भारतीय प्रहरीले सिटी बैङ्कका प्रमुखविरुद्धको अडान फेर्यो
पुस २१, नयाँदिल्ली (भारत) । भारतीय प्रहरीले अमेरिकी बैङ्क सिटी ग्रूपका प्रमुख कार्यकारी तथा बोर्डका अन्य सदस्यविरुद्ध उनीहरूले बैङ्को दिल्ली शाखामा गरेको भनिएको ठगीका लागि जिम्मेवार ठहर्याउन नसक्ने बताएको छ । यद्यपि प्रहरीले उनीहरूविरुद्ध मङ्गलवार मुद्दा दर्ता गरेको थियो । सिटी बैङ्कको एक स्थानीय भारतीय शाखामा भएको एउटा धोखाधडीको मामला प्रकाशमा आएपछि त्यस्तो मुद्दा दायर गरिएको हो ।एक जना भारतीय व्यापारीले बैङ्कका कार्यकारी तथा अन्य उच्चतहका व्यवस्थापकमाथि धोखाधडीपूर्वक आफ्नो रकम गायब गरेको भन्ने उजुरी दिएका थिए । त्यसपछि सिटी बैङ्कका भारतीय मूलका प्रमुख कार्यकारी अधिकृत विक्रम पण्डितलगायत अन्यमाथि मुद्दा दर्ता भएको हो ।
'बैङ्कका ती ११ जना अधिकारीहरूविरुद्ध खातामा धोखाधडी गरेको, विश्वासघात गरेको तथा फौज्दारी जालझेल गरेको भन्ने प्रमुख अभियोग लागेको छ’, एक उच्च प्रहरी अधिकृत एसएस देशवालले एएफपीसँग भने । गत हप्ता प्रहरीले सिटी बैङ्कका एक कर्मचारी शिवराज पुरीलाई पक्राउ गरेको थियो । पुरीमाथि लगानीकर्ताहरूलाई ठगेको तथा ४ अर्ब भारतीय रुपैयाँ (८ करोड ८० लाख डलर) हिनामिना गरेको अभियोग लागेको छ ।बैङ्कका कार्यकारीहरूविरुद्ध उजुरी दिएका व्यापारी सञ्जीव अग्रवालका अनुसार उक्त धोखाधडीबाट बैङ्कभित्र प्रणालीगत अक्षमता रहेको पुष्टि हुन्छ । आफूले जीवनभरिकै बचत गुमाएको र त्यसका लागि सम्पूर्ण संस्था नै जिम्मेवार भएकाले पण्डितका विरुद्ध उजुरी दिएको अग्रवालले बताए ।
पण्डितका अलावा अमेरिकास्थित बैङ्कका अन्य पदाधिकारीमा अध्यक्ष विलियम आर रोड्स, प्रमुख वित्तीय अधिकृत जोन गेर्स्पाच तथा प्रमुख सञ्चालन अधिकृत डगलस पिटरसन रहेका छन् । सोही सर्न्दर्भमा फौज्दारी जालझेलको अभियोगमा भारतको सबैभन्दा ठूलो मोटरसाइकल निर्माता हिरो कम्पनीका एक उच्च व्यवस्थापक सञ्जय गुप्तालाई पनि पक्राउ गरिएको छ । देशवालका अनुसार बैङ्कका एक ग्राहकले बैङ्ककै एक उच्च व्यवस्थापकलाई जानकारी दिएपछि उक्त धोखाधडी प्रकाशमा आएको थियो । गुडगाउँस्थित उक्त बैङ्कका कर्मचारीहरूले रकम हिनामिना गर्न तथा जाली लगानी योजना बेच्न नक्कली कागजात बनाएको अनुसन्धानपछि खुल्न आएको थियो । दिल्लीनजिकैको शहर गुडगाउँमा थुप्रै अन्तरराष्ट्रिय कम्पनीहरूका कार्यालय रहेका छन् ।धेरै किसिमका बाटोमार्फत रकम हिनामिना भएकाले धोखाधडीको कार्यप्रणालीबारे प्रहरीले अध्ययन गरिरहेकाले अझै थुप्रै व्यक्ति पक्राउ पर्ने सम्भावना रहेको देशवालले बताए । नोभेम्बरमा पनि सरकारी बैङ्कहरूका थुप्रै पदाधिकारीलगायत एक जना बीमाप्रदायकलाई मुर्म्बईमा पक्राउ गरिएको थियो । उनीहरूमाथि घरजग्गाको कारोबार गर्नेहरूलाई ऋण स्वीकृत गरेबापत २० करोड डलरभन्दा पनि बढी घूस खाएको आरोप लागेको थियो । रोयटर्स/एएफपी/रासस
