बङ्गलादेशमा तेलको मूल्यवृद्धि
वैशाख २४, ढाका (बङ्गलादेश) । बङ्गलादेशले २००८ पछिकै पहिलोपटक तेलको मूल्यमा शुक्रवार वृद्धि गरेको छ । सरकारी तेल कम्पनीलाई दिँदै आएको अनुदानको भार घटाउन तेलको मूल्य बढाइएको हो । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य उच्च रहेकोले त्यसबाट सरकारी तेल कम्पनीको घाटा पनि चुलिएको बङ्गलादेशी अधिकारीहरूले बताएका छन् । तर, तेलको मूल्यवृद्धिसँगै पहिलेदेखि नै उच्च रहेको महँगी झनै बढ्ने सम्भावना छ ।नयाँ मूल्यअनुसार, पेट्रोल, अक्टेन, डिजेल, मट्टीतेल र फर्नेस आयलको मूल्य पहिलेको भन्दा प्रतिलिटर २ लिटर बढी पर्नेछ, जसअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर ७६ टाका (१ डलर ४ सेण्ट) पुगेको छ । त्यसैगरी, अक्टेनको मूल्य ७९ टाका, डिजेल र मट्टीतेलको मूल्य ४६ टाका तथा फर्नेस आयलको मूल्य ४२ टाका पुगेको छ ।
बङ्गलादेश पेट्रोलियम कर्पोरेशन देशकै एक मात्र पेट्रोलियम पदार्थ आयातकर्ता तथा वितरक हो । कम्पनीले सरकारी अनुदानमार्फत डिजेल प्रटिलिटर ३३ दशमलव ४४ टाका र मट्टीतेल ३२ दशमलव ४९ टाकामा दिँदै आएको थियो । अन्तरराष्ट्रिय बजारको चर्को मूल्यवृद्धिबाट देशका जनतालाई राहत दिने प्रयास स्वरूप बङ्गलादेश सरकार तेल र खाद्यान्नमा अनुदान दिँदै आएको छ ।बङ्गलादेशमा अहिले पनि झण्डै ४० प्रतिशत जनताले प्रतिदिन १ दशमलव २५ डलरभन्दा पनि कममा निर्वाह गर्छन् । यसै वर्षको मार्चमा बङ्गलादेशको महँगी दर २००८ को जुलाईपछिकै उच्च १० दशमलव ४९ प्रतिशत पुगेको थियो । रोयटर्स
भारत र चीन विश्वका प्रमुख बजार तथा लगानी गन्तव्य
वैशाख २४, लण्डन (ब्रिटेन) । प्रमुख अन्तरराष्ट्रिय कम्पनीहरूको रोजाइमा भारत र चीन सबैभन्दा महत्त्वपूर्ण बजारका रूपमा देखिएका छन् । अर्न्ष्र्ट एण्ड यङले गरेको सर्वेक्षण अनुसार, उच्च प्रदर्शनकारी अन्तरराष्ट्रिय कम्पनीमध्ये ४७ प्रतिशतले भारतलाई र ४४ प्रतिशतले चीनलाई महत्त्वपूर्ण बजारका रूपमा रोजेका छन् । ती कम्पनीका प्रमुख कार्यालय विश्वमा जहाँसुकै भए तापनि तिनले भारत र चीनलाई नै प्रमुख बजारका रूपमा
रोजेका थिए ।उच्च प्रदशर्नकारी र अलि कमै सफल मध्येका भने ३४ प्रतिशतले भारतलाई र ३३ प्रतिशतले चीनलाई प्रमुख बजारका रूपमा रोजेका छन् । उदीयमान अर्थतन्त्रको समूह व्रिकका सदस्यमध्ये अन्य भने भारत र चीनभन्दा निकै तल छन्, जसअनुसार प्रमुख बजारका रूपमा ब्राजिलले १९ प्रतिशत र रुसले १४ प्रतिशत मत पाएको छ ।
