शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

डलरको मूल्य घट्ने सम्भावना

साउन २२, लण्डन (बेलायत) । गत शुक्रवार संयुक्त राज्य अमेरिकाको क्रेडिट रेटिङ 'ट्रिपल ए'बाट 'डबल ए प्लस' कायम भएपछि अमेरिकी मुद्रा डलरको मूल्य घट्न सक्ने देखिएको छ । क्रेडिट रेटिङ एजेन्सी 'स्ट्याण्डर्ड एण्ड पोर' (एस एण्ड पी)ले गत शुक्रवार लिएको कदमपछि सोमवार अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य कमजोर हुने र 'ट्रेजरी बिल'मा हुने प्रतिलब्धि बढ्ने बताइएको छ  । तर, ट्रेजरी बिलको विक्रीमा यूरोजोनमा बढ्दै गएको ऋणसङ्कटका कारण बाधा उत्पन्न हुने आशङ्का पनि गरिएको छ ।

डलरको मूल्य घट्दा अन्तरराष्ट्रिय शेयर कारोबारमा पनि कमी आउने विश्लेषण गरिएको छ । आइतवारको कारोबार शुरू हुँदा इजरायलको तेल अभिभ स्टक्समा ६ प्रतिशतले कमी आएको छ । विश्वका अन्य शेयरबजारहरूमा पनि सोही प्रतिक्रिया देखिन सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । अमेरिकाको क्रेडिट रेटिङ घटेपछि खुलेको अन्तरराष्ट्रिय शेयरबजारमा तेल अभिभ स्टक्स पहिलो हो । यसका साथै लगानीकर्ताहरूले डलरको साटो स्वीस फ्रान्क, जापानी येन र सुनजस्ता सुरक्षित मुद्रा र धातुमा लगानी गर्ने सम्भावना पनि बढ्दै गएको छ । लण्डनस्थित लोयड्स बैङ्कका अधिकारी चार्ल्स डाइबेलले अमेरिकाको क्रेडिट रेटिङ घट्नुको असर विस्तारै देखिने र डलरको मूल्य कमजोर हुने बताएका छन् । विश्वमा अर्को आर्थिक मन्दी शुरू हुने डरले गत हप्ता अन्तरराष्ट्रिय शेयरबजारहरूबाट २ दशमलव ५ खर्ब डलर गुमेको थियो । समाचार संस्था रोयर्टसले बताएअनुसार सन् २००८ पछि शेयरबजारहरू यसरी खस्किएका यो पहिलोपटक हो ।

त्यसैगरी एशियाली शेयरबजारहरूमा सोमवारको कारोबार शुरू हुँदा सुनबाहेकका 'कमोडिटिज'को मूल्य घट्ने अनुमान गरिएको छ । तेल, बेस मेटल, अन्नलगायतका केही कमोडिटिजहरूको मूल्यमा कमी आउनाले कतिपय खरीदकर्ताहरूले फइदा उठाउने विश्लेषकहरूले अनुमान गरेका छन् । तर, तेल, तामा र अन्नजस्ता 'कमोडिटिज'को प्रमुख खरीदकर्ता चीनको आर्थिक वृद्धि कायमै रहँदा 'कमोडिटी' बजारमा शेयरबजारको जस्तो हलचल भने नहुने विश्लेषण गरिएको छ ।       एजेन्सीहरू

