फेसबुकमा गोल्डम्यानको लगानीमाथि अनुसन्धान
पुस २२, न्यूयोर्क (अमेरिका) । निजी किसिमले सञ्चालित लोकप्रिय सामाजिक सञ्जाल फेसबुक योजनाभन्दा चाँडै पब्लिक कम्पनीमा परिवर्तन हुने भएको छ । गोल्डम्यान साखले फेसबुकमा ४५ करोड डलर लगानी गरेपछि त्यस्तो सम्भावना देखिएको विश्लेषकहरूले बताएका छन् । गोल्डम्यानका साथै एक रूसी लगानी कम्पनी डिजिटल स्काई टेक्नोलोजिजले पनि फेसबुक ५ करोड डलर लगानी गरेको छ । उक्त लगानीबाट प्राइभेट तथा पब्लिक लगानी बजारबीच रहेको झीनो रेखा प्रस्टिएको छ र स्टकबजारमा जान कम्पनीहरूको हिच्किचाहटप्रति नियामकहरूको ध्यान तानिएको छ ।
प्राइभेट कम्पनीहरू सकेसम्म पब्लिक कम्पनी हुन नचाहेको उदाहरण फेसबुकले प्रस्ट गरेको जर्जटाउन विश्वविद्यालयका जेम्स एञ्जलको धारणा छ । 'अमेरिकामा पब्लिक कम्पनी सञ्चालन गर्न ज्यादै खर्चिलो र कानूनी रूपमा जोखिमपूर्ण भएको छ’, एञ्जलले भने । गोल्डम्यानले फेसबुकको मूल्याङ्कन ५० अर्ब डलर गरेको थियो । त्यसपछि लामो समयदेखिका ठूला कम्पनीहरू बोइङ, टाइम वार्नर तथा याहूभन्दा पनि फेसबुक ठूलो कम्पनी भएको छ । उक्त व्यापारिक सम्झौताबाट फेसबुकलाई सार्वजनिक रूपमा शेयर किनबेच हुने पब्लिक कम्पनी हुँदा आर्इपर्ने अप्ठयाराहरूबाट जोगिएर बजारबाट पूँजी उठाउन सम्भव बनाएको छ । 'सार्वजनिक कम्पनी हुनुको ठूलो फाइदा के हो भने आफ्ना शेयरहरूले सजिलै बजार पाउँछन् । तर, छायाँ बजारमा पनि सार्वजनिक बजारमा जत्तिकै तरलता उपलब्ध भएमा कम्पनीहरू र्सार्वजनिक बजारतर्फजान चाहँदैनन्’, युनिभर्सिटी अफ मिशिगन ल स्कूलका एडम प्रिट्चार्डले भने । फेसबुकले उठाएको यस लगानीले त्यस्तो लगानीको स्वच्छता तथा सुरक्षाबारे प्रश्नचिह्नसमेत खडा भएको छ । 'गोल्डम्यान समूहका व्यक्तिहरूले मात्र फेसबुकमा लगानी गर्न किन पाउने भनेर कसैले प्रश्न गर्न सक्छन्’, एञ्जलले भने । यो रकमभन्दा तीन गुणा बढी रकम फेसबुकले र्सार्वजनिक रूपमा नियमन गरिएको बजारभन्दा बाहिरबाट उठाउने योजना गरेको बताइएको छ ।
त्यस्तो लगानीबाट नियामकहरूको अनुगमनबाहिर छायाँ विनिमय बजार सृजना हुन सक्छ । साथै पारदर्शितासम्बन्धी नियमको अभाव हुँदा लगानीकर्ताहरू थप जोखिममा पर्न सक्छन् । 