उसको आम्दानीको प्रमुख स्रोत गुमाउन पुगेको छ ।
सरकार तथा ह्याकरहरूले पच्छयाइरहेको तथा अमेजनजस्ता सेवाप्रदायकले सम्झौता रद्द गर्दा आफ्नो वेबसाइट हेर्न चाहनेहरूको पहुँचमा राख्न संघर्षरत विकिलिक्सलाई पे-पालको उक्त कदमले थप सङ्कटमा पार्नेछ ।
विकिलिक्सले अमेरिकी कूटनीतिक नियोगहरूका लाखौं सम्प्रेषित सूचनालाई इण्टरनेटबाट सार्वजनिक गरिदिएको थियो । त्यसपछि विकिलिक्ससँग व्यावसायिक सम्बन्ध रहेका संस्थाहरूमाथि पनि निगरानी बढेको थियो ।
अमेरिकालगायत थुप्रै देशमा विकिलिक्स कानूनी दबाबमा समेत रहेको छ । विकिलिक्सका संस्थापक जुलिअन असाञ्जका एक पूर्वसहकर्मीले एउटा प्रतिद्वन्द्वी वेबसाइट खोल्ने बताएका छन् ।
पे-पालस्थित आफ्नो खाता प्रतिबन्धित भएको कुरा विकिलिक्सले ट्वीटरमार्फत स्वीकार गरेको छ । पे-पाल अमेरिकास्थित अनलाइन बजार सञ्चालक ई-बे इङ्कको सहायक कम्पनी हो । खाता प्रतिबन्ध गरिनुअघि पे-पाल विकिलिक्सका लागि चन्दा सङ्कलन गर्ने सबैभन्दा सुरक्षित र सजिलो माध्यम थियो ।
विकिलिक्सको वेबसाइटमा राखिएका अन्य विकल्पमा अष्ट्रेलियाको हुलाकमार्फत एवम् स्वीजरल्याण्ड, जर्मनी, वा आइसल्याण्डस्थित विकिलिक्सका खातारूहमा बैङ्क ट्रान्सफरमार्फत वा स्वीजरल्याण्डस्थित क्रेडिट कार्ड सञ्चालन गर्ने एक साझेदारमार्फ विकिलिक्सलाई चन्दा दिन सकिनेछ । एपी/रासस
जर्मनीले यूरो नछाड्ने
मङ्सिर १९, बर्लिन (जर्मनी) । बेलायती समाचारपत्रमा प्रकाशित एउटा समाचारको जर्मनीले शनिवार खण्डन गरेको छ । यूरोपियन युनियनका नेताहरूबीच अक्टोबरको अन्त्यमा भएको एक शिखरवार्तामा चर्को बहस भएको थियो । बहसकै क्रममा जर्मनीकी चान्सलर एञ्जेला मेर्केलबाट बर्लिनले यूरो छाड्न सक्ने चेतावनी आएको उक्त समाचारमा भनिएको थियो ।
ग्रीसका प्रधानमन्त्री जर्ज पापान्द्रेउले मेर्केललाई अलोकतान्त्रिक प्रस्तावहरू बनाएको आरोप लगाएपछि मेर्केलले उक्त चेतावनी दिएको ब्रसेल्समा रहेका गैरजर्मन सरकारी व्यक्तिहरूलाई उद्धृत गर्दै द गार्डियन दैनिकले लेखेको थियो । मेर्केलका प्रवक्ता स्टेफन सेईबर्टले उक्त समाचार झूटो भएको तथा चान्सलरले त्यस्तो टिप्पणी नगरेको बताए । साथै जर्मनी यूरोप्रति प्रतिबद्ध रहेको पनि उनले बताए ।
जर्मनीका विदेशमन्त्री गिडो वेष्टरवेल्लले यूरोसँग उनको देशको समृद्धि गाँसिएको कुरा दैनिक बर्लिञ्जर जेइटुङ्लाई बताए । जर्मनीले २००४- २००५ मा यूरोपियन युनियनको बजेट घाटासम्बन्धी नियमहरूको उल्लङ्घन गरेको स्मरण गर्दै यूरोमा देखिएको समस्यामा यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी पनि आंशिक दोषी रहेको वेष्टरवेलले बताए । रोयटर्स
