ब्रिक्सले आर्थिक समन्वयमा जोड दिने चीनको अपेक्षा
चैत २०, बेइजिङ (चीन) । विश्वका प्रमुख उदीयमान अर्थतन्त्र ब्रीक्सका नेताहरूबीचको आगामी बैठकले आपसी सहयोग र सहमतिमा जोड दिनुपर्ने एक चिनियाँ कूटनीतिज्ञले शनिवार बताएका छन् । वस्तुको मूल्यमा भइरहेको उतारचढावबारे ब्रिक्सले छलफल गर्ने तर चिनियाँ मुद्रा युआनको विनिमय दरबारे कुनै छलफल नगरिने चिनियाँ सहायक विदेशमन्त्री वु हेलङको भनाइ छ । आउँदो अप्रिल १४ मा ब्रिक्स देशका प्रमुखहरूले चीनको सान्या रिसोर्टमा भेटघाट गर्ने भएका छन् । 'सबै पक्षले अन्तरराष्ट्रिय मुद्राप्रणाली, वस्तुको मूल्यमा भइरहेको उतारचढाव, जलवायु परिवर्तन र दिगो विकासबारे आपसी सहयोग र समन्वय बढाउने विषयमा छलफल गर्नेछन्,’ वुले भने ।
तर, सो समूहको स्थायी सचिवालय नै स्थापना गर्नेबारे भने सदस्य देशहहरूले निर्णयगर्न बाँकी रहेको पनि ती अधिकारीको भनाइ छ । ब्राजिल, रसिया, इण्डिया, चाइना र साउथ कोरियाको नामको पहिलो अक्षर बी, आर, आई, सी, एसबाट ब्रिक्स समूह बनेको हो । पहिलोपटक दक्षिण अफ्रिकाले पनि सो समूहको बैठकमा भाग लिँदैछ । उक्त समूहले विश्वको ४० प्रतिशत जनसङ्ख्या र १५ प्रतिशत अन्तरराष्ट्रिय व्यापारलाई ओगट्छ ।सान्या बैठकले व्यापार तथा वित्तलगायत प्रमुख राजनीतिक मुद्दाहरूमा समेत छलफल गर्ने चिनियाँ सहायक विदेशमन्त्री वु हेलोङले बताए । ब्रिक्स सदस्य देशबीच नै आपसी प्रतिस्पर्धा र वैचारिक भिन्नता भए तापनि आपसी सहयोगतर्फप्रयास गरिने वुको विचार छ । रोयटर्स
भारतमा सवारीसाधनको विक्री बढयो
चैत २०, मुम्बई (भारत) । भारतमा गाडी र मोटरसाइकलको विक्री मार्च महीनाका साथै यस आर्थिक वर्षै सुदृढ रूपमा वृद्धि भएको देखिएको छ । भारतमा सम्पन्न हुँदै गइरहेका मध्यमवर्गीयले नयाँ मोडलको गाडी खरीद गर्ने क्रम बढेको छ । विश्वव्यापी मन्दीबाट भारतले छिट्टै नै पार पाइरहेकाले पनि कार र मोटरसाइकलको विक्री बढेको हो । जापानी स्वामित्वको मारूती सुजुकी इण्डियाले यस वर्षको मार्चमा गतवर्षको सोही अवधिभन्दा २८ दशमलव २ प्रतिशतले विक्री बढेको बताएको छ । मारूतीले २०११ मा सुजुकी किजाशी भनिने भारतकै पहिलो लक्जरी सेडान बजारमा ल्याएको छ ।
भारतको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता हिरो होण्डाले पनि गतवर्षभन्दा यस वर्षको मार्चमा २४ प्रतिशतले विक्री बढेको बताएको छ । मार्चसम्मको आर्थिक वर्षमा हिरो होण्डाले सातओटा नयाँ मोडेल बजारमा ल्याएको छ । त्यसैगरी, भोल्क्सवागन, टाटा मोर्टस र निशान मोटरले पनि मार्चमा सकिएको आर्थिक वर्षमा नयाँ मोडेलका गाडी ल्याएका थिए । त्यसैगरी फोर्ड इण्डियाले गतवर्षभन्दा १ सय ६६ प्रतिशतले विक्री बढेको बताएको छ । त्यसैगरी विश्वकै सबैभन्दा सानो कार भनिएको टाटा नानोको विक्री पनि ८५ प्रतिशतले बढेको छ । भारतमा अझै पनि शहरी इलाकाका १० घरबराबर एक गाडी र ग्रामीण इलाकामा ५० घरबराबर एक गाडी भएकाले विश्वभरिका गाडी निर्माताले भारतमा गाडी व्यापारको ठूलो सम्भाव्यता देखेका छन् । एएफपी/रासस
