बैङ्क अफ इङल्याण्डद्वारा ब्याजदर यथावत्
साउन १९, लण्डन (बेलायत) । बेलायतको केन्द्रीय बैङ्क, बैङ्क अफ इङल्याण्डले शून्य दशमलव ५ प्रतिशतमा रहेको हालसम्मकै न्यून ब्याजदरलाई बिहीवार पनि यथावत् राखेको छ । आर्थिक पुनर्बहाली अझै पनि सुस्त रहेकाले ब्याजदर यथावत् राखिएको हो ।बेलायतको जुन महीनाको मूल्यवृद्धिदर अप्रत्याशित रूपले ओर्लेर ४ दशमलव २ प्रतिशतमा झरेको गत महीनाको तथ्याङ्कले देखाएका छन् । त्यसबाट नै केन्द्रीय बैङ्कले आफ्नो न्यून ब्याजदरलाई आउँदो महीनाहरूमा समेत यथावत् राख्ने अपेक्षा गरिएको थियो ।
आगामी वर्ष मूल्यवृद्धिदर झनै ओर्लेर आधिकारिक लक्ष्य २ प्रतिशतमा रहने बैङ्कको पूर्वानुमान छ । सोही अनुमानको आधारमा बैङ्कले प्रमुख ब्याजदरलाई यथावत् राख्ने निर्णयगरेको हो । बैङ्कले सन् २००९ को मार्चदेखि नै उसको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । त्यसैगरी, बैङ्कले पहिला जति मूल्यको सम्पत्ति खरीद कार्यक्रम राखेको थियो, त्यसलाई पनि यथावत् नै राख्ने राख्ने निर्णय गरेको छ । एपी/रासस
जनरल मोटर्सको नाफा दोब्बर
साउन १९, डेट्रोइट (अमेरिका) । अमेरिकी कम्पनी जनरल मोटर्सको दोस्रो त्रैमासिकमा नाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले बिहीवार प्रकाशित गरेको दास्रो त्रैमासिक हिसाब प्रतिवेदनमा गाडीहरूको विक्री अमेरिकी, यूरोप र एशियाली बजारहरूमा तीव्र रूपले बढेपछि नाफामा वृद्धि भएको बताइएको छ । दोस्रो त्रैमासिक अवधिमा कम्पनीको आम्दानी २ दशमलव ५२ अर्ब डलर पुगेको कम्पनीले उल्लेख गरेको छ । अघिल्लो वर्षकोयही अवधिमा कम्पनीले १ दशमलव ३३ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।
त्यसैगरी सन् २०११ को जुन महीनासम्म जनरल मोटर्सको कुल आम्दानी ३९ दशमलव ४ अर्ब डलर पुगेको छ । विश्लेषकहरूले यसअघि कम्पनीले ३६ दशमलव ७४ अर्ब डलर कमाउने पूर्वानुमान गरेका थिए । सन् २००९ मा कम्पनी टाट पल्टिएपछि ओबामा प्रशासनले ५२ अर्ब डलर खर्च गर्दै कम्पनीलाई राष्ट्रियकरण गरेको थियो । अमेरिकी 'ट्रेजरी'ले अहिले जनरल मोटर्सको शेयरमा ३२ प्रतिशत स्वामित्व राखेको छ । एजेन्सी
सोमालियामा भोकमरीबाट २९ हजार केटाकेटीको मृत्यु
साउन १९, नैरोबी (केन्या) । सोमालियाको खडेरी र भोकमरीले ५ वर्षमुनिका २९ हजारभन्दा बढी केटाकेटीको मृत्यु भइसकेको एक अमेरिकी अध्ययनले देखाएको छ । पछिल्ला ९० दिनभित्रै ५ वर्षमुनिका २९ हजार केटाकेटीको मृत्यु भइसकेको अमेरिकी सहायता निकायकी नान्सी लिण्डवोर्गले बताइन् ।सोमालियाको इतिहासमा ६० वर्षयता आएको सबैभन्दा खराब हालको खडेरीले हजारौं व्यक्तिको मृत्यु भइसकेको यस अघि नै संयुक्त राष्ट्रसङ्घले बताइसकेको थियो । त्यसैगरी, ६ लाख ४० हजार केटाकेटी चरम कुपोषणग्रस्त रहेका राष्ट्रसङ्घीय तथ्याङ्कले देखाएको छ ।
सङ्घका अनुसार, झण्डै ७५ लाख जनसङ्ख्या रहेको सोमालियामा ३२ लाख जनालाई तत्काल जीवनरक्षक सहायता चाहिएको छ । दक्षिण-मध्य सोमालियाबाट खानाको खोजीमा लाखौं शरणार्थीहरू इथियोपिया, केन्या र राजधानी मोगादिशु आइपुगेका छन् । यति ठूलो भोक सङ्कट टार्न अझै करोडौं डलरको सहायता चाहिने राष्ट्रसङ्घले बताएको छ । एपी/रासस
Admin