शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिकी क्रेडिट रेटिङ घटेपछि विश्व शेयरबजार ओर्लियो

साउन २२, लण्डन (बेलायत) । अमेरिकी क्रेडिट रेटिङ खस्किएपछिको चिन्ताका कारण विश्वभरिका शेयरबजार सोमवार पनि ओर्लिएका छन् । गत हप्ता पनि शेयरबजारहरूले सन् २००८ मा अमेरिकी लगानी बैङ्क लेहम्यान ब्रदर्स  धराशयी भएपछिकै खराब प्रदर्शन गरेका थिए । गत हप्ता विश्व शेयरबजारमा झण्डै २ दशमलव ५ ट्रिलियन डलरको शेयरबजार बेचिएका थिए ।यूरोपमा बेलायतको एफटीर्एसइ १०० परिसूचक १ दशमलव ७ प्रतिशतले ओर्लेर ५ हजार १ सय ५७, फ्रान्सको सीएसी-४० मा १ दशमलव ६ प्रतिशतले ओर्लेर ३ हजार २ सय २७ र जर्मनीको डीएएक्स २ दशमलव ३ प्रतिशतले ओर्लेर ६ हजार ९१ मा रहेको छ ।

अमेरिकामा डाओ फयुचस १ दशमलव ८ प्रतिशतले ओर्लेर ११ हजार १ सय ९६ र स्ट्याण्डर्ड एण्ड पुअर्स ५०० फयुचस २ दशमलव १ प्रतिशतले ओर्लेर १ हजार १ सय ७३ मा रहेको छ ।  त्यसैगरी एशियामा जापानको निक्केइ २ सय २५ स्टक एभरेज २ दशमलव २ प्रतिशतले ओर्लेर ९ हजार ९७ दशमलव ५६, हङकङको हाङ सेङमा पनि २ दशमलव २ प्रतिशतले नै ओर्लेर २० हजार ४ सय ९० दशमलव ५० रहेको छ । त्यसैगरी, दक्षिण कोरियाको कोस्पी र चीनको साङ्र्घाईस्थित प्रमुख शेयरबजार पनि ३ दशमलव ८ प्रतिशतले ओर्लेका छन् ।मुद्रा बजारमा यूरो शून्य दशमलव ३ प्रतिशतले ओर्लेर प्रतियूरो बराबर १ दशमलव ४२६५ रहेको छ भने येनको तुलनामा डलर शून्य दशमलव ६ प्रतिशतले ओर्लेर प्रतिडलर बराबर ७७ दशमलव ८० येन रहेको छ । त्यसैगरी, विश्व अर्थतन्त्रबारेको चिन्ताले कच्चा तेलको  बजारलाई पनि प्रभावित गरेको छ । न्यूयोर्क बजारमा कच्चा तेलको मूल्य २ दशमलव ९९ प्रतिशतले ओर्लेर प्रतिब्यारेल ८३ दशमलव ९१ डलरमा रहेको छ ।          एपी/रासस    

बफेटको खरीद प्रस्तावले शेयरमूल्य बढयो

साउन २३, न्यूयोर्क (अमेरिका) । अमेरिकी अर्बपति वारेन बफेटको कम्पनी बर्कशायर हाथवेले पुनर्बीमा कम्पनी ट्रान्सएटलाण्टिक होल्डिङ्स खरीद गर्न ३ दशमलव २४ अर्ब अमेरिकी डलरको प्रस्ताव गरेको छ । बर्कशायर हाथवेको एक एसुरेन्स एकाइ नेशनल इण्डेम्निटी कम्पनीले ट्रान्सएटलाण्टिक होल्डिङ्स खरीद गर्न खोजिरहेका अन्य दुई प्रतिस्पर्धीभन्दा बढी मूल्य प्रस्ताव गरेको हो ।

