शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

तीन हजार गाईलाई गोली हान्ने धम्की

असार २१ । अष्ट्रेलियाले इण्डोनेशियातर्फ  भइरहेको जीवित गाइवस्तुको निर्यातमाथि प्रतिबन्ध लगाएपछि त्यहाँका किसानहरू मानसिक तनावमा परेका छन् । एक पशुपालक कृषकले त आफूले ३ हजारओटा गाई राखिराख्न नसक्ने भएकाले तिनलाई गोली हानेर मार्ने तयारीसमेत गरेको बताएका छन् ।  पश्चिमी अष्ट्रेलियाको मूला बुला क्षेत्रका एक किसान निको बोथाले आउँदो बुधवारसम्ममा गाइहरूलाई गोली हानेर मार्ने घोषणा गरेका हुन् । ती गाइवस्तुलाई अधिक चरन गर्न वा गोठमै मर्न दिनुभन्दा तिनलाई मार्नु नै उपयुक्त रहेको उनको धारणा छ । सरकारको गल्तीका कारण अन्य किसानले पनि आफूले जस्तै निर्णयलिन बाध्य हुने बोथाको दाबी छ ।इण्डोनेशियाका वधशालामा गाइवस्तुलाई निर्मम ढङ्गले मारिने गरेको दृश्य अष्ट्रेलियाली टेलिभिजनहरूले देखाएपछि जनस्तरबाट चर्को विरोध भएको थियो । त्यसपछि अष्ट्रेलिया सरकारले इण्डोनेशियातर्फगरिने गाइवस्तुको निर्यातमाथि नै प्रतिबन्ध लगाएको थियो । सरकारको सोही प्रतिबन्धविरूद्ध पशुपालक कृषकहरूले गुनासो गरेका छन् । प्रतिबन्धबाट मर्कामा परेका किसानलाई सरकारले हालसम्म ३ करोड ५० लाख डलर क्षतिपूर्ति दिने घोषणा गरिसेकेको छ । एएफपी/रासस

चीनमा जनरल मोटर्सको विक्री बढयो

असार २१, बेइजिङ (चीन) । अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्सले चीनमा अफ्ना गाडीहरूको विक्री बढेको बताएको छ । जनरल मोटर्सको लगानी रहेको साङ्र्घाईस्थित 'साङ्र्घाई जीएम'ले सोमवार आफ्नो वेबसाइटमा एक वक्तव्य प्रकाशित गर्दै सन् २०११ को जुन महीनासम्म ६ लाख १२ हजार ७२ ओटा सवारीसाधन विक्री गरेको जानकारी दिएको छ ।यो अघिल्लो वर्षभन्दा २७ दशमलव ५ प्रतिशतले बढी हो । वक्तव्यमा सन् २०११ को ६ महीनामा १२ हजार ६७ ओटा सवारीसाधन निर्यात गरेको बताइएको छ । जुन महीनामा मात्रै साङ्र्घाई जीएमले १ लाख ४ हजार ४ सय ७२ ओटा बुइक, सेभ्रोले र क्याडिलाक विक्री गरेको वक्तव्यमा उल्लेख छ । सन् २०१० अगष्टमा जनरल मोटर्स र एएसआईसी मोटर कर्पले चीनमा संयुक्त लगानीमा उत्पादन शुरू गरेका थिए ।                                 एजेन्सी

जर्मन अदालतमा यूरो ऋणमोचनविरूद्ध सुनुवाइ

असार २१, कार्ल्सरू (जर्मनी) । ऋण सङ्कटग्रस्त यूरोपेली देशहरूको ऋणमोचन कार्यक्रम नै कानूनी झमेलामा पर्ने देखिएको छ । जर्मनीको कार्ल्सरूस्थित संवैधानिक अदालतले ग्रीस, आयरल्याण्ड र पोर्चुगलको ऋणमोचनका लागि जर्मनीले गरेको योगदानविरूद्ध मुद्दा मङ्गलवारदेखि सुनुवाइ गर्दै छ । अदालतले ऋणमोचन कार्यक्रममा जर्मनी सरकारको संलग्नतालाई पूरै प्रतिबन्ध लगाउने वा सरकारलाई उसको प्रतिबद्धताबाट पछि हट्न भने दबाब दिएको छैन । तर, थप सहायता दिने सरकारको अधिकारलाई भने अदालतले कुण्ठित गर्नेछ । जस्तो कि, भावी दिनमा त्यस्तो ऋणमोचन सहयातका लागि संसद्को तल्लो सदनलाई अधिकार दिनेबारे अदालतको निर्णयआउन सक्छ ।

