शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

आरबीआईद्वारा अप्रत्याशित ब्याजदर वृद्धि

वैशाख २०, मुम्बई (भारत) । भारतको केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डियाले मङ्गलवार ब्याजदरमा अपेक्षाभन्दा पनि बढी ५० आधार अङ्कले वृद्धि गरेको छ । यस प्रकार, सरकारको आर्थिक वृद्धिको लक्ष्यभन्दा पनि मूल्यवृद्धि नियन्त्रण आरबीआईको प्राथमिकतामा पर्ने सङ्केत मिलेको छ । ब्याजदरमा गरिएको पछिल्लो वृद्धि २०१० को मार्चपछिको नवौंपटकको हो । बैङ्कले २५ आधार अङ्कले ब्याजदर बढाउने अपेक्षा गरिएको थियो  । तर, मार्चको मूल्यवृद्धि दरले बैङ्कको लक्ष्यलाई पनि नाघेर झण्डै ९ प्रतिशत पुगेपछि बैङ्कले पनि कडा कदम चालेको हो । हालको वृद्धिपछि आरबीआईको रिपो रेट बढेर ७ दशमलव २५ प्रतिशत पुगेको छ ।

हाल भइरहेको तीव्र मूल्यवृद्धिले भविष्यका आर्थिक वृद्धिलाई समेत जोखिममा पारेकोमा  गभर्नर दुभ्भुरी सुब्बाराओले चिन्ता व्यक्त गरे । त्यसैले तत्कालका लागि आर्थिक वृद्धिको साटो मूल्यवृद्धि नियन्त्रणलाई प्राथमिकता दिनुपरेको सुब्बाराओले बैङ्कको वार्षिक मौद्रिक नीति विज्ञप्तिमा भनेका छन् । आर्थिक मन्दीबाट छिट्टै पार पाएका भारतलगायत अन्य विकासशील देशका केन्द्रीय बैङ्कहरूले ब्याजदर बढाउँदै आएका छन् । तर, गएको एक वर्षमा मूल्यवृद्धि नियन्त्रणका लागि विश्वभरिका अन्य केन्द्रीय बैङ्कको तुलनामा भारतको केन्द्रीय बैङ्क निकै आक्रामक देखिएको छ ।त्यति हुँदाहुदै पनि भारतमा तीव्र दरले मूल्यवृद्धि भइरहेको छ । खाद्यवस्तुको मूल्यमा  ९ प्रतिशतभन्दा बढीले र तेलको मूल्यमा दोहोरो अङ्कको वृद्धिदरले सरकारमाथिको दबाब पनि बढेको छ । रोयटर्स

कोरियन एयरको खुद नाफा ४९ प्रतिशतले बढयो

वैशाख २०, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली विमानसेवा कोरियन एयरको खुद मुनाफा पहिलो त्रैमासमा ४९ प्रतिशतले बढेको छ । उक्त विमानसेवाले सम्बद्ध क्षेत्रमा गरेको लगानीबाट भएको नाफामा गतवर्षको भन्दा ८ गुणा बढी र विदेशी मुद्रामा ६५ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।मार्च २१ मा सकिएको ३ महीनामा कोरियन एयरले २ खर्ब ८२ अर्ब १० करोड वोन (२६ करोड ३३ लाख डलर) को खुद नाफा गरेको उक्त कम्पनीले बताएको छ । यसरी गतवर्षको सोही अवधिको खुद नाफा १ खर्ब ८८ अर्ब ७० करोड वोनभन्दा यस वर्षको खुद नाफामा ४९ प्रतिशतले वृद्धि भएको छ । कोरियन एयरलाइन्स कम्पनी दक्षिण कोरियाको प्रमुख विमानसेवा हुनुका साथै विश्वकै सबैभन्दा ठूलो अन्तरराष्ट्रिय हवाई कार्गो वाहक हो । एपी/रासस

मूल्यवृद्धिको विरोधमा मालदिभ्समा हिंसात्मक प्रदर्शन

वैशाख २०, माले (मालदिभ्स) । मालदिभ्सको सरकारले त्यहाँका विपक्षी दललाई हिंसात्मक मुठभेड निम्त्याएको आरोप लगाएको छ । चर्किंदो मूल्यवृद्धिको विरोध गर्दै विपक्षी दलले गरेको प्रदर्शन तेस्रो दिनसम्म पनि जारी नै रहेको छ । मङ्गलवार पनि प्रदर्शनकारी र सरकारका समर्थकबीच भिडन्त भएको छ ।हाल मालदिभ्स सरकारको नेतृत्व एक सुधारवादी नेताले गरिरहेका छन् भने विपक्ष रहेका मैमुन अब्दुल गैयुमका पक्षधरले प्रदर्शन गरेका हुन् । गैयुमले मालदिभ्समा ३० वर्षसम्म लगातार शासन गरेका थिए ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रैलाई धडपकड गरेको छ । शनिवारदेखि शुरू भएको प्रदर्शन क्रममा १० प्रहरी अधिकृतलगायत थुप्रै व्यक्ति घाइते भएका छन् ।राष्ट्रपति मोहम्मद नशिदले राजीनामा नदिउन्जेल प्रदर्शन जारी नै रहने विपक्षी दलले बताएको छ । चर्किंदो मूल्यवृद्धि र मालदिभ्सको मुद्रा रुफियालाई खुला छाड्ने विषयलाई लिएर विपक्षीले उनको राजीनामा मागेको हो ।  तर, गैयुमले आर्थिक अवस्थाको सहारा लिएर सडकमा हिंसा बढाउन खोजेका राष्ट्रपतिका प्रवक्ताले आरोप लगाएका छन् । रोयटर्स

