चीनको १२औं पञ्चवर्षीय योजनाः मूल्य नियन्त्रणमा जोड
फागुन २१, बेइजिङ (चीन) । चीनले हालको उच्च आर्थिक वृद्धिलाई आगामी ५ वर्षसम्म कायम नै राख्ने भएको छ । मूल्यस्फीतिले सामजिक सुरक्षामा चुनौती थपिएको भए पनि त्यसलाई नियन्त्रण गरेर आर्थिक वृद्धि कायम राख्नुपर्नेमा प्रधानमन्त्री वेन जिआवाओले जोड दिएका छन् । चिनियाँ संसद् द पिपल्स कङ्ग्रेसको वार्षिक बैठकलाई शनिवार सम्बोधन गर्ने क्रममा वेनले त्यस्तो जोड दिएका हुन् ।यस वर्षको सरकारी प्राथमिकतामा मूल्यवृद्धिको नियन्त्रण प्रमुख रहने वेनले जानकारी दिएका छन् । आगामी पञ्चवर्षीय योजना सार्वजनिक गर्दै वेनले चीनको आर्थिक वृद्धिको आधारहरू अझै सुदृढ रहेको दाबी गरेका छन् । वेनले शिक्षा, स्वास्थ्य र सार्वजनिक आवासमा सरकारी लगानी बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । त्यसबाट चीनमा धनी र गरीबबीच बढ्दै गएको खाडल साँघुरिने र सामाजिक सद्भाव कायम रहने अपेक्षा गरिएको छ । न्यायपूर्ण समाज निर्माणप्रति वेनको प्रमुख जोड भए तापनि उनको आठवर्षको शासनकालमा आर्थिक खाडल झनै बढेको छ । त्यसैले आगामी २०१२ मा नेतृत्व परिवर्तन हुनुअघि त्यसमा सुधार ल्याउन वेनको प्रयास केन्द्रित रहेको देखिन्छ ।सन् १९७० को अन्तिमतिर तत्कालीन चिनियाँ नेता देङ जियाओपिङ्ले चीनमा बजार अर्थतन्त्रको सूत्रपात गरेका थिए । 'देङले भने जस्तै पहिलो कदम जनताको एउटा हिस्सालाई धनी बनाउनु हो । त्यसपछि, दोस्रो कदम भनेको सबै जनतालाई धनी बनाउनु हो’ एकजना अर्थशास्त्री शेन जीआङगुआङले भने । रोयटर्स
भारतद्वारा तेलको भुक्तानीबारे वैकल्पिक प्रक्रिया
फागुन २१, नयाँ दिल्ली (भारत) । भारतले इरानबाट आयातित तेलको भुक्तानीबारे दीर्घकालीन उपायका बारेमा अझै छलफल गरिरहेको बताएको छ । केही अघिसम्म कायम पुरानो भुक्तानी प्रक्रियालाई रिजर्भ बैङ्क अफ इण्डिया (आरबीआई)ले आइन्दा स्वीकार नगरिने बताएपछि नयाँ उपाय खोज्न थालिएको हो । तेल र अन्य आयातको भुक्तानी तेहरानस्थित क्लियरिङ् हाउसमार्फत आइन्दा नगरिने आरबीआईले डिसेम्बरमा जानकारी दिएको थियो । क्लियरिङ हाउसलाई इरानले अन्तरराष्ट्रिय प्रतिबन्ध छल्न प्रयोग गरिरहेको आरोप अमेरिकाले लगाएको छ ।'वर्तमान र भविष्यमा गरिने तेल आयातको उपयुक्त प्रक्रिया निर्माणका लागि प्रयास भइरहेको छ,’ वित्त राज्यमन्त्री नमोनारायण मीनाले संसदलाई दिएको एक लिखित जवाफमा भनेका छन् । मीनाको यस्तो भनाइबाट भुक्तानीको दीर्घकालीन उपाय फेला पारिसकेको भन्ने यस अघिको समाचारको खण्डन भएको छ ।साउदी अरेबियापछि इरान भारतको दोस्रो ठूलो कच्चा तेल आपूर्तिकर्ता हो । इरानको आणविक कार्यक्रमसम्बन्धी विवादमा उसमाथि व्यापार प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धका कारण भारतले एशियन क्लियरिङ युनियन हाउसमार्फ भुक्तानी गर्न नसक्ने आरबीआईले भनेको थियो । एएफपी/रासस
बेलायती गभर्नरद्वारा अर्को आर्थिक सङ्कटको चेतावनी
