दूरसञ्चार भ्रष्टाचारबारे टाटाको बयान
चैत २१, नयाँ दिल्ली (भारत) । भारतका प्रख्यात उद्योगपति रतन टाटा दूरसञ्चार अनुमतिपत्र भ्रष्टाचार काण्डबारे संसदीय छानबिन समितिमा बयान दिन सोमवार उपस्थित हुने भएका छन् । भारतकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड मानिएको उक्त काण्डबाट सरकारको विश्वसनीयता खराब हुनुका साथै लगानीकर्ताहरू समेत आशङ्कित भएका छन् । भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआई)ले पूर्वमन्त्रीलगायतमाथि आरोप दर्ता गरेको दुई दिनपछि नै टाटासँग पनि सोधपुछ गरिने भएको छ ।
पूर्वमन्त्री अण्डीमुथु राजा, रिलाएन्स एडीएको एउटा एकाइ र एस्तिलात र टेलिनोरका भारतीय साझेदारमाथि सीबीआईले मुद्दा चलाएको हो । तर, टाटा वा उनको दूरसञ्चार कम्पनी टाटा टेलिसर्भिसेजमाथि भने मुद्दा हालिएको छैन । फोर्ब्स पत्रिकाका अनुसार, रतन टाटा विश्वकै सबैभन्दा शक्तिशाली व्यक्तिमध्ये ६१औं स्थानमा छन् ।तर, एक स्वतन्त्र सांसदले भने टाटाको कम्पनीले २००७ मा रेडियो स्पेक्ट्रम वितरणमा गरिएको नीतिगत परिवर्तनबाट फाइदा लिएको दाबी गरेका छन् । टाटाले उक्त स्पेक्ट्रम वितरणलगायतका प्रश्नहरूको जवाफ दिने उनका प्रवक्ताले बताएका छन् । टाटाले आफ्नो कम्पनीले कुनै पनि अनधिकृत फाइदा नलिएको जिकिर गर्दै आएका छन् । रोयटर्स
तेलको मूल्य ३० महीनाकै उच्च
चैत २१, सिङ्गापुर । एशियामा तेलको मूल्य सोमवार गत ३० महीनाकै उच्च प्रतिब्यारेल १ सय ८ डलर नाघेको छ । अमेरिकी रोजगार बजारमा सुधारको सङ्केत देखिएपछि तेलको माग बढ्ने लगानीकर्ताहरूको अपेक्षाका कारण भाउ बढेको हो । अप्रिलमा आपूर्ति हुने कच्चा तेलको मूल्य सोमवार दिउँसो ५३ सेण्टले बढेर प्रतिब्यारेल १ सय ८ दशमलव ४७ डलर पुगेको छ । त्यसैगरी लण्डनमा अप्रिलमा डेलिभरी हुने ब्रेण्ट कच्चा तेलको मूल्य ७५ सेण्टले बढेर प्रतिब्यारेल १ सय १९ दशमलव ३१ डलर पुगेको छ । गत महीना अमेरिकामा २ लाख १६ हजार नयाँ रोजगार थपिएकाले तेलको खपत बढ्ने अपेक्षा बढेको हो ।त्यसैगरी लगानीकर्ताहरूले लिबियामाथि पनि चनाखो दृष्टि राखिरहेका छन् । तर, हालकै स्थिति कायम रहेमा तेलको मूल्य अझै बढ्ने सम्भावना कमै रहेको विश्लेषकहरूको भनाइ छ । 'कुनै नयाँ सङ्कट वा हालको सङ्कट झनै खराब भएमा मात्र तेलको मूल्य थप बढ्ने सम्भावना रहन्छ,’ एक विशेषज्ञ रिचर्ड सोटानियानले भने । एपी/रासस
दक्षिण कोरियामा बुलेट ट्रेन विस्तार
चैत २१, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाले उसको बुलेट ट्रेन सञ्जाललाई विस्तार तथा परिमार्जन गर्ने भएको छ । राजधानी सोलबाट प्रमुख शहरहरूसम्मको यात्रा समयलाई साढे एक घण्टाभित्र झारिने लक्ष्य राखिएको छ । त्यसैगरी हरितगृह ग्यास उर्त्सजनमा पनि कटौती गरिने उक्त परियोजनाको लक्ष्य छ । हाल द्रुत गतिको ट्रेन सेवाले सोललाई नजिकका उपशहरसँग जोडेका छन् । त्यस्तो सेवा २०२० सम्ममा देशका अन्य भागहरूमा समेत पुर्याइने यातायात मन्त्रालयले बताएको छ । हाल सोलबाट धेरै टाढा रहेको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानसम्मको यात्रा समय साढे दुई घण्टा लाग्छ । तर, पूर्वाधारमा गरिने परिमार्जनबाट यात्रा समयमा उल्लेखनीय कमी आउनेछ । त्यसैगरी हाल ६० प्रतिशत जनताको पहुँचमा रहेको बुलेट ट्रेन सेवामा अन्ततः ८३ प्रतिशत जनताको पहुँच पुर्याइने मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । सो बुलेट ट्रेनको गति कम्तीमा पनि प्रतिघण्टा २ सय ३० किलोमिटर हुनेछ ।उक्त परियोजनाको लागि कुल १४ अर्ब ६० करोड डलर खर्च हुने अनुमान गरिएको छ । ट्रेनको विस्तार भएपछि हाल कार प्रयोग गरिरहेका मानिसले ट्रेन प्रयोग गर्न प्रोत्साहित गरिनेछ । त्यसबाट देशव्यापी रूपमा हुने हरितगृह ग्यासको उत्सर्जनमा वार्षिक ७ दशमलव ७ प्रतिशतले कटौती हुने मन्त्रालयको अपेक्षा छ । एएफपी/रासस
भारतको महँगी दर घटयो
चैत २१, नयाँ दिल्ली (भारत) । भारतमा मार्चको खाद्यमहँगी घटेर ८ प्रतिशतमा ओर्लिने देखिएको छ । हिउँदे बाली राम्रो भएकाले महँगी दर घटेको एक उच्च सरकारी अधिकारीले सोमवार बताएका छन् । बाली राम्रो भएकाले थोरै कर लगाएर निजीक्षेत्रका व्यापारीलाई गहुँ निर्यात गर्न खुला गरिनुपर्ने योजना आयोगका सदस्य अभिजित सेनले बताए ।प्रशस्त गहुँबाली भएकाले भारतका अन्न गोदाम भरिभराउ छन् । तर, खाद्यवस्तुको थोक मूल्य उच्च नै रहेकोले बजार भाउ पनि चर्किएर फेब्रुअरीको महँगी दर ८ दशमलव ३१ प्रतिशत पुगेको थियो । मार्च १९ मा सकिएको १ वर्षरिको खाद्य महँगी दर ९ दशमलव ५ प्रतिशत रहेको छ । तर, मार्च महीनादेखि भने महँगी दर घट्दै गएको देखिन्छ । रोयटर्स
गाईबस्तुको वायु कम गर्न दाना परिवर्तन
चैत २१, लण्डन (ब्रिटेन) । गाईबस्तु र भेडाबाख्राआदिलाई खुवाइने दानामा परिवर्तन गरेमा उनीहरूले वायु गर्दा निस्कने हरितगृह ग्यासमा कटौती हुने ब्रिटेनमा गरिएको एक अनुसन्धानबाट देखिएको छ । मकैको खोष्टा, जौ, र घाँस खाने गाईबस्तु तथा बाख्राले थोरै मिथेन ग्यास उत्सर्जन गर्ने देखिएको छ ।त्यस्तो खानाबाट ती चौपायाले निष्कासन गर्ने मिथेन ग्यासको परिमाणमा २० देखि ३३ प्रतिशतसम्म कमी आउने अनुसन्धानको निष्कर्ष छ ।ब्रिटेनको रिडिङ विश्वविद्यालय र जीवशास्त्र, वातावरण तथा ग्रामीण विज्ञान अध्ययन संस्थाको अनुसन्धानले त्यस्तो निष्कर्ष निकालेको हो । ब्रिटेनको कुल हरितगृह ग्यास उत्पादनको ९ प्रतिशत कृषि क्षेत्रबाट हुने गरेको छ ।त्यसैगरी मिथेन ग्यासको कुल राष्ट्रिय उर्त्सजनमध्ये ४१ प्रतिशत कृषि क्षेत्रबाट हुन्छ । गाईबस्तु, भेडा र बाख्राले बढी हरितगृह ग्यास निष्कासन गर्छन् । त्यसैले चौपायाको दानाले वातावरणमा पार्ने प्रभाव र तिनको व्यावहारिकताका पक्षमा अध्ययन गरिनुपर्नेमा उक्त अनुसन्धानले जोड दिएको छ । रोयटर्स
Admin 2011-04-05