जापानको जनसङ्ख्या वृद्धिदर कम
पुस १९, टोकियो (जापान) । जापानको जनसङ्ख्या गतवर्षअहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्याले घट्न पुगेको छ । गतवर्षमृत्यु हुने व्यक्तिको सङ्ख्या हालसम्मकै उच्च भएपछि जनसङ्ख्या घटेको जापान सरकारले हालै बताएको छ । वृद्धहरूको सङ्ख्या तीव्र रूपले बढिरहेको जापानमा जनसाङ्ख्यिक समस्या देखिने भएको छ । दोस्रो विश्वयुद्धपछि जन्मेका मानिसहरू सेवानिवृत्त हुने तरखरमा छन्, तर तिनको ठाउँमा काम गर्ने तथा कर तिर्ने मानिसहरूको सङ्ख्या कम छ । जापान विश्वकै सबैभन्दा लामो अपेक्षित आयु तथा सबैभन्दा कम जन्मदर भएको मुलुकमध्ये एक हो । जापानमा २०१० मा ११ लाख ९० हजार जनाको मृत्यु भएको थियो । उक्त सङ्ख्या सन् १९४७ मा स्वास्थ्य मन्त्रालयले अभिलेख राख्न शुरू गरेपछिकै सबैभन्दा ठूलो वार्षिक मृत्यु सङ्ख्या हो । सोही वर्षको जन्म सङ्ख्या भने लगभग पहिलेकै हाराहारीमा १० लाख ७० हजार रहेको थियो ।
परिणामस्वरूप गतवर्ष जापानको जनसङ्ख्यामा १ लाख २३ हजारको कमी आयो । जनसङ्ख्यामा गतवर्षआएको सो कमी हालसम्मकै उच्च हो भने लगातार ४ वर्षदेखि नै जनसङ्ख्या घटिरहेको छ । मन्त्रालयका अनुसार मृत्युका प्रमुख कारणमा क्यान्सर, मुटुरोग तथा शिराघात (स्ट्रोक) रहेका छन् । जापानको एक चौथाइ जनसङ्ख्याको उमेर ६५ वर्षवा सोभन्दा माथि छ । उक्त तथ्याङ्कमा सन् २०५० सम्ममा ४० प्रतिशतले वृद्धि हुने सरकारी अनुमान छ । अन्य विकसित देशहरूमा जस्तै जापानी युवाहरू पनि ढिलो गरी मात्र विवाह गर्न थालेका तथा थोरै मात्र बच्चा जन्माउन थालेका छन् । गतवर्ष७ लाख ६ हजारओटा विवाह मात्र दर्ता गरिएको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या सन् १९५४ पछि कै कम हो, त्यसैले निकट भविष्यमा जन्मदर बढ्ने सम्भावना देखिँदैन । गत अक्टोबरमा जापानको कुल जनसङ्ख्या १२ करोड ५७ लाख ७० हजार रहेको मन्त्रालयले बताएको छ । एपी/रासस
बोइङ किन्न अमेरिकी कूटनीतिक दबाब
पुस १९, वाशिङटन (अमेरिका) । अमेरिकी कूटनीतिक अधिकारीहरूले विश्वभरिका सरकारलाई यूरोपेली कम्पनी एयरबसको साटो अमेरिकी कम्पनी बोइङबाट विमान खरीद गर्न दबाब दिएको खुलासा भएको छ । न्यूयोर्क टाइम्सले विकिलीक्सबाट प्राप्त गरेको दस्तावेजबाट सो खुलासा भएको हो । अमेरिकी अर्थतन्त्रको वृद्धिका लागि आवश्यक ठानिएको अर्बौं डलरको त्यस्तो सम्झौताका लागि अमेरिकी कूटनीतिक अधिकारीहरूले मोलमोलाइ गरेको देखिएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशले २००६ मा साउदी अरेबियन एयरलाइन्सका लागि ४३ ओटासम्म बोइङ जेट खरीद गर्न साउदी राजा अब्दुल्लाहलाई अनुरोध गरेका थिए । त्यसका साथै राजाको व्यक्तिगत सेवाका लागि थप १३ ओटा जेट खरीद गर्न पनि बुशले आग्रह गरेका थिए । बुशको सो व्यक्तिगत आग्रहप्रति साउदी राजाले सकारात्मक प्रतिक्रिया जनाएको एउटा दस्तावेजले देखाएको छ । तर, त्यसका लागि अमेरिकी राष्ट्रपति चढ्ने विमानमा प्रयोग हुने सबै सञ्चार तथा सुरक्षाप्रविधि आफूले किन्ने विमानमा पनि हुनुपर्ने शर्त साउदी राजाले राखेका थिए ।