'आर्थिक इतिहासमा पहिलोपटक एउटा मुद्रामाथि मुद्दा चलेको छ,’ मुद्दाका वादी र विशेषज्ञमध्येका एक जोआचिम स्टारब्याटीले भने । उनीसँगै ६ जनाले यूरोका आलोचकले हालेको मुद्दामाथि अदालतले सुनुवाइ शुरू गरेको हो । ऋणमोचन कार्यक्रमले सम्पत्ति अधिकारलगायत जर्मनी र यूरोपेली संविधानले दिएका अन्य थुप्रै संरक्षण खतरामा परेको उनीहरूको आरोप छ । अन्तरराष्ट्रिय मुद्रा कोषसँगै ईयूले पनि गतवर्षग्रीस, आयरल्याण्ड र पोर्चुगलका लागि ३ खर्ब ९५ अर्ब डलरको ऋणमोचन कार्यक्रम स्वीकृत गरेको थियो । एजेन्सी

काहनको राजनीतिक भविष्य अझै अनिश्चित

असार २१, पेरिस (फ्रान्स) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएप)का पूर्वप्रमुख डोमिनिक स्ट्रस काहनमाथिको यौन दुराचार मुद्दा फिर्ता हुने अवस्थामा पुगेको छ । तर, आफ्नै देश फ्रान्समा पनि उनीमाथि त्यस्तै मुद्दा लागेकाले उनको राजनीतिक पुनरागमन भने अझै शङ्कास्पद नै छ । काहनमाथिको मुद्दा फिर्ता हुने एक उच्च अनुसन्धान अधिकारीले बताएका छन् । घरमै नजरबन्द रहेका काहनलाई अदालतले शुक्रवार मुक्त गरेको थियो । यद्यपि उनीमाथिको यौन दुर्व्यवहार मुद्दा अझै कायमै छ । तैपनि उनीमाथि लगाइएको आरोपसम्बन्धी तथ्यहरू कमजोर भइसकेकाले मुद्दा निकै कमजोर भइसकेको स्रोतले बतायो ।तर, फ्रान्समै पनि काहनलाई त्यस्तै एक मुद्दाले स्वागत गर्ने भएकाले २०१२ को अप्रिलमा हुने राष्ट्रपतीय निर्वाचनको उम्मेदवारीमा भने उनलाई अझै समस्या पर्नेछ । काहनका वामपन्थी समर्थकहरूले राष्ट्रपतिको उम्मेदवारीका लागि पूर्वतयारीकै बेला उनलाई झूटो मुद्दामा फसाइएको आरोप लगाएका छन् ।      एजेन्सी

स्वीडेनमा ब्याजदर दुई प्रतिशत बढयो

असार २१, स्टकहोम (स्वीडेन) । स्वीडेनको केन्द्रीय बैङ्कले ब्याजदरमा वृद्धि गरेको छ । केन्द्रीय बैङ्कले मङ्गलवार मुद्रास्फीति नियन्त्रण गर्न र बढिरहेको आर्थिक वृद्धि कायम राख्न शून्य दशमलव २५ देखि दुई प्रतिशतसम्म ब्याजदर वृद्धि गरेको हो ।केन्द्रीय बैङ्कले अन्तरराष्ट्रिय आर्थिक परिदृश्यमा देखिएको अनिश्चितता, कमजोर अमेरिकी अर्थतन्त्र र यूरोजोनको ऋण सङ्कट हुँदाहुँदै पनि स्वीडेनको अर्थतन्त्र सन्तोषजनक रूपमा बढिरहेको बताएको छ । साथै बैङ्कले मुद्रास्फीति २ प्रतिशतको आसपासमा स्थिर राख्न रिपो दरलाई क्रमश: बढाउँदै लानुपर्ने अवस्था रहेको पनि उल्लेख गरेको छ ।स्वीडेनको अर्थ मन्त्रालयले आइतवार देशको कुल गार्हस्थ्य उत्पादन ४ दशमलव ८ प्रतिशतले बढ्ने बताएको थियो । साथै त्यहाँको बेरोजगारी दर सन् २०११ मा ७ दशमलव ४ प्रतिशतमा सीमित रहने, मुद्रास्फीति २ दशमलव ४ प्रतिशत हुने र मूल्यवृद्धि २ प्रतिशतले बढ्ने पूर्वानुमान गरेको थियो । स्क्याण्डिनेभियन क्षेत्र पनि भनिने उत्तरी यूरोपमा रहेको स्वीडेन उक्त क्षेत्रको सबैभन्दा बलियो अर्थतन्त्र मानिन्छ । एजेन्सी  