दक्षिण कोरिया-अमेरिका व्यापार सम्झौताको विरोध
मङ्सिर १९, सोल (दक्षिण कोरिया) । अमेरिकासँग शुक्रवार भएको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) ले दक्षिण कोरियाली संसद्मा कडा विरोधको सामना गर्नुपरेको छ । त्यहाँका विपक्षी दलहरूले उक्त सम्झौतालाई अपमानजनक तथा धोकापूर्ण भनेका छन् ।
२ सय ९९ सीटको संसद्मा १ सय ७२ सीटको अत्यधिक बहुमत भएको सत्ताधारी ग्राण्ड नेशनल पार्टीमा उक्त व्यापार सम्झौतालाई स्वागत गर्दै संसद्बाट अनुमोदन गराउने आश्वासन दिएको छ ।
दक्षिण कोरियामा उत्पादित गाडीहरूमा अमेरिकामा लगाइएको करसम्बन्धी विवादले तीन वर्षसम्म अनिर्णित रहेको उक्त सन्धिको व्यहोरालाई दुवै देशका व्यापार वार्ताकारहरूले शुक्रवार वाशिङटनमा अन्तिम रूप दिएका थिए ।
विपक्षी दलका सांसदहरुले अमेरिकालाई आवश्यकता भन्दा बढी छूट दिएको तर दक्षिण कोरियाले त्यसको बदलामा थोरैमात्र पाएकाले उक्त सम्झौता अपमानजनक भएको भनी आक्रोश व्यक्त गरेका हुन् ।
'हामीमाथि उत्तर कोरियाले तोप प्रहार गरेको छ र अब अमेरिकाले हामीलाई आर्थिक प्रहार गरेको छ,’ डेमोक्रेटिक पार्टीका नेता पार्क जी वोनले भने ।
'नयाँ सम्झौता अपमान र धोखाधडीपूर्ण छ । यसले दक्षिण कोरियाली उत्पादनहरूलाई अमेरिकी बजार प्रवेश गर्न अवरोध गरेको छ । वास्तवमा यस्तो अवरोध फुकाउनुचाहिँ एफटीएको प्रमुख ध्येय हुनुपर्दथ्यो', सो पार्टीले एक वक्तव्यमा भनेको छ । पार्कले यसको विरोध गर्न राष्ट्रव्यापी अभियानको आयोजना गर्ने र राष्टिय्र सभामा यसलाई पारित हुनबाट रोक्ने जानकारी पनि दिए ।
अर्को दलका नेता जुन ब्युङ हुनले यो सम्झौताको परिणामलाई दुःखपूर्णको संज्ञा दिए । उनले राष्ट्रपति ली म्युङ बाकले जनतासँग माफी मागेर व्यापार वार्तालाई पुनः शुरू गर्नुपर्ने बताए । एएफपी
प्रविधि अग्रदूतले फोहोरबाट मोहर बनाए
मङ्सिर १९, बैङ्कक (थाइल्याण्ड) । पाइजित साङ्गचाइ लेमिनेशन गरेको कागजको एउटा टुक्रालाई धमिलो तरल पदार्थ भएको एउटा सिसाको जारमा हाल्छन् । साङ्गचाइले आफ्नो त्यस तरल पदार्थको साहयताले पुनःनवीकरण क्षेत्रमा व्यापक परिवर्तन ल्याउँदै आफ्नो भर्खरै शुरू भएको व्यवसायलाई लाखौं डलर पर्ने कम्पनीमा परिणत गर्ने अपेक्षा गरेका छन् ।
