रामदेव भ्रष्टाचारविरोधी भोकहडताल पुन: थाल्दै
जेठ २२, नयाँ दिल्ली (भारत) । भ्रष्टाचारविरूद्ध शनिवारदेखि भोकहडताल बसेका योगगुरु रामदेवले आफ्नो भोकहडताल पुन: शुरू गर्ने घोषणा गरेका छन् । रामदेवले दिल्ली आसपासमा आफ्नो भोकहडताल फेरि शुरू गर्ने प्रतिबद्धता गरेका हुन् । यसअघि भारत सरकारले दिल्ली छाडेर जान आदेश दिएको थियो । भोकहडताल नबस्न सरकारले गरेको आग्रहलाई रामदेवले अस्वीकार गरिदिएपछि सरकारले पनि कठोर कदम चालेको हो । रामदेव आफ्ना हजारौं समर्थकसँगै भोकहडतालमा शनिवार देखि दिल्लीको रामलीला मैदानमा बसेका छन् । प्रहरीले मञ्चमा सुतिरहेका रामदेवलाई उठाएर उनलाई त्यहाँबाट बाहिर लाने सरकारी आदेशका बारेमा जानकारी गराएका थिए । त्यसपछि, रामदेव मञ्चबाटै उफ्रेर आफ्ना समर्थकहरूको हूलमा प्रवेश गरेका थिए । रामदेवलाई प्रहरीले पक्राउ गर्दा उनका समर्थकहरूले पनि प्रहरीमाथि ढुङ्गा हानेका थिए । स्रोतका अनुसार, प्रहरीले रामदेवलाई पक्राउ गरेर उनको आश्रमस्थल हरिद्वार पठाएको छ । तर, गृहसचिव जीके पिल्लाईले भने रामदेवले स्वैच्छिक रूपमा नै दिल्ली छाडेको बताएका छन् । रामदेवले प्रधान न्यायाधीशलाई हस्तक्षेपका लागि आग्रह गरेका प्रेस ट्रष्ट अफ इण्डियाले बताएको छ । प्रहरीले रामलीला मैदानमा अश्रुग्यासका साथै लाठीचार्जसमेत गरेको थियो । प्रहरी कारबाहीमा कम्तीमा पनि ३० जना व्यक्ति घाइते भएका पीटीआईले बताएको छ ।
रामदेवले आफ्ना समर्थकलाई शान्तिका लागि आग्रह गर्दै हिंसात्मक प्रदर्शन नगर्न आग्रह गरेका छन् । आफूलाई जनताको समर्थन रहेकाले सरकारी दबाबसामु कुनै पनि हालतमा नझुक्ने रामदेवले प्रण गरेका छन् । रामदेवको अभियानबाट काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारलाई ठूलो धक्का लाग्ने देखिएको छ । दूरसञ्चार अनुमतिपत्र भ्रष्टाचार काण्ड र राष्ट्रमण्डल खेल भ्रष्टाचार काण्डले पछिल्ला दिनहरूमा भारत सरकारलाई ठूलो धक्का पुगेको छ । रामदेवको कार्यक्रममा सरकारले गरेको कडा हस्तक्षेपपछि रामदेवले पनि झनै कडा योजना ल्याउने देखिन्छ । 'मेरो भोकहडताल रोकिएको छैन् । म अझै जारी नै राख्नेछु’, रामदेवले हरिद्वारमा गरिएको संवाददाता सम्मेलनमा भने ।एशियाकै तेस्रो ठूलो अर्थतन्त्र भारतमा व्याप्त भ्रष्टाचारप्रति तीव्र जनआक्रोश रहेको छ । भारतीयहरूले विदेशमा राखेका अर्बौं डलरको अवैध रकम फिर्ता गराउन रामदेवले माग गरेका छन् । त्यसका साथै ठूला परिमाणमा बैङ्क नोटलाई पनि सरकारले बजारबाट फिर्ता लानुपर्ने उनको माग छ ।रामदेवमाथिको सरकारी कारवाहीलाई विपक्षी हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीको निन्दा गर्दै २४ घण्टे प्रदर्शन आह्वान गरेको छ । तर, रामदेवको कार्यक्रमले दिल्लीमा दङ्गासमेत निम्तिन सक्ने भएकाले नियन्त्रण गर्नुपरेको सरकारी पक्षको जिकिर छ । एजेन्सी
रूसबाट पूँजीपलायनको प्रमुख कारण भ्रष्टाचार