अर्न्ष्र्ट एण्ड यङका लागि इकोनोमिष्ट इण्टेलिजेन्स युनिर्ट (ईआईयू)ले प्रमुख अन्तरराष्ट्रिय कम्पनीहरूका ४ सय उच्चतहका कार्यकारीको अन्तरवार्ता लिएको थियो । कम्पनीहरूलाई उच्च प्रदर्शनकारी र कमै सफल गरी दुई भागमा बाँडिएको थियो । उच्च प्रदर्शनकारी कम्पनीमध्ये आधाजसोले देशको आर्थिक वृद्धि पूर्वानुमानलाई नै विक्री र लगानी रणनीतिको आधार बनाएको पाइएको छ । त्यसैगरी ४० प्रतिशतले भने जानसाङ्ख्यिक बनोटलाई आफ्नो रणनीतिको आधार बनाएका थिए ।अध्ययनका अनुसार, उत्पादनको बजारका लागि सबै कम्पनीमध्ये ३० प्रतिशतले चीनलाई र २८ प्रतिशतले भने भारतलाई उत्पादनको प्रमुख बजार मानेका छन् । ब्राजिल र मेक्सिकोले भने १२ प्रतिशत पाएका छन् । तर, उच्च प्रदर्शनकारी कम्पनीमध्ये ४३ प्रतिशतले भारत र ४१ प्रतिशतले चीनलाई उत्पादनको प्रमुख बजार मानेका छन् ।उच्च प्रदर्शनकारी यूरोपेली कम्पनीमध्ये ४० प्रतिशत तथा एशियाली कम्पनीमध्ये दुई तिहाइले भारतलाई प्रमुख लगानी गन्तव्य मानेका छन् । उत्तर अमेरिकाका उच्च प्रदर्शनकारी कम्पनीमध्ये ४१ प्रतिशतले भने चीनलाई प्रमुख लगानी गन्तव्य मानेका छन् । रोयटर्स
तेलको मूल्य ओर्लिएकोमा ओपेकद्वारा स्वागत
वैशाख २४, लण्डन (ब्रिटेन) । तेलको मूल्य निकै तल झरेकोमा ओपेकका प्रतिनिधिहरूले स्वागत गरेका छन् । तेलको उच्च मूल्य कायमै रहँदा विश्व अर्थतन्त्रलाई नै नोक्सान पर्नुका साथै वैकल्पिक इन्धन स्रोतको खोजीमा वृद्धि हुने उनीहरूको मूल्याङ्कन छ । शुक्रवार तेलको मूल्य प्रतिब्यारेल १ सय ९ डलरभन्दा मुनि ओर्लेको थियो ।त्यसअघि बिहीवार ब्रेण्ट कच्चा तेलको मूल्य एकैचोटि प्रतिब्यारेल १२ डलरले ओर्लेको थियो । तेलको मूल्य प्रतिब्यारेल ९० देखि १ सय डलरबीच रहनु सबैभन्दा उत्तम रहने ओपेकका एक प्रतिनिधिले नाम नबताउने शर्तमा भने । एक अन्य सन्दर्भमा, भेनेज्वेलाका तेल मन्त्री राफेल रामिरेजले तेलको कोटामा कुनै परिवर्तन गरिनुनपर्ने बताए ।तेलको मूल्य अचानक ओर्लिनुमा बिल लादेनको मृत्युको खबर पनि रहेको एक प्रतिनिधिले बताए । अर्का एक प्रतिनिधिले पनि तेलको आपूर्ति र मागमा खासै कुनै परिवर्तन नआएको बताएका छन् । तेलको मूल्य माग र आपूर्तिभन्दा पनि भूधरातलीय राजनीतिले प्रभावित हुने गरेको उनको टिप्पणी छ । रोयटर्स
जलवायु कोषबारे धनी देशहरूको आनाकानी
