'याहू’ कार्यकारी प्रमुख निष्कासित
भदौ २१, सान फ्रान्सिस्को (अमेरिका) । अमेरिकी इण्टरनेट सच इञ्जिन कम्पनी तथा 'याहू इन्क'ले कार्यकारी प्रमुख क्यारोल बार्टज्लाई निष्कासन गरेको छ । कम्पनीका अध्यक्ष रोय बोष्टोकले उनलाई मङ्गलवार निष्कासन गरेका हुन् । गत हप्ता याहू इन्कको कार्यकारी बोर्ड बैठकबाट यो निर्णयलिइएको बुझिएको छ ।
कम्पनीका अध्यक्ष बोष्टोकले मङ्गलवार बार्टज्लाई फोनमार्फत उनी निष्कासित भएको खबर दिएका थिए । क्यारोल बार्टज् हटेपछि रिक्त रहेको पदमा कम्पनीका प्रमुख वित्तीय अधिकृत टिम मोस नियुक्त भएका छन् । मोसलाई कम्पनीको दैनिक काम कारबाहीमा सहयोग गर्न र रणनीतिक योजनाहरूको विस्तृत पुनरवलोकन गर्न कम्पनी बोर्डले कार्यकारी परिषद् बनाएको बताइएको छ । बार्टज्लाई निष्कासन गर्ने कारणबारे कम्पनीले आधिकारिक रूपमा केही बताएको छैन । तर, बार्टज्को कार्यक्षमता अत्यन्त कमजोर रहेको र उनी कार्यकारी प्रमुख भएपछि याहूले निरन्तर घाटा बेहोर्दै आएकाले निष्कासन गरिएको विश्लेषकहरूले अनुमान गरेका छन् । केही विश्लेषले बार्टज्को निष्कासनले कम्पनी बोर्डसँग विकल्पहरू साँघुरिँदै गएका सङ्केत गरेको बताएका छन् । बार्टज् पदमा रहँदा विज्ञापनबाट हुने आम्दानी घटेको र रणनीतिक कार्यक्रम बनाउन नसकेको र चिनियाँ साझेदार कम्पनी अलिबाबासँगका विवाद समाधान गर्न नसकेकोलगायत आरोप लगाइएका थिए । सूचना प्रविधि विश्लेषक 'ई-मार्केटर इन्क'ले केही अघि सार्वजनिक गरेका तथ्याङ्कले याहू इन्कको सन् २०१० मा १६ प्रतिशत रहेको अनलाइन विज्ञापन आम्दानी यो वर्ष११ प्रतिशतमा झर्ने देखाएका थिए । अर्कोतर्फ प्रतिस्पर्धीहरू गुगल र फेसबुकको आम्दानी भने क्रमश: ४१ प्रतिशत र ७ प्रतिशत वृद्धि हुने ई-मार्केटरले जानकारी दिएको थियो । त्यसैगरी गुगल र फेसबुकको बजारमूल्य याहूभन्दा १० गुणाले बढेको बताइन्छ । हाल याहूको बजारमूल्य १६ अर्ब अमेरिकी डलर रहेको छ । पदबाट हटाइएपछि बार्टज्ले कम्पनीका कर्मचारीहरूलाई इमेलमार्फत आफू दु:खित भएको बताएकी थिइन् । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सबैको प्रगतिको कामना पनि गरिन् । १४ वर्षअघि सफ्टवेयर डिजाइनिङ कम्पनी 'अटोडेक्स'बाट सिलिकन भ्यालीमा प्रवेश गरेकी बार्टज् सन् २००९ मा याहूको कार्यकारी प्रमुख भएकी थिइन् । क्यारोल बार्टज् निष्कासित भएको समाचार आएपछि याहू इन्कको शेयर मूल्य ६ प्रतिशतले बढेको छ । एपी/रासस
लियाङ वेङगेन चीनका सर्वाधिक धनाढय
भदौ २०, साङ्र्घाई (चीन) । हेभी इक्विपमेण्टका निर्माता लियाङ वेङगेन चीनको सर्वाधिक धनाढय व्यक्ति बन्न सफल भएका छन् । 'हुरून धनाढय सूची २०१०' अनुसार वेङगेनको कम्पनी सानी हेभी इण्डष्ट्री कम्पनीको शेयर मूल्य बढेपछि उनको सम्पत्ति गतवर्षदोब्बर भएर ११ अर्ब डलर पुगेको थियो । हुरून धनाढय सूची फोर्ब्सको धनाढय सूची जस्तै चिनियाँ धनाढयहरूको सूची हो, जसलाई रुपर्ट हूगवर्फे तयार पारेका हुन् ।
