शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

इजीजेटले एयरबस खरीद गर्ने

पुस २०, लण्डन (बेलायत) । बेलायती विमानसेवा इजीजेटले १५ ओटा एयरबस विमान खरीद गर्ने मङ्गलवार बताएको छ । साँघुरो आकार (न्यारो बडी) भएका ती ए३२० विमानहरूको कुल मूल्य १ अर्ब १० करोड डलर पर्नेछ । एयरबसले २०१२ देखि २०१४ सम्ममा ती विमानहरूको आपूर्ति इजीजेटलाई गर्नुपर्नेछ । ती विमानहरूको कुल सूचीकृत मूल्य १ अर्ब १० करोड डलर पर्ने भए तापनि एयरबसले गोप्य रूपमा इजीजेटलाई भारी छूट पनि दिएको बताइएको छ । त्यसका साथै थप ३३ ओटा विमान खरीद गर्ने पनि इजीजेटले प्रत्याभूति गरेको छ । एयरबससँग त्यस्तो सम्झौता भएकोमा आफूहरू हर्षित भएको इजीजेटकी प्रमुख कार्यकारी क्यारोलिन म्याककलले एक विज्ञप्तिमार्फत बताएकी छिन् ।

'यो सम्झौताबाट इजीजेटको मुनाफायुक्त वृद्धि कायम राख्ने रणनीति कार्यान्वयन गर्न सजिलो हुनुका साथै यात्रुहरूलाई अझ बढी हवाईसेवा दिन सकिनेछ’, म्याककलले भनिन् । सम्झौताबाट आर्थिक अवस्था तथा बजारअनुसार आफ्नो वृद्धिदर परिवर्तन गर्न सक्ने लचकता इजीजेटलाई प्राप्त हुने म्याककलको विचार छ ।वित्तीय सङ्कटपछिको समयमा हवाईक्षेत्रको आम्दानीमा राम्रो सुधार भएको छ । खासगरी इजीजेटले झनै राम्रो आम्दानी गरेको छ । २०१० को अन्त्यतिर इजीजेटले भारी वार्षिक मुनाफा भएको भन्दै पहिलोपटक आफ्ना शेयरहोल्डरहरूलाई लाभांश दिने योजना सार्वजनिक गरेको थियो । आधारभूत सेवाबाहेक अन्य सुविधामा कटौती गरेर इजीजेटले सस्तो मूल्यमा यूरोपभरि हवाईसेवा दिन सफल भएको हो ।  एएफपी/रासस


सानमिगेलको बन्दरगाह  उद्योगमा लगानी

पुस २०, मनिला (फिलिपिन्स) । फिलिपिन्सस्थित सानमिगेल कर्पोरेशनले स्थानीय पानीजहाज उद्योगमा ठूलो लगानी गर्ने योजना मङ्गलवार सार्वजनिक गरेको छ । कम्पनीको एउटा एकाइले मनिला बन्दरगाहमा ठूलो हिस्सा प्राप्त गरेपछि सानमिगेलले त्यस्तो योजना सार्वजनिक गरेको हो । सानमिगेल फिलिपिन्सका ठूला कम्पनीमध्ये एक हो ।  बियरका लागि प्रख्यात सानमिगेल कम्पनीले आफ्नो विविधीकरण हुँदै गएका व्यवसायहरूका लागि आवश्यक वस्तु आपूर्ति गर्न नर्थ हार्बरमा एउटा परियोजना शुरू गर्ने भएको छ । त्यसका लागि प्रारम्भिक चरणमा सानमिगेलले ४६ करोड डलरको लगानी छुट्टयाएको बताएको छ ।

गत ३ वर्षदेखि सानमिगेलले बढी मुनाफा दिने निर्माण उद्योगतर्फध्यान केन्द्रित गर्दै आएको छ । हालको परियोजनाअन्तर्गत एउटा अन्न भण्डारण गृह, पानीजहाज आगमन र प्रस्थान व्यवस्थापन सुविधा र तेल डिपो निर्माण गर्ने भएको छ । सानमिगेलले बहुमत शेयर नियन्त्रण गरेको पेट्रोन कर्पोरेशनले सोमवार मनिला नर्थ हार्बर पोर्ट इङ्कमा ३५ प्रतिशत हिस्सा प्राप्त गरेपछि त्यस्तो योजना सार्वजनिक गरिएको छ । आन्तरिक पानीजहाजसेवा सञ्चालन हुने मनिलाको नर्थ हार्बर क्षेत्रलाई आधुनिकीकरण गर्ने सरकारी योजनासँग आफ्नो परियोजना मेल खाने सानमिगेलले बताएको छ । उक्त बन्दरगाहको बहुमत शेयरधनी हार्बर सेण्टर पोर्ट टर्मिनल इङ्कसँग गुरुयोजनाबारे वार्ता गरिरहेको पनि सानमिगेलले बताएको छ । त्यसपछि बन्दरगाहको आधुनिकीकरण योजनालाई सरकारी नियामक निकाय फिलिपाइन पोर्ट्स अथरिटीबाट अनुमोदन गराउनुपर्नेछ ।  
एएफपी/रासस


