शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिकी अर्थमन्त्रालयले सिटीग्रुपको सबै शेयर बेच्यो
मङ्सिर २२, न्युयोर्क (अमेरिका) । अमेरिकी सरकारले सिटीग्रुपमा बाँकी रहेका उसका साधारण शेयरहरू १० अर्ब ५० करोड डलरमा विक्री गरेपछि सीटीग्रुपको शेयरमूल्य मङ्गलवार अकाशिएको छ । ऋणमोचन कार्यक्रम भएको खर्च उठाउन अमेरिकी सरकारले आफ्ना साधारण शेयरहरू विक्री गरेको हो । सीटीग्रुपमा बाँकी रहेका शेयरको अन्तिम किस्ता बेच्न लागेको अमेरिकी अर्थमन्त्रालयले सोमवार बताएको थियो । प्रतिशेयर ४ दशमलव ३५ डलरको दरले जम्मा २ अर्ब ४० करोड डलर मूल्यका  शेयरहरू विक्री गरिने भएको थियो, जुन सोमवार बजार बन्द हुँदाको भन्दा प्रतिशेयर १० सेण्टले कम थियो । उक्त समाचारपछि बैङ्कको स्टकमा सुधार हुन गई ३ दशमलव ६ प्रतिशतबाट बढेर १६:४० जीएमटी समयसम्ममा ४ दशमलव ६१ डलरमा पुगेको थियो ।अर्थमन्त्रालयले समस्याग्रस्त सम्पत्ति सुधार कार्यक्रम -ट्रबल्ड एस्सेट रिलिफ प्रोग्राम (टीएआरपी) अन्तर्गत सिटीग्रुपमा कुल ४५ अर्ब डलर मूल्यको लगानी गरेको थियो । सन् २००८ को सेप्टेम्बरमा लेहम्यान ब्रदर्श समूह टाट पल्टेपछि वित्तीय प्रणालीलाई सन्तुलन गर्न सरकारले उक्त कदम चालेको थियो उद्धार योजनाअन्तर्गत २००९ को जुलाईमा अमेरिकी सरकारले प्रतिशेयर ३ दशमलव २५ डलरको दरमा सिटीग्रुपको ७ अर्ब ७० करोड साधारण शेयर खरीद गरेको थियो । सोमवार अबेर जारी गरिएको अर्थमन्त्रालयको एक विज्ञप्तिअनुसार शेयर विक्रीबाट उसले टीएआरपीमार्फत लगानी गरेको सबै ४५  अर्ब डलर पुनः उकास्नुका साथै थप १२ अर्ब डलर आम्दानीसमेत गरेको छ । एएफपी/रासस


टोयोटाको भारतमा 'रेयर अर्थ’ प्रशोधन

मङ्सिर २२, टोकियो (जापान ) । टोयोटा मोटर कर्पोरेशन सम्बद्ध कम्पनी टोयोटा त्सुशो कर्पोरेशनले भारतमा रेयर अर्थ प्रशोधन केन्द्र निर्माण गर्ने बुधवार बताएको छ । योजनाअनुसार उक्त केन्द्रमा रेयर अर्थ २०१२ सम्ममा प्रतिवर्ष३ हजार देखि ४ हजार टनको दरले जापानतर्फ पठाइनेछ ।गाडीका पार्टपुर्जा तथा उच्च प्रविधियुक्त उत्पादनमा अति आवश्यक रेयर अर्थका नयाँ स्रोतहरू सुनिश्चित गर्न जापानका व्यापार समूहहरू प्रयासरत छन् । यस खनिजपदार्थको प्रमुख उत्पादक चीनले आफ्नो निर्यात कोटा घटाएपछि जापानतर्फयस्तो खनिज पदार्थको आपूर्तिमा कमी आएको थियो ।सन् २०११ को अन्त्यसम्ममा उडिसा राज्यमा उक्त प्रशोधन केन्द्रको निर्माण गरिनेछ । त्यसपछि इण्डियन रेयर अर्थ लिमिटेडमा मोनाजाइट खनिजबाट युरेनियम तथा थोरियम इन्धनको प्रशोधन गर्दा निस्केको सहउत्पादनबाट रेयर अर्थको उत्पादन गरिनेछ । इण्डियन रेयर अर्थ लिमिटेड भारतको आणविक ऊर्जा कर्पोरेशनको एकाइ हो । प्रशोधन केन्द्रको निर्माणमा जापानको शिन इत्सु केमिकल कम्पनीले प्राविधिक सहयोग उपलब्ध गराउनेछ । रोयटर्स