ट्रान्सएटलाण्टिकको आइतवार बसेको बोर्ड बैठकले बफेटको उक्त प्रस्तावलाई ध्यानपूर्वक मूल्याङ्कन गर्ने बताएको छ । वर्कशायर हाथवेको उक्त प्रस्तावमा ट्रान्सएटलाण्टिकको प्रतिशेयर मूल्य ५२ अमेरिकी डलरमा खरीद गर्ने उल्लेख छ । हाथवेले ट्रान्सएटलाण्टिकलाई सोमवारसम्म आफ्नो प्रस्तावको उत्तर पठाउन समय दिएको थियो । बर्कशायर हाथवेको उक्त प्रस्ताव कम्पनीले दास्रो त्रैमासमा ४७ दशमलव ८९ अर्ब डलर कुल मुनाफा आर्जन गरेको प्रतिवेदन गत शुक्रवार सार्वजनिक गरेपछि आएको हो । ट्रान्सएटलाण्टिक होल्डिङ्सले बीमा कम्पनी एलाइड वर्ल्ड एसुरेन्स होल्डिङ्ससँग २ दशमलव ७५ अर्ब डलरको विक्री सम्झौता गरिसकेको छ । हाथवेको उक्त प्रस्तावपछि एलाइड वर्ल्ड एसुरेन्स होल्डिङ्सले आइतवार नै एक विज्ञप्ति प्रकाशित गर्दै ट्रान्सएटलाण्टिकसँगको आफ्नो संयोजन आर्थिक रूपमा उत्तम भएको बताएको छ । साथै, त्यसबाट कम्पनीका आम शेयरधनीको हित संरक्षण हुने विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी खरीद दौडमा सामेल भएको अर्को बीमा कम्पनी भ्यालिडस होल्डिङ्सले पनि ट्रान्सएटलाण्टिकलाई २ दशमलव ८९ अर्ब डलरमा खरीद गर्ने प्रस्ताव अघि सारेको छ । आइतवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै भ्यालिडसले आफ्नो प्रस्तावबारे छलफल शुरू गर्न ट्रान्सएटलाण्टिक बोर्डलाई आह्वान गरेको छ । बफेटको प्रस्तावपछि ट्रान्सएटलाण्टिकको शेयरमूल्यमा ८ प्रतिशतले  बृद्धि भएको छ ।              एजेन्सी

एयरएशियाको मलेसिया एयरलाइन्स चलाउने इच्छा

साउन २३ । एयरएशियाले मलेसिया एयरलाइन्सको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिन चाहेको सम्बद्ध एक स्रोतले बताएको छ । एयरएशिया तीव्र वृद्धि गरिरहेको सुलभ दरको विमानसेवा हो भने मलेसिया एयरलाइन्स मलेसियाको राष्ट्रिय ध्वजाबाहक हो । दुई विमानसेवाबीच कसरी साझेदारी गर्ने भन्ने विषयमा वार्ता भइरहेको छ । वार्ताक्रममा मलेसिया एयरलाइन्सको २० प्रतिशत हिस्सा एयरएसियाले पाउन सक्ने समाचार आएपछि दुवै विमानसेवाको शेयर कारोबार बन्द गरिएको थियो ।तर, व्यवस्थापनमा आफ्नो नियन्त्रण रहनु सम्झौताको एक प्रमुख अङ्ग भएको एयर एशियाको तर्क छ । एयरएशियासँगको साझेदारीले संघर्षरत मलेसिया एयरलाइन्सको अवस्था सुधार हुने अपेक्षा गरिएको नाम बताउने शर्तमा एक अधिकारीले बताए ।

एयरएशियाका सञ्चालक मलेसियाली धनाढ्य टोनी फर्नाण्डिज हुन् । फर्नाण्डिजले एक दशकअघि मलेसिया सरकारअन्तर्गतको एयरएशिया खरीद गरेका थिए । त्यसपछि उनले उक्त विमानसेवालाई हवाई उद्योगकै सफल विमानसेवा बनाउन सफल भएका छन् । दुई विमानसेवाबीचको साझेदारीले दुवै विमानसेवालाई फाइदा हुने भन्दै विश्लेषकहरूले योजनाको स्वागत गरेका छन् ।  एएफपी/रासस

