जापानी प्रमुख स्टील उद्योगबीच एकता
माघ २०, टोकियो (जापान) । जापानको निप्पन स्टील कर्पोरेशन र सुमितोमो मेटल इण्डष्ट्रिजबीच आगामी वर्षव्यापार एकता भएपछि विश्वकै दोस्रो ठूलो स्टील निर्माता हुने भएका छन् । निप्पन स्टील जापानको सबैभन्दा ठूलो स्टील निर्माता कम्पनी हो । निप्पन र सुमितोमोले एकता गरेर २०१२ को अक्टोबरसम्ममा एउटै कम्पनी बनाउने भएका छन् । दुवै कम्पनीले विश्वव्यापीरूपमा खासगरी चीन, भारत र अन्य उदीयमान देशहरूमा व्यापार विस्तार गर्न चाहेका छन् । त्यसरी एकता गरेपछि सो कम्पनी लक्जेर्म्बर्गस्थित आर्सलर मित्तल एसएपछिको दोस्रो ठूलो स्टील कम्पनी हुनेछ ।अन्तरराष्ट्रिय स्टील उद्योगमा आएको ठूलो परिवर्तनका कारण जापानी स्टील कम्पनीहरूलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको छ ।'विश्वव्यापीरूपमा प्रतिस्पर्धा गर्न सक्ने किसिमको बलियो संरचना हामी स्थापना गर्न चाहन्छौं । किनभने विश्वव्यापी स्टील उद्योगमा व्यापक विस्तार हुने सम्भावना छ, सुमितोमोका प्रेजिडेण्ट हिरोशी तोमोनोले भने । एएफपी/रासस
खाद्यवस्तुको भाउ हालसम्मकै उच्च
माघ २०, मिलान (इटाली) । जनवरी महीनामा खाद्यवस्तुको भाउमा चर्को वृद्धि भएको छ । विश्व खाद्य सङ्गठन (एफएओ) को खाद्यपरिसूचकाङ्क हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । एफएओले बिहीवार प्रकाशित गरेको तथ्याङ्कअनुसार, खाद्य परिसूचकाङ्क डिसेम्बरको २२३ दशमलव १ को बिन्दुबाट बढेर जनवरीमा २३० दशमलव ७ मा पुगेको छ ।उक्त परिसूचकाङ्कले प्रमुख अन्न, तेलहन, दुग्धपदार्थ, मासु र चिनीजस्ता प्रमुख खाद्यवस्तुको भाउमा मासिक रूपमा आउने परिवर्तनलाई मापन गर्दछ । यसअघि २००७/०८ को खाद्य सङ्कटका बेला २००८ को जुनमा मापन गरिएको २२४ दशमलव १ नै हालसम्मको उच्च परिसूचकाङ्क थियो । त्यतिखेर खाद्यवस्तुको चर्को मूल्यका कारण थुप्रै देशहरूमा दङ्गासमेत भएको थियो । एफएओले १९९० देखि त्यस्तो परिसूचकाङ्कको रेकर्ड राख्न थालेको हो । रोयटर्स
सिङ्गापुरको ए३८० मा आगलागीको दाग
माघ २०, सिङ्गापुर । सिङ्गापुर एयरलाइन्स (एसआईए)ले उसको एउटा एयरबस ए३८० सुपरजम्बो विमानको विद्युतीय तारमा आगोले डढेको चिन्ह भेटिएको बिहीवार बताएको छ । यसै हप्ताको एक उडानका बेला विमानको शौचालयबाट धूवाँको मुस्लो निस्केको थियो । हङकङबाट उडेको सो विमान चाङ्गी एयरपोर्टमा ओर्लनै लाग्दा चालकदलका सदस्यले शौचालयबाट धूवाँको गन्ध आएको थाहा पाएका थिए । त्यसपछि चालक दलका सदस्यले विमानको आगो निभाउने यन्त्र सञ्चालन गरेका एयरलाइन्सका प्रवक्ता एस सुप्रमनियमले बताएका छन् ।'विमान अवतरण गरेपछि विमानस्थलका हाम्रा कर्मचारीले विमानको निरीक्षण गरेका थिए । त्यस क्रममा विमानको कार्गो क्षेत्रको शौचालयमुनिका विद्युतीय तारहरूमा आगोले डढेको चि⋲न फेला परेको थियो,’ सुप्रमनियमले भने । त्यस सम्बन्धमा एयरबस र एसआईएले छानबिन गरिरहेको पनि उनले बताए । तर, विमानमा आगो भने नलागेको र विमान सकुशल अवतरण भएको सुप्रमनियमले जानकारी दिएका छन् । एसआईएले विश्वमै पहिलोपटक डबल डेकर ए३८० विमानको व्यापारिक उडान २००७ को अक्टोबरदेखि शुरू गरेको थियो । एसआईएसँग हाल ११ ओटा ए३८० विमान रहेका छन् । गत नोभेम्बरमा सिङ्गापुरबाट उडेको क्वाण्टासको ए३८० विमानको एउटा इञ्जिन पड्केको थियो । त्यतिखेर विमानमा ४ सय ६६ जना यात्रु रहेका थिए । त्यसपछि विमानलाई आपत्कालीन अवतरण गरिएको थियो । एएफपी/रासस
अमेरिकामा आँधी, मेक्सिकोद्वारा विद्युत् सहयोग
