शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

भ्रष्टाचार काण्डमा अम्बानीको बयान

चैत २२, नयाँ दिल्ली (भारत) । भारतका प्रख्यात उद्योगपति अनिल अम्बानी दूरसञ्चार भ्रष्टाचारको संसदीय छानबिन समितिमा बयान दिन मङ्गलवार उपस्थित भएका छन् । एक दिनअघि मात्रै अर्का उद्योगपति रतन टाटाले छानबिन समितिसमक्ष बयान दिएका थिए । अम्बानी रिलाएन्स एडीए समूहका अध्यक्ष हुन् । भारतको हालसम्मकै ठूलो भनिएको उक्त भ्रष्टाचार काण्डले त्यहाँको राजनीतिक र व्यापारिक जगत्मा हलचल मच्चाएको छ । २००८ मा दूरसञ्चार अनुमतिपत्रसम्बन्धी उक्त काण्डबाट सरकारलाई ३९ अर्ब डलरसम्मको घाटा लागेको भनिएको छ ।  

केही दिनअघि केन्द्रीय अनुसन्धान विभाग (सीबीआई)ले तत्कालीन दूरसञ्चारमन्त्री अण्डिमुथु राजा तथा सरकारी अधिकारीसँगै अम्बानीको एउटा व्यापारिक समूहमाथि पनि मुद्दा दर्ता गरेको थियो । स्वच्छ छविका मानिएका प्रधानमन्त्री मनमोहन सिंहको दोस्रो कार्यकालमा उजागर भएका थुप्रै भ्रष्टाचार काण्डहरूले सरकारकै विश्वसनीयतामाथि सङ्कट उत्पन्न भएको छ ।  भारतमा यति ठूलो स्तरका व्यापारिक घरानाहरूले बयान दिनुपरेको यस घटनालाई चाखपूर्वक हेरिएको छ । किनभने भारतमा ठूला व्यापारीहरूमाथि हत्तपत्त कानूनी कारबाही हुने गरेको छैन । 'अहिलेको छानबिनले भारतको व्यापारिक जगत्लाई झस्काएको छ । सीमाभन्दा बाहिर गएको खण्डमा देशको कानून पालना गराउने निकायको छानबिनमा परिन्छ भन्ने सन्देश यस घटनाले दिएको छ,’ मुम्बईस्थित अम्बितक्यापिटलका प्रमुख सौरभ मुखर्जीले भने ।  अहिलेको छानबिनबाट तत्काल कुनै परिणाम नै नआए तापनि त्यसले आगामी दिनमा व्यापारिक जगत्को क्रियाकलापलाई अनुशासित बनाउने मुखर्जीले आशा व्यक्त गरे ।       रोयटर्स  

खुलाबजारको सीमाबारे मुद्रा कोष प्रमुखको धारणा

चैत २१, वाशिङटन (अमेरिका) । विगत ३० वर्षदेखि अन्तरराष्ट्रिय अर्थतन्त्रलाई निर्देशित गरेको खुलाबजार नीतिमा परिमार्जन गरिनुपर्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रमुखले जोड दिएका छन् । खुलाबजार नीतिका समर्थकहरूलाई नेतृत्व दिएको मानिने मुद्रा कोषका प्रमुख डोमिनिक स्ट्रस कानबाटै आएको त्यस्तो विचारलाई चाखपूर्वक हेरिएको छ । खुलाबजारमा जोड दिने उदारवादी चिन्तन अर्थात् 'वाशिङटन कन्सेन्सस’ को अवधारणा पुरानो भइसकेको सोमवारको एउटा भाषणमा कानले बताए ।  २००८/०९ को वित्तीय सङ्कटले दिएको पाठको स्मरण गर्दै वाशिङटन कन्सेन्ससबाट अघि बढनुपर्नेमा कानले जोड दिए ।

