शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

नाइजेरियाका सभामुख भ्रष्टाचार आरोपमा पक्राउ

जेठ २३, अबुजा (नाइजेरिया) । नाइजेरियाको भ्रष्टाचारविरूद्ध काम गर्ने निकायले त्यहाँका केही प्रमुख राजनीतिकर्मीमध्येका एकलाई पक्राउ गरेको छ । नाइजेरियाली संसद्का सभामुख दिमेजी बाङ्कोले तेलबाट प्राप्त सरकारी आम्दानीमा व्यापक भ्रष्टाचार गरेको आशङ्का छ । तेलस्रोतका प्रमुख देशमध्ये नाइजेरिया पनि एक हो ।बाङकोले चार घण्टासम्म आफूलाई पक्राउ गर्ने प्रयासको प्रतिरोध गरेका नाइजेरियाको आर्थिक तथा वित्तीय अपराध आयोगका प्रवक्ताले बताएका छन् । आयोगका अनुसार, बाङको आइतवार बेलुका अबुजा छाडेर लागोसतर्फ भाग्न लागेको एक जासुसी प्रतिवेदनले देखाएपछि उनलाई तत्काल पक्राउ गरिएको हो । तर, बाङ्कोले देश छाडेर भाग्न लागेको भन्ने आरोप असत्य भएको उनका प्रवक्ता बकारेले सोमवार दाबी गरेका छन् ।

नाइजेरियाली संसद् राष्ट्रियसभाको सदस्य पदलाई अत्यन्त आकर्षक लाभको पद मानिन्छ । किनभने, तल्लो तहका सदस्यले पनि तलब र अन्य सुविधाबापत मात्र १० लाख डलरभन्दा बढी आम्दानी गर्छन् । त्यसका साथै, तेलबाट आउने सरकारी आम्दानीमा अर्बौं डलरको भ्रष्टाचार हुने गर्दछ । त्यसैले पनि नाइजेरियाली संसद् सदस्यको निर्वाचनका बेला पनि ठूलो परिमाणमा जालसाली र ठगी हुने गरेको छ । नाइजेरियामा भ्रष्टाचारको जरा यति गहिरो छ कि उच्च तहका राजनीतिकर्मीदेखि निम्न तहका प्रहरी अधिकृतसम्म भ्रष्ट छन् । एपी/रासस

ठूला औषधि निर्माताहरूबाट सुलभ दरमा खोपको प्रतिबद्धता

जेठ २३, लण्डन (बेलायत) । विकासशील देशका गरीब जनतालाई सहयोग पुर्याउने उद्देश्यले थुप्रै प्रमुख औषधि निर्माता कम्पनीले तिनका खोपको मूल्यमा कटौती गर्ने भएका छन् । गेभी भनिने अन्तरराष्ट्रिय खोप ऐक्यबद्धता कार्यक्रममार्फत जीवनरक्षक अत्यावश्यक खोपहरूको सुलभ आपूर्ति सुनिश्चित गर्न ती कम्पनीहरू सहमत भएका हुन् । जेनेरिक र ब्राण्डेड गरी दुवैथरी औषधी निर्माता कम्पनीहरू मूल्यमा कटौती गर्न सहमत भएका छन् । तिनमा ग्लेक्सोस्मिथक्लाइन, मर्क, जन्सन एण्ड जन्सनको क्रुसेल तथा स्यानोफी एभेन्तिसका सानोफी पाश्चरलगायत कम्पनी छन् । कम्पनीहरूले गरेका पछिल्लो प्रतिबद्धतापछि ऐक्यबद्धता कार्यक्रमलाई २०१५ सम्मको प्रतिबद्धता पूरा गर्न अपुग देखिएको ३ अर्ब ७० करोड डलरको कमीमा केही राहत पुग्नेछ । जीएसके कम्पनीले उसको रोटारिक्स भनिने रोटाभाइरस खोप गेभीलाई ६७ प्रतिशत छूटमा उपलब्ध गराउनेछ ।