चिनियाँ तथ्याङ्क 'मानवनिर्मित’: चिनियाँ नेता

मङ्सिर २२, बेइजिङ (चीन) । चिनियाँ उपप्रधानमन्त्री ली किछियाङले उनको देशका केही आर्थिक तथ्याङ्क 'मानवनिर्मित’ भएको र त्यसकारण विश्वसनीय नरहेको कुरा सन् २००७ मा स्वीकार गरेको खुलासा भएको छ । अमेरिकी कूटनीतिक नियोगसम्बन्धी विकिलीक्सद्वारा हालै चुहाइएका सूचनाबाट उक्त कुराको खुलासा भएको हो ।वर्तमान प्रधानमन्त्री वेन जिआबाओको उत्तराधिकारीका रूपमा हेरिएका लीले तत्कालीन अमेरिकी राजदूत क्लार्क राण्टसँग उक्त टिप्पणी गरेका थिए । त्यतिखेर ली कम्युनिष्ट पार्टीको उत्तरपूर्वी प्रान्त लिआओनिङका उच्च अधिकारी थिए । विकिलीक्सबाट सार्वजनिक जानकारीअनुसार उक्त प्रान्तको अर्थतन्त्र मूल्याङ्कन गर्ने क्रममा विद्युत् खपत, रेल कार्गोको आयतन तथा परिचालित ऋणजस्ता तीनवटा तथ्याङ्कलाई आधार बनाएर उक्त टिप्पणी गरेको लीले बताएका थिए । ती तीनवटा तथ्याङ्कबाट आर्थिक वृद्धिलाई तुलनात्मक रूपले सही अनुमान गर्न आफूले सक्ने तथा कुल गार्हस्थ्य उत्पादनलगायतका बाँकी सबै तथ्याङ्क सन्दर्भसामग्रीका रूपमा मात्र काम लाग्ने लीले मुस्कुराउँदै बताएका थिए ।२०१३ मा वेनपछि चीनका प्रधानमन्त्री ली भए भने उनी विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको दैनिक कार्य सञ्चालनका साथै आर्थिक नीतिको निर्माण गर्नसमेत जिम्मेवार हुनेछन् । एएफपी/रासस


एशियाली व्यावसायिक मनोदशामा सुधार

मङ्सिर २२, टोकियो/सिङ्गापुर । केही यूरोपेली देशहरूमा देखिएको ऋण सङ्कटले विश्वव्यापी वृद्धिमा असर पार्ने चिन्तालाई बेवास्ता गर्दै एशियाका प्रमुख कम्पनीहरूको व्यावसायिक मनोदशा चौथो त्रैमासमा आएर सुधार भएको पाइएको छ । तेस्रो त्रैमासमा ६९ अङ्कमा रहेको रोयर्टस एशिया कर्पोरेट सेण्टिमेण्ट इण्डेक्स चौथो त्रैमासमा माथि उक्लेर ७७ अङ्कमा पुगेको छ । उक्त अङ्क रोयर्टसले २०० ९ को जुनबाट तथ्याङ्क राख्न शुरूपछिको हालसम्मकै दोस्रो उच्च हो । पछिल्लो तथ्याङ्क नोभेम्बर २४ र डिसेम्बर ३ का बीचमा गरिएको सर्वेक्षणमा आधारित छ । 'तरलता छचल्किएको छ । मानिसहरूले धनी भएको महसूस गरेका छन् र यूरोपमा देखिएको जस्ता समस्या नजर अन्दाज गर्दै उनीहरूले खर्च गरिनै रहने कम्पनीहरूको आशा छ,’ मलेसियाको दोस्रो सबैभन्दा ठूलो बैङ्क सीआईएमबी सम्बद्ध सिङ्गापुरस्थित क्षेत्रीय अर्थशास्त्री सङ सेङ वुनले बताए ।
 
यो इण्डेक्स ५० भन्दा कम भए नकारात्मक अवस्था र ५० भन्दा माथि भए सकारात्मक अवस्था भएको मानिन्छ । हाल यो इण्डेक्स ५० अङ्कभन्दा धेरै माथि रहेकाले प्राकृतिक साधन, वित्तीय सेवा तथा घरजग्गा किनबेचसम्बन्धी व्यवसायमा सकारात्मक दृष्टिकोण विद्यमान रहेको देखिन्छ । एशियाभित्रै भएको बलियो वृद्धि तथा पूँजीको बलियो आगमनबाट यी व्यवसायहरूले फाइदा उठाउन सफल भएका हुन् । तर, विश्वव्यापी व्यावसायिक चक्रसँग केही बढी नै आबद्ध प्रविधिको क्षेत्रमा सबैभन्दा बढी सावधान दृष्टिकोण देखिएको छ । जापानी संस्थानहरू आफ्नो व्यापारका बारेमा सबैभन्दा सावधान देखिए भने तीव्र वृद्धि भइरहेका चीन तथा भारत सबैभन्दा बढी उत्साहित देशहरूमध्ये देखिएका छन् । अष्ट्रेलिया तथा दक्षिणपूर्वी एशियामा प्रायः सकारात्मक दृष्टिकोण नै पाइएको छ । रोयटर्स