तीन ठूला एशियाली देशद्वारा मूल्यवृद्धिप्रति चिन्ता

वैशाख २०, हनोइ (भियतनाम) । चीन, जापान र दक्षिण कोरियाका अर्थमन्त्रीहरूले मुद्रास्फीति, वस्तुको बढ्दो मूल्य र असन्तुलित पूँजी आप्रवाहप्रति चिन्ता व्यक्त गरेका छन् । बुधवार बस्न लागेको त्रिपक्षीय बैठकका लागि तयार गरिएको मस्यौदा विज्ञप्तिमा  उनीहरूले त्यस्तो चिन्ता व्यक्त गरेका हुन् ।  सुदृढ घरेलु माग र निर्यातका कारण उक्त क्षेत्रले अन्तरराष्ट्रिय वित्तीय सङ्कटका असरलाई सजिलै झेल्न सकेको अर्थमन्त्रीहरूले टिप्पणी गरेका छन् । तर, अझै उपयुक्त नीतिका साथै अझै बढी समन्वयको आवश्यकताको खाँचो रहेको पनि उनीहरूले औंल्याएका छन् ।त्यसका साथै मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रको अस्थिरता र जापानको भूकम्पपछि कतिपय  अनिश्चितता पनि देखिएको विज्ञप्तिमा भनिएको छ । त्यसैले बलियो, दिगो र सन्तुलित आर्थिक वृद्धि हासिल गर्न ती तीन देशले उपयुक्त बृहत् आर्थिक नीति र सुदृढ नीतिगत सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । चीन, जापान र दक्षिण कोरिया एशियाकै तीन सबैभन्दा ठूला अर्थतन्त्र हुन् । रोयटर्स

गूगलमाथि प्रहरी छानबिन

वैशाख २०, सोल (दक्षिण कोरिया) । गूगलको सोलस्थित कार्यालयमा मङ्गलवार प्रहरीले छापा मारेको छ । गूगलको मोबाइल विज्ञापन शाखा एडमोबले अवैधरूपले सेवाग्राहीको स्थान अर्थात् लोकेशन डाटा सङ्कलन गरेको आशङ्कामा छापा मारिएको प्रहरीले बताएको छ । स्मार्टफोन र टयाब्लेटजस्ता अत्याधुनिक मोबाइल उपकरणको प्रचलन बढ्दै जाँदा व्यक्तिगत सूचनाको दुरुपयोग पनि हुन सक्ने आशङ्का बढेको छ ।

मोबाइलमार्फत गरिने विज्ञापनको बजारमा व्यापक विस्तार भइरहेकाले त्यस्तो व्यक्तिगत सूचना विज्ञापनदाताहरूका लागि महत्त्वपूर्ण हुन्छ । गत महीना पनि एप्पलले उसको आईफोन लोकेशन डाटा प्रयोगको बचाउ गरेको थियो । तर, आफ्ना ग्राहकको गतिविधि पत्ता लगाउन उक्त प्रविधि दुरुपयोग गरेको भन्ने आरोपलाई भने एप्पलले अस्वीकार गरेको थियो । त्यसैगरी इलेक्ट्रोनिक उपकरण क्षेत्रको विशाल कम्पनी सोनीले व्यक्तिगत डाटा चोरीबारेको समस्या झेलिरहेको छ ।

'प्रत्येक प्रविधिको आफ्नै कमजोर पक्ष पनि हुन्छन् । प्रयोगकर्ताको स्थान वा लोकेशनमा आधारित स्मार्टफोनजस्ता उपकरणले प्रयोगकर्तालाई नजिकको रेष्टुराँ, पेट्रोल पम्प र अन्य ठाउँबारे जानकारी दिएर सहयोग पुर्याउँछ,’ कम्युटर साइन्सका प्राध्यापक किम क्वाङ्जोले भने । तर, त्यस्ता उपकरणबाट व्यक्तिगत र गोप्य सूचना चुहिएर उपभोक्तालाई अप्ठेरोमा  समेत पार्न सक्ने क्वाङ्जोले चेतावनी दिएका छन् । रोयटर्स

Admin 2011-05-04