माइक्रोसफ्टले कपीराइट चोरेको फैसला कायम
पुस २१, न्यूयोर्क (अमेरिका) । एक अमेरिकी पुनरावेदन अदालतले माइक्रोसफ्टविरुद्ध तल्लो अदालतले सुनाएको एउटा फैसलालाई अनुमोदन गरेको छ । युनिलक यूएसए भन्ने एक सफ्टवेयर कम्पनीले पेटेण्ट गरिएको आफ्नो एण्टी पाइरेसी प्रविधि चोरेको आरोपमा माइक्रोसफ्टमाथि २००३ मा मुद्दा दायर गरेको थियो । तल्लो अदालतका एक न्यायाधीशले २००६ मा माइक्रोसफ्टको पक्षमा फैसला गरेका थिए । त्यसपछि २००९ मा एउटा इजलासले माइक्रोसफ्टले युनिलकको पेटेण्ट अधिकार हनन गरेको भन्दै ३८ करोड ८० लाख डलर हर्जाना तिर्न माइक्रोसफ्टलाई निर्देशन दिएको थियो । तर, इजलासका एक सदस्य न्यायाधीशले फैसलामा असहमति राख्दै इजलासबाटै राजीनामा गरेपछि पुनरावेदन अदालतले हालको फैसला सुनाएको हो । हालको फैसलामा माइक्रोसफ्टलाई दोषी भनिए पनि उसले युनिलकलाई ३८ करोड ८० लाख डलर तिर्नुपर्ने दाबीलाई भने स्वीकार गरिएको छैन । पेटेण्ट अधिकार हनन गरेर सफ्टवेयर चोरी गरेबापत युनिलकले पाउनुपर्ने क्षतिपूर्तिको हिसाब गर्न नयाँ मुद्दा चलाउनुपर्ने हालको फैसलामा भनिएको छ । फैसलाप्रति खुशी व्यक्त गर्दै युनिलकका प्रमुख कार्यकारी ब्राड डेभिसले माइक्रोसफ्टजस्ता ठूला कम्पनीहरूले कसरी जानाजान साना कम्पनीका प्रविधि चोर्ने गर्छन् भन्ने प्रमाणित भएको दाबी गरे । एएफपी/रासस
बेलायतमा रक्सी नाप्ने नयाँ नियम
पुस २१, लण्डन (बेलायत) । बेलायती पबमा जानेहरूले अबे पिण्टको साटो 'स्कुनर’मा नापेर पिउनुपर्ने भएको छ । स्कुनर रक्सीजन्य पदार्थ नाप्न अष्ट्रेलियामा प्रयोग गरिने एउटा एकाइ हो । पिण्टभन्दा स्कुनर थोरै हुन्छ । पबमा जानेहरूले खाने रक्सीको मात्रा नियन्त्रण गर्न सरकारले नयाँ नियम ल्याउने भएको हो । हाल बेलायतका पब तथा रेष्टुराँमा ग्राहकलाई हाफ वा पिण्टको एकाइमा रक्सी दिइन्छ । अब ग्राहकहरूले पिण्टको दुइ तिहाइ मात्र हुने स्कुनर एकाइमा पनि रक्सी पाउनेछन् । साथै वाइन खाने ग्लासको आकारमा पनि परिवर्तन हुनेछ । हालको नियमअनुसार एक ग्लासमा १ सय २५ मिलीलिटर वाइन हुने गर्दछ । नयाँ परिवर्तनअनुसार एक ग्लासमा ७५ मिलिलिटरभन्दा कम वाइन हुनेछ । सन् १६९८ मा बेलायती संसद्ले पिण्ट लागू गरेपछिको अहिलेको परिवर्तनलाई सबैभन्दा अनौठो भनिएको छ । रोयटर्स
इटालीको खाद्यान्न मूल्यमा उच्च वृद्धि