चीनमा थुप्रै डेरी उद्योग बन्द
चैत २०, बेइजिङ (चीन) । चीन सरकारले सुरक्षा जाँच गरेका मध्ये झण्डै आधा डेरी उद्योगलाई उत्पादन बन्द गर्ने आदेश दिएको छ । २००८ को दूध काण्डमा कम्तीमा ६ जना केटाकेटीको मृत्यु हुनुका साथै ३ लाख जना बिरामी परेका थिए । धूलो दूधमा मेलामाइन भनिने औद्योगिक रसायन भेटिएपछि त्यहाँका डेरी उद्योग सङ्कटमा परेका छन् । त्यसपछि विश्वभरिबाट चिनियाँ दुग्ध पदार्थ मिसिएका उत्पादन फिर्ता गरिएको छ । हालसम्म उक्त काण्डमा दुई जनालाई कारबाही गरिएको छ । डेरीको उत्पादनमा उपभोक्ताको विश्वास कायम राख्न मन्त्रीस्तरीय गुणस्तर टोलीले देशभरिका उद्योगको जाँच गर्ने निर्णयगरेको थियो । एएफपी/रासस
भारतमा जनसङ्ख्या वृद्धिदर घटेकोमा खुशी, चीनमा चिन्ता
चैत २०, नयाँ दिल्ली (भारत) । यस सहस्राब्दीको पहिलो दशकमा भारतको जनसङ्ख्या वृद्धि स्वतन्त्रतापछि सबैभन्दा कम रहेको छ । कतिपयले जनसङ्ख्या वृद्धिदर कम हुनुलाई सकारात्मक बताएका छन् । त्यसबाट जीवनस्तरका साथै सार्वजनिक वित्तमा पनि सुधार आउने उनीहरूको अपेक्षा छ । विकसित देशलगायत रूस र चीनमा समेत जनसङ्ख्या घटनुका साथै पाकाहरूको अनुपात बढेकोमा अर्थतन्त्रमा नकारात्मक असर पार्ने चिन्ता बढेको छ । तर, भारत भने धेरै समयदेखि नै जनसङ्ख्या वृद्धिदर घटाउन प्रयासरत छ । २०११ को शुरूमा गरिएको भारतको जनगणना अनुसार त्यहाँको जनसङ्ख्या १ अर्ब २१ करोड पुगेको छ । जनसङ्ख्या वृद्धिसँगै स्कूल, रोजगार र खाद्य उत्पादन बढ्न नसक्दा त्यसले आर्थिक वृद्धिलाई असर गरेको मानिन्छ । ठूलो सङ्ख्यामा युवाहरू शिक्षा र रोजगारबाट अझै वञ्चित रहेकाले जनसङख्या वृद्धिदर घटाउनु भारतको लक्ष्य रहेको अर्थशास्त्री अबुसलेह शरिफले बताए ।
'जनसङ्ख्या वृद्धिदर घटेबाट धेरै केटाकेटी पाउनुभन्दा भएकालाई शिक्षा दिनुपर्ने चेतना गरीब जनतामा पनि आएको देखिन्छ,’ शरिफले भने । उता चीनमा भने जनसङ्ख्यामा पाकाहरूको वृद्धिसँगै युवाहरूको अनुपात घटिरहेको छ । चीनले 'एक परिवार, एक बच्चा' नीति लागू गरपछि त्यहाँको वृद्धिदर १ प्रतिशतभन्दा पनि कम भएको छ । आगामी तीन दशकमा चीनको जनसङ्ख्यावृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको छ । त्यसैगरी २०२५ सम्ममा भारतले जनसङ्ख्यामा चीनलाई पनि उछिन्ने अनुमान गरिएको छ । जनगणनाअनुसार, भारतको साक्षरता एक दशकको अवधिमा ९ दशमलव २ प्रतिशतले बढेर ७४ प्रतिशत पुगेको छ । तर, एक दशकभित्र ६ वर्षसम्मका प्रतिहजार केटाको तुलनामा केटीको सङ्ख्या ९ सय २७ बाट घटेर ९ सय १४ मा झरेको छ । त्यसबाट गर्भावस्थामै केटी भ्रूणलाई तुहाउने प्रचलन कायमै रहेको देखिन्छ ।
बङ्गलादेशमा खाद्यसुरक्षाका लागि ८ अर्ब डलर