'आफूले गरिरहेको व्यापारबाट आउने केही रकम फेसबुकले देखाउन नचाहेको हुन सक्छ । आफ्ना वित्तीय अवस्था तथा व्यापारका पक्षहरू खुला राख्नु सार्वजनिक हुनुको एउटा आयाम हो । त्यसैले उनीहरूले आफ्ना सबै व्यापार सूत्र देखाउन नचाहेका हुन सक्छन्', एञ्जलले भने । अमेरिकी बजार नियामक संस्था सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिशनले उक्त व्यापार सम्झौताप्रति तत्कालै प्रतिक्रिया जनाएको छ । सञ्चारमाध्यमका अनुसार कमिशनले निजी कम्पनीहरूका लागि बनाइएको पारदर्शितासम्बन्धी नियमहरूको पुनरवलोकन गरिरहेको छ । यसको फलस्वरुप कमिशनले फेसबुकलाई पब्लिक कम्पनीका रूपमा परिणत हुन बाध्य गर्न सक्छ । एएफपी/रासस
बीपी तेल चुहावटमा प्रणालीगत असफलता जिम्मेवार
पुस २२, वासिङ्टन (अमेरिका) । मेक्सिको खाडीमा भएको भयानक तेल चुहावटका लागि ब्रिटिश पेट्रोलियम (बीपी)सँगै अमेरिकी कम्पनी हालिबुर्र्टोन तथा स्विस ट्रान्सओसन पनि जिम्मेवार रहेका एक अमेरिकी अनुसन्धान आयोगले आरोप लगाएको छ । उक्त चुहावट तीनओटै कम्पनीका 'प्रणालीगत’ व्यवस्थापन असफलताका कारण भएको र त्यस्तो घटना फेरि दोहोरिन सक्ने पनि राष्ट्रपतिद्वारा गठित सो आयोगले बताएको छ । २००९ अप्रिलमा बीपीको म्याकण्डो भनिने तेल कुवामा विस्फोटन भएको थियो । सो विस्फोटनमा ११ जना श्रमिकको मृत्यु भएको थियो भने मेक्सिको खाडीमा लगातार तीन महिनासम्म ४९ लाख ब्यारेल तेल चुहिएको थियो । त्यसपछि राष्ट्रपति बाराक ओबामाले दुर्घटनाको कारण पत्ता लगाउन सात सदस्यीय आयोग गठन गरेका थिए ।
एएफपी/रासस
स्टारबक्सको लोगो परिवर्तन
पुस २२, लस एञ्जलस (अमेरिका) । विश्वको सबैभन्दा ठूलो कफी चेन स्टारबक्स कर्पोरेशनले बुधवार नयाँ लोगो र्सार्वजनिक गरेको छ । नयाँ लोगोमा उसको नाम तथा 'कफी’ शब्द नराखेकामा पुराना ग्राहकहरूले असन्तोष व्यक्त गरेका छन् । हरियो रङ्गको नयाँ लोगोमा पुरानै लोगोमा रहेको एउटी परीको चित्र मात्र बाँकी छ । बाँकी शब्दहरू हटाइएका छन् । ग्रीक पौराणिक कथाअनुसार यस्ती परीले आफ्नो मीठो सङ्गीतले समुद्री यात्रुहरूलाई आकर्षित गरेर उनीहरूलाई मृत्युको मुखमा पुर्याउने गर्थिन् । स्टारबक्सले कफी शपभन्दा बाहिर बिक्ने अर्बौं डलरका नयाँ ब्राण्डहरू स्थापना गर्ने क्रममा परी भएको नयाँ लोगो र्सार्वजनिक गरेको हो । 'हामी सधैं नै कफी कम्पनी तथा कफीकै खुद्रा विक्रेता रहिआएका छौं र भविष्यमा पनि रहनेछौं । तर, त्यसका साथै हामी भविष्यमा कफी नै नभएको उत्पादन पनि बेच्नेछौं', नयाँ लोगोमा 'कफी’ शब्द नराख्नुको कारण खुलाउँदै प्रमुख कार्यकारी होवार्ड शुल्जले भने । रोयटर्स