हिउँदे ओलम्पिक्सका लागि तीन शहरबीच चर्को प्रतिस्पर्धा

असार २१, र्डबान (दक्षिण अफ्रिका) । सन् २०१८ को हिउँदे ओलम्पिक्स आयोजनाका लागि तीन शहरहरूबीच चर्को प्रतिस्पर्धा भएको छ । खासगरी, एशियाबाट दक्षिण कोरिया र यूरोपका फ्रान्स तथा जर्मनीबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ । कोरियाको पाइओङचाङ, जर्मनीको म्युनिख र फ्रान्सको एन्नेसीमध्ये कुन शहरलाई आतिथ्यको अवसर दिने भन्नेबारे अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले बुधवार गोप्य मतदान गर्नेछ । पाइओङचाङ यसअघि २०१० र  २०१४ का लागि पनि पराजित भएपछि तेस्रोपटक पनि प्रयास गरिरहेको छ । त्यसैगरी, यसअघि नै गृष्मकालीन ओलम्पिक आयोजना गरिसकेको म्युनिख भने हिउँदे ओलम्पिक पनि आयोजना गरेर कीर्तिमान बनाउन लालायित देखिन्छ । एन्नेसीको भने यो पहिलो प्रयास हो ।          एजेन्सी

केरलाको खजानाबारे चर्किंदो बहस

असार २१, नयाँ दिल्ली (भारत) । दक्षिणी भारतस्थित सोह्रौं शताब्दीको एक हिन्दू मन्दिरमा भेटिएको ठूलो मात्राको खजाना के गर्ने भन्नेबारे चर्को बहस चुलिएको छ । श्री पद्मनाभस्वामी मन्दिरभित्र ६ दिनअघि भेटिएका सुनका सिक्का, हिरा जडित मूर्तिलगायतका सम्पत्ति कति छन् भन्नेबारे अझै पनि गणना भइरहेको छ । केरलाको राजधानी त्रिवेन्द्रममा रहेको उक्त मन्दिरबाहिर सशस्त्र प्रहरीको  डफ्फाले गस्ती गरिरहेको छ । त्यसैगरी मन्दिर परिसरभित्र जानेमाथि कडा सुरक्षा निगरानी राखिएको छ ।भक्तहरूले सयौं वर्षदेखि चढाएका ती मूल्यवान् वस्तुलाई विगतमा पूर्व राजपरिवारले संरक्षण गर्दै आएका थिए । मन्दिरको सुरक्षाबारे एक वकिलले अदालतमा मुद्दा हालेपछि खजानाको बाकस खोलिएको थियो । अचानक धन फेलापरेपछि उक्त मन्दिर भारतकै सबैभन्दा धनीमध्ये एक हुन  पुगेको छ भने खजानालाई के गर्ने भन्नेबारे चर्को बहस शुरू भएको छ । एपी/रासस