'नयाँ विश्वका लागि बृहत् अर्थशास्त्रीय संरचना निर्माणका बेला अलिकति भए पनि बजारभन्दा राज्यको पक्षमा ढल्किनुपर्ने देखिन्छ,’ कानले भने । आईएमएफले लामो समयदेखि खुलाबजार नीतिको वकालत गर्दै आएको छ । त्यस क्रममा उसले सदस्य देशहरूलाई राज्यनियन्त्रित उद्योगलाई निजीकरण गर्न र व्यापारका लागि नियमहरूलाई खुकुलो पार्न प्रोत्साहित गरेको छ । 'तर, मेरो भनाइको अनर्थ नलागोस् । विश्वव्यापीकरणको  पुरानो व्यवस्थाबाट पनि धेरै फाइदा भएका छन् । खासगरी करौडौं मानिसहरू गरीबीबाट बाहिर निस्कन सफल भएका छन्,’ कानको स्पष्टीकरण छ । 'तर, विश्वव्यापीकरणको एउटा नकारात्मक पक्ष पनि छ । त्यसले धनी र गरीबबीचको खाडललाई झनै बढाउँछ । व्यापारिक विश्वव्यापीकरणले त्यस्तो खाडल घटाउने भए तापनि वित्तीय विश्वव्यापीकरणले भने त्यस्तो खाडललाई हालका वर्षहरूमा बढाएका छन्,’ कानले अर्थ्याए । त्यसैले सामाजिक सुदृढीकरणका साथै नियमहरूलाई कडा बनाइनुपर्नेमा कानले जोड दिएका छन् । 'व्यापारिक क्षेत्रको जोखिम मोल्ने प्रवृत्तिबाट उत्पन्न सामाजिक अवस्थाको भार उक्त क्षेत्रलाई पनि बहन गर्न लगाउन आर्थिक क्रियाकलापमा कर बढाइनुपर्छ,’ कानको सुझाव छ । एएफपी/रासस

नोबेल विजेता युनुसको मुद्दा खारेज

चैत २२, ढाका (बङ्गलादेश) । बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तिम रिट निवेदनलाई पनि खारेज गरिदिएको छ । केन्द्रीय बैङ्कले आफूलाई ग्रामीण बैङ्क प्रमुखबाट बर्खास्त गरेको निर्णयवरूद्ध युनुसले रिट निवेदन दिएका थिए । 'रिट निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ,’ युनुसका वकिल तनिम हुसेनले भने ।लघुकर्जा दिने ग्रामीण बैङ्कको स्थापना युनुसले नै गरेका थिए । आफूलाई केन्द्रीय बैङ्कले बर्खास्त गरे पनि युनुसले त्यसको अटेर गर्दै कार्यालयमा हाजिर हुनुका साथै अदालतमा मुद्दा हालेका थिए । ७० वर्षीय  युनुसलाई सेवानिवृत्ति उमेर नाघिसकेकाले बर्खास्त गरिएको केन्द्रीय बैङ्कले बताएको थियो । तर, प्रधानमन्त्री शेख हसिनासँगको राजनीतिक मतभेदका कारण युनुसमाथि राजनीतिक पूर्वाग्रह गरिएको युनुसका समर्थकहरूको दाबी छ ।          रोयटर्स

चीनको ब्याजदर पुनः वृद्धि

चैत २२, साङ्र्घाई (चीन) । चीनको केन्द्रीय बैङ्क पिपल्स बैङ्क अफ चाइनाले मङ्गलवार फेरि ब्याजदर बढाएको छ । यसरी बैङ्कले यस वर्षभित्रै दुईपटक ब्याजदर बढाइसकेको छ । मूल्यस्फीतिजन्य दबाबलाई नियन्त्रण गर्ने प्रयासस्वरूप ब्याजदरमा वृद्धि गरिएको हो । हालको मूल्यस्फीति फेरि नोभेम्बरकै जस्तो ५ दशमलव १ प्रतिशतको हाराहारीमा पुग्नुका साथै आगामी महीनाहरूमा अझै बढ्ने देखिएको छ ।एकवर्षको निक्षेपमा दिइने ब्याजदर २५ आधार अङ्कले बढाएर ३ दशमलव २५ प्रतिशत पुर्‍याइएको छ । त्यसैगरी एकवर्षको ऋणमा लाग्ने ब्याजदरमा पनि २० आधार अङ्कले वृद्धि भएर ६ दशमलव ३१ प्रतिशत रहने बैङ्कले बताएको छ ।        रोयटर्स

