अमेरिकी म्यानुफयाक्चरिङ क्षेत्रको सुधारले एशियामा उत्साह
असार २०, बैङ्कक (थाइल्याण्ड) । अमेरिकी म्यानुफयाक्चरिङ क्षेत्रमा आएको सुधारले एशियाली शेयरबजारमा पनि उत्साह देखिएको छ । साथै, विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकामा देखिएको मन्दी अस्थायी प्रकारको मात्र थियो भन्ने धारणालाई पनि बल पुगेको छ ।
जापानको निक्केइ २ सय २५ पनि १ प्रतिशतले उक्लेर ९ हजार ९ सय ६५ दशमलव शून्य ९ मा पुगेको छ । केही समय त निक्केइले १० हजारको अङ्कसमेत नाघेको थियो । पछिल्लो समयमा निर्यात बढेकाले निक्केइमा सुधार देखिएको हो । होण्डा मोटर कर्पोरेशनको परिसूचक ३ दशमलव २ प्रतिशत, टोयोटा मोटर कर्पोरेशनको १ दशमलव ५ प्रतिशत र इलेक्ट्रोनिक क्षेत्रको विशाल कम्पनी पानासोनिक कर्पोरेशनको शून्य दशमलव ७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, जापानकै हेभी इक्विपमेण्ट निर्माता कोमात्सु कर्पोरेशनको परिसूचक २ दशमलव १ प्रतिशत र कोरियाली स्टील कम्पनी पोस्कोको शून्य दशमलव ९ प्रतिशतले बढेको छ । हङकङमा सूचीकृत चीनको सबैभन्दा ठूलो सुन उत्खनन कम्पनी झिजिन माइनिङ ग्रूपको परिसूचक पनि ४ दशमलव ३ प्रतिशतले बढेको छ ।
दक्षिण कोरियाको शेयरबजार परिसूचक शून्य दशमलव ९ प्रतिशत र हङकङको हाङसेङ १ दशमलव ८ प्रतिशत माथि उक्लेका छन् । साथै अष्ट्रेलिया, चीन, सिङ्गापुर, ताइवान र इण्डोनेशियाको परिसूचक उक्लेका छन् । एपी/रासस
चीनको मौद्रिक नीति यथावत्
असार २०, बेइजिङ (चीन) । चीनको केन्द्रीय बैङ्क पिपल्स बैङ्क अफ चाइनाले चर्को मूल्यवृद्धि सामना गर्नका लागि चालिएका नीतिहरूलाई जारी नै राख्ने सोमवार बताएको छ । तर, त्यसले आर्थिक वृद्धिमा पनि सुस्ती आउन थालेको भन्दै नीतिगत सन्तुलनतर्फ पनि बैङ्कले जोड दिएको छ । दोस्रो त्रैमासको मौद्रिक नीति सङ्क्षेपीकृत गरिएको वक्तव्यमा आर्थिक वृद्धि स्थिर र तुलनात्मक रूपले तीव्र नै रहेको भनिएको छ । तर, त्यसका साथै, मूल्यवृद्धिजन्य दबाब पनि अझै उच्च नै रहेकोमा केन्द्रीय बैङ्कले चिन्ता व्यक्त गरेको छ ।
तरलता कायम राख्न र मुद्राको आपूर्तिलाई सन्तुलित बनाइराख्न विभिन्न उपाय चालिनेमा पनि बैङ्कको जोड छ । साथै, आफ्ना नीति लागू गर्न 'स्थायित्व’ र 'लचकता’तर्फपनि ध्यान दिइने बैङ्कले स्पष्ट गरेको छ ।
वास्तविक अर्थतन्त्रलाई चोट नपुर्याउन केन्द्रीय बैङ्कले नीतिगत कडाइको तीव्रता र अवधि पनि घटाउन सक्ने साङ्र्घाईस्थित बैङ्क अफ कम्युनिकेशन्सका अर्थशास्त्री ताङ जिआन्वेइले बताए । तर पनि यसै महीनाको अन्त्यतिर बैङ्कले फेरि ब्याजदर बढाउन सक्ने ताङको पूर्वानुमान छ । बैङ्कले यस वर्षभित्र ब्याजदरमा चारपटक वृद्धि गरिसकेको छ । चीनमा मे महीनाको मूल्यवृद्धि दर ३४ महीनायताकै उच्च भई ५ दशमलव ५ प्रतिशत पुगेको थियो भने जुनमा झनै बढेर ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । एजेन्सी
