शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

चीनको वृद्धिदर सन् २०१२ मा ९ प्रतिशतभन्दा तल
भदौ २०, बेइजिङ (चीन) । विगत एक दशकसम्मको स्थिरतापछि चीनको कुल गार्हस्थ्य उत्पादन सन् २०१२ मा ९ प्रतिशतभन्दा कम हुन सक्ने देखिएको छ । चीनको विनिमयदर नियमन गर्ने 'स्टेट एडमिनिष्ट्रेशन अफ फरेन एक्सचेञ्ज' कार्यालयका एक वरिष्ठ अधिकारीले मङ्गलवार यस्तो बताएका हुन् ।

कार्यालयका प्रमुख अर्थशास्त्री हुआङ गुओबोले बेइजिङमा भएको एक कार्यक्रममा बोल्दै आर्थिक वृद्धि भए पनि चीनको अर्थतन्त्रले गम्भीर चुनौतीहरूको सामना गरीरहेको बताए । कार्यक्रममा बोल्दै उनले चिनियाँ उत्पादनको विश्वव्यापी मागमा कमी आउनु चीनको निर्यातका लागि ठूलो समस्या भएको उल्लेख गरे । यदि आगामी वर्षमा पनि विश्व्यापी मागमा यसरी नै कमी आइरहेमा चीनको आर्थिक वृद्धिदर ९ प्रतिशतभन्दा कम हुन सक्ने चिन्ता प्रकट गरे । विश्वव्यापी आर्थिक परिदृश्य नकारात्मक भएको वर्तमान अवस्थामा चीनको वृद्धीदर स्थिर राख्नु नै अहिलेको प्रमुख चुनौती भएको उनले बताए । चीनमा बढिरहेको मुद्रास्फीतिको समस्या समाधान गर्न 'स्टेट एडमिनिष्ट्रेशन अफ फरेन एक्सचेञ्ज' केन्द्रित रहने गरओबोले उल्लेख गरे ।

विश्लेषकहरूले सन् २०१२ को मध्यसम्म चीनको आर्थिक वृद्धिदर ८ प्रतिशतको हाराहारीमा झर्ने बताउँदै आएका छन् । सन् २०१० मा विश्वव्यापी आर्थिक मन्दी उच्च रहेको समयमा चीनले १० दशमलव ३ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको थियो । सन् २००१ यता चीनको कुल गार्हस्थ्य उत्पादन औसतमा वार्षिक ९ प्रतिशत रहँदै आएको छ । तर, सन् २०१० को दोस्रो त्रैमासमा भने वृद्धिदर ६ दशमलव ५ प्रतिशतमा खुम्चिएको थियो ।                  एजेन्सी  

दोहोरो मन्दीको सम्भावना अनपेक्षित : जोल्लिक
भदौ २०, सिङ्गापुर । विश्व अर्थतन्त्र फेरि मन्दीतर्फ फर्किने सम्भावना नरहेको तर जोखिम भने रहेको विश्व बैङ्कका प्रेजिडेण्ट रोबर्ट जोल्लिकले बताएका छन् । 'अमेरिका वा विश्व दोहोरो मन्दीतर्फजान्छ भन्ने मलाई विश्वास छैन्, तर ठूलो मात्रामा अनिश्चितता छ,’ जोल्लिकले भने । जोल्लिकका अनुसार जारी उच्च बेरोजगारीका कारण अमेरिका सुस्त वृद्धिको चरणबाट गुज्रने सम्भावना बढी छ ।

सिङ्गापुरका अर्थमन्त्री थर्मन शान्मुगारत्नमले अमेरिका र यूरोपको वृद्धि झण्डै स्थिर भइसकेकाले विश्व अर्थतन्त्रमा मन्दीको सम्भावना बढेको बताएपछि जोल्लिकले त्यस्तो प्रतिक्रिया दिएका हुन् । यूरोपियन युनियनले भने उसका सदस्य देशहरूले सामना गरिरहेका समस्या सम्बोधनका लागि वित्तीय नीतिको क्षेत्रमा नजिक रहेर काम गर्नुपर्ने जोल्लिकको सुझाव छ ।  