गरीब देशलाई क्षयरोग परीक्षण सस्तो

पूरा आकारमा हेर्नुहोस्मङ्सिर २२, लण्डन (बेलायत) । दुइ घण्टाभित्रै क्षयरोग (टीबी)को निदान गर्ने एउटा नयाँ परीक्षण विपन्न राष्ट्रहरूलाई पहिलाको मूल्यभन्दा निकै कममा उपलब्ध गराइने भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । फाउण्डेशन फर इन्नोभेटिभ एण्ड न्यू डाइग्नोष्टिकका अधिकारीहरूले बुधवार बताएअनुसार सयभन्दा बढी विकासशील राष्ट्रहरूलाई उक्त परीक्षण यसको वास्तविक मूल्य ६७ डलरमा ७५ प्रतिशत छूट दिँदै लगभग १७ डलरमा उपलब्ध गराइनेछ ।
स्वीट्जरल्याण्डस्थित उक्त संस्थाका अनुसार विपन्न राष्ट्र तथा अन्तरराष्ट्रिय दाताहरूका लागि परीक्षणको वास्तविक मूल्य अति चर्को हुने देखिएपछि उसले यसको उत्पादक सेफेइड कम्पनीसँग मूल्य घटाउन वार्ता गरेको थियो । केही दातृ निकायहरूले उक्त परीक्षणलाई दक्षिण अफ्रिका तथा भारतमा लागू गर्न चाहेका छन् । अधिकारीहरूले व्यापारिक परिमाणमा उत्पादन थालिएपछि यस परीक्षणको मूल्य घट्ने आशा गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार उक्त परीक्षणले क्षयरोगको उपचारमा क्रान्ति नै ल्याउन सक्नेछ । हाल उपलब्ध परीक्षणबाट क्षयरोगको किटान गर्न तीन महीनासम्म लाग्ने गर्दछ । सङ्गठनले क्षयरोगको चपेटामा परेका राष्ट्रहरूलाई रोग नियन्त्रणको उपायहरूमा उक्त परीक्षण पनि संलग्न गर्न भनेको छ । परीक्षणको घोषणा सेप्टेम्बरमा गरिएको थियो । एपी/रासस


कार्टेलिङविरुद्ध ८६ करोड डलर दण्ड

पूरा आकारमा हेर्नुहोस्मङ्सिर २२, ब्रसेल्स (बेल्जियम) । यूरोपीय प्रतिस्पर्धा आयोगले दक्षिण कोरियाली र ताइवानी एलसीडी (लिक्विड क्रिष्टल डिस्प्ले) फ्ल्याट स्क्रीन टेलिभिजनका उत्पादकहरूलाई बुधवार ६५ करोड यूरो (८६ करोड डलर) जरीवाना गरेको छ । उनीहरूलाई मूल्य मिलिजुली (कार्टेलिङ) गरेको आरोपमा यो जरीवाना गरिएको हो । यसरी जरीवानामा पनर्हे रूमा ताइवानका एयू अप्ट्रोनिक्स, चिमेइ इन्नोलक्स कर्पोरेशन, चुङह्वा पिक्चर टयुब्स र हानस्टार डिस्प्ले कर्पोरेशन एवम् दक्षिण कोरियाको एलजी डिस्प्ले कम्पनी छन् ।

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सलाई पनि यस्तो कार्टेलमा सहभागी भएको आरोप लगाइएको थियो । तर, यस्तो कार्टेलिङ योजनाबारे पहिलो सूचना दिएकाले उसलाई जरीवाना तिर्न नपर्ने छूट दिएको थियो । यूरोपको प्रतिस्पर्धा अनुगमन गर्ने संस्थाले यी कम्पनीहरूलाई अक्टोबर २००१ देखि फेब्रुअरी २००६ को बीचमा यस्तो कार्टेलिङ सञ्चालन गरेको र मिलिजुली तय गरेको आरोप लगाएको थियो । यसले एलसीडी टेलिभिजन र कम्प्युटरका यूरोपीय खरीदकर्ताहरूलाई हानि पुर्‍याएको आरोप सो संस्थाले लगाएको छ । यी मिलिजुली गर्ने कम्पनीका अधिकारीहरू ताइवानका होटेलहरूमा ६० पटकसम्म भेटेको आरोप त्यो यूरोपीय अनुगमन  संस्थाले दाबी गरेको छ । यस्तो भेटलाई उनीहरूले 'क्रिष्टल मिटिङ' को नाम दिएका थिए । ती कम्पनीहरूलाई आफूहरूले यूरोपको प्रतिस्पर्धा कानून उल्लङ्घन गर्दै छौं भन्ने थाहा भएको सो अनुसन्धानले देखाएको छ । त्यसै कारण ती भेटघाटलाई गोप्य राखिएको यूरोपीय आयोगले पत्ता लगाएको छ । उसले यी सबैले कम्पनीहरूले आपसमा बाँडेको एक दस्तावेजमा 'सुरक्षाको ख्याल गर्नु, गोप्यतालाई याद राख्नु र लिखित सञ्चारलाई सीमित गर्नु' भन्ने आग्रह गरेको प्रमाण फेला पारेको छ ।
 