माघ २०, मेक्सिको सिटी (मेक्सिको) । मेक्सिकोको राज्यनियन्त्रित विद्युत् कम्पनीले बुधवारदेखि अमेरिकी राज्य टेक्सासलाई विद्युत् आपूर्ति शुरू गरेको छ । अत्यधिक जाडोले गर्दा टेक्सासमा विद्युत्को माग बढ्नुका साथै आपूर्तिसमेत बन्द भएको छ । बुधवार आएको ठूलो हिउँदे आँधीले अमेरिकाका एक तिहाइभन्दा बढी भागलाई हिउँ, बरफ र हिउँवर्षाले ढाकेको छ । त्यसबाट सडक र हवाई यातायातसमेत बन्द हुन पुगेको छ ।जलवायुका कारणले समस्या भोगिरहेको टेक्सासलाई आफू विद्युत् आपूर्ति गर्न प्रतिबद्ध रहेको मेक्सिकोको फेडरल इलेक्ट्रिसिटी कमिशनले एउटा विज्ञप्तिमा भनेको छ । उत्तरी मेक्सिकोका सीमास्थित शहरहरूमार्फ २ सय ८० मेगावाट विद्युत् टेक्सासतर्फ पठाउन शुरू गरिसकिएको कमिशनले बताएको छ । टेक्सासका गभर्नर रिक पेरीका अनुसार विद्युत् र आपत्कालीन व्यवस्थापनका विशेषज्ञहरू सक्दो चाँडो विद्युत् आपूर्ति बहाल गर्न सेवाप्रदायकहरूसँग मिलेर काम गरिरहेका छन् । 'त्यतिञ्जेल व्यवसाय र घरहरूमा विद्युत् बचत गरेर यस घटनाको असरलाई सक्दो कम तुल्याउन म आग्रह गर्दछु,’ पेरीले भने । एएफपी/रासस
गूगल र माइक्रोसफ्टबीच चर्काचर्की
माघ २०, सान फ्रान्सिस्को (अमेरिका) । इण्टरनेटका विशाल कम्पनीहरू माइक्रोसफ्ट र गूगलबीचको विवाद चर्केको छ । बिङ्गले गूगल सर्च इञ्जिनको रिजल्ट चोरेको भन्ने गूगलको आरोपमा माइक्रोसफ्टले क्रुद्ध प्रतिक्रिया दिएको छ । तर, गूगलले भने आफूसँग बिङ्गले रिजल्ट चोरी गरेको प्रमाण भएको दाबी गरेको छ । गूगलको पुरानो सर्च रिजल्ट चोरी गरेर बिङ्गका रिजल्टहरू प्रस्तुत गरिएको आरोप गूगलका एक सर्च इञ्जिनीयर अमित सिङ्घलले लगाएका छन् । एउटा सामान्य र इमानदार प्रयोगबाट बिङ्गले गरेको चोरी पत्ता लागेको गूगलले बताएको छ । माइक्रोसफ्टका भाइस प्रेसिडेण्ट युसुफ मेहदीले भने गूगलको प्रयोगलाई बकवास भन्दै आरोपको प्रतिवाद गरेका छन् । गूगलले बिङ्गको र्सच रिजल्टलाई छलपूर्वक हेरफेर गरेर सबैलाई झुक्याएको आरोप मेहदीले लगाएका छन् ।उता, चोरी समातिएकोमा गुनासो गर्नुको साटो उसको बिङ्गले चोर्ने काम छाड्नु राम्रो हुने गूगलले माइक्रोसफ्टलाई सुझाव दिएको छ । एएफपी/रासस
यूरोपमा ब्याजदर यथावत्
माघ २०, बर्लिन (जर्मनी) । यूरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले उसको ब्याजदरलाई यथावत् राख्ने निर्णय बिहीवार गरेको छ । मुद्रास्फीति बढ्दै गए पनि १ प्रतिशतमा रहेको हालसम्मकै न्यून ब्याजदरलाई नचलाउने निर्णय बैङ्कले गरेको हो । ब्याजदरलाई लगातार २१औं महीनासम्म यथावत् राख्ने हालको निर्णय भने अपेक्षित नै थियो । किनभने, पछिल्ला दिनहरूमा केही सुधार भए पनि यूरोजोनको ऋण सङ्कट अझै कायमै छ । इसीबीले मुद्रास्फीतिलाई सधैं नै गम्भीरतापूर्वक लिने गर्दछ । तर, हालैका दिनहरूमा वित्तीय र ऋण सङ्कटको सामना गर्न बैङ्कले अग्रसरता देखाइरहेको छ । यूरोजोनको उपभोक्ता मूल्य जनवरीसम्मको १ वर्षमा २७ महीनाकै उच्च २ दशमलव ४ प्रतिशतले बढेको छ । डिसेम्बरको मुद्रास्फीति भने २ दशमलव २ प्रतिशतमा रहेको थियो । ईसीबीले मुद्रास्फीतिलाई २ प्रतिशतभन्दा केही कममा राख्न चाहेको छ । ब्याजदर बढाउँदा मुद्रास्फीतिमा नियन्त्रण आउन सक्छ । तर, छिटोछिटो ब्याजदर बढाउँदा आर्थिक वृद्धि र पुनर्बहालीमा समेत असर पर्ने सम्भावना भएकाले हालको दरलाई यथावत् राखिएको हो । यस वर्षको उत्तरार्द्धतिर यूरोजोनको मुद्रास्फीति घटेर लक्षितस्तरमा आइपुग्ने सम्भावना पनि ईसीबीले व्यक्त गरेको छ । एपी/रासस