ईसीबीको बण्ड खरीद योजनाले इटाली र स्पेनको ऋण खर्च ओर्लियो

साउन २२, ब्रसेल्स (बेल्जियम) । यूरोपियन सेण्ट्रल बैङ्क (इसीबी)ले अर्बौं यूरो बराबरको स्पेनिस र इटालियन बण्ड खरीद गर्ने बताएपछि ती दुवै देशको ऋण खर्च सोमवार तल झरेको छ । तर, बैङ्कको त्यस्तो कदमले उसको वासलातमा निकै ठूलो जोखिम उत्पन्न हुनेछ । बैङ्क महँगी नियन्त्रण गर्ने उसको परम्परागत भूमिका बाहिर जान लामो समयदेखि अनिच्छुक रहँदै आएको थियो । ईसीबीले बण्ड खरीदतर्फहात हालेपछि यूरोपको २१ महीना लामो वित्तीय सङ्कटको प्रारम्भिक जिम्मेवारी बैङ्कमाथि पर्ने देखिएको छ ।

हालसम्मईसीबीले सङ्कट समाधानका लागि प्रत्यक्ष भूमिका निर्वाह गर्न अनिच्छुक रहँदै आएको थियो । त्यसको साटो उसले सम्बन्धित देशका राजनीतिकर्मीलाई नै आफ्नो देशको वित्तीय अवस्थामा नियन्त्रण गर्नुका साथै आफ्नै किसिमको सङ्कट व्यवस्थापन प्रणाली निर्माण गर्न प्रेरित गर्दै आएको थियो । इटाली र स्पेनको ठूलो ऋणप्रति लगानीकर्ताको चिन्ताका साथै सुस्त आर्थिक वृद्धिले पछिल्लो ऋणमोचन कार्यक्रममा पनि ढिलाइ हुन पुगेको थियो । आइतवार भने ईसीबीले यसअघिसम्म इटाली र स्पेनका लागि प्रयोग नगरिएका सङ्कट समाधान संयन्त्र अन्तर्गत बण्ड खरिद कार्यक्रमलाई सक्रियतापूर्वक लागू गर्ने बताएको छ । एपी/रासस

जी-२० द्वारा स्थिरताका लागि संयुक्त कदमको प्रतिबद्धता

साउन २३ । जी-२० समूहका प्रमुख औद्योगिक र विकासशील देशहरूले उनीहरू वित्तीय बजारको स्थिरता र आर्थिक वृद्धि जोगाउन मिलेर काम गर्न तयार रहेको बताएका छन् ।स्ट्याण्डर्ड एण्ड पुअर्सले अमेरिकाको क्रेडिट रेटिङ झारेपछि एशियाली शेयरबजारसमेत तीव्र ओरालो लागेको छ । त्यसअघि यूरोजोनको ऋण समस्या गहिरिँदै गएकाले शुक्रवार पनि ठूलो मात्रामा शेयर विक्री गरिएका थिए । त्यसैले दक्षिण कोरियाद्वारा जारी संयुक्त विज्ञप्तिमा जी-२० को प्रतिबद्धता आएको हो । प्रतिबद्धतामा जी-२० का अर्थमन्त्रीहरू र केन्द्रीय बैङ्क गभर्नरहरूले वित्तीय स्थिरता र सुदृढ आर्थिक वृद्धिका लागि आवश्यक समन्वयात्मक कदम चाल्ने वाचा गरेका छन् ।

त्यसका लागि आगामी दिनहरूमा नजिकको सम्बन्ध राख्दै वित्तीय स्थिरता र वित्तीय बजारको तरलता सुनिश्चित गर्न आफूहरू तयार रहेको उनीहरूको प्रण छ । सोमवार नै सात ठूला अर्थतन्त्रको समूह जी-७ ले पनि स्थिरताप्रति प्रतिबद्धता व्यक्त गरेको थियो भने यूरोपेली केन्द्रीय बैङ्कले पनि 'सक्रियतापूर्वक’ यूरोजोनको बण्ड खरीद गर्ने बताएको थियो ।       एएफपी/रासस