भेरिजोनमा कर्मचारीहरूको हडताल

साउन २२, न्यूयोर्क (अमेरिका) । अमेरिकी सञ्चार कम्पनी भेरिजोन कम्युनिकेसन्स इङ्कका कर्मचारीहरू आइतवार हडतालमा सहभागी भएका छन् । उक्त हडतालमा म्यासाचुसेट्स राज्यदेखि वाशिङटन डीसीसम्मका भेरिजोनका कार्यालयहरू आइतवार ठप्प रहे । ४५ हजार कर्मचारी सहभागी रहेको भनिएको उक्त हडताल कम्पनीसँग नयाँ श्रम करारसम्बन्धी वार्ताहरू असफल भएपछि 'द कम्युनिकेशन्स वर्कस अफ अमेरिका' (सीडब्ल्यूए) नामक ट्रेड युनियनको आह्वानमा गरिएका थिए । युनियनले राखेका १ सय मागहरूबारे कम्पनीसँग भइरहेका वार्ताहरू शनिवार राति विनानिष्कर्ष टुङ्गिएपछि युनियनले हडताल आह्वान गरेको बताएको छ । सन् २०११ जुन २२ मा शुरू भएका वार्ताहरूमा कर्मचारीहरूले कम्पनीले प्रदान गर्दै आएको स्वास्थ्य सुविधा र पेन्सन वृद्धि गर्नुपर्ने र करार अवधि सकिन लागेका कर्मचारीहरूको करार थप्नुपर्ने माग अघि सारेका थिए । शनिवार मध्यरातमा ४५ हजार कर्मचारीको करार अवधि समाप्त भएपछि कम्पनीले नयाँ करार गर्दै उनीहरूलाई काममा फर्काउन अस्वीकार गरेको थियो । आइतवार एक प्रेस विज्ञप्ति जारी गर्दै सीडब्ल्यूएले भेरिजोनले आम कर्मचारीहरूको हितका लागि केही नगरेको बताउँदै विगत ५० वर्षदेखिका सामूहिक सौदाबाजीबाट हासिल मध्यम र निम्न वर्गका कर्मचारीहरूको हकहित बाट कम्पनीपछि हटेकाले हडताल गर्न बाध्य भएको बताएको छ । युनियनले भेरिजोन अत्यन्त नाफामा रहेको कम्पनी भए तापनि कर्मचारीहरूलाई सुविधा दिन भने पछि रहेको आरोप पनि लगाएको छ ।

तर, भेरिजोनका मानव संसाधन विभागका कार्यकारी उपाध्यक्ष मार्क रिडले भने युनियनको उक्त कार्य दु:खद रहेको र उपभोक्ता र कर्मचारीहरूले दु:ख पाएको प्रतिक्रिया दिएका छन् । उनले परिस्थितिलाई बुझेर अघि बढ्न पनि युनियनलाई आग्रह गरेका छन् । अमेरिकाको सबैभन्दा ठूलो वायरलेस सञ्चार कम्पनी भेरिजोनमा १ लाख ९६ हजार कर्मचारी कार्यरत छन् । दोस्रो त्रैमासमा कम्पनीको खुद मुनाफामा २ दशमलव ८ प्रतिशतले वृद्धि भई २७ दशमलव ५ अर्ब अमेरिकी डलर आम्दानी भए थियो । एपी/रासस

'सौर्य आँधी’ पृथ्वीतर्फआउँदै

साउन २२, न्यूयोर्क (अमेरिका) । सूर्यको सतहमा केही दिनयता भएका तीन ठूला विस्फोटनका कारण उत्पन्न 'सौर्य आँधी'बाट हुन सक्ने सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्न वैज्ञानकिहरू लागिपरेका छन् । सूर्यको सतहमा भएका विस्फोटनबाट उत्पन्न सौर्य आँधी पृथ्वीतर्फआउँदै गर्दा त्यसबाट उपग्रहहरू, सञ्चार प्रणाली र ऊर्जा वितरणमा क्षति पुग्न सक्ने बताइएको छ । अमेरिकाको समुद्र र वायुमण्डलका परिवर्तन नियमन गर्दै आएको नेशनल ओशेनिक एण्ड एटमस्फेरिक एडमिनिष्ट्रेशन (एनओएए)का अन्तरिक्ष वैज्ञानिक जोसेफ कुञ्चेसले उक्त चुम्बकीय सौर्य आँधी मध्यम वा ठूलो स्तरको हुन सक्ने जानकारी दिएका छन् । उनले यस हप्ता आउने उक्त आँधीले सञ्चार र 'ग्लोबल पोजिशनिङ सिष्टम' (जीपीएस) उप्रग्रहहरूलाई असर गर्न सक्ने भएकाले सचेत हुनुपर्ने बताएका छन् । उनले सौर्य आँधीका कारण अमेरिकाको मिनेसोटा र विस्कोन्सिन राज्यबाट प्रकाशपुञ्ज देखिने पनि उल्लेख गरेका छन् ।

