शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

कतार केन्द्रीय बैङ्कद्वारा इस्लामिक प्रणाली हटाउन आदेश

माघ २३, दुबई/दोहा (यूएइ/कतार) । कतारको केन्द्रीय बैङ्कले वाणिज्य बैङ्कहरूलाई २०११ को अन्त्यसम्ममा इस्लामिक बैङ्किङ प्रणाली खारेज गर्न आदेश दिएको सम्बन्धित स्रोतहरूले आइतवार बताएका छन् । केन्द्रीय बैङ्कबाट आश्चर्यजनक रूपमा आएको यस्तो आदेशबाट त्यहाँका परम्परागत ऋणदाता बैङ्किङ संस्थाहरूलाई मर्का पर्ने देखिएको छ । बैङ्कले 'इस्लामिक वित्तीय सेवासँग सम्बद्ध क्रियाकलाप अन्त्य गर्न’ निर्देशन जारी गरेको छ । उक्त आदेश तत्काल लागू भए पनि वाणिज्य बैङ्कहरूलाई डिसेम्बर ३१ सम्मको म्याद दिइएको छ । 'मेरो विचारमा कसैले पनि यस्तो आदेशको अपेक्षा गरेको थिएन । यो अवश्य पनि आश्चर्यजनक छ, र यसले हामीलगायत अरू धेरैलाई असर गर्नेछ,’ नाम बताउन नचाहने दोहास्थित एक बैङ्कका कर्मचारीले भने । 'मैले बुझेअनुसार वर्षको अन्त्यसम्ममा सबै बैङ्कले आफ्ना वासलातबाट इस्लामिक सम्पत्ति हटाउनु पर्नेछ । तर, यसको अर्थ के हो भन्ने हामी बुझ्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।  

आदेशबाट प्रभावित बैङ्कहरूमा कतार नेशनल बैङ्क, एचएसबीसी, दोहा बैङ्क, कमर्शियल बैङ्क अफ कतार, अल अहली कमर्शियल बैङ्क र इण्टरनेशनल बैङ्क अफ कतार छन् । आदेशपछि कतार नेशनल बैङ्कको शेयरमा ४ दशमलव ५ प्रतिशतले र अल अहलीको शेयरमा ६ दशमलव ७ प्रतिशतले कमी आएको थियो ।तर, इस्लामिक बैङ्किङ मात्र गर्दै आएका बैङ्कहरूले भने केन्द्रीय बैङ्कको निर्णयबाट आफूहरूलाई फाइदा हुने अपेक्षा गरेका छन् । 'हाम्रा लागि यो राम्रो कुरा हो । अब हामीसँग धेरै ग्राहकहरू हुनेछन्,’ एक इस्लामिक बैङ्क मस्रफाल रायनका प्रमुख कार्यकारी अदेल मुस्तफबीले भने । केन्द्रीय बैङ्कले दुइ किसिमका बैङ्किङ प्रणाली मिसाउन नचाहेकोजस्तो देखिएको उनको विचार छ । रोयटर्स

चीनमा हालसम्मकै उच्च सुन उत्पादन


माघ २३, बेइजिङ (चीन) । चीनको सुन उत्पादन २०१० मा अघिल्लो वर्षको भन्दा ८ दशमलव ५७ प्रतिशतले बढेर ३ सय ४० दशमलव ८८ टन नाघेको छ । उक्त परिमाण चीनको हालसम्मकै उच्च सुन उत्पादन हो । सो कुरा चाइना गोल्ड एशोसिएशनको तथ्याङ्कलाई उद्धृत गर्दै त्यहाँको सरकारी समाचार संस्था सिन्हवाले आइतवार बताएको हो । त्यसबाट चीनले ३ सय ४० टनभन्दा बढी सुन उत्पादन गर्ने त्यहाँको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको पूर्वानुमान सही प्रमाणित भएको छ । त्यसमध्ये प्रमुख सुन उत्पादक राज्यहरू शाङदोङ, हेनान, जीआङजी, युनान र फुजियानले कुल उत्पादनको ५९ दशमलव ८२ प्रतिशत ओगटेका छन् । चीनका प्रमुख १० सुन उत्पादकले २००९ मा कुल उत्पादनको ४९ दशमलव १९ प्रतिशत उत्पादन गरेका थिए । चीन सरकारले सुन उत्पादन क्षेत्रलाई सुदृढ बनाउने कायक्रम ल्याएको थियो । त्यसपछि २००२ मा १ हजार २ सय रहेको सुन उत्पादक कम्पनीको सङ्ख्या अहिले ७ सयभन्दा केही बढी मात्र रहेका छन् ।विश्वकै प्रमुख सुन उत्पादक राष्ट्रका रूपमा चीनले २००७ मा दक्षिण अफ्रिकालाई उछिनेको थियो । तैपनि घरेलु मागमा वृद्धिका कारण चीनको सुन आयातमा वर्षेनि वृद्धि भइरहेको छ । रोयटर्स

भारतमा बेरोजगारीको 'बम’