पुस २१, रोम (इटाली) । डिसेम्बर महीनामा खाद्यपदार्थको मूल्यमा विश्वभरि नै उच्च वृद्धि भएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को डिसेम्बर महीनाको खाद्यपदार्थ मूल्य परिसूचकाङ्कमा २००७/२००८ को खाद्यान्न सङ्कटपछि हालसम्मकै उच्चवृद्धि देखिएको छ । खाद्यपदार्थको बढ्दो मूल्यका कारण कतिपय देशहरूमा दङ्गासमेत भएको छ । मूल्यमा ६ महीनादेखि नै लगातार वृद्धि भइरहेको छ । खासगरी चिनी तथा अन्नको मूल्यमा भएको उच्चवृद्धिले उक्त परिसूचकाङ्क राख्न शुरू गरिएको वर्ष१९९२ पछिकै उच्च असमायोजितवश वृद्धि भएको छ । उक्त परिसूचकाङ्कले अन्न, तेलहन, दुग्धपदार्थ, मासु तथा चिनीमा भएको एकमुष्ट मासिक वृद्धिको मापन गर्दछ । सूचकाङ्क नोभेम्बरको २ सय ६ बिन्दुबाट बढेर डिसेम्बरमा २१४ दशमलव ७ बन्दुमा पुगेको छ । एफएओको चिनीको मूल्य सूचकाङ्क नोभेम्बरको ३७३ दशमलव ४ बिन्दुले बढेर डिसेम्बरमा ३९८ दशमलव ४ बिन्दुमा पुगेको छ । त्यसैगरी एफएओको अन्नको मूल्य सूचकाङ्क डिसेम्बर महीनामा औसत २३७ दशमलव ६ बिन्दुमा पुगेको छ, जुन २००८ को अगस्तपछिकै सबैभन्दा उच्च हो । तेलको मूल्य सूचकाङ्क पनि नोभेम्बरको २४३ दशमलव ३ बिन्दुबाट बढेर डिसेम्बरमा २ सय ६३ बिन्दुमा पुगेको छ । रोयटर्स
सामसुङको आक्रामक लगानी योजना
पुस २१, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाको सामसुङ समूहले यस वर्ष३८ अर्ब डलरको लगानी गर्ने बुधवार बताएको छ । सामसुङका अनुसार अन्तरराष्ट्रिय बजारमा आफ्ना प्रतिस्पर्धी कम्पनीहरूभन्दा राम्रो प्रदर्शन गर्न तथा व्यापारका नयाँ क्षेत्र पहिल्याउन सो खर्च गरिनेछ । सामसुङ दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक समूह हो । नयाँ लगानीको दुइतिहाइभन्दा बढी हिस्सा सेमिकण्डक्टर, एलसीडी प्यानललगायतका इलेक्ट्रोनिक्स बनाउने कारखानाको विस्तार तथा नवनिर्माणका लागि तथा बाँकी रकम अनुसन्धान तथा विकासका लागि खर्च गरिनेछ । गतवर्षभन्दा यसवर्षको नयाँ लगानीमा १८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी उक्त कम्पनीले यस वर्षथप २५ हजार जना नयाँ कामदार भर्ना गर्नेछ, जुन हालसम्मकै उच्च तथा गतवर्षो भन्दा ११ प्रतिशतले बढी हो । एएफपी/रासस
अमेरिकामा खाद्यपदार्थ मापदण्ड कडा
पुस २१, वाशिङ्टन (अमेरिका) । ब्याक्टेरियाग्रस्त बदामका उत्पादन खाएर सयौं मानिस बिरामी भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले खाद्यपदार्थको सुरक्षितताबारे नयाँ नियम ल्याउने घोषणा गरेका छन् । 'पिनट बटर' राखेर बनाइएको खाद्यपदार्थ आफ्नी छोरी साशाले पनि हप्ताको तीन पटकसम्म खाने गरेकी ओबामाले बताए । 