फेसबुकको शक्तिशाली नयाँ साथी गोल्डम्यान

पुस २०, न्यूयोर्क (अमेरिका) । सामाजिक सञ्जालमा अग्रणी फेसबुकले आफ्नो बढिरहेको शक्ति प्रदर्शन गर्ने भएको छ । फेसबुकले गोल्डम्यान स्याक्स तथा एउटा रूसी लगानी कम्पनीसँग गरिएको सम्झौताबाट  ५० करोड डलर प्राप्त गरेपछि त्यस्तो सम्भावना देखिएको हो । ती कम्पनीहरूले फेसबुकको मूल्य ५० अर्ब डलर मापन गरेका थिए ।  गोल्डम्यानले ४५ करोड डलर तथा रूसी कम्पनी डिजिटल स्काई टेक्नोलोजिज (डीएसटी)ले ५ करोड डलर फेसबुकमा लगानी गरेको सम्झौताबारे जानकार स्रोतलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले सोमवार बताएको छ । उक्त रूसी कम्पनीले पहिले नै पनि फेसबुकमा लगभग आधा अर्ब डलरको लगानी गरिसकेको थियो । गोल्डम्यान न्यूयोर्कको प्रमुख वित्तीय क्षेत्र वाल स्ट्रीटस्थित प्रतिष्ठित लगानी बैङकहरूमध्ये एक हो । तर, फेसबुक, गोल्डम्यान, तथा डीएसटीले भने त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेका थिए ।

मार्क जुकरबर्गले आफू छात्र रहेको हावर्ड युनिभर्सिटीको होष्टेल कोठाबाट २००४ मा फेसबुकको स्थापना गरेका थिए । अब, फेसबुकमा गरिएका ती नयाँ लगानीबाट उक्त सञ्जाल अमेरिकाको विमान कम्पनी बोइङ तथा मिडिया कम्पनी टाइम वार्नरभन्दा पनि बढी पूँजी भएको कम्पनी हुनेछ । तर, अझै पनि विज्ञापनबाट प्राप्त हुने फेसबुकको वाषिर्क आम्दानी लगभग २ अर्ब डलर मात्र रहेको छ । जबकि बोइङको वार्षिक आम्दानी ६४ अर्ब ६२ करोड डलर तथा टाइम वार्नरको वार्षिक आम्दानी २६ अर्ब ५० करोड डलर रहेको छ । फेसबुकले नयाँ लगानीलाई उसको वृद्धि कायम राख्न प्रविधि तथा उत्कृष्ट जनशक्ति प्राप्त गर्न उपयोग गर्ने बताइएको छ । तीव्र वृद्धि गरिरहेको उक्त सामाजिक सञ्जालमा विश्वभरिबाट प्रतिमहीना ५० करोड सक्रिय सदस्यहरू रहेका छन् । हालै २६ वर्षीय जुकरबर्गलाई टाइम पत्रिकाले २०१० को वर्षयक्ति (पर्सन अफ द इयर) घोषणा गरेको थियो ।        एएफपी/रासस


दक्षिण कोरियामा महँगीविरुद्ध 'युद्ध’ छेड्न आह्वान

पुस २०, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाका राष्ट्रपति ली म्युङ बाकले बढ्दो महँगीविरुद्ध युद्ध छेड्न आफ्नो मन्त्रीमण्डललाई मङ्गलवार आह्वान गरेका छन् । केन्द्रीय बैङ्कका सदस्यहरूले उपभोग सामग्रीको मूल्य अझै बढ्ने चिन्ता व्यक्त गरेपछि बाकले त्यस्तो आग्रह गरेका हुन् ।   आर्थिक नीतिमै उपभोग्य सामग्रीको मूल्य नियन्त्रण कार्यलाई प्राथमिकता दिएर मुद्रास्फीतिलाई ३ प्रतिशतको हाराहारीमा राख्न बाकले निर्देशन दिएका थिए । तर, सुदृढ हुँदै गएको आर्थिक पुनर्बहाली, ठूलो मात्रामा भित्रिइरहेको विदेशी लगानी तथा तेलजस्ता कच्चा पदार्थको मूल्यमा भइरहेको वृद्धिजस्ता कारणले मुद्रास्फीति नियन्त्रण गर्न कठिन हुनेछ ।  

केन्द्रीय बैङ्कको पूर्वानुमानअनुसार गतवर्षको आर्थिक वृद्धिदर ६ दशमलव १ प्रतिशत रहेकोमा यस वर्षवृद्धिदर घटेर ४ दशमलव ५ प्रतिशतमा रहनेछ । तर, मुद्रास्फीति भने गतवर्षको २ दशमलव ९ प्रतिशतबाट बढेर यस वर्ष३ दशमलव ५ प्रतिशतसम्म पुग्नेछ । सरकारले भने ५ प्रतिशतको आर्थिक वृद्धिदर अपेक्षा गरेको छ । बाकको निर्देशनपछि अर्थ मन्त्रालयले आगामी जनवरी १३ मा मुद्रास्फीतिविरुद्धका उपायहरू घोषणा गर्ने तयारी गरेको छ । केन्द्रीय बैङ्कले २०१०-२०१२ का लागि मुद्रास्फीति औसत २ देखि ४ प्रतिशतको बीचमा राख्ने लक्ष्य बनाएको छ । मुद्रास्फीति नियन्त्रण गर्न बैङ्कले गत वर्ष दुइपटक ब्याजदर बढाएको थियो । यसपालि पनि बैङ्कले फेब्रुअरीतिरै ब्याजदर बढाउने सम्भावना छ ।  रोयटर्स