एशियाली अर्थतन्त्रमा मूल्यस्फीतिको जोखिम: एडीबी
चैत २३, मनिला/हङकङ । एशियाका कतिपय उदीयमान देशका अर्थतन्त्र अति तातेको (ओभर हिटिङ) सङ्केत मिलेको एशियाली विकास बैङ्क (एडीबी)ले वुधवार बताएको छ । त्यसैले मुद्रास्फीतिजन्य दबाबलाई सम्बोधन गर्न नीतिगत कडाइ गरिनुका साथै विनिमय दरलाई लचिलो बनाउनुपर्ने बैङ्कको सुझाव छ । विकासशील एशियामा चीन, भारत, अजरबैजान, थाइल्याण्ड, फिजीजस्ता विविधतायुक्त अर्थतन्त्र भएका देश छन् । एशियाली क्षेत्रको वृद्धिदर २०११ मा ७ दशमलव ८ प्रतिशत र २०१२ मा ७ दशमलव ७ प्रतिशतमा रहने बैङ्कको पछिल्लो पूर्वानुमान छ । तर, त्यसका साथै मूल्यस्फीति दर २०१० को ४ दशमलव ४ प्रतिशतबाट बढेर यस वर्ष५ दशमलव ३ प्रतिशतमा रहने पनि बैङ्कले बताएको छ । २०१२ मा भने यसर्वर्षको भन्दा मूल्यस्फीति केही घटेर ४ दशमलव ६ प्रतिशतमा रहनेछ । बैङ्कका अनुसार, भियतनाम र पाकिस्तानजस्ता देशका मूल्यस्फीति दर दोहोरो अङ्कमा पुग्नेछन् ।
'विकासशील एशियामा विश्वको दुई तिहाइ गरीब जनताको बसोबास छ । त्यसैले मूल्य वृद्धिको चर्को मार पनि त्यस क्षेत्रका जनतामाथि नै पर्ने गर्छ,’ एडीबीका प्रमुख अर्थशास्त्री चाङयोङ रीले भने । त्यसैले नीतिनिर्माताले मूल्यस्फीति अझ बढ्नुअघि नै नियन्त्रात्मक कदम चाल्नुपर्नेमा रीले जोड दिएका छन् ।मूल्य नियन्त्रणका लागि ब्याजदर बढाउनु मात्रै पनि पर्याप्त नहुने रीको मूल्याङ्कन छ । रीका अनुसार, त्यसका साथै विनिमय दर र पूँजीगतको नियन्त्रणलाई पनि लचिलो बनाइनुपर्छ । रोयटर्स
टेलिनोरमा नर्वेली प्रमको चिन्ता
चैत २३, ओस्लो (नर्वे) । नर्वेली मोबाइल सञ्चालक टेलिनोरलाई भारतको दूरसञ्चार अनुमतिपत्र भ्रष्टाचार काण्डमा मुछिएकोमा प्रधानमन्त्री जेन्स स्टोल्टेनबर्गले चिन्ता व्यक्त गरेका छन् । भारतको टुजी मोबाइल अनुमतिपत्र काण्डमा टेलिनोरलाई पनि दोषी ठहर्याइनु गलत हुने स्टोल्टनबर्गले बुधवार बताएका छन् । टेलिनोरले उक्त काण्डमा आफ्नो कुनै जिम्मेवारी नरहेको जिकिर गर्दै आएको छ । टेलिनोरले २००८ को अन्त्यमा युनिटेकबाट भारतीय मोबाइल अनुमतिपत्र खरीद गरेको थियो । रोयटर्स
मारुती डिजेल कार फिर्ता
चैत २३, मुम्बई, (भारत) । भारतको सबैभन्दा ठूलो कारनिर्माता मारुती सुजुकीले १३ हजार १ सय ५७ ओटा डिजेल इञ्जिन कार बजारबाट फिर्ता मगाउन लागेको बताएको छ । स्वीफ्ट र रिज मोडलका डिजेल कारका कनेक्टिङ रडबोल्ट जाँच्नुपर्ने भएकाले फिर्ता मगाइन लागेको मारुतीको भनाइ छ । २०१० को नोभेम्बर १३ देखि डिसेम्बर ४ भित्र बनेका इञ्जिनजडित कारको परीक्षण गरिने भएको हो । गतहप्ता मारुतीले मार्चको विक्रीमा २८ दशमलव २ प्रतिशतले वृद्धि भएर १ लाख २१ हजार ९ सय ५२ ओटा कार विक्री भएको बताएको थियो । रोयटर्स
चीन प्रशान्त क्षेत्रको प्रमुख ऋणदाता
चीनले गोप्य विदेशी सहायता कार्यक्रममार्फत प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव बढाइरहेको सिड्नीस्थित एक विद्वत् परिषद् लोवी इन्षिटच्युट फर इण्टरनेशनल पोलिसीले बताएको छ । टोङ्गा, समोआ र कुक आइल्याण्डजस्ता देशले आफनो कुल गार्हस्थ्य उत्पादनको उल्लेखनीय हिस्सा बराबर चीनबाट ऋण पाइरहेको लोवीको दाबी छ । लोवीको 'प्रशान्त क्षेत्रमा चीन: नयाँ ऋणदाता’ विषयक प्रतिवेदनमा ऋणमार्फत बेइजिङको कूटनीतिक प्रभाव उल्लेखनीय रूपले बढेको भनिएको छ । तर, ५ वर्षसम्म ब्याज मिनाहा गरिएको त्यस्ता नरम कर्जा अर्थात् 'सफ्ट लोन’को म्याद नाघेपछि त्यस क्षेत्रमा ऋण सङ्कट उत्पन्न हुन सक्ने प्रतिवेदनको चेतावनी छ ।
'चीनले प्रशान्त क्षेत्रमा २००५ यता ६० करोड डलरभन्दा बढी ऋण दिइसकेको छ । चिनियाँ ऋण थपिँदै गएकाले खासगरी पाँचवर्षको ब्याज मिनाहा अवधि नाघेपछि त्यस क्षेत्रमा सङ्कट निम्तिन सक्छ,’ प्रतिवेदनले भनेको छ । प्रतिवेदनका अनुसार, कूटनीतिक प्रभावका लागि ताइवानसँगको प्रतिस्पर्धाका कारण चीनले प्रशान्त क्षेत्रमा अभिरुचि राखेको हो । त्यस क्षेत्रका देशहरूले आर्थिक सहायताका लागि कहिले ताइपेइसँग र कहिले बेइजिङसँग गठबन्धन परिवर्तन गर्दै आएका थिए । ताइवानको २००८ को राष्ट्रपति निर्वाचनपछि चीनमैत्री यिङ जेओउ सरकार बनेपछि भने त्यस्तो क्रम रोकिएको थियो । हालका दिनमा चीन र ताइवानबीचको सम्बन्धमा सुधार आएको छ । तैपनि, भविष्यमा ताइवानसँगको सम्बन्ध फेरि बिग्रेमा आफ्नो प्रभाव कायमै राख्न चीनले त्यस्तो नरम कर्जा दिइरहेको प्रतिवेदनले उल्लेख छ । एएफपी/रासस
Admin 2011-04-07