एउटा उपायमा वित्तीय एकतालाई अझ सुदृढ बनाउनु रहेको बताउँदै हालसम्म अपनाइएका नीतिले समस्या सम्बोधन गर्नका लागि थप समय उपलब्ध मात्र भएको जोल्लिकले बताए । जी-७ का वित्तीय नेताहरू यस हप्ता मौद्रिक नीतिलाई सरल बनाउनुका साथै सम्भव भएका देशमा वित्तीय सुदृढीकरणलाई सुस्त बनाउने र संरचनागत सुधार लागू गर्न सहमत हुने सम्भावना रहेको सम्बद्ध एक स्रोतले बताएको छ ।   

यसै शुक्रवार अमेरिका, क्यानडा, जापान, जर्मनी, फ्रान्स, इटाली र बेलायत आबद्ध जी-७ समूहका अर्थमन्त्रीहरू तथा केन्द्रीय बैङ्क गभर्नरहरू सुस्तिँदो विश्वव्यापी अर्थतन्त्रलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गर्न फ्रान्सको मार्सेईलिसमा भेला हुने भएका छन् ।                  एजेन्सी

यूरोप र चीनले गद्दाफीलाई हतियार विक्री गरेको खुलासा
भदौ २०, बेइजिङ (चीन) । रोयटर्सले सोमवार लिबियाली सङ्क्रमणकालीन सरकारका अधिकारीसँग गरेको कुराकानीमा यूरोपका केही कम्पनीले गद्दाफी शासनलाई सन् २०११ को शुरूमा घातक हतियार आपूर्ति गरेको खुल्न आएको छ । अधिकारीहरूका अनुसार राष्ट्रसङ्घले नाकाबन्दी लगाए पनि यूरोपका केही कम्पनीले अल्जेरिया हुँदै हतियार लिबिया पठाएका थिए । अधिकारीहरूले ती हतियारका प्रकार, परिणाम र आपूर्तिकर्ता कम्पनीका बारेमा भने केही बताउन चाहेनन् । यसअघि गद्दाफी शासन पतन भएपछि प्राप्त गोप्य दस्तावेजले अमेरिकी र बेलायती गुप्तचर संस्था 'सीआईए' र 'एमआई सिक्स'को गद्दाफीसँग निकट सहकार्य रहेको देखाएका थिए ।  

त्यसैगरी, सन् २०११ जुलाईमा चीनका राज्य नियन्त्रित दुई हतियार कम्पनीले लिबियाका पूर्वशासक कर्णोल मुअम्मर गद्दाफीलाई घातक हतियार विक्री गरेको खुलासा भएको छ । अमेरिकी दैनिक पत्रिका 'द न्यूयोर्क टाइम्स'ले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार गद्दाफीविरुद्धको विद्रोह उत्कर्षमा पुगेको समयमा ती दुई चिनियाँ कम्पनीले २० करोड अमेरिकी डलरबराबरका घातक हातहतियार विक्रीको प्रस्ताव गरेको बुझिएको छ ।

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लगायत अन्तरराष्ट्रियजगत्ले लिबियालाई हतियार विक्री गर्न प्रतिबन्ध लगाए पनि ती दुई चिनियाँ कम्पनीले गद्दाफी शासनलाई रकेट लञ्चर, एण्टी टयाङ्क क्षेप्यास्त्र र अन्य हतियार विक्री गरेको समाचारमा उल्लेख छ । गत जुलाईमा चीन भ्रमण गरेका गद्दाफीका प्रतिनिधिलाई 'नोरिन्को' र 'चाइना जिनजिङ इम्पोर्ट एण्ड एक्सपोर्ट कर्पोरेशन'ले हतियार विक्रीको प्रस्ताव गरेको प्रतिवेदनमा उल्लेख छ ।

गद्दाफीलाई हतियार विक्री गरेको समाचार आएपछि लिबियाली विद्रोही सैन्यका प्रवक्ता अब्दुलरहमान बुसिनले आफूहरूसँग गद्दाफी र चीनबीच भएका कुराकानीबारे ठोस प्रमाण भएको बताएका छन् । तर, चीन सरकारले भने अहिलेसम्म यसबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । गत सप्ताहान्त मात्र लिबियाली सङ्क्रमणकालीन सरकारका प्रमुख मुस्तफा अब्देल जलिलले चीनमाथि गद्दाफीको सम्पत्ति लिबिया फर्काउन अवरोध गरेको आरोप लगाएका थिए ।              रोयटर्स