भारतको सर्वोच्च अदालतद्वारा 'कालो धन’बारे सरकारको आलोचना
असार २० । भारतको सर्वोच्च अदालतले सोमवार विदेशी बैङ्क खातामा लुकाइएको धनबारे विशेष छानबिन गर्न आदेश दिएको छ । साथै, उक्त विषयमा सरकारको गम्भीर त्रुटि देखिएको भन्दै अदालतले आलोचनासमेत गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुदर्शन रेड्डीले इजलासको निर्णय सुनाउँदै सरकारले गम्भीरता र प्रभावकारिता देखाउन नसकेको आरोप लगाएका छन् ।
अदालतको आदेशले 'गैरकानूनी र अराष्ट्रिय क्रियाकलाप’का लागि त्यस्तो 'कालो धन’को उपयोग हुन सक्ने चिन्तालाई सम्बोधन गरेको छ । त्यस्ता कालो धनमाथि छानबिनका लागि सरकारले खासै प्रयत्न नगरेको अदालतको आरोप छ ।
धनाढय भारतीय नागरिक र व्यापारिक संस्थाहरूले विदेशस्थित बैङ्कहरूमा लुकाइछिपाई ५ खर्ब डलरदेखि १४ खर्ब डलरसम्म अवैध धन थुपारेको अनुमान छ । सरकारले भने लुकाइछिपाई राखिएको अवैध धनबारे पत्ता लगाउने भरमग्दुर प्रयास गरिरहेको तर केही कानूनी अप्ठयाराले बाधा पुर्याइरहेको गुनासो गरेको छ । खासगरी देशहरूबीच कर सूचनाको आदानप्रदानबारेको सहमतिले छानबिनमा कठिनाइ भइरहेको सरकारको जिकिर छ । एएफपी/रासस
जापान र चीनका विदेशमन्त्रीद्वारा न्यानो सम्बन्धको आह्वान
असार २०, बेइजिङ (चीन) । जापान र चीनका विदेशमन्त्रीहरूले आपसी विवादका बीच पनि सम्बन्धलाई सुदृढ राख्नुपर्नेमा जोड दिएका छन् । एशियाका यी दुई प्रमुख प्रतिस्पर्धीबीच समुद्री सीमाबारेको विवाद सुल्झाउने विषयमा छलफलका बेला उनीहरूले त्यस्तो विचार राखेका हुन् ।
जापानले सेन्काकुश र चीनले दाओयुस भन्ने टापूको स्वामित्व विवाद सुल्झाउने विषयमा कुरा गर्न जापानी विदेशमन्त्री ताकिकी मात्सुमोतो बेइजिङ आइपुगेका छन् । यसबाट विश्वकै दोस्रो र तेस्रो ठूला अर्थतन्त्रहरूबीच सम्बन्ध सुधारका प्रयत्न रहँदा रहँदै पनि उनीहरूबीचको सीमा विवादले समस्या सृजना गरिरहेको स्पष्ट भएको छ । सीमा विवाद सुल्झाउनेबारे छलफल गर्न आएका मात्सुमोतोले जापानी खाद्यवस्तुमाथि चीनले लगाउँदै आएको प्रतिबन्धलाई पनि खुकुलो पार्न आग्रह गरेका छन् । गत मार्चमा जापानको क्षतिग्रस्त फुकुशिमा आणविक केन्द्रबाट चुहिएको विकिरणले जापानका खाद्यवस्तु पनि प्रदूषित भएको आशङ्कामा चीनलगायतका धेरै देशले प्रतिबन्ध लगाएका छन् ।
जापान र चीनबीच इष्ट चाइना सीस्थित ग्यास क्षेत्रमाथिको स्वामित्व विवादका कारण दोस्रो विश्वयुद्धदेखि नै तनावपूर्ण सम्बन्ध रहिआएको छ । जापानका साथै, दक्षिण कोरिया, भियतनाम र फिलिपिन्ससँग पनि समुद्री सीमा र अधिकारबारे चीनको सम्बन्ध तनावपूर्ण छ । एपी/रासस