अमेरिकी अर्थमन्त्री गाइट्नरले राजीनामा नदिने


साउन २३, वाशिङटन (अमेरिका) । अमेरिकी कङ्ग्रेसबाट ऋणसीमाको प्रस्ताव पारित भएपछि राजीनामा दिने बताइएका अमेरिकी अर्थमन्त्री टिमोथी गाइट्नर पदमा कायमै रहने भएका छन् । टेलिभिजन च्यानल सीएनबीसीसँग आइतवार कुरा गर्दै गाइट्नरले राष्ट्रपति बाराक ओबामाको आग्रहमा राजीनामा दिने विचार त्यागेको उल्लेख गरेका छन् । सीएनबीसीसँगको अन्तरवार्तामा उनले आफूले गरिरहेकको कामप्रति लगाव भएको र राष्ट्रपतिको आग्रह अस्वीकार गर्न नसकेको बताएका छन् । अमेरिकामा हाल बेरोजगारी दर ९ प्रतिशतभन्दा माथि रहेको र आर्थिक सङ्कट हटाउन अझै धेरै गर्नुपर्नेमा उनले जोड दिए ।

ऋणसीमा प्रस्ताव पारित भएपछि राजीनामा गर्ने बताइएका गाइट्नरलाई सङ्कटको समयमा पद नछाड्न राष्ट्रपति बाराक ओबामा र व्हाइट हाउसका 'चिफ अफ स्टाफ' विलयिम डेलीले आग्रह गरेको बताइएको छ । राष्ट्रपति ओबामा र चिफ अफ स्टाफ डेलीले क्रेडिट रेटिङ एजेन्सी स्ट्याण्डर्ड एण्ड पुअर (एस एण्ड पी)को गत शुक्रवारको कदमपछि स्थिति अझ जटिल भएकाले परिस्थितिको सामना गर्दै सरकारलाई बलियो बनाउन आग्रह गरेको बुझिएको छ । ⋲वाइट हाउसका प्रवक्ता जे कार्नेले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति ओबामाले गाइट्नरको निर्णयको स्वागत गरेको बताएका छन् । सन् २००९ मा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका गाइट्नर राष्ट्रपति ओबामाको आर्थिक सल्लाहकार समूहका एकमात्र पुराना सदस्य हुन् ।
    एजेन्सी

कुवेती 'मेगापोर्ट'को निर्माण नरोकिने

साउन २३, कुवेत सिटी (कुवेत) । मध्यपूर्वी राष्ट्र कुवेतले इराकी व्रि्रोहीहरूले धम्की दिइरहे पनि इराक र कुवेतको सिमानामा ठूलो बन्दरगाह (मेगापोर्ट) निर्माण सम्पन्न गरिछाड्ने बताएको छ । कुवेती विदेश मन्त्रालयका उप सचिव खालेद अल(जरल्लाहले आइतवार विदेशी प्रत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।उनले पत्रकारहरूसँगको भेटवार्तामा इराकी व्रि्रोहीहरूको धम्कीबाट आफूहरू नडराउने र निर्धारित समयमै बन्दरगाह निर्माणको काम सम्पन्न गर्ने विश्वास व्यक्त गरेका थिए । कुवेत र इराकको सिमानामा निर्माण हुँदै गरेको 'द मुबारक प्रोजेक्ट' नाम दिइएको उक्त विवादास्पद परियोजना रोक्न इराकी सिया विद्रोही समूह केताएब हेजबोल्लाहले दिएको धम्कीपछि कुवेती अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन् । आइतवार नै कुवेती सञ्चारमाध्यमहरूले उक्त समूहले बन्दरगाहको निर्माण नरोकिए आक्रमण गर्ने धम्की दिएको समाचार प्रसारण गरेका थिए । जरल्लाहले त्यस्ता धम्की दुर्भाग्यपूर्ण भएको र इराकले धम्की दिने समूहलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । इराकमा कार्यरत अमेरिकी सैनिकमाथि घातक हमला गरेको दाबी गर्ने इरान समर्थित उक्त विद्रोही समूहले बन्दरगाह निर्माणको ठेकेदार एक दक्षिण कोरियाली कम्पनीलाई पनि काम रोक्न चेतावनी दिएको थियो ।