सूचीमा रहेका अन्य प्रमुख धनाढयहरूमा उपभोक्ता सामग्री, इण्टरनेट र घरजग्गाको कारोबार गर्नेहरू रहेका छन् । चीनको तीव्र गतिको आर्थिक वृद्धिले विश्वव्यापी मन्दीका असरलाई सजिलै झेल्न मद्दत पुर्याएको देखिन्छ । हुरोन सूचीअनुसार चीनका १ हजार जना सर्वाधिक धनाढयमध्ये २ सय ७१ जना अमेरिकी डलरमा अर्बपति छन्, जुन २०१० को भन्दा १ सय ८९ ले बढी हो ।
सूचीमा रहेका यसअघिका सर्वाधिक धनाढय पेयपदार्थ कम्पनी वाहाहाका प्रमुख यसपटक दोस्रो स्थानमा झरेका छन् । उनको कुल सम्पत्ति १० अर्ब ७० करोड डलर रहेको छ । त्यसैगरी, सच इञ्जिन कम्पनी बाइडु इन्कका रोबिन लि याङहोङ ८ अर्ब ८० करोड डलरका साथ तेस्रो र रेड बुल इनर्जी ड्रिङ्क्सका याङ बिङ ७ अर्ब ८० करोड डलरका साथ चौथो स्थानमा छन् । एपी/रासस
अमेरिकी सेवाक्षेत्रको वृद्धिमा केही सुधार
भदौ २१, वाशिङटन (अमेरिका) । सन् २०११ अगष्टमा अमेरिकाको सेवा क्षेत्रको वृद्धिमा केही सुधार आएको छ । मङ्गलबार सेवा क्षेत्रबारे अध्ययन गर्ने 'द इन्षिटच्युट फर सप्लाई मेनेजमेण्ट'ले सार्वजनिक गरेको एक प्रतिवेदनमा सेवाक्षेत्रका कम्पनीहरूको सूचकाङ्क अगष्टमा ५३ दशमलव ३ प्रतिशतले बढेको बताइएको छ । सन् २०११ जुलाईमा यो वृद्धिदर ५२ दशमलव ७ प्रतिशत रहेको थियो । सन् २०११ को फ्रेब्रुअरीमा सेवाक्षेत्र सूचकाङ्कमा ५ वर्षै सबैभन्दा ठूलो वृद्धि भई ५९ दशमलव ७ प्रतिशत पुगेको थियो । तर, प्रतिवेदनको तथ्याङ्कअनुसार अगष्टमा सेवा उद्योगमा केही वृद्धि भए पनि फेब्रुअरीयता समग्रमा भने घट्दै गएको बताइएको छ । इन्धनको मूल्यमा भएको वृद्धि र उपभोक्ताको घट्दो क्रयशक्तिले सेवाक्षेत्रमा असर गरिरहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा होलसेल (थोक) व्यापार, यातायात सेवा र होटल सेवामा वृद्धि भए पनि शिक्षासेवा, मनोरञ्जन, स्वास्थ्यसेवा र वित्तीय तथा इन्स्योरेन्स क्षेत्रमा भने अगष्टमा कमी आएको बताइएको छ । प्रतिवेदन सार्वजनकि भएपछि एमहष्र्ट कलेजका अर्थशास्त्रका प्राध्यापक ब्रायन बेथ्युनले सेवाक्षेत्रमा वृद्धि देखिनु सकारात्मक भए पनि यसले मात्रै अमेरिकी अर्थतन्त्रलाई सुधार गर्न नसक्ने बताएका छन् । मङ्गलवारको शुरुआती कारोबारमा घटेको डाउ जोन्स शेयर सूचकाङ्क दिउँसो सेवाक्षेत्रको प्रतिवेदन आएपछि केही बढेर १ सय अङ्कमा बन्द भएको थियो । सेवाक्षेत्रको सूचकाङ्क ५० प्रतिशतभन्दा बढी भए वृद्धि भएको मानिन्छ । अमेरिकी सेवा उद्योगमा रेष्टुराँ, होटल, स्वास्थ्य सेवा कम्पनी, वित्तीय सेवा कम्पनी, शिक्षा सेवा, मनोरञ्जन कम्पनीलगायत सूचीकृत छन् ।