बेलायती राजपरिवारको खर्च घटयो
असार २०, लण्डन (बेलायत) । आर्थिक मन्दी र उच्च बेरोजगारीको मारमा परेको बेलायतमा राजपरिवारको खर्च घटेको छ । सन् २०१० मा राजपरिवारको खर्च ३२ करोड १० लाख पाउण्ड रहेको थियो । यो खर्च सन् २००९ को तुलनामा ५ दशमलव ३ प्रतिशतले कम हो । सन् २०१० देखि २०११ को मार्च महीनासम्मका खर्च रिपोटबाट यस्तो देखिएको हो ।
मुख्यरूपमा राजप्रासाद र राजपरिवारका सदस्य बस्ने दरबारहरूको मर्मतसम्भार खर्च घटेको छ । सन् २०१० मा बकिङ्घम राजप्रासाद र अन्य दरबारको मर्मतसम्भारमा ११ करोड ९० लाख पाउण्ड खर्च भएको थियो । सन् २००९ मा सो खर्च १५ करोड ४० लाख पाउण्ड रहेको थियो । रिपोटले अत्यन्त जरुरीबाहेकका मर्मतसम्भार खर्च घटेको देखाएको छ । साथै बकिङ्घम राजप्रासादका 'स्टेट' कोठा र विण्डसर दरबारको जीर्णोद्धार गर्ने योजनाहरू हटाइएको पनि रिपोटमा बताइएको छ ।
गत हप्ता मात्रै सरकारले आम जनतासँगै राजपरिवारले पनि बजेटघाटा कम गर्न खर्च कटौतीमा सहयोग गर्नुपर्ने बताएको थियो । सन् २०१५ सम्ममा बेलायती राजपरिवारको खर्च नौ प्रतिशतले घट्ने अनुमान गरिएको छ । एपी/रासस
बेरोजगारी बीमामा जालसाजी गर्नेहरू निगरानीमा
असार २०, रोड आइल्याण्ड (अमेरिका) । अमेरिकी सरकारले बेरोजगारी बीमामा जालसाजी गर्नेहरूमाथि कडाइ गर्ने भएको छ । सरकारले बेरोजगार नभए पनि त्यसअनुरूपको कागज बनाएर राज्यबाट फाइदा लिनेको सङ्ख्या नियन्त्रण गर्न यस्तो कदम चाल्न लागेको हो । सङ्घीय अधिकारीहरूले गलत कागजात देखाएर गतवर्षमात्रै १७ अर्ब अमेरिकी डलर दुरुपयोग भएको बताएका छन् ।
रोजगारी नभएको वा गुमेको भन्दै बेरोजगारी बीमा गर्नेहरूले गलत कागज बनाइदिँदा यस्तो अवस्था आएको बताइएको छ । साथै पहिले बेरोजगार रहेकाहरू पछि काममा फर्किसक्दा पनि बेरोजगार भत्ता लिइरहेको पत्ता लागेको उनीहरूले बताएका छन् । रोड आइल्याण्ड राज्यका अधिकारीहरूले सन् २०१० मा बेरोजगारी भत्ताको ३० प्रतिशत भुक्तानी विभिन्न रोजगारमा रहेका व्यक्तिलाई दिइएको पत्ता लगाएका थिए । सन् २००९ मा राष्ट्रपति ओबामाले सरकारी खर्चको दुरुपयोग रोक्न जारी गरेका विषेश आदेशहरूपश्चात् पनि यस्तो भुक्तानी रोकिएको थिएन । यसका लागि राज्य सरकारहरूले अमेरिकी श्रम विभागमा सेप्टेम्बर ३० भित्र आफ्ना योजना बुझाउने बताइएको छ ।
राज्य सरकारहरूले केन्द्रलाई बुझाउने योजनाहरूमा बेरोजगारको तथ्याङ्क राख्न डाटाबेस सञ्जाल निर्माण गर्ने, बीमा कम्पनी र रोजगारदाताहरूको तथ्याङ्क अद्यावधिक गर्ने लगायतका सुझाव समेटिएको बुझिएको छ । एपी/रासस