सरकारी स्वामित्वको साउदी अरेबियन एयरलाइन्सले १२ ओटा बोइङ ७७७-३०० ईआर विमान खरीदका लागि सम्झौता भएको नोभेम्बरमा जनाएको थियो । ती सबै विमानको कुल मूल्य ३ अर्ब ३० करोड डलर हुन आउँछ । अमेरिकी विदेश मन्त्रालयले पनि साउदी राजाको विमानलाई थप परिष्कृत बनाउन अनुमति दिइएको पुष्टि गरेको छ । तर, सुरक्षाको कारण देखाउँदै त्यसबारे थप जानकरी भने मन्त्रालयले दिएन । त्यसैगरी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले एउटा बोइङ खरीद सम्झौता गरेबापत बङ्गलादेशको ध्वजावाहकलाई न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलमा अवतरण अधिकार दिइनुपर्ने माग राखेकी थिइन् । न्यूयोर्क रूटमा विमान सञ्चालन गर्ने अधिकार नदिइए बोइङ किन्नुको औचित्य नै नरहने विचार हसिनाले राखेकी २००९ को एउटा दस्तावेजले देखाएको छ । सो सम्झौता गरिए पनि हालसम्म विमान बङ्गलादेश एयरलाइन्सलाई अवतरण अधिकार भने नदिइएको टाइम्सले बताएको छ ।
टाइम्सका अनुसार विमान खरीद सम्झौतामा राजनीति नगर्ने भन्ने अमेरिकी तथा यूरोपेली नेताहरूबीच भएको दशकौं लामो सहमति हुँदाहुँदै अझै पनि राजनीति जारी नै छ । तर, विदेश मन्त्रालयका अधिकारीहरूले आफ्नो भूमिकाको बचाउ गरेका छन् । उनीहरूका अनुसार ओबामाको देशलाई आर्थिक मन्दीबाट निकाल्ने प्रयासमा उच्च मूल्य भएको निर्यातहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । 'यो २१औं शताब्दीको यथार्थ हो । विश्वभरिका सरकारहरूले आफ्नो देशका कम्पनीलाई साथ दिएका छन् । हामीले पनि त्यसै गर्नुपर्छ’, आर्थिक मामिला मन्त्रालयका उपमन्त्री रोबर्ट होर्म्याट्सले भने । एयरबसले पनि त्यस्तै सहायता पाएको हुन सक्छ । न्यूयोर्क टाइम्सले प्राप्त गरेका अन्य दस्तावेजले देखाएअनुसार २००७ मा बुश प्रशासन तथा फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीको सरकारले तेलधनी राष्ट्र बहराइनलाई एउटा जेट बेच्न तँछाडमछाड गरेका थिए । तर, पछि अमेरिकी राष्ट्रपतिकै पहिलो भ्रमणका रूपमा बुशले बहराइन भ्रमण गर्ने शर्तमा अमेरिकी कूटनीतिज्ञहरू बहराइनलाई जेट किन्न मनाउन सफल भएका थिए ।
विकिलिक्सको खुलासाबाट वाशिङटन क्रुद्ध भएको छ तथा उसले दस्तावेजहरूको खुलासाबारे आफ्नै फौज्दारी अनुसन्धान थालेको छ । विकिलिक्सले भने उसले सार्वजनिक गरेको दस्तावेजबाट अफगानिस्तान र इराकयुद्धमा अमेरिकाले गरेको सैन्य उत्पीडनका साथै अमेरिकी कूटनीतिको कार्यशैली खुलासा भएको दाबी गरेको छ । त्यसका साथै अमेरिकाले देखाउन चाहेको आफ्नो सार्वजनिक छवि र बन्द ढोकाहरूभित्रको उसको वास्तविकताबीचको विरोधाभास पनि पर्दाफास भएको विकिलीक्सको तर्क छ । रिपब्लिकन सांसद् तथा हाउस ओभरसाइट एण्ड गभर्नमेण्ट रिर्फम कमिटीका अध्यक्ष्य डयारेल इसाले विकिलीक्सका संस्थापक जुलियन असाञ्जविरुद्ध फौज्दारी अभियोग ल्याउन नसकेकोमा अमेरिकाका महान्यायाधिवक्ताको आइतवार आलोचना गरेका छन् । असाञ्जमाथि करबाही गर्न नसकेर अमेरिकालाई कागजी बाघमा सीमित गराएर विश्वलाई नै हँसाएको इसाको आरोप थियो । दुइ स्विडिस महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा जुलियन असाञ्ज अहिले बेलायतमा मुद्दा खेपिरहेका छन् । एफपी/रासस