जेठ २२, मस्को (रूस) । रूसबाट प्रत्येक हप्ता अर्बौं डलरको लगानी फिर्ता भइरहेको छ । त्यसबाट हङकङ र लण्डनलाई जोड्ने अन्तरराष्ट्रिय वित्तीय केन्द्र बन्ने रूसको महत्त्वाकाङ्क्षामा धक्का लागेको छ । रूस विश्वकै प्रमुख तेल निर्यातकर्ता देश हो । तर, रूसमा अहिले दुईविपरीत वित्तीय अवस्था एकैसाथ देखापरेका छन् । एकतर्फपेट्रोडलर अर्थात् तेल बेचेर आएको आम्दानी बढ्नुका साथै रूबल पनि बलियो भइरहेको छ । अर्कोतर्फअति उच्च दरले पूँजीपलायन पनि भइरहेको देखिन्छ । यस वर्षमात्रै अप्रिलको अन्त्यसम्ममा झण्डै ३० अर्ब डलरको पूँजीपलायन भइसकेको छ । जुन २०१० को वर्षरिकै कुल पूँजीपलायन बराबर हो । गत मे महीनामा मात्रै ८ अर्ब डलरको पूँजीपलायन भइसकेको अनुमान छ । त्यस्तो पलायनदर आगामी केही महीनासम्म यथावत् नै रहने देखिन्छ ।
'यस्तो किन भइराखेको छ भन्ने कुराको स्पष्ट र सीधा जवाफ दिन गाह्रो छ’, रूसका केन्द्रीय बैङ्क अध्यक्ष सेर्गेइ इग्नात्येभले स्वीकार गरे । तर, रूसमा लगानीप्रति मैत्रीपूर्ण वातावरण नरहनु नै पूँजीपलायनको प्रमुख कारण भएको इग्नात्येभले बताए । तर, लगानीकर्ताहरूका अनुसार, रूसको कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचार पनि पूँजीपलायनको प्रमुख कारणमध्ये एक हो । गतवर्षको ट्रान्सपरेन्सी इण्टरनेशनलको भ्रष्टाचार परिसूचकमा रूस १ सय ७८ देशमध्ये १ सय ५४औं स्थानमा थियो । विश्व बैङ्कका अनुसार पनि निर्माण क्षेत्रमा अनुमति पाउनका लागि रूस विश्वकै दोस्रो अप्ठयारो देश हो । कानून पालना गराउने निकाय र अदालतलाई एउटै प्रणालीको अङ्ग भएकाले उनीहरूबीच मिलोमतो हुने स्थानीय उद्यमीहरूको आरोप छ । आफ्नै देशबाट रूसीहरूले लगानी अन्यत्र सारिरहेको बेलामा विदेशी लगानीकर्ताहरू किन रूसमा आउने भन्ने प्रश्न खडा भएको एक विश्लेषक क्रिश विफरले बताए । एएफपी/रासस
जर्मनीद्वाराई-कोली नियन्त्रणको प्रतिरक्षा
जेठ २२, ह्यार्म्बर्ग (जर्मनी) । जर्मनीले ई-कोली ब्याक्टेरियाको प्रकोप नियन्त्रणका लागि आफूले गरेका प्रयासको प्रतिरक्षा गरेको छ । जर्मनीमा मात्रै यसको प्रकोपबाट सयौं बिरामी परेका छन् र १८ जनाको मृत्यु भएको छ । जर्मन स्वास्थ्यमन्त्री डयानियल बाहरले ह्यार्म्बर्गस्थित एउटा अस्पतालको भ्रमण गर्ने क्रममा यस्तो प्रतिरक्षा गरेका हुन् । उत्तरी जर्मनीको यो अस्पतालमा, स्वास्थ्यकर्मीहरू यो प्रकोपका बिरामीहरूलाई शय्या र स्वास्थ्योपचार उपलब्ध गराउन संघर्षरत छन् ।आइतवार बाहरले संवाददाताहरूलाई भने, 'बिरामीलाई सघाउन आवश्यक सबै कार्य गरिएको छ ।' तर,ई-कोली भएकी एक बिरामीले भनिन्, 'त्यो अस्पतालको सरसफाइ उनी हातखुट्टा गलेर रगतयुक्त छाडा लागेर त्यहाँ आउँदा अत्यन्तै भयावह थियो ।' जर्मन अनुसन्धाताहरू कस्तो खानाले र के कारणले यस्तो आत्मघाती प्रकोप फैलियो भन्ने कुरामा अझै टुङ्गोमा पुग्न सकेको छैन ।