चैत २०, ढाका (बङ्गलादेश) । बङ्गलादेशले खाद्यसुरक्षा सुनिश्चित गर्न आगामी ५ वर्षका लागि झण्डै ८ अर्ब डलरको योजना बनाएको छ । 'हामीले २०१५ सम्मका लागि खाद्यसुरक्षामा लगानी योजना बनाएका छौं । त्यसका लागि हाम्रा विकास साझेदारहरूबाट पूर्ण समर्थन प्राप्त भएको छ,’ खाद्य तथा प्रकोप व्यवस्थापनमन्त्री मुहम्मद अब्दुर रजाकले भने ।उक्त योजनालाई गत हप्ता नै सरकारले अनुमोदन गरेको र त्यसका लागि झण्डै ५ अर्ब डलरको आर्थिक सहायता अपेक्षा गरिएको रजाकले बताए । योजनाका लागि चाहिने बाँकी रकम आन्तरिक स्रोतबाट जुटाइने मन्त्रीले जानकारी दिएका छन् । उक्त योजनाबाट रोजगार सृजना हुने रजाकको अपेक्षा छ । बङ्गलादेशका झण्डै ४० प्रतिशत जनता गरीबीको रेखामुनि छन् । उनीहरूको दैनिक आम्दानी १ डलरभन्दा पनि कम रहेको छ । सार्वजनिक क्षेत्रको कृषिमा लगानी घट्दै गइरहेकाले त्यस्तो प्रवृत्तिलाई उल्टयाएर सबैका लागि खाद्यान्नको सुनिश्चितता गरिनुपर्ने रजाकको धारणा छ । खाद्यवस्तुको मूल्यमा चर्को वृद्धि भइरहेकाले अन्य एशियाली देशझैं बङ्गलादेशले पनि चामल र गहुँजस्ता मुख्य अन्नको भण्डार गरिरहेको छ । रोयटर्स
योगबाट मुटुरोगमा फाइदा हुने प्रमाणित
चैत २०, न्यू ओर्लियन्स (अमेरिका) । योगले उच्च रक्तचाप र कोलेष्टेरोल घटाउने प्रमाणित नै थियो । योगबाट मुटुको अनियमित चालसम्बन्धी समस्याको जोखिम पनि आधाले घट्ने एउटा नयाँ अनुसन्धानबाट देखिएको छ । अमेरिकामा गरिएको उक्त अनुसन्धानमा योगले अटि्रएल फिब्रिलेशन भनिने मुटुको समस्यामा पार्ने प्रभावको अध्ययन गरिएको थियो । उक्त समस्याले कालान्तरमा शिराघात वा स्ट्रोक गराउने सम्भावना रहन्छ । पाका उमेरका मानिसमा त्यस्तो समस्या धेरै देखिन्छ ।तर, योगले अटि्रअल फिब्रिलेशनका समस्यालाई आधाले घटाउने देखिएको छ । त्यसैगरी, उक्त समस्यासँग सम्बन्धित चिन्ता र डिप्रेशन पनि योगबाट कम हुने देखिएको छ । 'यो खोज महत्त्वपूर्ण छ, किनभने अटि्रएल फिब्रिलेशनमा प्रायः शल्यचिकित्सा र अनपेक्षित दुष्परिणाम भएका औषधिको प्रयोग हुँदै आएको छ,’ कान्सस अस्पतालका सहप्राध्यापक डा. धनुञ्जय लक्कीरेड्डीले भने । रोयटर्स
बङ्गलादेशमा महिला समानताको विरोध
चैत २०, ढाका (बङ्गलादेश) । बङ्गलादेशमा प्रहरीसँगको भिडन्तमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । सम्पत्तिमा महिलाको समान अधिकारसम्बन्धी कानून ल्याउने सरकारी कदमको विरोधमा प्रदर्शन भएको हो । राजधानी ढाकाभन्दा २ सय ६० किलोमिटर टाढा रहेको जेस्सोरमा मदरसाका विद्यार्थी र प्रहरीबीच भिडन्त भएको थियो । मुश्लिम बाहुल्य रहेको बङ्गलादेशमा महिलालाई सम्पत्तिमा समान अधिकार दिने सरकारी घोषणाको केही इस्लामिक समूहले चर्को विरोध गरेका छन् । त्यस्तो कानूनले मुसलमानहरूको पवित्र ग्रन्थ कुरानको अपमान हुने उनीहरूको आरोप छ । ९० प्रतिशत जनसङ्ख्या मुसलमानको भए पनि बङ्गलादेशको कानून मूलतः धर्मनिरपेक्ष नै छ । तर, विवाह र सम्पत्तिको हकदाबीमा मुसलमानहरूले शरिया कानूनपालन गर्दै आएका छन् । शरिया कानूनअन्तर्गत, महिलाले उनका दाजुभाइको भन्दा आधा सम्पत्तिमात्र अंश पाउँछिन् । त्यस्तो विभेदका महिला अधिकारवादी समूहहरूले चर्को विरोध गर्दै आएका छन् ।
एएफपी/रासस
Admin 2011-04-04