वैशाख २४, ओस्लो (नर्वे) । धनी देशहरूले विकासशील देशहरूलाई जलवायु परिवर्तनको सामना गर्न दिइने सहायताबारे संयुक्त राष्ट्रसङ्घको समयसीमा छुट्टयाएका छन् । औद्योगिक देशमध्ये रुस र युक्रेनले मात्र राष्ट्रसङ्घको समयसीमा मे १ भित्र आफ्नो पत्र पठाएका छन् । तर, उनीहरूको पत्रमा पनि आफूहरूले त्यस्तो सहायता दिनका लागि आवश्यक नठानेको भनिएको छ । २०१० देखि २०१२ सम्मको अवधिमा झण्डै ३० अर्ब डलरको जलवायु कोष स्थापना गर्नेबारे सम्झौता भएको थियो । मेक्सिकोको कान्कुनमा भएको २ सय देशको सम्मेलनमा औद्योगिक देशले २०११ को मेसम्ममा कोष स्थापनाबारे आफ्नो विस्तृत योजना दिने प्रतिबद्धता गरेका थिए । हरित जलवायु कोष अर्थात् ग्रीन क्लाइमेट फण्डको स्थापनाका लागि त्यस्तो प्रतिबद्धता व्यक्त गरिएको थियो ।२०२० सम्ममा १ खर्ब डलर उठाउने उक्त सम्झौताको लक्ष्य रहेको छ । तर, हालसम्म त्यसबारे कुनै सकारात्मक प्रतिक्रिया नआएको हुनाले त्यस्तो सहायता कोषको स्थापना मै आशङ्का उत्पन्न भएको छ । 'विकसित देशहरूले आफूले गरेको प्रतिबद्धता पालना गर्न अझै आनाकानी गरिरहेका छन्,’ वासिङ्गटनस्थित वर्ल्ड रिसोस इन्षिटच्युटका क्लिफ्फोर्ड पोलिकार्पले भने । रोयटर्स
अमेरिकाका दानी अर्बपतिहरूको भेला
वैशाख २४, एरिजोना (अमेरिका) । अमेरिकी अर्बपतिहरूहरू फेरि पैसाबारे छलफल गर्न भेला भएका छन् । तर, यसपालि उनीहरूको उद्देश्य अलिकता भिन्न छ । उनीहरू पैसा कमाउन नभइ कमाएको पैसा कसरी समाजमा फिर्ता गर्ने भन्नेबारे छलफल गर्न भेला भएका हुन् ।त्यसमध्येका एक उत्साही अर्बपति वारेन बफेटले त्यस्तो भेला भएकोमा प्रसन्नता व्यक्त गरे । आफ्नो सम्पत्तिमध्ये कम्तीमा आधा कल्याणकारी कार्यमा खर्च गर्ने प्रण गरेको अर्बपतिहरूको लागि यस्तो भेला महत्त्वपूर्ण रहने बफेटको विचार छ । भेटघाटले पैसाको तुलना गर्नुको साथै खाने र हास्ने अवसर पनि मिलेको बफेटले ठट्टा गर्दै भने । बफेट र माइक्रोसफ्ट बिल गेट्सले आफूले कमाएको सम्पत्तिको महत्त्वपूर्ण हिस्सा समाज कल्याणमा खचिर्नुपर्ने अभियान चलाएका छन् । गत जुनदेखि ६९ जना व्यक्ति वा जोडीले दान दिन स्वीकार गरेर उक्त अभियानको चुनौती स्वीकार गरेका छन् ।
मिराभल रेसोर्टमा भेला भएका ६१ दानी व्यक्तिहरूमध्ये १२ जनालाई मात्र बफेटले चिनेका थिए । तर, पछि बर्कशायर हाथवेका प्रमुख कार्यकारीले ४० जना नयाँ मित्रलाई समूहमा ल्याएका थिए । 'उनीहरूले मेरो अपेक्षाभन्दा पनि धेरै पूरा गरेका छन्,’ बफेटले उत्साहित हुँदै भने । बिल गेट्सकी पत्नी तथा बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशकी सहअध्यक्ष मेलिण्डा गेट्सले आगन्तुकहरूको खुलापनबाट आफूलाई निकै प्रसन्नता भएको व्यक्त गरिन् ।