एक्सपेडियाले अमेरिकन एयरलाइन्सको टिकट विक्री नगर्ने
पुस १९, न्यूर्योक (अमेरिका) । इण्टरनेटमार्फ व्यापार गर्ने ट्राभल कम्पनी एक्सपेडियाले आफ्नो वेबसाइटमार्फत गर्दैआएको अमेरिकन एयरलाइन्स (एए)को टिकट बिक्री बन्द गरेको बताएको छ । एएको नयाँ प्रत्यक्ष अनलाइन मार्केटिङ रणनीति उपभोक्ता विरोधी तथा छनोट विरोधी भएको उक्त कम्पनीले एक विज्ञप्तिमा भनेको छ । तर एक्सपेडियाका प्रावधान अनुकूल हुन सके अमेरिकन एयरलाइन्ससँगको व्यापार पुनः सुचारु गर्न सकारात्मक रहेको पनि उक्त कम्पनीले जनाएको छ । 'अमेरिकन एयरलाइन्सले डिरेक्ट कनेक्ट मोडलबाट टिकट विक्री गर्ने नयाँ तरिका लागू गर्न खोजिरहेको छ, जसबाट उपभोक्ताका लागि मूल्य बढ्नेछ भने पारदर्शिता घट्नेछ । त्यसले गर्दा अमेरिकन एयरलाइन्सका टिकट तथा विकल्पहरूसँग अन्य हवाईसेवाका त्यस्तै सेवाहरूको तुलना गर्न कठिन हुनेछ', एक्सपेडियाले भनेको छ । साथै एयरलाइन्सको एए डिरेक्ट कनेक्ट प्रणालीबाट यात्रुहरूलाई सही छनोट गर्न सघाउने ट्राभल एजेण्टहरूको क्षमतासमेत घटाउने भएको एक्सपेडियाको धारणा छ । एएले बुधवार त्यस्तै नीतिहरूमा विवाद उत्पन्न भएपछि ट्राभल कम्पनी अर्बिजसँगको एक दशक लामो सम्बन्धलाई अन्त्य गरेको थियो । आफ्ना टिकट तथा अन्य वस्तु अनलाइन ट्राभल एजेन्सीहरूलाई बिक्री गर्दा आफूले त्यसमा बढी नियन्त्रण गर्न चाहेको एएले हालै बताएको थियो । अमेरिकन एयरलाइन्सले टिकट बिक्री गर्ने उसको आफ्नै इलेक्ट्रोनिक प्रणाली एए डिरेक्ट कनेक्ट प्रचलनमा ल्याएको छ । एएफपी/रासस
फेसबुकको ट्वीटर किन्ने असफल प्रयास
पुस १९, न्यूयोर्क (अमेरिका) । सामाजिक सञ्जाल फेसबुकले २००८ मा सूक्ष्मब्लगिङ साइट ट्वीटर किन्ने प्रयास गरेको 'फाइनान्सल टाइम्स'ले बताएको छ । तर, ट्वीटरले फेसबुकको ५० करोड डलरको सो प्रस्ताव अस्वीकार गरेको थियो । ट्वीटर लोकप्रिय वेवसाइट हुनुका साथै व्यापारिक दृष्टिकोणले पनि सक्षम बन्न चाहेकाले अन्य कम्पनीलाई नबेचिने ट्वीटरका सहसंस्थापक बिज स्टोनले बताए । 'हामीले मानिसहरूको विश्वास जितेका छौं तर अब हामी व्यापार पनि गर्न चाहन्छौं', स्टोनले भने ।
बेलायती पत्रिका फाइनान्सल टाइम्सका अनुसार फेसबुकका प्रमुख कार्यकारी अधिकृत तथा सहसंस्थापक मार्क जुकरबर्गले ५० करोड डलरमा ट्वीटर किन्ने प्रस्ताव गरेका थिए । तर, ट्वीटरका तीन जना संस्थापकले चाहेजस्तो कुनै पनि कुरा फेसबुकमा नभएको स्टोनको जवाफ थियो । स्टोन, इभान विलियम्स तथा ज्याक डर्सी ट्वीटरका तीन सहसंस्थापक हुन् । पत्रिकाका अनुसार सञ्चालनमा आएको ४ वर्षपछि पनि ट्वीटरले नाफा गर्न सकेको छैन । हालसम्म ट्वीटरले नाफाको साटो वेबसाइटको विस्तारमा ध्यान दिएको छ, तर गतवर्षको वसन्त ऋतुदेखि ट्वीटरले विज्ञापन 'ट्वीट’मार्फत आम्दानी पनि गरिरहेको छ । एएफपी/रासस