ओबामाद्वारा रिपब्लिकनहरूलाई चुनौती
भदौ २०, डेट्रोइट (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पार्टीसदा राष्ट्रका समस्यालाई अघि राख्न प्रतिपक्षी रिपब्लिकनहरूलाई चुनौती दिएका छन् । सोमवार अमेरिकाको सवारीसाधन निर्माण गर्ने राजधानीका रूपमा परिचित डेट्रोइट शहरमा आयोजित एक श्रमिक र्यालीलाई सम्बोधन गर्दै ओबामाले रिपब्लिकनहरूलाई सत्ताका पछि मात्र नलाग्न र देशमा देखिएका विकराल आर्थिक समस्यालाई समाधान गर्न आग्रह गरेका थिए । र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै ओबामाले बिहीवार घोषणा गर्न लागिएको नयाँ रोजगार नीतिले अमेरिकामा नयाँ रोजगारीका अवसरहरू सृजना गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए । उनले नयाँ रोजगार नीतिले अमेरिकामा नयाँ संरचनाहरू निर्माण गर्ने र थुप्रै बेरोजगार अमेरिकीहरूलाई काम दिलाउने बताए । माथिल्लो सदनका रिपब्लिकन सांसदहरू केही सकारात्मक देखिए पनि तल्लो सदनमा बहुमतमा रहेका रिपब्लिकनहले भने यस्तो कदम समय र पैसाको बर्बादी मात्र भएको बताउँदै आएका छन् । कार्यक्रममा सम्बोधन गर्दै ओबामाले आयकरमा दिइएका केही छूटलाई निरन्तरता दिने उल्लेख गरेका थिए । उनले अहिले नै करको दरमा वृद्धि गरेर आम अमेरिकीहरूलाई आफूले अप्ठयारोमा नपार्ने बताए ।                  एजेन्सी

जेकोभिक, फेडेरर, वुज्नियाकी र सेरेना क्वार्टरफाइनलमा
भदौ २०, न्यूयोर्क (अमेरिका) । न्यूयोर्कमा जारी यूएस ओपनको अन्तिम सोह्रका स्पर्धा जित्दै नोभाक जोकोभिक, रोजर फेडेरर र सेरेना विलियम्स क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सोमवार भएको खेलमा टेनिस विश्व नं १ नोभाक जाकोभिकले प्रतिस्पर्धी युक्रेनका अलेक्जाण्दर डोल्गोपोलोभलाई ७-६, ६-४ र ६-२ ले हराए । अत्यन्त प्रतिस्पर्धात्मक पहिलो सेटमा टाइब्रेकर (१६-१४) भए पनि अन्य सेटमा भने जोकोभिकले अग्रता लिएका थिए ।

विजयपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यो आफूले खेलेका खेलमध्ये सबैभन्दा लामो टाइब्रेकर भएको बताए । सोमवार राति भएको अर्को खेलमा विश्व नं ३ रोजर फेडेररले शानदार जित हात पारेका छन् । फेडेररले अर्जेण्टिनाका हुवाँ मोनाकालाई ६-१, ६-२ र ६-० ले पराजित गरे । तर, टेनिस वरीयतामा आठौं स्थानमा रहेका अमेरिकी मार्डीफिस भने सोमबार पराजित भएपछि क्वार्टरफाइनलको यात्राबाट वञ्चित भएका छन् । फिसलाई फ्रान्सका जो-विल्फ्रेड सोङ्गाले ६-४, ६-७, ३-६, ६-४ र ६-२ को सेटमा हराएका थिए । चौथो सेट खेलिरहँदा खुट्टामा चोट लागेपछि उनको प्रदर्शन बिग्रिएको थियो ।

