शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

क्रेटिड रेटिङ घटेपछि अमेरिकालाई चीनको सुझाव


साउन २१, बेइजिङ (चीन) । अमेरिकी सरकारी ऋणको सबैभन्दा ठूलो विदेशी खरीदकर्ता चीनले अमेरिकालाई आफ्नो खर्च घटाउन र 'ऋण लिने व्यसन’ हटाउन सुझाव दिएको छ । रेटिङ एजेन्सी स्ट्याण्डर्ड एण्ड पुअर्सले अमेरिकाको क्रेडिट रेटिङलाई एएएबाट तल झार्ने निर्णय गरेपछि चीनले त्यस्तो सुझाव दिएको हो । हालसम्म चीनले अमेरिकी केन्द्रीय बैङ्कको १ दशमलव २ ट्रिलियन डलर ऋण खरीद गरिसकेको छ । एस एण्ड पीले क्रेटिङ रेटिङ घटाएपछि आगामी दिनमा क्रेटिङ रेटिङमा कटौती झनै बढ्न सक्ने र अमेरिकाले आफ्नो क्षमताभित्र बसेर काम नगरेमा विश्वव्यापी वित्तीय दुर्घटना निम्तिन सक्ने चीनको चेतावनी छ ।   आफू सबैभन्दा ठूलो ऋणदाता भएको नाताले अमेरिकाको संरचनागत ऋण समस्याको समाधान र डलरमा रहेको आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्नु आफ्नो अधिकार भएको चीनले दाबी गरेको छ । त्यसका लागि अमेरिकाले उसको विशाल सैन्य खर्च र विस्तृत सामाजिक कल्याण खर्च घटाउनुपर्ने चीनको सुझाव छ ।

त्यसका साथै, डलरको साटो नयाँ अन्तरराष्ट्रिय मुद्रा चलाउनुपर्ने आफ्नो सुझावलाई चीनले फेरि दोहोर्याएको छ । बढ्दो ऋण र वाशिङटनमा भइरहेको हास्यास्पद राजनीतिक मल्लयुद्धले अमेरिकाको विश्वव्यापी छविमा धक्का लागेको चीनको भनाइ छ । त्यसैगरी, ऋण लिने व्यसनको उपचारका लागि अमेरिकाले आफ्नो क्षमताभित्र रहनुपर्ने सामान्य ज्ञानको मान्यताअनुसार चल्न सुझाव दिएको छ  । एपी/रासस

दोस्रो त्रैमासमा एप्पल पहिला, सामसुङ दोस्रो

साउन २१, न्यूयोर्क (अमेरिका) । एप्पल इङ्क र सामसुङ इलेक्ट्रोनिक्स कम्पनीले विश्व स्मार्टफोन बजारमा दोस्रो त्रैमासिकमा क्रमश: प्रथम र दोस्रो स्थान हासिल गरेका छन् । अनुसन्धान संस्था 'आईडीसी'ले शुक्रवार प्रकाशित गरेको रिपोर्टमा ती दुई कम्पनीले प्रतिद्वन्द्वीहरू नोकिया र ब्याकबेरी स्मार्टफोनका निर्माता रिम लिमिटेडलाई पछाडि पारेका छन् । पहिलो स्थानमा आएको एप्पल इङ्कले दोस्रो त्रैमासिक अवधिमा २ करोड ३ लाख स्मार्टफोन विक्री गरेको छ ।पहिलो त्रैमासिकमा एप्पलका १ करोड ७ लाख स्मार्टफोन विक्री भएका थिए । यससँगै सबैभन्दा बढी मोबाइल विक्री गर्दै आएको नोकिया भने तेस्रो स्थानमा झरेको छ ।  एप्पलले नोकियाको २ करोड ८१ लाखको विक्रीको रेकर्ड भने तोड्न बाँकी नै रहेको 'आईडीसी'को प्रतिवेदनमा उल्लेख छ । एपी/रासस

वारेन बफेटको कम्पनीको नाफा ७४ प्रतिशत थप

साउन २१, ओमाहा (अमेरिका) । अर्बपति वारेन बफेटको कम्पनीले दोस्रो त्रैमासिकमा ७४ प्रतिशत नाफा गरेको छ । बफेटको कम्पनी बर्कशायर हाथवेको शुक्रवार प्रकाशित दोस्रो त्रैमासिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । प्रतिवेदनमा हाथवेको 'डेरिभेटिभ' कन्ट्राक्टमा वृद्धि भएको र गैह्रबीमा व्यवसायमा सुधार आएको बताइएको छ । कम्पनीको नाफा वृद्धि हुनुमा सन् २००८ मा आर्थिक मन्दी उच्च भएको समयमा गोल्डम्यान स्याक्सबाट १ दशमलव २५ अर्ब डलर फिर्ता पाउनुले सहयोग गरेको बताइएको छ । बर्कशायर हाथवेले दोस्रो त्रैमासिक अवधिमा ३ दशमलव ४ अर्ब डलर आम्दानी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरी सन् २०११ को जुनसम्म कुल आम्दानी ३८ दशमलव ३ अर्ब डलर पुगेको पनि कम्पनीले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा हाथवेले ३१ दशमलव ७ अर्ब डलर आर्जन गरेको थियो । दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित भएपछि बर्कशायर हाथवेको प्रतिशेयर मूल्यमा १० सेण्टले वृद्धि भई ७१ दशमलव ३५ डलर प्रतिशेयर मूल्य कायम भएका थिए ।        एपी/रासस