उत्तरी जर्मनीमा अस्पतालहरूको अवस्था अत्यन्तै नाजुक भएको र बिरामीहरूले उपचार र शय्या नपाएको समाचार आएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले स्थलगत भ्रमण गरेका थिए । उनी त्यहाँको विश्वविद्यालय मेडिकल सेण्टर पुगेर आफैले डाक्टर र नसहरूसँग कुरा गरेका थिए । यो प्रकोपका कारण डाक्टर र नसहरूले छुट्टी नलिईकन दोहोरो डयुटी गरिरहनुपरेको छ । ह्यार्म्बर्ग शहर ई-कोली प्रकोपको केन्द्रबिन्दु मानिएको छ । झाडापखाला शैलीको यो प्रकोप आधुनिक इतिहासमा पहिलोपटक भएको मानिन्छ । गत मे २ तारिखयता यो प्रकोप शुरू भएपछि जर्मनीमा मात्रै १ हजार ७ सय जनामा यो रोग फेला परेको छ । त्यसमध्ये ५ सय २० जना मृगौला काम नलाग्ने गरी बिरामी भएको छ । १० ओटा अरू यूरोपेली मुलुक र अमेरिकामा गरी ९० जनामा यो ब्याक्टेरिया सरेको पाइएको छ । दुई जनाबाहेक ती सबै बिरामी उत्तरी जर्मनीको भ्रमणमा आएका थिए । एपी/रासस
आईएमएफ प्रमुखमा लागार्दको सम्भावना प्रबल
जेठ २२, टोकियो (जापान) । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखमा फ्रान्सकी क्रिष्टिन लागार्दको सम्भावना बढेको छ । अमेरिकालगायत जापानले समेत लागार्दलाई समर्थन गरेपछि उनको सम्भावना प्रबल हुनपुगेको हो । लागार्दलाई जापानले पनि समर्थन गरेको जानकारी एक अज्ञात स्रोतलाई उद्धृत गर्दै आर्थिक दैनिक निक्केइले आइतवार दिएको छ । आईएमएफमा सबैभन्दा बढी मत हिस्सा अमेरिकाको छ । त्यसपछि उक्त विश्वव्यापी वित्तीय अनुगमनकर्ता निकायमा जापानले दोस्रो ठूलो मत हिस्सा ओगटेको छ । त्यसैले यी दुवै देशले औपचारिक रूपमै लागार्दलाई समर्थन गर्ने भएपछि उनको सम्भावना प्रबल भएको हो । मनोमनयन प्रक्रिया आगामी जुन १० मा सकिनुअघि नै दुवै देशको औपचारिक समर्थन लागार्दले प्राप्त गर्ने निक्केइले बताएको छ । तर, त्यसबारे जापानका अधिकारीहरूले भने कुनै टिप्पणी गरेका छैनन् । जापानी अर्थमन्त्री योशिहिको नोदाले भने नयाँ आईएमएम प्रमुख खुला, पारदर्शी र योग्यतामा आधारित प्रक्रियाबाट छानिनुपर्नेमा जोड दिएका छन् ।चीन र भारतजस्ता उदीयमान बजार अर्थतन्त्रहरूले विश्व अर्थतन्त्रमा आफ्नो बढ्दो प्रभावसँगै आईएमएफ प्रमुखको पदमा पनि दाबी गर्न थालेका छन् । परम्परागत रूपमा यूरोपेली नागरिकले नै आईएमएफ प्रमुखको पद पाउँदै आएका छन् । एजेन्सी
ली नाको विजयले एशियाभरि उत्साह
जेठ २२, बेइजिङ (चीन) । फ्रेञ्च ओपनको महिला सिङ्गल्सतर्फचीनकी ली नाको विजयले एशियाभरि नै उत्साह छाएको छ । उक्त प्रतियोगितामा पुग्ने पहिलो एशियाली खेलाडी थाइल्याण्डका पारादोर्न श्रीचफानले ली एशियाकै गर्व हुन पुगेकी बताए ।लीले शनिवार राति साविक विजेता इटालीकी फ्रान्सेस्का शिआभोनलाई पराजित गरेकी थिइन् । त्यसपछि एशियाका प्रमुख समाचारपत्रहरूले लीको फोटोसहित उनको विजयबारे समाचार लेखेका छन् । चीनको सरकारी समाचारपत्र पिपल्स डेलीले आफ्नो प्रथम पृष्ठमै लीले कप चुम्दै गरेको ठूलो चित्र प्रकाशित गरेको छ । त्यसैगरी हङकङ र जापानका समाचारपत्रले पनि लीको विजयलाई प्रथम पृष्ठमा छापेका छन् । उता, पुरूषतर्फो सिङ्गल्समा आइतवार स्वीट्जरल्याण्डका फेडेरर र स्पेनका नाडालबीच आइतवार राति भिडन्त हुँदै छ । एपी/रासस
Admin 2011-06-06