महिलातर्फको स्पर्धामा सोमवार क्यारोलिन वुज्नियाकी र सेरेना विलियम्सका लागि सुखद रह्यो । विश्व महिला टेनिस वरीयतामा पहिलो स्थानमा रहेकी वुज्नियाकीले रसियाकी स्वेत्लाना कुज्नेत्सोभालाई ६-७, ७-५ र ६-१ ले पराजित गरेकी थिइन् । सर्बियाली टेनिस सुन्दरी आना इभानोभिकसँग भएको स्पर्धामा सेरेनाले आनालाई ६-३ र ६-४ ले पराजित गरेकी थिइन् । गत जुलाईमा  विम्बल्डन ग्राण्डस्लाममा लज्जास्पद पराजय भोगेपछि १ सय ७५औं स्थानमा झरेकी सेरेना यूएस ओपनको यो विजयसँगै २८औं स्थानमा पुगेकी छन् ।            एपी/रासस  

भारतको संसद्मा नयाँ जग्गा विधेयक
भदौ २०, नयाँ दिल्ली (भारत) । भारतको मन्त्रिमण्डलले जग्गा अधिग्रहणसम्बन्धी एउटा नयाँ अध्यादेशलाई अनुमोदन गर्दै बुधवार संसद्समक्ष पेश गर्ने भएको छ । औद्योगिक विकासका लागि सरकारलाई जग्गा बेच्ने किसानका चिन्ता सम्बोधन गर्न उक्त विधेयक ल्याउन थालिएको हो । विधेयकमा किसानलाई तिनका जग्गाको उचित क्षतिपूर्ति दिइने भनिएको छ । आफूहरूको जग्गा अधिग्रहण गरेपछि उचित मुआब्जा नदिएको भन्दै किसानहरूले चर्को प्रदर्शनसमेत गर्दै आएका छन् । उक्त विधेयक पारित भएपछि तीव्र वृद्धि, शहरीकरण र औद्योगिकीकरण थप सन्तुलित हुने तथा जग्गाधनीहरूलाई पनि सुरक्षा प्रदान हुने ग्रामीण विकासमन्त्री जयराम रमेशले बताए । हालको विधेयकले भारतका पूर्वशासक ब्रिटिशहरूले सय वर्षभन्दा पनि अघि बनाएका कानूनलाई विस्थापन गर्नेछ ।              एएफपी/रासस

जी-सेभेन विश्वव्यापी आर्थिक वृद्धिको रणनीति तयार गर्दै
भदौ २०, लण्डन (बेलायत) । विश्वव्यापी आर्थिक वृद्धिदर कमजोर भइरहेको वर्तमान अवस्थामा सुधार ल्याउन जी-सेभेन राष्ट्रहरू साझा रणनीतिमा सहमत हुन लागेका छन् । रोयटर्सका अनुसार विश्वका प्रमुख अर्थतन्त्रहरूको समूह जी-सेभेनमा यो हप्ता ल्याउन लागिएको साझा रणनीतिमा सदस्य राष्ट्रहरू सहमत हुन लागेका हुन् । रोयटर्सले जी-सेभेन स्रोतलाई उद्धृत गर्दै दिएको समाचारमा यो हप्ता जी-सेभेन बैठकमा सदस्य राष्ट्रका मौद्रक नीति उदार बनाइराख्ने, केही राम्रो आर्थिक अवस्था भएका देशमा वित्तीय सुदृढीकरणको गतिलाई कम गर्ने तथा संरचनात्मक सुधार लागू गर्नेलगायतका नीति ल्याउन लागेको बताइएको छ । शुक्रबार फ्रान्सको मार्सेल्समा हुने बैठकमा अमेरिका, बेलायत,जर्मनी, फ्रान्स, क्यानडा, जापान र स्पेनका वित्तमन्त्रीहरू र ती देशका केन्द्रीय बैङ्कका गर्भनरहरू सहभागी हुने बताइएको छ । जी-सेभेन स्रोतका अनुसार विश्वव्यापी आर्थिक मन्दीसँग जुध्ने उपायहरू निक्र्योल गर्ने विषयमै बैठकको सम्पूर्ण छलफल केन्द्रित रहनेछ । सन् २००८ मा अमेरिकी बैङ्क 'लेहम्यान ब्रदर्श' टाट पल्टिएपछि विश्व अर्थतन्त्र अहिले सबैभन्दा गम्भीर स्थितिमा प्रवेश गरेको महसूस गर्दै जी-सेभेन सदस्यहरू समाधानका उपाय निकाल्न सक्रिय भएको बताइएको छ । विश्वका प्रमुख अर्थतन्त्रहरूमा सन् २०१० को अर्धवार्षिक अवधिसम्म वृद्धिदर न्यून रहनु, बेरोजगारी दर लगातार बढ्नु, अमेरिका र यूरोजोनमा ऋणसङ्कट बल्झिनुजस्ता समस्याले दोहोरो आर्थिक मन्दीको चिन्ता सृजना गरिदिएको छ । बैठकमा विशाल चालू खाता 'सरप्लस' भएका राष्ट्रहरूलाई उनीहरूका विनिमय दर निर्धारण गर्न छूट दिने र घरेलु माग बढाउन निर्देशन दिइने पनि बुझिएको छ । साथै, अन्तरराष्ट्रिय मुद्रा कोषले यूरोपेली बैङ्कहरूका थप पूँजीकरण गर्न राखेको प्रस्तावमा पनि छलफल हुने बुझिएको छ ।        रोयर्टस