'त्यसैले म आफ्नी छोरीले त्यस्तो खानेकुरा खाएर बिरामी हुन्छिन् कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहोस् भन्ने चाहन्छु’, ओबामाले भने । ओबामाले खाद्यपदार्थ सुरक्षाप्रणालीका लागि १ अर्ब ४० करोड डलरको एउटा कार्यक्रममा मङ्गलवार हस्ताक्षर गर्ने भएका छन् । खाद्यवस्तुको प्रशोधन गर्ने कारखाना निरीक्षणका लागि थप अधिकार पाएको वाशिङ्टनले अब गुणस्तरहीन उत्पादनलाई बजारबाट फिर्ता लान बाध्य गर्न सक्नेछ । गतवर्ष ई-कोलाई तथा साल्मोनेला ब्याक्टेरिया भएका बदाम, अण्डालगायतका खाद्यपदार्थ सेवनपछि थुप्रै मानिस गम्भीर बिरामी भएपछि अमेरिकी कांग्रेशले उक्त कानून पारित गरेको थियो । हालको प्रावधान अमेरिकी खाद्यसुरक्षा प्रणालीमा १९३० को दशकपछिकै पहिलो सुधार हुनेछ । एपी/रासस
विश्व बैङ्कबाट युआन अङ्कित बण्ड
पुस २१, बेइजिङ (चीन) । विश्व बैङ्कले पहिलोपटक चिनियाँ युआन अङ्कित बण्ड निष्काशन गरेको छ । त्यसबाट अन्तरराष्ट्रिय व्यापारमा आफ्नो मुद्रा प्रचलनमा ल्याउने चीनको चाहनालाई मद्दत पुग्ने भएको छ । बैङ्कले हङ्कङको युआनमा हिसाब हुने बण्डबजारमा दुइवर्षको बण्ड विक्री गरेर ५० करोड युआन (७ करोड ६० लाख डलर) उठाउने मङ्गलवार घोषणा गरेको छ । त्यस्तो कदमबाट बण्डबजारमा गहिराइ आउने, लगानीकर्तालाई विभिन्न मुद्रामा कारोबार गर्ने अवसर प्राप्त हुने तथा अन्तरराष्ट्रिय बजारमा चिनियाँ मुद्राको परिचय बढ्ने बैङ्कले बताएको छ । चीनले पनि हङ्कङमा युआन अङ्कित बण्ड बेचेर पूँजी उठाउँदै आएको छ । उसले हङ्कङमा यस्तो बण्डको दोस्रोपटकको प्रारम्भिक चरणमा ५ अर्ब युआन प्राप्त भएको गत महीना बताएको थियो । त्यसका साथै थप ३ अर्ब युआन मूल्यको बण्ड बिक्री गर्ने योजना पनि चीनको छ । गतवर्ष सेप्टेम्बरमा चीनले पहिलोपटक ६ अर्ब युआनबराबरको युआन अङ्कित बण्ड हङकङमा विक्री गरेको थियो । हेबी इक्विपमेण्टका निर्माता क्याटरपिलर तथा फाष्ट फुड क्षेत्रको विशाल कम्पनी म्याकडोनल्डले पनि हालै युआन अङ्कित बण्डहरूको निष्काशन गरेका थिए । त्यो हङ्कङकै इतिहासमा पहिलोपटक गैरवित्तीय विदेशी कम्पनीहरूले गरेको बण्ड निष्काशन थियो ।
अर्धस्वायत्त चिनियाँ क्षेत्र हङ्कङ चिनियाँ मुद्राको अन्तरराष्ट्रियकरणका लागि परीक्षणस्थल बन्न पुगेको छ । सीमावारपार हुने व्यापार हङ्कङमा सुल्झाउन २००९ मा सहमत भएपछि चीनले त्यस क्षेत्रमा युआनको भूमिका विस्तार गर्न चाहेको छ । चिनियाँ निर्यातकर्ताहरूले अन्तरराष्ट्रिय रूपमै सफलता प्राप्त गरेका छन् । तर, युआनलाई अन्य मुद्रासँग सजिलै विनियम गर्न नसकिने भएकाले उक्त मुद्राको अन्तरराष्ट्रिय भूमिका ज्यादै सीमित छ । साथै सरकारी नियन्त्रणका कारण उक्त मुद्रालाई चीन भित्र-बाहिर गर्न पनि अप्ठयारो हुने भएकाले युआनको भूमिका सीमित भएको हो । रोयटर्स