यसैबीच अमेरिकी रोजगार बजारमा देखिएको मन्दी हटाउन राष्ट्रपति बाराक ओबामाले बिहीवार ३ सय अर्ब डलरबराबरको कार्यक्रम घोषणा गर्न लागेका छन् । ओबामाले बिहीवार गर्न लागेको सम्बोधनमा रोजगारी बढाउन प्याकेज घोषणा गर्ने र उक्त प्याकेजमा कर छूट र सङ्घीय सरकारका खर्चहरू बढाउँदै रोजगारी वृद्धि गर्ने बताइएको छ । हाल अमेरिकामा ९ प्रतिशत रहेको बेरोजगारी दर हटाउन प्रतिमहीना २ लाख ५० हजार रोजगारी सृजना गर्नुपर्ने आवश्यकता छ । एपी/रासस
स्वीट्जरल्याण्ड अझै पहिलोअमेरिका पाँचौं स्थानमा
भदौ २१, जेनेभा (स्वीट्जरल्याण्ड) । विश्वको सबैभन्दा प्रतिस्पर्धात्मक अर्थतन्त्रहरूको विश्वव्यापी र्याङकिङमा अमेरिकाको स्थान खस्किएर पाँचौं स्थानमा पुगेको छ । अमेरिकाको चर्को बजेटघाटा र सरकारप्रति घटदो सार्वजनिक विश्वासका कारण उसको स्थान खस्किएको वर्ल्ड इकोनोमिक फोरमले बताएको छ । फोरमको यस्तो घोषणा अमेरिकी अर्थतन्त्रलाई उकास्ने र ९ प्रतिशतभन्दा बढीको उच्च बेरोजगारी दर घटाउने प्रयास गरिरहेको ओबामा सरकारलाई नयाँ धक्का हुनेछ । फोरमको सूचीमा पहिलो स्थान तेस्रो वर्षसम्म पनि स्वीट्जरल्याण्डकै छ ।
त्यसैगरी, दोस्रो स्थानमा सिङ्गापुर रहन सफल भएको छ । यसअघि दोस्रो स्थानमा रहेको स्वीडेन भने तेस्रो स्थानमा झरेको छ । यसअघि सातौं स्थानमा रहेको फिनल्याण्ड चौथो स्थानमा पुगेको छ । सन् २००८ मा पहिलो स्थानमा रहेको अमेरिका गतवर्षचौथो स्थानमा थियो । तीन दशकभन्दा अघिदेखि प्रकाशित गर्दै आएको फोरमको त्यस्तो र्याङकिङ आर्थिक तथ्याङ्कका साथै १५ हजार व्यापारिक कार्यकारीहरूमाथिको सर्वेक्षणमा आधारित हुन्छ ।
फोरमले उत्पादकत्व, कम्पनीहरूको उच्च कुशलता, उच्चस्तीय विश्वविद्यालयहरू र लचिलो बजारका लागि अमेरिकाको प्रशंसा गरेको छ । तर, बढ्दो सरकारी ऋण र राजनीतिक नेतृत्वप्रति घट्दो जनविश्वासका साथै घट्दो व्यावसायिक नैतिकताजस्ता कमजोरी बढ्दै गएको फोरमले बताएको छ । नवप्रवर्तन, प्राविधिक तयारी, निष्पक्ष नियमनजस्ता सबै क्षेत्रमा लगातार बलियो प्रदर्शन कायम राख्नुका साथै विश्वकै सबैभन्दा स्थिरमध्येको आर्थिक वातावरण भएकाले स्वीट्जरल्याण्डको पहिलो स्थान कायमै रहेको फोरमले बताएको छ । एपी/रासस
ओबामा भाषणको अपेक्षामा तेलको मूल्य बढयो
भदौ २०, सिङ्गापुर (सिङ्गापुर) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसै हप्ताभित्र अमेरिकी अर्थतन्त्रको सुदृढ वृद्धिका लागि नीतिगत उपायको घोषणा गर्ने अपेक्षाका कारण एशियामा तेलको मूल्य झण्डै ८७ डलर प्रतिब्यारेल नजिक पुगेको छ ।
सिङ्गापुर समयअनुसार अबेर दिउँसो न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जमा अक्टोबरमा डेलिभरी हुने तेलको मूल्य ९४ सेण्टले बढेर प्रतिब्यारेल ८६ दशमलव ९६ डलर पुगेको छ । उता, लण्डनको आईसीई फयुचस एक्सचेञ्जमा अक्टोबरमा डेलिभरी हुने ब्रेण्ट क्रुडको मूल्य १० सेण्टले बढेर प्रतिब्यारेल १ सय १२ दशमलव ९९ डलर पुगेको छ ।