केही समयपछि उनी अब रमाइलो हेर्नुहोस् भन्छन् र त्यो टुक्रालाई झिकेर धाराको पानीमा पखाल्छन् । भिजेको कागज पखालिन्छ र ल्यामिनेशनमा प्रयोग भएको प्लाष्टिक जस्ताको त्यस्तै देखा पर्छ ।
साङ्गचाइको थाइल्याण्डस्थित व्यवसाय फ्लेक्सो रिसर्चले केही यस्ता इञ्जाइमहरूको मिश्रण विकास गरेको छ, जसबाट लेमिनेशन गरिएको कागजबाट कागजको पल्प वा रेशा पुनः प्राप्त गर्न सकिन्छ । चुरोटको प्याकेट, स्टिकर तथा दूधका बट्टाहरूमा प्रयोग भएका यस्ता कागजहरूलाई पहिले पुनःप्रयोग गर्न प्रायः असम्भव नै थियो ।
पहिले एउटा इञ्जाइमले सतहमा रहेको पानी नछिर्ने रसायनको तहलाई खियाउँछ, त्यसपछि अरू इञ्जाइमहरूले कागज तथा टाँसिएका तहहरूमा काम गर्छन् ।
साङ्गचाइका अनुसार त्यसरी प्राप्त हुने पल्पलाई फेरि कागजका नयाँ उत्पादनहरू बनाउन पुनः प्रयोग गर्न सकिन्छ, जसले गर्दा रुखहरू काटिनबाट जोगिनेछन् । त्यसरी प्राप्त गरिएको पल्पलाई निर्माणक्षेत्रमा प्रयोग गर्न पनि सकिने उनी बताउछँन् । उदाहरणका लागि मानव स्वास्थ्यका लागि हानिकारक पदार्थ एस्बेष्टसको विकल्पका रूपमा पनि यसलाई प्रयोग गर्न सकिने उनले बताए ।
प्लाष्टिकलाई पनि पुनःप्रयोग गर्न सकिने उक्त प्रविधि यस प्रकारको पहिलो भएको भनिएको छ ।
वर्ल्ड इकोनोमिक फोरमले साङ्गचाइको उक्त संस्थालाई ३१ वटा प्रविधिका अग्रदूत (टेक्नोलोजिकल पायोनियर)मध्ये एक भएको घोषण गरेको थियो । टाइम पत्रिकाले पनि यसलाई मानिसको जीवनमै परिवर्तन ल्याउने १० भर्खरै शुरू भएका व्यवसायमध्ये एक भएको भनेको थियो ।
एएफपी/रासस
पोशाकको बलमा बङ्गलादेशको निर्यात ३० प्रतिशत वृद्धि
मङ्सिर १८, ढाका -बंगलादेश । नोभेम्वरमा बंगलादेशको निर्यात ३० प्रतिशतले बढेर एक अर्ब ५५ करोड डलर पुगेको छ । निर्यात प्रवर्द्धन ब्युरोले आइतवार बताए अनुसार बंगलादेशमा बनेका तयारी पोशाकमा भएको ठुलो मागका कारण उक्त बृद्धि हासिल भएको हो ।
आर्थिक बर्ष२०१०/११ को पहिलो पाँच महिनाहरु जुलाइ देखि नोभेम्वरसम्मको निर्यात गत बर्षको सोही अवधिको भन्दा ३५ दशमलव ८ प्रतिशतले बृद्धि भएर ८ अर्ब २७ करोड डलरमा पुगेको थियो ।
बुनेका कपडाहरुबाट हुने आम्दानी जुलाई देखि नोभेम्बरसम्ममा गत वर्षको सोही अवधिभन्दा ३७ प्रतिशतले बढेर ३ अर्व ५० करोड डलरमा पुगेको थियो । तेसैगरि बुनेका पोशाकहरुबाट हुने आम्दानी ३६ प्रतिशतले बढेर २ अर्ब ८८ करोड डलरमा पुगेको थियो ।
बंगलादेशकोसमुद्रपार हुने व्यापारको ८० प्रतिशत हिस्सा पोशाकले अगोटछ । अमेरिका र युरोप जस्ता मुख्य बजार सँगै टर्की, जापान, र दक्षिण अफ्रिका जस्ता नया बजारहरुबाट समेत माग बढेको छ ।