आँधीबाट जोगिन ऊर्जा र सञ्चार कम्पनीहरूलाई सूचना जारी गरिसकिएको बताइएको छ । विगतमा आएका यस्तै आँधीहरूबाट गम्भीर क्षति पुगेको थियो । सन् १९८९ मा आएको एक सौर्य आँधीले क्यानेडाको क्युबेकका विद्युत् प्रसारण अवरुद्ध गरिदिँदा ६० लाख मनिस धेरै दिनसम्म अन्धकारमा बस्न बाध्य भएका थिए । विद्युत् आपूर्ति बन्द हुँदा करोडौं डलरको क्षति भएको बताइन्छ । अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा ठूलो सौर्य आँधी भने सन् १८५९ मा आएको थियो । तर, सञ्चार र विद्युत्को विकास भइनसकेको उक्त समयमा आँधीले ठूलो आर्थिक क्षति भने भएन । यदि त्यस्तै प्रकारको आँधी अहिले पृथ्वीमा आए २ खर्ब अमेरिकी डलरबराबरको क्षति हुन सक्ने एनओएएले सन् २००८ मा बताएको थियो । एनओएएका वैज्ञानिक कुञ्चेसले अहिलेको आँधीले त्यस्तो ठूलो क्षति गर्न नसके पनि अवस्थाप्रति सम्बन्धित सबै सचेत हुनुपर्ने बताएका छन् । एनओएएले सन् १८५९ को जस्तो सौर्य आँधी सन् २०१३ मा आउने बताएको छ ।                 एजेन्सी

बैङ्क प्रमुखद्वारा अफ्रीकामा लगानी आग्रह

साउन २२ । अमेरिकी अर्थतन्त्रको समस्या, यूरोपेली ऋणसङ्कट र जापानमा भूकम्पपश्चात्को पुनर्बहालीको अवस्था रहेकाले लगानीकर्ताहरूले अफ्रिकातिर ध्यान दिनुपर्ने अफ्रिकन डेभलपमेण्ट बैङ्कका प्रमुखको विचार छ । विकसित देशका अर्थतन्त्रहरू आफैमा संघर्षरत रहेका बेला विश्व अर्थतन्त्रलाई अभिवृद्धि गर्न अफ्रिकामा लगानी गर्नु उपयुक्त हुने बैङ्कका प्रमुख डोनाल्ड काबेरुकाले बताए । अफ्रिका खनिजपदार्थमा धनी हुनुका साथै यहाँ ठूलो मात्रामा तेल सञ्चिति रहेको छ । साथै, अफ्रिकी क्षेत्रमा शहरी मध्ययवर्गीय बढ्दै गएको तर, पूर्वाधारको कमी भएकाले लगानीको अवसर रहेकोतर्फ काबेरुकाले ध्यानाकर्षण गराएका हुन् ।

तल्लो सहारा क्षेत्रको अप्रिmकी अर्थतन्त्र यस वर्ष५ दशमलव ६ प्रतिशत र आगामी वर्ष६ दशमलव ५ प्रतिशतले बढ्ने पूर्वानुमान गरिएको छ । झण्डै एक दर्जन देशले ७ प्रतिशतसम्मको आर्थिक वृद्धि हासिल गर्ने भएका छन् । अमेरिका र यूरोपमा समस्या रहेको बेला विश्व अर्थतन्त्रलाई चीन, भारत र ब्राजिलजस्ता उदीयमान देशले डोर्याइरहेकोतर्फपनि काबेरुकाले औंल्याए ।  
एएफपी/रासस     

सारकोजी र क्यामरुनबिच फोनवार्ता

साउन २२, लण्डन (बेलायत) । अमेरिकी क्रेडिट रेटिङ र यूरोजोनको ऋणसङ्कटबारे फ्रान्सका राष्ट्रपति निकोलास सारकोजी र बेलायतका प्रधानमन्त्री डेभिड क्यारुनबीच फोनवार्ता भएको छ । बेलायती प्रधानमन्त्रीको कार्यालय 'डाउनिङ स्ट्रीट'का एक प्रवक्ताले ती दुई देशका कार्यकारी प्रमुखहरूबीच शनिवार साँझ वार्ता भएको जानकारी दिएका हुन् । इटालीमा हाल छुट्टी मनाइरहेका बेलायती प्रधानमन्त्री क्यामरुन र फ्रान्सका राष्ट्रपतिबीच आधा घण्टा लामो फोनवार्ता भएको ती प्रवक्ताले जानकारी दिए । फोनवार्तामा अमेरिकी क्रेडिट रेटिङ घटेपछिको अवस्था र यूरोजोनको जारी ऋणसङ्कट समाधान गर्न दुवै नेताहरूले आगामी दिनमा सहकार्य गर्नुपर्नेमा जोड दिएका बताइएको छ । फोनवार्ताका क्रममा भएका कुराकानीको विस्तृत विवरण दिन भने ती प्रवक्ताले अस्वीकार गरे ।