भारतको सर्वोच्च अदालतमा नोभार्टिसको पेटेण्ट मुद्दा
भदौ २०, नयाँ दिल्ली (भारत) । भारतको सर्वोच्च अदालतमा स्वीस औषधि कम्पनी नोभार्टिस एजीबारेको पेटेण्ट मुद्दामा मङ्गलवारदेखि बहस शुरू भएको छ । नोभार्टिसले उसको क्यान्सर उपचारमा प्रयोग हुने ग्लिभेकमाथि भारतीय बजारमा पेटेण्ट गर्न पाउनुपर्ने दाबीलाई भारतको सन् २००५ को पेटेण्ट कानूनको आधारमा चुनौती दिइएको हो ।

औषधि कम्पनीहरूले विद्यमान उपचारमा सानातिना परिवर्तन गरेर पेटेण्ट अधिकार खोज्ने कार्यलाई दुरूत्साहित गर्न त्यस्तो कानून ल्याइएको हो । प्रावधानअनुसार भारतको जेनेरिक औषधि उद्योगले उत्पादन गर्ने गरेको क्यान्सर, एड्स, टीबी, मलेरियालगायतका अन्य थुप्रै रोगका पुराना औषधिमाथिको पेटेण्ट दाबीलाई भारतले अस्वीकार गर्न सक्छ । त्यसैले, नोभार्टिसले हालेको मुद्दा जितेमा भारतका अन्य दर्जनौं कम्पनीका लागि पनि प्याटेण्ट अधिकार खुला हुने सहायता समूहहरूको चेतावनी छ । हाल भारतमा २० अर्ब डलर लगानी भएका औषधि उद्योगले पश्चिमा कम्पनीका दाँजोमा निकै कम मूल्यमा गरीब देशहरूलाई जेनेरिक औषधि उपलब्ध गराउँदै आएका छन् ।

नोभार्टिसले भने आफ्नो औषधि ग्लिभेक नयाँ र बढी प्रभावकारी भएको दाबी गर्दै आएको छ । उक्त औषधि ल्युकेमिया र अन्य क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । आफ्नो औषधि पुरानो फर्मुलामा समान्य परिवर्तन मात्र नभई छुट्टै आविष्कार भएकाले पेटेण्ट दिइनुपर्ने नोभार्टिसको माग छ ।                      एपी/रासस  

मन्दीको आशङ्काले तेलको मूल्य ८४ डलर नजिक
भदौ २०, सिङ्गापुर । विश्व अर्थतन्त्रमा फेरि मन्दीको आशङ्काका कारण मङ्गलवार तेलको मूल्य प्रतिब्यारेल ८४ डलर नजिक पुगेको छ । यूरोपमा मध्याह्न cन्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जमा अक्टोबरमा डेलिभरी हुने तेलको मूल्य २ दशमलव ३२ डलरले ओर्लेर प्रतिब्यारेल ८४ दशमलव १३ डलर पुगेको छ । उता लण्डनको आईसीई फयुचर्स एक्सचेञ्जमा अक्टोबरमा डेलिभरी हुने ब्रेण्ट क्रुडको मूल्य भने ९४ सेण्टले बढेर प्रतिब्यारेल १ सय ११ दशमलव शून्य २ डलर पुगेको छ ।