फागुन २१, लण्डन (ब्रिटेन) । ब्रिटेनको बैङ्किङ क्षेत्रमा सुधार कार्यक्रम लागू नगरिएमा त्यहाँ अर्को वित्तीय सङ्कट आउन सक्नेतर्फ त्यहाँको केन्द्रीय बैङ्कका गभर्नरले चेतावनी दिएका छन् । बैङ्क अफ इङल्याण्डका गभर्नर मर्भिन किङले 'द टेलिग्राफ’ लाई दिएको अन्तरवार्तामा बैङ्किङ प्रणालीमा 'असन्तुलन’ कायमै रहेकोतर्फ सचेत गराएका छन् । साथै, खुद्रा बैङ्किङ गर्ने बैङ्कहरूले लाखौं ग्राहकलाई ठगिरहेको भन्दै उनीहरूलाई 'रातारात’ नाफा कमाउने ध्याउन्नबाट मुक्त हुने पनि आग्रह गरेका छन् । हालै वित्तीय संस्थाहरूले तिनका लगानी र खुद्रा बैङ्किङ क्षेत्रलाई छुट्टयाउनुपर्नेबारे एउटा सरकारी आयोगले अध्ययन गरिरहेको छ । त्यसै सन्दर्भमा किङको यस्तो धारणा आएको हो ।
'हामीले यस्तो बैङ्किङ प्रणालीलाई हुर्किने अवसर दियौं, जसको विनाशको बीउ त्यसभित्रै रहेको छ,’ किङले भने । 'हामीले अझै 'असफल हुनै नसक्ने गरी ठूलो’ वा मैले भन्ने गरेजस्तो 'असफल हुनै नसक्ने किसिमको महत्त्वपूर्ण ’ जस्तो अवधारणालाई समाधान गर्न सकेका छैनौं । बजार अर्थतन्त्रमा असफल हुनै नसक्ने किसिमको महत्त्वपूर्ण भन्ने अवधारणा उपयुक्त हुँदैन,’ किङको विचार छ । अर्को आर्थिक सङ्कट आउन सक्छ कि भन्ने प्रश्नमा किङले असन्तुलन बढ्दै गएकाले त्यस्तो सम्भावना अझै रहेको बताए । बितेका २० वर्षमा वित्तीय क्षेत्रका धेरै मानिसले ग्राहकलाई झुक्याएर पैसा कमाउने प्रवृत्तिलाई ठीक ठान्ने गलत प्रवृत्तितर्फ गभर्नरले सङ्केत गरेका छन् ।गत महीना, कुल ऋण र बोनस तलबबारे ब्रिटेन सरकारको प्रमुख बैङ्कहरूसँग एउटा सहमति गरिएका थियो । बैङ्क कार्यकारीहरूको सीमाहीन क्रियाकलापमा नियन्त्रण र संवेदनशील आर्थिक पुनर्वहालीलाई सुदृढ गर्न त्यस्तो सहमति गरिएको थियो । एएफपी/रासस
अमेरिकामा बेरोजगारी घटयो
फागुन २१, वाशिङ्टन (अमेरिका) । अमेरिकाको रोजगार बजारमा गत महीना सुधार आएको सङ्केत मिलेको छ । त्यसबाट त्यहाँ अन्ततः अपेक्षा गरिएजस्तै अर्थतन्त्रमा पुनर्बहाली हुन थालेको आशा बढेको छ । श्रम मन्त्रालयका अनुसार, बेरोजगारी दर जनवरीको ९ प्रतिशतबाट घटेर फेब्रुअरीमा ८ दशमलव ९ प्रतिशतमा झरेको छ । गत २ वर्षमा बेरोजगारी दर ९ प्रतिशतभन्दा मुनि झरेको यो पहिलो अवसर हो ।त्यसैगरी फेब्रुअरीमा १ लाख ९२ हजार ओटा रोजगार सृजना भएका छन् । जनवरीको त्यस्तो सङ्ख्या ६३ हजार मात्र थियो । यस्तै प्रवृत्ति जारी रहेमा अमेरिकाको बेरोजगारीको अवस्थामा आगामी केही महीनाभित्रै राम्रो सुधार हुने एक अर्थशास्त्री जेसन शेन्करको आशा छ ।
अमेरिकी राष्ट्रपति ओबामाले पनि प्रतिवेदनप्रति प्रसन्नता व्यक्त गरेका छन् । 'बेरोजगारी दर २ वर्षयताकै निम्न विन्दुमा झरेको समाचार आज बिहान सुनियो । अर्थतन्त्रमा गतवर्षभित्र १५ लाख निजीक्षेत्रको रोजगार थपिएको छ । यसबाट प्रगति भएको देखिन्छ,’ ओबामाले भने । साथै, हालको गतिलाई जारी राख्नेतर्फ प्रयासहरू केन्द्रित गरिनुपर्नेमा ओबामाले जोड दिए ।तेलको मूल्यवृद्धिले चिन्ता बढाइरहेका बेला आएको सकारात्मक समाचारले अमेरिकी अर्थतन्त्रमा उत्साह आएको देखिन्छ । तेलको मूल्यवृद्धिले उपभोक्ता खर्च र कम्पनीको नाफामा फरक नपर्ने विश्वास अमेरिकीहरूमा बढ्दै गएको छ । एएफपी/रासस