मेमा प्रतिब्यारेल १ सय १५ डलरसम्म पुगिसकेको कच्चा तेलको मूल्य गत महीना प्रतिब्यारेल ८० देखि ९० डलरबीच रहेको थियो । अमेरिकी अर्थतन्त्रमा देखिएको सुस्ती र उच्च बेरोजगारीले मागमा कमी आउने आशङ्काले तेलको मूल्य फेरि घट्दै गएको हो । तर, बिहीवार ओबामाले रोजगार र आर्थिक वृद्धि प्रवर्द्धनका लागि नयाँ सरकारी उपायको घोषणा गर्ने भएकाले तेलको मूल्य फेरि बढेको छ । यूरोपको ऋणसङ्कटले पनि तेलको मूल्य र शेयरबजारमा कमी आएको छ । तर, बुधवार भने एशिया र यूरोपका शेयरबजार फेरि उक्लेका छन् । एपी/रासस
राष्ट्रसङ्घद्वारा अमेरिकी र यूरोपेली आर्थिक नीतिको आलोचना
भदौ २१, जेनेभा (स्वीट्जरल्याण्ड) । अमेरिकी र यूरोपेली आर्थिक नीतिहरूको आलोचना गर्दै संयुक्त राष्ट्रसङ्घले एक वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । संयुक्त राष्ट्रसङ्घ वाणिज्य तथा विकास सङ्गठन (यूएनसीटीएडी)द्वारा मङ्गलवार सार्वजनिक प्रतिवेदनमा अमेरिका र यूरोपमा भइरहेका सार्वजनिक खर्च कटौती र बजेट घाटा कम गर्न उठाइएका कदमहरूले विश्व अर्थतन्त्रलाई ठूलो विपत्तितर्फ धकेलिरहेको उल्लेख छ । वित्तीय बजारहरूका अनियमन ले 'झुण्ड मानसिकता' विकास भएको र त्यसबाट बैङ्किङ गतिविधिहरूको अति केन्द्रीकरण हुँदा आर्थिक सङ्कट निम्तिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा विश्वका शेयर बजारहरूलाई खुशी पार्न अवलम्बन गरिएका गलत नीतिको आलोचना गर्दै तलव वृद्धि, वित्तीय बजारहरूको सख्त नियमन गर्नुपर्ने बताइएको छ । 'आर्थिक सङ्कटपछि विश्व अर्थतन्त्रका चुनौती' शीर्षकमा प्रकाशित उक्त प्रतिवेदनमा नियन्त्रित विनिमय दर प्रणालीमा फर्कने र समय अन्तरालमा बजारमुखी चिन्तनबाट सामाजिक चिन्तन गर्नेलगायत व्यवस्था विकास गर्नुपर्ने सुझाव पनि दिइएको छ । यसका लागि सस्तो ब्याजदर भएका देशहरूबाट मुद्रा खरीद गरेर महँगोमा बेच्ने व्यवस्थाको अन्त्य गर्दै विश्वले ठोस नियममा रहने चलायमान मुद्रा विनिमय प्रणाली प्रचलनमा ल्याउनुपर्ने बताइएको छ । यस्तो प्रणाली विभिन्न मुद्राहरूका लागि उपभोक्ता मूल्य वा ब्याजदरसँगको भिन्नतामा आधारित हुनुपर्ने र पहिलेको 'ब्रेटन वुड्स प्रणाली'भन्दा फरक हुँदै विनिमय दरमा निरन्तर समायोजन गर्न सक्ने हुनुपर्ने पनि प्रतिवेदनले बताएको छ ।
प्रतिवेदन निर्माण गर्ने टोलीका प्रमुख हेइनर फ्लासबेकले अहिले विश्वको आर्थिक परिदृश्य अत्यन्त जटिल भएको बताए । उनले थप आर्थिक सहायता प्याकेजविना खतरा झनै बढ्ने र आगामी एक दशकसम्म विश्वमा आर्थिक वृद्धिदर न्यून रहने सम्भावना प्रचुर रहेको उल्लेख गरे । जर्मनीका पूर्वसहायक वित्तमन्त्री रहेका हेइनरले सन् २०१२ मा विश्व अर्थतन्त्रको वृद्धिदर १ दशमलव ५ प्रतिशत मात्र रहने बताए । सन् २०११ का लागि संयुक्त राष्ट्रसङ्घले विश्व आर्थिक वृद्धिदर ३ दशमलव १ प्रतिशत मात्र रहने बताएको थियो । एपी/रासस
Admin 2011-09-08