अगष्ट ९ मा तेलको मूल्य यस वर्षै न्यून प्रतिब्यारेल ७६ डलर पुगेको थियो । त्यसपछि तेलको मूल्य फेरि बढिरहेको थियो । तर, यूरो मुद्रा प्रयोग गर्ने देशहरूको बढ्दो ऋणसङ्कटले आर्थिक वृद्धिलाई पनि सङ्कटमा पार्ने चिन्ताले पनि तेलको मूल्य घटेको हो ।

त्यसैगरी, अमेरिकी रोजगारदाताहरूले अगष्ट महीनामा कुनै पनि रोजगार सृजना नगरेको प्रतिवेदन शुक्रवार प्रकाशित भएपछि तेलको मूल्य झनै ओर्लिन थालेको छ । शुक्रवार पनि कच्चा तेलको मूल्य प्रतिब्यारेल २ दशमलव ४८ डलरले घटेर ८६ दशमलव ४५ डलर रहन पुगेको थियो । सोमवार भने अमेरिकामा श्रम दिवसको बिदा परेकाले बजार बन्द रहेका थिए ।      एपी/रासस  

झण्डै ४० प्रतिशत यूरोपेली मानसिक रोगबाट पीडित
भदौ २०, लण्डन (बेलायत) । एक अध्ययनले झण्डै ४० प्रतिशत यूरोपेली मानसिक रोगको शिकार भएको देखाएको छ । जर्मनीको ड्रेसडेन विश्वविद्यालयस्थित 'इन्षिटच्युट अफ क्लिनिकल साइकोलोजी र साइकोथेरापी'ले हालै गरेको एक अध्ययनले यूरोपमा १६ करोड ५० लाख मानिसहरू 'डिप्रेशन', 'एञ्जाइटी', 'इन्सोम्निया' र 'डेमेण्टिया'जस्ता मानसिक रोगबाट पीडित रहेको बताइएको छ । उक्त सङ्ख्या यूरोपको कुल जनसङ्ख्याको ३८ प्रतिशत भएको पनि अध्ययनले बताएको छ । अध्ययनका अनुसार ती रोगबाट पीडित एक तिहाइले मात्र आवश्यक उपचार पाइरहेको उल्लेख छ ।

यूरोपभरि मानसिक रोगीको सङ्ख्या बढिरहँदा त्यसले सामाजिक र आर्थिक समस्याहरू खडा गरेको बताइएको छ । यसले यूरोपेली राष्ट्रहरूमाथि सयौं अर्ब यूरोबराबरका बोझ थपिरहेको र पारिवारिक सम्बन्धहरूमा असर पुर्याइरहेको पनि अध्ययनले देखाएको छ ।  'इन्षिटच्युट अफ क्लिनिकल साइकोलोजी र साइकोथेरापी'का निर्देशक हान्स अल्रिचले मानसिक समस्या यूरोपका लागि २१ औं शताब्दीकै सबैभन्दा ठूलो स्वास्थ्य समस्या भएको बताए । उनले रोगीहरूको उपचारमा देखिएको ठूलो फरक कम गर्नुपर्ने उल्लेख गरे । तर, मानसिक रोगीहरू ठूलो सङ्ख्यामा वृद्धि भइरहेका भए पनि यूरोपका केही प्रमुख औषधि निर्माता कम्पनीहरू भने मानसिक र दिमागी अनुसन्धानमा गर्ने खर्च घटाइरहेका अनुसन्धानमा बताइएको छ । इन्षिटच्युटले ३ वर्षलगाएर ३० यूरोपेली राष्ट्रका ५१ करोड ४० लाख मानिसहरूमा यस्तो अध्ययन गरेको थियो ।

Admin