तेलको मूल्य दोब्बर हुन सक्ने चेतावनी
फागुन २१, लण्डन (ब्रिटेन) । अरब क्षेत्रको अस्थिरता अझै खराब रहेमा कच्चा तेलको मूल्य दोब्बरले वृद्धि हुन सक्ने ब्रिटेनका अन्तरराष्ट्रिय विकास मन्त्री एलन डङ्कनले शनिवार चेतावनी दिएका छन् । खाडीक्षेत्रमा ३० वर्षसम्म तेलको व्यापार गरेका डङ्कनले कच्चा तेलको मूल्यले प्रतिब्यारेल २ सय डलर नाघ्न सक्ने सम्भावना व्यक्त गरे ।गत २००८ को जुलाईमा कच्चा तेलको मूल्य हालसम्मकै उच्च विन्दु १ सय ४७ डलर पुगेको थियो । उग्रवादीहरूले हालको अस्थिरतालाई प्रयोग गरेर तेलका टयाङ्कर, पाइपलाइन वा साउदीस्रोतमा नोक्सान पुर्याउन सफल भएमा प्रतिब्यारेल २ सय ५० डलरसम्म पनि पुग्ने सक्ने डङ्कनको अनुमान छ । यदि त्यस्तो भएमा ब्रिटेनलगायत अन्य विकसित देशमा फेरि अर्को मन्दी आउन सक्ने विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् । एएफपी/रासस
जापानमा नयाँ बुलेट ट्रेन 'हायाबुशा’
फागुन २१, टोकियो (जापान) । जापानमा एउटा नयाँ बुलेट ट्रेनको अनावरण गरिएको छ । पातलो नाकजस्तो आकार भएको 'हायाबुशा’ अर्थात् फाल्कन वा बाज भनिने उक्त ट्रेनले प्रतिघण्टा ३ सय किलोमिटर गुड्ने कीर्तिमान राखेको छ । ट्रेनका यात्रु बस्ने डिब्बा विमानका बिजनेश क्लासको जस्तो सुविधासम्पन्न मोडेलमा बनाइएका छन् ।जापानले १९६० देखि नै उच्चस्तरको शिन्कासेन भनिने बुलेट ट्रेनको लाइन बनाउँदै आएको छ । त्यस्तो लाइन हाल जापानभरि नै निर्माण गरिएका छन् । अब आएर जापानले त्यस्तो पूर्वाधार प्रविधिलाई अमेरिकालगायत संसारभरि नै निर्यात गर्न चाहेको छ ।
इष्ट जापान रेल्वे कम्पनीका अध्यक्ष मुत्सुताके ओत्सुकाले नयाँ ट्रेनको इञ्जिनीयरिङ पक्ष महत्त्वपूर्ण रहेको बताएका छन् । 'तीव्र गति मात्र नभई क्षमताले भ्याएसम्म हायुबुशाले यात्रुलाई सुविधा र सुरक्षा दिनुका साथै वातावरण मैत्रीसमेत रहोस् भन्नेतर्फ हामी प्रयत्न गर्नेछौं,’ ट्रेन हेर्न टोकियो स्टेशनमा आएका सयौं मानिसलाई ओत्सुकाले भने । हजारौं ट्रेन पारखीहरू उक्त ट्रेनको चित्र खिच्न जम्मा भएका थिए । आगामी वर्ष ट्रेनले प्रतिघण्टा ३ सय २० किलोमिटरको कीर्तिमान राखेर जापानको सबैभन्दा तीव्र गतिको ट्रेन बन्ने लक्ष्य राखेको छ । जापानले यसअघि नै शिन्कासेन बुलेट ट्रेनको प्रविधि ताइवानलाई बेचिसकेको छ । त्यसका साथै, ब्राजिल र भियतनामजस्ता बजारमा पनि पकड जमाउन चाहेको छ । तर, जापानले चीन, फ्रान्स र जर्मनीजस्ता देशका ट्रेन निर्माण कम्पनीहरूबाट चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ । एएफपी/रासस
Admin 2011-03-06