जी-७ मा केन्द्रीय बैङ्कहरूको समन्वयबारे छलफल

साउन २१, ब्रसेल्स (बेल्जियम) । औद्योगिक देशहरूको समूह जी-७ का वित्तीय अधिकारीहरूले ती देशका केन्द्रीय बैङ्कहरूबीच कसरी समन्वय गराउन सकिन्छ भन्नेबारे  छलफल गर्ने भएका छन् । बजार धेरै दिनसम्म खस्किँदै जानुका साथै अमेरिकी क्रेडिट रेटिङ पनि खस्किएपछि त्यस्तो छलफल हुने भएको छ । तर, त्यस्तो छलफलको समय र कुन तहमा छलफल गर्ने भन्नेबारे अझै निश्चित भई नसकेको नाम नखुलाउने शर्तमा स्रोतले बतायो । जी-७ को सभापतित्व गरिरहेका फ्रान्सेली अर्थमन्त्री फ्राँ स्वाँ बारोइनले जी-७ का अन्य समकक्षीसँग आफू निकट सम्पर्कमा रहेको बताए । सोमवारसम्म के नतीजा निस्कन्छ भन्ने कुरालाई आफूहरूले सावधानीपूर्वक नियालिरहेको बारोइनले फ्रान्सको रेडियो आरटीएलसँग भनेका छन् । जी-७ मा ब्रिटेन, क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, र अमेरिका रहेका छन् ।

स्ट्याण्डर्ड एण्ड पुअर्सले अमेरिकी क्रेडिट रेटिङलाई तल झारेपछि अमेरिकालगायत इटली र स्पेनजस्ता यूरोपका ठूला देशमा ऋण र आर्थिक वृद्धिबारे चिन्ता उत्पन्न भएको छ । यूरोपियन सेण्ट्रल बैङ्क हालसम्म इटली र स्पेनका जस्ता ठूला ऋण बजारमा हस्तक्षेप गर्न अनिच्छुक देखिएको छ । यद्यपि, बैङ्कले ग्रीस, आयरल्याण्ड र पोर्तुगलको ऋण बजारमा भने घट्दो बण्ड मूल्यलाई सन्तुलन गर्न हस्तक्षेप गरेको थियो ।       एपी/रासस

बैङ्किङ सुधारविरुद्ध हडताल

साउन २१, नयाँ दिल्ली (भारत) । भारत सरकारको बैङ्किङ उद्योग सुधार कार्यक्रमको विरोधमा बैङ्क कर्मचारीले शुक्रवार एकदिने हडताल गरेका छन् । हडतालबाट सरकारी र निजी दुवै क्षेत्रका बैङ्किङ उद्योग प्रभावित भएका छन् । वित्तीय क्षेत्रलाई सरकारी नियन्त्रणबाट बाहिर राख्ने योजनाको विरोध गर्दै कर्मचारीहरूले हडताल गरेका हुन् । सरकारी बैङ्कहरूमा रहेका सरकारी लगानीलाई घटाउनेलगायतका उद्देश्य योजनाले राखेको छ ।त्यसैगरी केही सरकारी बैङ्कलाई मर्ज गर्ने नीतिको पनि कर्मचारीहरूले विरोध गरेको युनाइटेड फोरम अफ बैङ्क युनियन्सका सहजकर्ता सीएच वेङ्कटाचलम्ले बताए । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी ) का तपनकुमार सेनले निजीकरण नीतिबाट धनाढयहरूको पक्षपोषण भइरहेको आरोप लगाउँदै सो कुरालाई संसद्मा उठाएका थिए । कतिपय बैङ्क मर्जर भइसकेका छन् । तर, निजीक्षेत्रका भारतीय बैङ्क सञ्चालनका लागि नयाँ अनुमतिपत्रको माग वामपन्थीहरूले गरेका छन् । एपी/रासस

यूएसपीजीएमा म्याकइलरोय  र क्लार्क सँगै

साउन २१, जर्जिया (अमेरिका) । अर्को हप्ताबाट शुरू हुने यूएस पीजीए च्याम्पियनशिपमा उत्तरी आयरल्याण्डका गोल्फरद्वय रोरी म्याकइलरोय र डारेन क्लार्क संयुक्त रूपमा खेल्ने भएका छन् । उनीहरूको जोडीले प्रथम दुई राउण्डका खेल खेल्ने बताइएको छ । त्यसैगरी, गोल्फसम्बन्धी अर्को एक समाचारमा अमेरिकाको ओहायोस्थित एक्रोनको फायरस्टोन कण्ट्री क्लबमा भएरहेको डब्ल्यूजीसी ब्रिजस्टोन इन्भिटेशनल प्रतियोगितामा नेपाली समयअनुसार साँझ ८ बजेर ४७ मिनेट जाँदा अमेरिकाका किगन ब्राड्ली ८ होल खेल्दै ११ अण्डर स्कोरसहित प्रथम स्थानमा छन् । त्यसैगरी, ल्युक डोनाल्डले आज १४औं स्थानमा उक्लिँदै १० होलमा ९ अण्डर स्कोर गरेका छन् । त्यस्तै, रोरी म्याकिलरोय १२ होल खेलिरहँदा ६ अण्डर स्कोर बनाउन सफल भएका छन् । त्यस्तै, अर्का आइरिश गोल्फर ली वेष्टवूडले १५ होलपछि ५ अण्डर स्कोर बनाएका छन् । टाइगर उड्स भने १७ होल खेलिरहँदा इभन पारमा रहेका छन् । एजेन्सी

Admin 2011-08-07