अष्ट्रेलियामा प्रदूषण कर लागू

असार २१, (अष्ट्रेलिया) । अष्ट्रेलियाले केही दिनभित्रै प्रदूषण करबारेको विस्तृत विवरण सार्वजनिक गर्ने अर्थमन्त्री वायेन स्वानले मङ्गलवार बताएका छन् । नयाँ प्रणालीमा ठूलो मात्रामा ऊर्जा खर्च बेहोरिरहेका घरपरिवारलाई राहत पनि दिइने स्वानले प्रतिबद्धता गरे । आगामी वर्ष२०१२ को मध्यदेखि अष्ट्रेलियाका प्रमुख १ हजारजना प्रदूषकमाथि उक्त कर लगाइनेछ । यसअघि पनि सत्तारूढ लेबर पार्टी उसको उत्सर्जन व्यापार योजना अर्थात् इमिशन ट्रेडिङ स्कीम (ईटीएस) लागू गर्न दुईपटक असफल भइसकेको छ । विश्वव्यापी तापक्रम वृद्धि गराइरहेको कार्बन उत्सर्जनलाई नियन्त्रण गर्ने ईटीएसको लक्ष्य रहेको छ ।

कोइलाजनित ऊर्जामाथिको निर्भरताका कारण अष्ट्रेलिया विश्वकै सबैभन्दा धेरै प्रतिव्यक्ति प्रदूषक रहेको देशमध्ये एक हो । त्यसैले लेबर पार्टीले कार्बन डाइअक्साइड उत्सर्जन गर्ने ठूला व्यापारमाथि तिनको उत्सर्जन मात्राअनुसार कर लगाउने योजना ल्याएको छ । उक्त करलाई ५ वर्षभित्र विश्वव्यापी कार्बन बजारसँग सम्बन्धितईटीएसले प्रतिस्थापन गर्नेछ । प्रतिटन कार्बन डाइअक्साइडको मूल्य  र घरपरिवार तथा व्यापारलाई दिइने क्षतिपूर्तिको विस्तृत विवरण आइतवारसम्म आइपुग्ने स्वानले बताएका छन् ।             एएफपी/रासस

ज्वालामुखीबाट भएको आर्थिक क्षति कम गर्न अर्जेण्टिनाको योजना

असार २१, ब्युनस आयस (अर्जेण्टिना) । छिमेकी राष्ट्र चिलीको 'पुयेइह्यु' ज्वालामुखी विस्फोटनबाट भएको आर्थिक क्षतिलाई कम गर्न अर्जेण्टिना सरकारले विशेष योजना घोषणा गरेको छ । अर्जेण्टिनाकी राष्ट्रपति क्रिष्टिना क्रिच्नरले मङ्गलवार राष्ट्रिय टेलिभिजनममार्फत सम्बोधन गर्दै ज्वालामुखीको खरानीबाट प्रभावित क्षेत्रका १ हजार ४ सय किसान र व्यवसायीलाई २ दशमलव ४१ अर्ब अमेरिकी डलरको सहायता प्रदान गर्ने घोषणा गरेकी छन् । तर, ती किसान र व्यवसायीहरूले आफ्ना कामदारलाई हटाउन नपाउने शर्तमा मात्र सहायता प्रदान गरिने उनले उल्लेख गरेकी छन् ।

सम्बोधनमा क्रिच्नरले ज्वालामुखीबाट निस्केको खरानीबाट सबैभन्दा बढी प्रभावित एण्डियन क्षेत्रका बारिलोचे, भिल्ला ला एङ्गोष्टुरालगायतका शहर र अन्य गाउँहरूलाई दिइँदै आएको सामाजिक भत्तालाई दोब्बर गरिने र कर भुक्तानी स्थगित गर्ने घोषणा गरेकी छन् । साथै ती बस्तीमा सरसफाइ र खरानी हटाउन थप ७० लाख अमेरिकी डलर विनियोजन गरेको पनि उनले बताएकी छन् । अर्जेण्टिनामा धूवाँ र खरानीका कारण स्थगित गरिएका उडानहरू बुधवारबाट सुचारु हुने अपेक्षा गरिएको छ । जुन ४ देखि स्थगित उडानका कारण अर्जेण्टिनाको पर्यटन उद्योग नराम्ररी प्रभावित भएको थियो ।चिलीको पुयेइह्यु ज्वालामुखीबाट निस्केको धूवाँ र खरानी दक्षिणी गोलार्द्धका अष्ट्रेलिया र न्युजिल्याण्डसम्म फैलिएको थियो । सन् १९६० पछि विस्फोटन भएको उक्त ज्वालामुखी अर्जेण्टिना र चिलीको सीमानजिकै एण्डिज पर्वत शृङ्खलामा रहेको छ । एएफपी/रासस
Admin 2011-07-06