यसैबीच विकसित नयाँ अवस्थाबारे सोमवार 'जी सेभेन' राष्ट्रहरूका अर्थमन्त्रीहरूले टेलिफोन कन्फरेन्स वार्ता गर्न लागेको जापानको समाचार संस्था क्योदोले जानकारी दिएको छ । जापानका अर्थमन्त्री योसीको नोडाको संयोजनमा हुन लागेको उक्त वार्तामा विश्वलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउने उपायहरूबारे छलफल गरिने बुझिएको छ । बैठकमा जापानी अर्थमन्त्रीले अमेरिकी मुद्रा डलर खरीद गरिरहने प्रतिबद्धता जाहेर गर्ने अनुमान गरिएको छ । दुई हप्ताअघि मात्र  ऋणसङ्कट समाधानका उपायहरू पहिल्याउन यूरोजोनका प्रमुखहरूको विशेष शिखर सम्मेलन गरिएको थियो ।

ऋण सङ्कट बल्झिँदै जानु, शेयरबजार खस्किनु र डलरको मूल्यमा आएको कमीले गर्दा 'जी-सेभेन’ नेतृत्व सक्रिय भएको स्रोतले बताएको छ ।यूरोपियन आर्थिक कमिश्नर ओल्ली रेहनले शुक्रवार मात्रै  बल्झिँदै गइरहेको समस्या समाधान गर्न  जी सेभेन र जी-२० राष्ट्रहरूबीचको साझेदारी अत्यावश्यक भएको बताएका थिए । यसैबीच ब्राजिलको अर्थ मन्त्रालयका एक अधिकारीले आगामी शनिवार नै जी-२० राष्ट्रका सहायक अर्थमन्त्रीबीच पनि टेली-कन्फरेन्स वार्ता हुने बताएका छन् । एजेन्सी

अमेरिकी क्रेडिट रेटिङले भारतलाई असर नगर्ने : मुखर्जी

साउन २२, नयाँ दिल्ली (भारत) । अमेरिकाको क्रेडिट रेटिङ खस्किए तापनि आफ्नो अर्थतन्त्रको वृद्धि कायमै रहने भारतले दाबी गरेको छ । क्रेडिट रेटिङ एजेन्सी स्ट्याण्डर्ड एण्ड पर्असले शुक्रवार अमेरिकाको ट्रिपल ए रेटिङलाई डबल ए प्लसमा झारेको थियो । देशको ठूलो ऋणभारलाई समाधान गर्न अमेरिकी राजनीतिकर्मीहरू असफल भएको भन्दै एस एण्ड पीले क्रेडिट रेटिङ झारेको हो । त्यसरी अमेरिकाको क्रेडिट रेटिङ तल झर्नु गम्भीर भएको भारतीय अर्थमन्त्री प्रणव मुखर्जीले बताएका छन् । तर, बाहिरी विश्वलाई प्रभावित गर्ने नकारात्मक भावनालाई भारतीय बजारले खप्न सक्ने मुखर्जीको दाबी छ ।  

'सङ्कट छ, तर म अनावश्यक चिन्ता लिन्नँ । तसिनुपर्ने कुनै कारण छैन,’ मुखर्जीले दिल्लीमा व्यापारिक नेताहरूलाई सम्बोधन गर्दै भने । अमेरिकी क्रेडिट रेटिङ घटेपछि विश्व अर्थतन्त्रबारेको चिन्ताले भारतीय शेयरबजार पनि वर्षकै न्यून बिन्दुमा पुगेककाले मुखर्जीको भनाइ आएको हो ।
   वृद्धिको प्रवृत्ति र अर्थतन्त्रको धरातल बलियो नै रहेको बताउँदै भारतको आर्थिक सुधार कार्यक्रमलाई जोड दिने मुखर्जीले प्रतिबद्धता व्यक्त गरे । भारतले मार्चसम्ममा  ८ दशमलव ५ प्रतिशतको सुदृढ आर्थिक वृद्धि हासिल गरेको छ । तर, त्यसका साथै भारतको महँगीदर पनि ९ दशमलव ४४ प्रतिशतमा छ, जुन एशियाकै उच्च हो । महँगी नियन्त्रणका लागि भारतको केन्द्रीय बैङ्कले उसको ब्याजदरलाई सन् २०१० को मार्चपछि ११ पटक बढाइसकेको छ । साथै, ठूला भ्रष्टाचार काण्डहरूले भारतको लगानी वातावरणलाई पनि कमजोर बनाएको कतिपय विशेषज्ञले औंल्याएका छन् ।     एएफपी/रासस

