फ्रेञ्च ओपन फाइनल भिडन्त आज
जेठ २१, पेरिस (फ्रान्स) । यस वर्षको फ्रेञ्च ओपन टेनिसको पुरुषतर्फको च्याम्पियनशिपका लागि स्वीट्जरल्याण्डका रोजर फेडेरर र स्पेनका राफेल नाडालबीच आज आइतवार भिडन्त हुँदै छ । फेडेररले शुक्रवार दोस्रो वरीयताक्रममा रहेका सर्वियाका नोभाक जोकोभिकलाई पराजित गरेपछि फाइनलमा प्रवेश गरेका हुन् । उता नाडालले भने एण्डी मुर्रेलाई सेमिफाइनलमा पराजित गरेका थिए । वर्तमान च्याम्पियन नाडालले यसअघि नै पाँचपटक फ्रेञ्च ओपन जितिसकेका छन् । उता, फेडेररले पनि १६ पटक ग्राण्डस्लाम जितिसकेका छन् । नाडालले चौथो वरीयताक्रममा रहेका ब्रिटेनका मुर्रेलाई ६-४, ७-५, ६-४ को सेटले हराएका थिए ।उता, फेडेररले जोकोभिकलाई ७(६-५), ६-३, ३-६, ७(६-५) को सेटले पराजित गरे । पहिलो वरीयताक्रममा रहेका नाडाल फ्रेञ्च ओपन सिङ्गल्स प्रतियोगितामा हालसम्म एकपटक मात्र पराजित भएका छन् । फेडेरर भने तेस्रो वरीयताक्रममा रहेका छन् । प्रत्येक वर्षहुने चार ग्राण्डस्लाम टेनिस प्रतियोगतामा फ्रेञ्च ओपन पनि एक हो । अन्य तीन ग्राण्डस्लाम अष्ट्रेलियन ओपन, यूएस ओपन र विम्बल्डन हुन् । एजेन्सी
टोयोटा नोभेम्बरबाट पूर्णक्षमतामा उत्पादन गर्दै
जेठ २१, सियोल (दक्षिण कोरिया) । टोयोटाले नोभेम्बरबाट विश्वव्यापी उत्पादनलाई फेरि पूर्णस्तरमा कायम गर्ने टोयोटा मोर्टसका प्रेजिडेण्ट अकिओ टोयोटाले शनिवार बताएका छन् । त्यसैगरी, टोयोटाको जापानभित्रको उत्पादनमध्ये ९० प्रतिशत क्षमता यसै महीनाभित्र कायम हुने कम्पनीको अपेक्षा छ । जापानमा मार्चमा आएको भूकम्प र सुनामीपछि अन्य उद्योगजस्तै टोयोटाको पनि विश्वव्यापी उत्पादनक्षमतामै कमी आएको थियो ।टोयोटा कम्पनीका संस्थापकका नाति अकिओ टोयोटा हाल दक्षिण कोरियाको भ्रमणमा छन् । सानातिना समस्या अझै पनि झेलिरहनुपरेको भए तापनि उत्पादनलाई पहिलेकै स्तरमा पुर्याउन आफूहरू जोडतोडका साथ लागेको अकिओले बताए ।
टोयोटाको उत्पादन अनुमानभन्दा पनि छिटो भूकम्पपूर्वको अवस्थामा पुग्न लागेको कम्पनीका प्रवक्ताको दाबी छ । तैपनि, टोयोटाले २०११ को शुरूमा अपेक्षा गरेभन्दा झण्डै १० लाखओटा कम गाडी उत्पादन हुनेछन् ।मेको अन्त्यसम्ममा लक्षितमध्ये झण्डै ९ लाख गाडीको उत्पादन घटिसकेको छ । होण्डा मोटर कम्पनी लिमिटेड र निसान मोटर कम्पनी लिमिटेडको तुलनामा टोयोटाले जापानभित्रै निर्माणको धेरै हिस्सा (३८ प्रतिशत) पूरा गर्ने हुनाले प्रकोपको मार टोयोटालाई धेरै परेको छ । प्रकोप र प्राविधिक त्रुटीका कारण गाडी फिर्ताको समस्या झेलिरहेको टोयोटाका प्रेजिडेण्टले टोयोटा कोरियाका वितरकको उत्साह बढाउन दक्षिण कोरिया भ्रमण गरेका हुन् । एजेन्सी
अमेरिकाको रोजगार बजारमा सुस्ती यथावत्