बैङ्कहरूद्वाराईमेल चोरीबारे चेतावनी


चैत २१, न्यूयोर्क (अमेरिका) । अमेरिकाको एक विज्ञापन कम्पनीबाट लाखौं ईमेल ठेगानाहरू चोरी भएको हुन सक्ने भनिएको छ । इमेलको त्यस्तो चोरीबाट थुप्रै ठूला कम्पनीहरू समेत प्रभावित भएका छन् । तिनमा बारक्लेज बैङ्क, जेपी मोर्गन चेज एण्ड कम्पनी, क्यापिटल वन फाइनान्सियल कर्पोरेशन, सिटीग्रूप इङ्कजस्ता ठूला कम्पनी पनि छन् । त्यस्तै बेष्ट बाई कम्पनी, टीभो इङ्क, वालग्रीन कम्पनी, र क्रोगर कम्पनीजस्ता खुद्रा विक्रेता सञ्जालले समेत आफ्ना उपभोक्तालाई जालसाजीपूर्ण इमेल आउन सक्नेबारे सचेत गराएका छन् । त्यस्ता जालसाजीपूर्ण इमेलमा कम्पनीसँग सम्बद्ध एकाउण्ट लग इनबारे जानकारी मागिन सक्ने चेतावनी दिइएको छ ।त्यसैगरी, अङ्ग्रेजी भाषाको परीक्षा स्याट सञ्चालन गर्ने कलेज बोर्डले पनि आफ्ना विद्यार्थीलाई ह्याकरले तिनका इमेल पाएको हुन सक्नेबारे सचेत गराएको छ । वाल्ट डिज्नी कम्पनी मातहतको ट्राभेल कम्पनी डिज्नी डेष्टिनेशन्सले पनि आफ्ना ग्राहकलाई सचेत गराएको छ । शुक्रवार एप्सिलनले उसको प्रणालीमा आक्रमण भएको बताएको थियो, जसबाट  ग्राहकका नाम र इमेल ठेगाना सार्वजनिक हुने सम्भावना बढेको थियो ।त्यस्ताईमेल ठेगानाहरू स्पामको लागि प्रयोग गरिन सक्छन् । साथै, अनलाइनमार्फत जालसाजी गर्नेहरूले बैङ्कजस्ता संस्थाको नक्कली मेसेज पठाएर एकाउण्टसम्बन्धी जानकारी माग्छन् । त्यसरी प्राप्त जानकारीबाट वास्तविक एकाउण्टबाट चोरी हुने सम्भावना रहन्छ । एएफपी/रासस

साङ्र्घाईमा डिज्नील्याण्ड निर्माण शुरू

चैत २१, शाङर्घाई (चीन) । विश्वको छैटौं डिज्नी मनोरञ्जन पार्क चीनको साङ्र्घाई शहरमा निर्माण गरिने भएको छ । अमेरिकी कम्पनी वाल्ट डिज्नी र चिनीयाँ अधिकारी बीच वर्षौंसम्मको वार्तापछि अप्रिल ८ बाट निर्माण कार्य शुरू हुने वाल स्ट्रीट जर्नलले बताएको छ । वाल्ट डिज्नी कम्पनी र उसको स्थानीय साझेदारले साङ्र्घाईमा अप्रिल ८ मा हुने 'विशेष समारोह’ मा उपस्थित हुन आमन्त्रण गरेका छन् । साङ्र्घाई डिज्नील्याण्ड उक्त अमेरिकी कम्पनीको एशियास्थित तेस्रो मनोरञ्जन पार्क हुनेछ । हाल टोकियो र हङकङ गरी एशियाका दुई ठाउमा डिज्नील्याण्ड मनोरञ्जन पार्क छन् । 

जर्नलका अनुसार, साङ्र्घाई डिज्नील्याण्ड पार्कको निर्माणमा ३ अर्ब ७० करोड डलर खर्च हुने साङ्र्घाईका मेयरको अनुमान छ । उक्त रकम चीनमा गरिएको सबैभन्दा ठूलो लगानीमध्येको एक हुनेछ । मनोरञ्जन पार्क ९ सय ६३ एकड अर्थात् ३ सय ९० हेक्टर क्षेत्रफलमा फैलिएको हुनेछ । यसप्रकार, उक्त पार्क अमेरिकाको ओर्लाण्डोस्थित डिज्नी वर्ल्डभन्दा २७ गुणा सानो हुनेछ ।बेइजिङले २००९ मै उक्त परियोजनालाई स्वीकृत गरेको थियो । पार्कभित्र दुईओटा होटल, एउटा व्यापारिक भवन र रेष्टुराँ तथा एउटा तलाउ पनि हुनेछ । पार्कको निर्माण कार्य पाँच वर्षभित्रमा पूरा हुनेछ ।डिज्नीले चीनमा ६ सयभन्दा बढीलाई रोजगार दिनुका साथै २५ भन्दा बढी शहरमा आफ्नो उत्पादन बेच्छ । गतवर्षदेखि डिज्नीले साङ्र्घाईका दुईदेखि १० वर्षउमेरसमूहका केटाकेटीलाई लक्षित गरेर अङ्ग्रेजी भाषा सिकाउने केन्द्र सञ्चालन गरेको छ । एएफपी/रासस

Admin 2011-04-06