फ्रान्सको 'ट्रिपल ए’ रेटिङ  यथावत् : एस एण्ड पी


साउन २२, पेरिस (फ्रान्स) । अमेरिकाको 'ट्रिपल ए' क्रेडिट रेटिङलाई गत शुक्रवार 'डबल ए प्लस'मा झारेको अमेरिकी रेटिङ एजेन्सी 'स्ट्याण्डर्ड एण्ड पोर' (एस एण्ड पी) ले फ्रान्सको क्रेडट रेटिङ भने यथावतै रहेको बताएको छ । 'फ्रान्स इण्टरनेट रेडियो'सँग आइतवार कुरा गर्दै एस एण्ड पीका यूरोप प्रमुख जाँ माइकल सिक्सले उक्त जानकारी दिएका हुन् । सिक्सले आफ्नो एजेन्सीले राम्रो राजनीतिक नेतृत्व र सुशासनजस्ता तत्त्वलाई क्रेडिट रेटिङको प्रमुख मापदण्ड निर्धारण गरेको बताए । रेडियोसँगको कुराकानीका क्रममा उनले फ्रान्समा सुशासन रहेकाले एस एण्ड पीले फ्रान्सको 'ट्रिपल ए' रेटिङ कायमै राखेको उल्लेख गरे ।

गत शुक्रवार अमेरिकाको रेटिङ घटेपछि त्यसको असरले फ्रान्समा ब्याजदर बढ्न सक्ने भन्दै फ्रेञ्च ऋणपत्र कारोबारीहरूले चिन्ता व्यक्त गरेका थिए । यूरोजोनका ६ ओटा 'ट्रिपल ए' रेटिङ भएका मुलुकहरूमध्ये फ्रान्सको आर्थिक पूर्वाधार सबैभन्दा कमजोर रहेको बताइन्छ । फ्रान्सका राष्ट्रपति निकोलास सारकोजीले आफ्नो देशको क्रेडिट रेटिङ घट्न नदिनु सरकारको प्रमुख दायित्व भएको बताउँदै आएका छन् । विगत ८ महीनायता एस एण्ड पी, मुडिज र फिचजस्ता विश्वका तीन प्रमुख क्रेडिट रेटिङ एजेन्सीहरूले फ्रान्सको 'ट्रिपल ए' रेटिङलाई पुनर्पुष्टि गरेका छन् ।             एजेन्सी

स्वीट्जरल्याण्ड र जर्मनीबीच कर सम्झौता


साउन २२, जेनेभा (स्वीट्जरल्याण्ड) । स्वीट्जरल्याण्ड र जर्मनी करछली अन्त्य गर्न एउटा सम्झौता नजिक पुगेका छन् । यी दुई छिमेकी देशबीच करछलीको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । बुधवार हुने भएको सम्झौता हस्ताक्षरका बेला स्वीस बैङ्कहरूले तत्काल २ अर्ब ६० करोड डलर तिर्नेछन् । जर्मन नागरिकले अर्बौं डलर रकम स्वीस बैङ्कहरूमा जम्मा गरिरहेको जर्मनीले गुनासो गर्दै आएको छ । त्यस्ता सम्पत्तिमाथि एउटा निश्चित कर लगाएर त्यसबाट उठेको रकम जर्मनीलाई दिन स्वीट्जरल्याण्ड तयार भएको छ । तर, त्यसक्रममा स्वीस बैङ्कका ग्राहकको विवरण भने गोप्य राख्न पाउनुपर्ने स्वीट्जरल्याण्डको माग छ । दुई देशबीच हुने कुनै पनि सम्झौतालाई पछि दुवै देशका संसद्ले पनि अनुमोदन गर्नुपर्ने हुन्छ । एपी/रासस

Admin 2011-08-08