अर्का एक दानी व्यक्तित्व जर्ज केजरले दानबाट पैसा त्यसै खेर जानुको साटो विश्वका ठुला समस्या हल गर्न मद्दत पुग्ने विचार व्यक्त गरे । बालबालिकाको शिक्षा र समाज सेवासम्बन्धी कार्यक्रममा केजरको रुचि छ । कल्याणकारी कार्यमा इच्छुक धनाढयहरूको उक्त बैठकमा उनीहरूले स्वास्थ्य र वातावरण लगायत अन्य क्षेत्रमा आफ्नो गहिरो अभिरुचि साटासाट गरेका छन् । त्यसैगरी, सामान्य मानिसहरूलाई आफ्नो आम्दानी तथा सम्पत्तिको केही हिस्सा कल्याणकारी कार्यमा खर्चिन कसरी प्रेरित गर्न सकिन्छ भन्नेबारे पनि छलफल भएको छ । न्यूजर्सी एक धनाढय चक फिनीको परिचय गराउँदै बफेटले उनलाई आफ्नो समूहको आध्यात्मिक नेता बनाए । फिनीले आफ्नो सबै सम्पत्ति दानपुण्यमा खर्चिने योजना गरेका छन् । 'फिनी आफ्नो अन्तिम चेक बाउन्स अर्थात् फिर्ता भएको हेर्न चाहन्छन्,’ बफेटले ठट्टा गर्दै भने । एपी/रासस
एयर इण्डियाका पाइलटहरूको हडताल फिर्ता
वैशाख २४, नयाँ दिल्ली (भारत) । भारतको ध्वजावाहक एयर इण्डियाका पाइलटहरूले १० दिने हडताल फिर्ता लिएका छन् । व्यापारिक उडानका पाइलटहरूको संस्था इण्डियन कमर्शियल पाइलट एशोसिएशनका ८ सयमध्ये ६ सय ६० पाइलटले हडताल गरेका थिए । त्यसबाट उक्त विमानसेवाको आन्तरिक उडान अस्तव्यस्त हुनुका साथै करोडौं डलरको आम्दानी गुमेको भनिएको छ ।आन्तरिक उडानसेवा इण्डियन एयरलाइन्स र अन्तरराष्ट्रिय विमानसेवा एयर इण्डियाबीच २००७ मा गरिएको विलयनपछि नै विवाद उत्पन्न भएको थियो । पहिला इण्डियन एयलाइन्समा कार्यरत पाइलटहरूले विलयनपछि आफूहरूले पनि अन्तरराष्ट्रिय रूटका पाइलटसरह नै तलब पाउनुपर्ने माग गर्दै आएका छन् । हडताल क्रममा बर्खास्त वा खारेजीमा परेका सबै पाइलट आफ्नो पदमा बहाल हुने सहमति भएको छ । त्यसका साथै सरकारले आफ्ना मागमा विचार गर्ने आश्वासन दिएको एशोसिएशनका प्रेजिडेण्ट ए एस भिण्डरले बताए ।
विमान सेवामा रहेको भ्रष्टाचार र असक्षमताबारे पनि छानबिन गर्न पाइलटहरूले माग गरेका छन् । गतवर्ष मात्रै विमान सेवालाई १ अर्ब ५० करोड डलरभन्दा बढीको घाटा भएको थियो । नागरिक उड्ययन मन्त्रीले एयर इण्डियाको नाफामूलक रूट अन्य नीजि कम्पनीहरूलाई दिएको पाइलटहरूले आरोप लगाउँदै आएका छन् । हालको हडतालबाट लगभग ४ करोड ४० लाख डलरको नोक्सान भएको बताइएको छ । त्यसपछि एयर इण्डियालाई निजीकरण गरिनुपर्ने माग सञ्चारमाध्यममा गरिएको छ । एएफपी/रासस
Admin 2011-05-08