बंगलादेशको सस्तो श्रमबजारले उक्त देश सस्तो कपडा तथा पोशाकको आपूर्ति गर्ने प्रमुख देशहरुमध्ये एक हुन पुगेको छ ।
बंगलादेशले लार्खौ श्रमिकहरुको न्यूनतम मासिक ज्यालालाई नोभेम्वरदेखि लागू हुनेगरि झन्नै दोब्बर गर्दै ३ हजार टाका (४३ डलर)मा पुर्याएको थियो । तर चीन, भारत, भियतनाम तथा थाइल्याण्ड जस्तथा अन्य प्रतिस्पर्धीहरुको दाजोमा उक्त ज्याला अझै पनि कम रहेको छ ।
बंगलादेशले जेसीपेन्नी, वाल मार्ट, एच एण्ड एम, कोल्हज, मार्कस एण्ड स्पेन्सर तथा क्यारिफोर जस्ता अन्तराराष्ट्रिय ब्राण्डहरुको लागि पोशाक उत्पादन गर्दछ ।
गत महिना बंगलादेश सरकारले ऋण उपलब्धता बढाउने, कर घटाउने, तथा नया बजारको खोजी गर्न पोशाक निर्यातकर्ताहरु छूट दिने जस्ता योजना ल्याएको थियो ।
गत जुनमा सकिएको आर्थिक वर्ष२००९/१० मा निर्यात ४ दशमलव ११ प्रतिशतले बढेर १६ अर्ब २० करोड डलरमा पुगेको थियो ।
संसारभरिका अर्थतन्त्रमा सुधार हुँदै गर्दा यस आर्थिक बर्षमा बंगलादेश सरकारले निर्यात १४ प्रतिशतले बढेर १८ अर्ब ५० करोड मा पुग्ने अपेक्षा गरेको छ । रोयर्टस
जनवरीसम्ममा इण्टरनेट ठेगानाहरू समाप्त हुने
मङ्सिर १९, मण्टेभिडिओ (उरुग्वे) । हाल उपलब्ध सबै इण्टरनेट ठेगाना आगामी जनवरीसम्ममा प्रयोगमा आइसक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । इण्टरनेट कर्पोरेशन फर असाइण्ड नेम्ज एण्ड नम्बर्जले पाँच क्षेत्रीय संस्थामार्फत इण्टरनेट ठेगानाहरू संसारभरि वितरण गर्दछ । 'जनवरीसम्ममा ठेगानाहरूको केन्द्रीय भण्डार रित्तिनेछ,’ ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रका लागि इण्टरनेट ठेगानाहरूको दर्ता गर्ने मण्टेभिडिओस्थित गैरनाफामूलक संस्थाका सञ्चार निर्देशक अर्नेष्टो माजोले बताए ।
यसै हप्ता इण्टरनेट ठेगानाका चारवटा ब्लक रित्तिसकेका तथा बाँकी रहेका पाँच ब्लक पनि पाँचै क्षेत्रीय इण्टरनेट रजिष्ट्रीहरूलाई वितरण गरिने माजोले शुक्रवार एएफपीलाई बताए । तर, नयाँ इण्टरनेट प्रोटोकलमार्फ थप अर्बौँ इण्टरनेट ठेगानाहरू उत्पादन गरिने भएकाले अवस्था गम्भीर नरहेको पनि माजोले बताए ।
विशेषज्ञका अनुसार अहिले प्रयोगमा आइरहेको इण्टरनेट प्रोटोकल संस्करण- ४ (आईपीभी फोर)ले करीब ४ अर्ब इण्टरनेट ठेगानाहरूको व्यवस्थापन गर्दछ । र, त्यो क्षमता पूर्ण उपयोगमा आइसकेको छ ।
तर, आईपीभी सिक्स भनिने एउटा अर्को वैकल्पिक प्रोटोकलले अर्बौँ थप नयाँ ठेगाना दर्ता गर्न सक्नेछ । एएफपी/रासस