फिचद्वारा चीन र जापानको रेटिङ घटाउने चेतावनी
भदौ २२, ताइपेह (ताइवान) । क्रेडिट रेटिङ एजेन्सी 'फिच'ले आगामी २ वर्षभित्र चीन र जापानको रेटिङ घटाउने चेतावनी दिएको छ । फिचका एशिया प्यासिफिक विभागका प्रमुख एण्ड्रयु कोल्कुहोनले रोयर्टससँगको एक अन्तरवार्तामा चीनको स्थानीय सरकारी ऋण नियन्त्रणभन्दा बाहिर गइरहेको बताए । साथै, स्थितिलाई छिट्टै नियन्त्रण नगरिए आगामी १२ देखि २४ महीनामा क्रेडिट रेटिङ घटाउने चेतावनीसमेत दिए । स्थानीय सरकारको ऋण बढिरहँदा चीनको बैङ्किङ क्षेत्रमा गम्भीर असर पर्ने उनले बताए । सन् २०१० को अन्त्यसम्ममा चीनको स्थानीय सरकारी ऋण १० दशमलव ७ ट्रिलियन युआन (१ दशमलव ६७ ट्रिलियन अमेरिकी डलर) रहेको थियो । फिचको क्रेडिट रेटिङमा चीनको स्तर 'डबल ए माइनस' छ ।
त्यसैगरी, कोल्कुहोनले तेस्रो ठूलो विश्व अर्थतन्त्र जापानको रेटिङ घट्न सक्ने अवस्था झनै बढेको बताए । उनले जापानको सार्वजनिक ऋणस्तर बढेर उसको ५ ट्रिलियन अमेरिकी डलरबराबरको अर्थतन्त्रको दोब्बर भएकाले क्रेडिट रेटिङ घट्न सक्ने सम्भावनामा वृद्धि भएको उल्लेख गरे । जापानको ऋण समस्या विकराल भइरहँदा वित्तीय समायोजनमा तीव्रता ल्याउनुपर्ने उनले बताए । सार्वजनिक ऋणमा विशाल वृद्धि भएपछि रेटिङ एजेन्सी 'एस एण्ड पी' र 'मुडिज'ले केही महीनाअघि जापानको क्रेडिट रेटिङ घटाइसकेका छन् । रोयटर्स
फेसबूकको नाफा दोब्बर
भदौ २२, सान फ्रान्सिस्को (अमेरिका) । सन् २०११ को जनवरी-जुन अवधिमा सामाजिक सञ्जाल साइट 'फेसबूक'को नाफा दोब्बरले वृद्धि भएको छ । रोयटर्स समाचार संस्थाले एक विश्वस्त सूत्रलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा 'फेसबूक'को सन् २०११ को पहिलो अर्धवार्षिक अवधिको कुल आम्दानी १ दशमलव ६ अर्ब डलर रहेको छ । सो अवधिमा 'फेसबूक'को नाफा ५० करोड डलर रहेको समाचारमा बताइएको छ ।
'फेसबूक'ले आर्जन गरेको नाफा मुख्यतया विज्ञापनबाट आएको उक्त सूत्रले रोयर्टसलाई जानकारी दिएको छ । त्यसैगरी, 'फेसबूक'मा भएको अनलाइन 'गेमिङ'को वृद्धिले पनि आम्दानी बढेको बताइएको छ । अनलाइन विज्ञापन र 'गेमिङ'को बजार कब्जा गर्न 'फेसबूक' र 'गूगल इङ्क'बीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । केही महीनाअघि लगानीकर्ताहरूले 'फेसबूक'को बजारमूल्य ८० अर्ब डलर रहेको बताएका थिए । विश्लेषकहरूले अहिलेसम्म मार्क जुकरवर्गको निजी व्यवस्थापनमै सञ्चालन भइरहेको फेसबूक सन् २०१२ मा सार्वजनिक कम्पनीमा परिणत हुन सक्ने अनुमान गरेका छन् ।
नाफामा दोब्बरले वृद्धि भएको समाचार आए पनि 'फेसबूक'ले भने त्यसबारे बोल्न अस्वीकार गरेको छ । रोयटर्स
Admin 2011-09-09