फ्रेञ्च ओपन गोल्फ उपाधि थोमस लिभेलाई
असार २०, । फ्रेञ्च ओपन गोल्फको उपाधि ७ अण्डर २ सय ७७ को स्कोर गरेर फ्रान्सका थोमस लिभेले जितेका छन् । दोस्रो स्थानमा ६ अण्डर २ सय ७८ सहित डेनमार्कका थोब्योर्न ओलेसेन र बेलायतका मार्क फोष्टर रहे । जर्मनीका माटिन केमर ४ अण्डर २ सय ८० सहित चौथो स्थानमा रहे ।
उता अमेरिकाको पेन्सिलभेनियामा भएको एटी एण्ड टी नेशनल गोल्फ प्रतियोगितामा अमेरिकी गोल्फर निक वाट्नी १३ अण्डर २६७ को स्कोरसहित प्रथम भए । र, दोस्रो स्थानमा ११ अण्डर २६९ सहित कोरियाका केजे चोई रहे । तेस्रो स्थानमा अमेरिकी जेफ ओभरटनसहित ३ जना (९ अण्डर २७१) छन् ।
त्यसैगरी, क्यानाडाको फोण्टेब्लु गोल्फ क्लबमा जन कुकले आइतवार ६ अण्डर ६६ को स्कोर हासिल गरेर टुर्नामेण्ट कोसकै कीर्तिमान कायम गरेका छन् । कुकले कुल २१ अण्डर १९५ बनाउँदै ३ स्ट्रोकले मण्ट्रियल च्याम्पियनशिप जितेका छन् । एजेन्सी
जोकोभिक प्रथम, सेरेना १ सय ७५ औं स्थानमा
असार २०, विम्बल्डन (बेलायत) । विम्बल्डन ग्राण्डस्लाम उपाधि विजेता सर्बियाली खेलाडी नोभाक जोकोभिच पुरुष टेनिस विश्व वरीयतामा प्रथम स्थानमा पुगेका छन् । टेनिस खेडाडीको वरीयताक्रम निर्धारण गर्ने 'एशोसिएशन अफ टेनिस प्रोफेशनल्स' (एटीपी)द्वारा सोमवार जारी गरेको वरीयताक्रममा जोकोभिच पहिलोपटक पहिलो स्थानमा पुगेका हुन् । विम्बल्डन ग्राण्डस्लाम फाइनलमा उनले यसअघिका विश्व नम्बर एक राफेल नाडाललाई हराएर उपाधि चुमेका थिए । साढे सात वर्षमा राफेल नाडाल वा रोजर फेडररबाहेक अर्को कुनै खेलाडी प्रथम स्थानमा पुगेको यो पहिलो अवसर हो । प्रथम स्थनमा पुगेका जोकोभिचले समयपरिवर्ततशील भएको र टेनिसमा नयाँ अनुहार आउनु राम्रो भएको प्रतिक्रिया दिएका छन् । यससँगै जोकोभिच टेनिस वरीयताक्रममा प्रथम स्थानमा पुग्ने २५औं खेलाडी बनेका छन् । फाइनलमा बेहोरेको पराजयसँगै पूर्व विजेता राफेल नाडाल दास्रो स्थानमा झरेका छन् । तेस्रोमा रोजर फेडेरर, चौथोमा एण्डी मुर्रे र पाँचौं स्थानमा रोबिन सोडरलिङ रहेका छन् ।
महिलातर्फ१३ पटक ग्राण्डस्लाम विजेता र पूर्व विश्व नम्बर एक सेरेना विलियम्स भने विम्बल्डनको चौथो चरणको लज्जास्पद पराजयपछि एक सय ७५ औं स्थानमा झरेकी छन् । सन् १९९७ पछि वरीयताक्रममा सेरेना यति तल पुगेको यो पहिलोपटक हो । सन् १९९७ मा उनी ३ सय ४औं स्थानमा थिइन् । महिला वरीयतामा भने विम्बल्डनको चौथो चरणमा पराजित भएर पनि क्यारोलिन उज्जनियाकी नै प्रथम स्थानमा रहेकी छन् । विम्बल्डन विजेता पेट्रा भिटोभा सातौं स्थानमा र उपविजेता मारिया सारापोभा पाँचौं स्थानमा पुगेका छन् । एपी/रासस
Admin 2011-07-05