चिमेइ इन्नोलक्सलाई सबभन्दा धेरै ३० करोड यूरो र एलजी डिस्प्लेलाई साढे २१ करोड यूरो दण्ड तिराइएको छ । त्यस्तै गरी एयू अप्ट्रोनिक्सलाई ११ करोड ६८ लाख, चुङह्वा पिक्चरलाई ९० लाख र हानस्टार डिस्प्लेलाई ८१ लाख यूरो जरीवाना तिराइएको छ । विदेशी कम्पनीहरूले पनि यूरोपमा व्यापार गर्ने हो भने यूरोपीय कम्पनीहरूजस्तै स्वस्थ प्रतिस्पर्धाको अभ्यास गर्नुपर्छ, युरोपीय प्रतिस्पर्धा आयुक्त जुवाँकिन अल्मुनियाले एक वक्तव्यमार्फ भनेका छन् । यी कम्पनीहरूलाई आफूहरू कानून उल्लङ्घन गर्दै छौं भन्ने कुरा थाहा थियो र आफ्नो गैरकानूनी व्यवहार लुकाउन उनीहरूले प्रयास गरेका थिए । एएफपी/रासस


भ्रष्टाचार शिकारीको सञ्जाल

मङ्सिर २२, वाशिङटन (अमेरिका) । विश्व बैङ्कको वाशिङटनस्थित मुख्य कार्यालयमा २ सयभन्दा बढी भ्रष्टाचारविरोधी अधिकारीहरू सम्मिलित सञ्जाल इण्टरन्याशनल करप्सन हर्ण्र्टस एलाएन्सको पहिलो बैठक मङ्गलवार भयो । खासगरी विकासशील देशहरूमा हुने भ्रष्टाचार तथा धोखाधडीविरुद्धको अभियान तीव्र पार्ने उद्देश्यले १ सय ३४ राष्ट्रका भ्रष्टाचारविरोधी अधिकारीहरू सो भेलामा सम्मिलित भएका थिए । व्यक्तिगत प्रयासहरू तथा साना सञ्जालहरू भ्रष्टाचारविरुद्ध काम गर्न सफल भइरहे पनि बढी प्रभावकारी असरका लागि थप समन्वयात्मक प्रयासहरू चाहिने विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोल्लिकले बताए । 'पारदर्शिता सुधार गर्नेतर्फस्थानीय इच्छाशक्तिको निर्माण गर्ने, खरीदसम्बन्धी नियमहरूलाई बलियो बनाउने र अपराधीहरूलाई समात्नका लागि यस सञ्जालले हामीलाई सहयोग गर्नेछ । समन्वयात्मक रूपले काम गर्दा हामी बढी प्रभावशाली हुन सक्नेछौँ , ’ उनले भने ।

विश्व बैङ्कका परियोजनालगायतमा भ्रष्टाचार गर्ने व्यक्ति तथा संस्थाहरूविरुद्ध कसरी अनुसन्धान तथा कानूनी कारबाही अघि बढाउने भन्ने सम्बन्धमा छलफल गर्न भ्रष्टाचारविरोधी अधिकारीहरू पहिलोपटक यसरी भेला भएका थिए । भ्रष्टहरूले गरीबको सम्पत्ति चोर्ने र लामो समयदेखि भ्रष्टाचारसम्बन्धी प्रयासहरू एक्लो व्यक्तिको साहसमा मात्र निर्भर रहेको बताउँदै दिगो र प्रभावशाली रणनीति बनाएर भ्रष्टाचार निर्मूल गर्न भ्रष्टाचार शिकारीहरूको बलियो
सञ्जाल बनाउनुपर्ने जोल्लिकले बताए । तीनजना अफ्रिकी नेताहरूले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति फ्रान्समा लुकाएको विषयमा ट्रान्सपरेन्सी इण्टरनेशनलको छानबिन आग्रहलाई फ्रान्सका सर्वोच्च अदालतले मार्गप्रशस्त गरेको उदारहण दिँदै अन्तरराष्ट्रिय भ्रष्टाचार शिकारीसमूहको गठनले बहुदेशीय न्यायिक कारबाही प्रक्रिया अघि बढाउनेतर्फप्रेरित गरेको भनाइ विश्व बैङ्क अध्यक्षको थियो । एएफपी/रासस