माघ २३, नयाँ दिल्ली (भारत) ।  भारतको उत्तर प्रदेशस्थित बरेली शहरमा गत हप्ता सम्पन्न एउटा रोजगार भर्नामा १ लाखजति युवा सहभागी भएका थिए । उनीहरू भारत (तिब्बत सीमा प्रहरी-आईटीबीपी) मा खुलेको भर्नामा आवेदन दिन आएका थिए । धोबी, हजाम, पानी ओसार्नेजस्ता निम्नस्तरका ४ सय १६ ओटा पदमा आवेदन आह्वान गरिएको थियो । ती पदमा दिइने शुरूको तलब प्रतिमहीना ५ हजार २ सय भारू रहेको छ । त्यसबाट भारतमा भइरहेको तीव्र आर्थिक वृद्धिको सीमा उजागर भएको छ । फर्किने क्रममा युवाहरूको हूलले अन्ततः एउटा त्रासदीपूर्ण दुर्घटनाको पनि सामना गर्नुपर्यो । रेलको छतमा यात्रा गरिरहेका १८ जना युवाको मृत्यु भयो । क्षमताभन्दा बढी यात्रु रहेको रेल एउटा पुलमा दुर्घटनाग्रस्त भएको थियो ।  

बरेलीको यो घटनाले भारतीय अर्थतन्त्र, सामाजिक परिवर्तन र त्यहाँको गरीबीबारे गहिरो सन्देश दिएको छ । 'अझै पनि बेरोजगारीको समस्या स्पष्ट देखापरिसकेको छैन् । तर, भारतमा बेरोजगारी सुसुप्त अवस्थामा रहेको बमजस्तै हो । यो जुनसुकै बेला पनि पड्किन  सक्छ,’  हैदराबाद विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक जे मनोहर रावले भने । झण्डै २० प्रतिशतको चर्को दरले बढेको खाद्यान्नको महँगी, काम गर्ने उमेरका युवाहरूको सङ्ख्यामा भइरहेको तीव्र वृद्धि र आम रोजगार दिने उद्योगहरूको सुस्त विकासले जटिल अवस्था सृजना गरेका रावले बताए । 'तपाइंहरूले रोजगार मेलामा युवाहरूको जुन भीड अहिले देखिरहनुभएको छ, उनीहरू पहिलेको जस्तो अशिक्षित गाउँलेहरू हैनन् । उनीहरू अर्धशिक्षित छन् र उनीहरूमा आफू शिक्षित भएको गर्व छ । त्यसैले उनीहरू अब खेतमा काम गर्न चाहँदैनन् ।’ रावले भने । युवाहरूको बढ्दो अपेक्षालाई रोजगार बजारले पूरा गर्न नसक्दा बेरोजगारीको समस्या सुसुप्त अवस्थाको बमजस्तै खतरनाक रहेको रावको मूल्याङ्कन छ ।त्यसैगरी सूचनाप्रविधि र उच्चस्तरीय म्यानुफ्याक्चरिङ उत्पादनले अहिलेको अर्थिक समृद्धि गराइरहेको इण्डियन काउन्सिल अफ सोसल साइन्स रिर्सचका जाविद अलामले बताए । तर, लाखौं कृषि बेरोजगारलाई काम दिन सक्ने बृहद्स्तरको औद्योगिक विकास भारतलाई आवश्यक रहेको उनको विचार छ । 'आर्थिक समृद्धि निःसन्देह हासिल भएको छ । तर, यो समृद्धि पूँजीमा आधारित छ । हामीलाई श्रममा आधारित उद्योगको बढी आवश्यकता छ,’ आलमले भने । एएफपी/रासस

शेयर बजार ओर्लिंदा बङ्गलादेशमा पुनः प्रदर्शन

माघ २३, ढाका (बङ्गलादेश) । बङ्गलादेशको राजधानी ढाकामा क्रुद्ध लगानीकर्ताहरूले आइतवार फेरि प्रदर्शन गरेका छन् । ढाकाको शेयरबजार फेरि नाटकीय रूपले तल झरेपछि त्यस्तो प्रदर्शन भएको हो । गत महीना शृङ्खलाबद्ध रूपमा शेयरबजार तल ओर्लेपछि पटकपटक बजार बन्द गरिएको थियो । आइतवार ढाका स्टक एक्सचेञ्जको परिसूचकमा ५ दशमलव ७ प्रतिशतले कमी आएको छ । त्यसअघि बिहीवार पनि २ दशमलव ५ प्रतिशतले बजार तल झरेको थियो ढाका स्टक एक्सचेञ्जको भवन अगाडि सयौं असन्तुष्ट लगानीकर्ताहरूले प्रदर्शन गर्नुका साथै नारा लगाएका थिए । प्रदर्शनका क्रममा राजधानीको उक्त व्यापारिक क्षेत्रमा ट्राफिक जाम भएको प्रत्यक्षदर्शीले बताएका छन् । 'मैले आफ्नो सबै बचत शेयर बजारमा लगानी गरेको थिएँ । तर, अहिले मेरो सबै थोक गुमेको छ । अब म कङ्गाल भएको छु,’ एक साना लगानीकर्ताले रुँदै भने ।  

शेयरको मूल्य २०१० मा दोब्बर हुन पुगेको थियो । त्यसबाट थुप्रै नयाँ लगानीकर्ता शेयर बजारमा आकषिर्त भएका थिए । तर, बजार नियामक तथा केन्द्रीय बैङ्कले बजारलाई सेलाउने प्रक्रिया चालेपछि ती लगानीकर्ता निरुत्साहित भएका छन्, जसका कारण बारम्बार सडक प्रदर्शन हुने गरेको छ । बजारप्रतिको विश्वास घट्दै गइरहेका त्रस्त लगानीकर्ताले धमाधम आफ्ना शेयर बेचिरहेका एक स्टक ब्रोकरले बताएका छन् । यस्तो अवस्थामा पनि बैङ्क र सम्बन्धित संस्थाहरू निष्क्रिय देखिएका उनको आरोप छ । ढाका स्टक एक्सचेञ्जको परिसूचकमा गएको डिसेम्बर ५ देखि २४ प्रतिशतले कमी आइसकेको छ ।  रोयटर्स