त्यसैगरी अर्को कम्पनी मर्कले पनि उसको रोटाटेक रोटाभाइरस खोपमा भारी छूट दिनेछ ।  विश्वभरि नै ५ वर्षमुनि उमेर समूहका बालबालिकाको मृत्यु गराउने  कारणमा पखाला पनि प्रमुख हो । रोटाभाइरस भनिने जीवाणुले बालबालिकामा कडा खालको पखाला गराउँछ, जसबाट वार्षिक ५ लाखभन्दा पनि बढी केटाकेटीको मृत्यु हुने गर्छ ।विश्वका सबै देशले आफ्ना राष्ट्रिय खोप कार्यक्रममा रोटाभाइरसको खोपलाई पनि समावेश गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठनले २००९ मा सिफारिश गरेको थियो । तर, थुप्रै गरीब देशले त्यस्तो महँगो खोप कार्यक्रम लागू गर्न सकेका छैनन् । गेभी कार्यक्रमअन्तर्गत, त्यस्ता गरीब देशलाई महँगा रोटाभाइरस खोप पनि सुलभ दरमा उपलब्ध गराइन्छ । त्यसबाट, २०१५ सम्ममा कम्तीमा पनि ४० गरीबतम देशले तिनको राष्ट्रिय खोप कार्यक्रममा रोटाभाइरस खोप लागू गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । एजेन्सी

नाडाल र लीको विजय: खेल नीतिको सफलता

राफेल नाडाल छैटौंपटक फ्रेञ्च ओपन जित्न सफल भएका छन् । आइतवार राति रोजरर फेडररलाई ७-५, ७(६-३), ५-७, ६-१ ले फाइनलमा पराजित गरेपछि नाडाल यस वर्षको फ्रेञ्च ओपनमा पुरूषतर्फो सिङ्गल्स च्याम्पियन भएका हुन् । महिलातर्फभने चीनकी ली ना एशियाकै प्रथम फेञ्च ओपन च्याम्पियन भएकी छन् । लीले टेनिसका उत्कृष्ट खेलाडीहरूलाई पर्छार्न सक्नुको पछाडि आफूहरूको खेल सुधार नीतिले काम गरेको चिनियाँ खेल अधिकारीहरूले दाबी गरेका छन् ।

चीन सरकारले २००८ मा टेनिस खेलाडीका लागि एउटा प्रयोगात्मक नीति लागू गरेको थियो । खेलाडीहरूको उत्साह बढाउन ल्याइएको 'एक्लै उड’ अर्थात् 'फ्लाई अलोन’ भनिने उक्त नीतिअन्तर्गत लीले आफ्नो प्रशिक्षक आफै रोज्ने अवसर पाएकी थिइन् । त्यसका साथै प्रतियोगिता जितेबापतको अधिकांश रकम लीले आफै राख्न पाएकी छन् भने थोरै रकम मात्र उनले सरकारलाई बुझाउनुपर्छ । पहिला जितेको रकमबाट ६५ प्रतिशतभन्दा पनि बढी सरकारलाई बुझाउनुपथ्र्यो भने हाल उनले १२ प्रतिशत रकममात्र सरकारलाई बुझाए पुग्छ ।  

शुरूमा त्यस्तो सुधार कार्यक्रम सफल हुने/नहुनेबारे निश्चित नभए पनि लीको प्रदर्शनबाट सुधार कार्यक्रम सफल देखिएको चिनियाँ टेनिस सङ्गठनका अधिकारी सुन जिङफाङको दाबी छ । साथै, टेनिसमा गरिएको त्यस्तो सुधार अन्य खेलका लागि पनि राम्रो उदारहण हुन सक्ने सुनको भनाइ छ । फ्रेञ्च ओपनमा विजयी भएपछि पत्रकार सम्मेलनमा लीले एउटा नयाँ टी शर्ट लगाएकी थिइन् । उनको टी शर्टमा कोरिएको चिनियाँ अक्षरको अर्थ हुन्छ: खेलले सबै कुरालाई परिवर्तन गर्नसक्छ ।                    एजेन्सी

Admin 2011-06-07