सन् २००७ मा निर्माण कार्य शुरू गरिएको उक्त बन्दरगाहको विषयलाई लिएर कुवेत र इराकबीच विवाद रहँदै आएको छ । इराकीहरू बन्दरगाहको निर्माणपछि आफ्नो सामुद्रिक मार्ग साँघुरिने भन्दै असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन् । इराकी प्रधानमन्त्री नुरी अल-मलिकीले आफूहरूले उक्त परियोजनाका बारेमा तेस्रो पक्षबाट मात्र थाहा पाएको र कुवेतले आधिकारिक जानकारी गराउनुपर्ने बताएका थिए ।कुवेती अघिकारी जरल्लाहले भने उक्त परियोजनाबाट इराकको सामुद्रिक मार्गमा कुनै नकारात्मक असर नपर्ने बरु यसबाट दुवै देशले प्रचुर आर्थिक लाभ लिन सक्ने बताएका छन् । इराक-कुवेत सीमा नजिकैको बुबियान द्विपमा अर्बौं डलरको खर्चमा निर्माणाधीन उक्त बन्दरगाहको निर्माण सन् २०१६ मा सम्पन्न हुने बताइएको छ ।            एएफपी/रासस

एडम स्कटको पहिलो विश्व उपाधि

साउन २३, ओहायो (अमेरिका) । अष्ट्रेलियाली प्रोफेशनल गोल्फर एडम स्कटले आफ्नो पहिलो विश्व उपाधि जितेका छन् । अमेरिकाको ओहायोस्थित एक्रोनमा भएको ब्रिजस्टोन इन्भिटेशनलको आइतवार भएको खेलमा स्कटले शानदार प्रदर्शन गर्दै उपाधि चुमेका हुन् ।स्कटले १७ अण्डर २ सय ६३ स्कोर बनाएका थिए । यो स्कटको १८औं अन्तरराष्ट्रिय जित हो । यो विजयपछि उनी विश्व गोल्फ वरीयतामा १०औं स्थानमा उक्लेका छन् । उक्त प्रतियोगितामा आकर्षणको केन्द्र भने पूर्वविश्व नं १ गोल्फर टाइगर उड्सका भूतपूर्व 'क्याडी' स्टिभ विलियम्स रहे । उनी फाइनल स्पर्धामा एडम स्कटका 'क्याडी' बनेका थिए । विलियम्सलाई स्कटसँगै मैदानमा देखेपछि दर्शकहरू उत्साहित भएका थिए । स्टिभ विलियम्सलाई टाइगर उड्सले गत महीना आफ्नो क्याडीबाट हटाएका थिए ।

ब्रिजस्टोन इन्भिटेशनल प्रतियोगितामा विश्व नं १ ल्युक डोनाल्ड र अमेरिकी गोल्फर रिकी फाउलर दुवै १३ अण्डर २ सय ६७ स्कोरसहित दोस्रो स्थानमा रहेका छन् । त्यसैगरी अष्ट्रेलियाका ज्याशन डे र जापानका रियो इशिकावा दुवैजना १२ अण्डर २ सय ६८ स्कोरसहित चौथो स्थानमा रहेका छन् । सन् २०१० को यूएस च्याम्पपियनशिपका विजेता आयरल्याण्डका रोरि म्याककिल्रोय भने १० अण्डर २ सय ७० स्कोर बनाउँदै छैटौं स्थानमा सीमित भएका छन् । त्यसैगरी विश्व नं २ बेलायती गोल्फर लि वेष्टवुड ९ अण्डर २ सय ७१ स्कोर गर्दै नवौं स्थानमा रहेका छन् । पूर्वविश्व नं १ टाइगर उड्स भने अत्यन्त खराब प्रदर्शन गर्दै एक अण्डर २ सय ८१ स्कोर बनाएर ३७औं स्थानमा चित्त बुझाउन बाध्य भएका छन् । उड्सले सन् २००९ को ब्रिजस्टोन इन्भिटेशनल प्रतियोगिता जितेपछि कुनै पनि अन्तरराष्ट्रिय स्पर्धा जित्न सकेका छैनन् । उक्त प्रतियोगितामा उनले १२ अण्डर २ सय ६८ को स्कोर बनाएर प्रथम स्थान हासिल गरेका थिए ।          एपी/रासस

Admin 2011-08-09