जेठ २१, वाशिङटन (अमेरिका) । अमेरिकाको रोजगार बजारमा अपेक्षाकृत सुधार नभएपछि ओबामाप्रशासनले उसको आर्थिक एजेण्डामा थप चुनौती भोग्नुपर्ने देखिएको छ । बेरोजगारी दर बढेको तथ्याङ्क सार्वजनिक भएपछि अमेरिकी शेयर बजार पनि ओरालो लागेको छ ।गत मेमा अर्थतन्त्रमा मात्र ५४ हजार नयाँ रोजगार थपिएका थिए, जुन फेब्रुअरीदेखि अप्रिलको दरको तुलना एकचौथाइ मात्र हो । त्यसैगरी, श्रम विभागले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, बेरोजगारी दर पनि अलिकता बढेर ९ दशमलव १ प्रतिशतमा पुगेको छ ।
ह्वाइट हाउस र अर्थशास्त्रीहरूले पछिल्लो १ महीनाको खराब प्रदर्शनलाई तत्कालीन बताए पनि आलोचकहरूले भने ओबामाप्रशासनको आर्थिक नीति असफल हुँदै गएको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनका लागि १८ महीना मात्र बाँकी रहेको बेला यस्तो अवस्थाले ओबामाप्रशासनलाई पनि चिन्तित बनाएको छ । पछिल्ला २ महीनादेखिका अधोगामी रोजगार तथ्याङ्कले आर्थिक वृद्धि २०११ को शुरूदेखि नै स्थिर रहेको प्रमाणित भएको छ । सरकारले रोजगार सृजनाको पुनर्बहालीलाई कायम गर्ने भरमग्दुर प्रयास गर्दागर्दै पनि त्यसले खासै प्रभाव नपारेको देखिएको छ । एपी/रासस
भ्रष्टाचारविरूद्ध रामदेवको भोकहडताल शुरू
जेठ २१, नयाँ दिल्ली (भारत) । भ्रष्टाचारको विरोध गर्दै भारतका योगगुरु स्वामी रामदेवले शनिवारदेखि आमरण अनशन शुरू गरेका छन् । रामदेवसँगै उनका हजारौं समर्थक पनि भोकहडतालमा उत्रेका छन् । भ्रष्ट अधिकारीहरूलाई मृत्युदण्डलगायतका प्रावधान अनशनकारीहरूले माग गरेका छन् । रामदेवलाई भोकहडताल नगर्न प्रधानमन्त्री मनमोहन सिंहले आग्रह गरेका थिए । यसलाई उनले अस्वीकार गरेका छन् । रामदेव आफ्ना हजारौं समर्थकसहित दिल्लीको रामलीला मैदानमा भोकहडतालमा बसेका छन् ।अशिक्षित परिवारबाट आएका गेरुवस्त्रधारी रामदेवले हाल ३ करोड दर्शक भएका टेलिभिजन कार्यक्रम चलाउँछन् । र, स्कटल्याण्डमा एउटा टापु पनि उनको स्वामित्वमा छ ।
एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा भ्रष्टाचारविरुद्ध जनआक्रोश बढ्दै गइरहेको छ । भारतीयहरूले विदेशमा लुकाएर राखेका अवैध धन फिर्ता ल्याउनुका साथै ठूला बैङ्क नोटहरूलाई पनि बजारबाट फिर्ता लैजानुपर्ने रामदेवको माग छ । रामदेवका समर्थकमध्ये धेरैजसो गरीब जनता नै देखिए तापनि उनीसँग भोकहडताल बस्नेहरूमा थुप्रै उच्चशिक्षित र व्यवसायीसमेत देखिएका छन् । भारतका उत्तरीक्षेत्रमा रामदेव निकै लोकप्रिय छन् । उनी दिल्लीमा प्लेनबाट ओर्लनासाथ अर्थमन्त्री प्रणव मुखर्जीलगायतका चार सरकारी मन्त्रीले शनिवार पनि भोकहडताल नगर्न आग्रह गरे । कतिपय लगानीकर्ताले पनि रामदेवको पछिल्लो अभियानबाट उद्योगक्षेत्रमा सुधारका लागि प्रस्तुत गर्न लागिएका विधेयकहरूबाट सरकारको ध्यान मोडिन सक्ने चिन्ता व्यक्त गरेका छन् । त्यसैगरी, आलोचकहरू भने रामदेवको अभियान राजनीतिक महत्त्वाकाङ्क्षाबाट प्रेरित भएको आरोप लगाएका छन् । एजेन्सी
Admin 2011-06-05