सङ्कटग्रस्त देशहरूलाई आर्थिक सहयोग आवश्यक : आईएमएफ
भदौ २४, वाशिङटन (अमेरिका) । विश्वव्यापी आर्थिक सङ्कट गहिरिँदै जाँदा आगामी दिनमा आर्थिक सङ्कटग्रस्त राष्ट्रहरूलाई प्रदान गरिने सहयोगमा वृद्धि हुने अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)को एक प्रतिवेदनले देखाएको छ । रोयर्टस समाचार संस्थाले प्राप्त गरेको 'आईएमएफ'को एक आन्तरिक प्रतिवेदनमा विश्वका थप राष्ट्रहरू आर्थिक सङ्कटको चपेटामा पर्ने सम्भावना बढ्दै गएकाले 'आईएमएफ'ले प्रदान गर्ने ऋणमा वृद्धि हुने बताइएको छ । प्रतिवेदनमा आर्थिक सङ्कट फैलिने सम्भावना सन् २०११ को जुन महीनायता एक चौथाइले बढेको उल्लेख छ । अहिले 'आईएमएफ'ले आफ्नो वासलात (ब्यालेन्स शिट)मा असर नपर्ने गरी ३ सय ९० अर्ब अमेरिकी डलर ऋण प्रदान गर्न सक्ने अवस्था रहेको उक्त प्रतिवेदनमा बताइएको छ ।
तर, आगामी महीनाहरूमा भने आर्थिक सङ्कटग्रस्त राष्ट्रहरूलाई प्रदान गरिने ऋण ८ सय ४० अर्ब डलर पुग्न सक्ने खतराजन्य अवस्था निर्माण भइरहेको 'आईएमएफ' प्रतिवेदनमा उल्लेख छ । सन् २०११ जुनमा 'आईएमएफ'ले ६ सय ४० अर्ब अमेरिकी डलरसम्म ऋण बढाउनुपर्ने हुन सक्ने बताएको थियो । आफ्नो ऋण दिने क्षमतामा वृद्धि नगरिए विश्वका बजारहरू थप अस्थिर हुन सक्ने चेतावनी प्रतिवेदनले दिएको छ । प्रतिवेदनमा यूरोपमा बढ्दै गएको ऋणसङ्कटले विश्वको वित्तीय स्थिरता खतरामा पर्दै गएको उल्लेख छ । ग्रीस र पोर्चुगलपछि इटाली र स्पेन ऋणसङ्कटको सन्नकिट पुगेका र ठोस कदम नउठाइए यो क्रम छिट्टै अन्य देशमा पनि फैलन सक्ने प्रतिवेदनले देखाएको छ । आर्थिक सङ्कटमा फँसेका राष्ट्रहरूलाई सहयोग गर्न निर्माण गरिएको 'आईएमएफ क्राइसिस फण्ड' आगामी ६ महीनाका लागि बढाइनुपर्ने सुझाव पनि प्रतिवेदनले दिएको छ । रोयटर्स
'क्राइजलर' विक्रीको लक्ष्य पूरा हुनेमा 'फिएट' सीईओ विश्वस्त
भदौ २४, अल्बर्टा (अमेरिका) । इटालियन कार निर्माता 'फिएट'का कार्यकारी प्रमुखले उत्तरी अमेरिकाको आर्थिक अवस्था राम्रो नभए पनि 'क्राइजलर' गाडी विक्रीको लक्ष्य पूरा हुने बताएका छन् । कार्यकारी प्रमुख सर्जिओ मार्चिओनेले शुक्रवार 'क्राइजरल' गाडीहरूको २० लाखको विक्री लक्ष्य र त्यसबाट २ अर्ब अमेरिकी डलरको नाफा लक्ष्य पूरा हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे । मार्चिओनेले क्यानडाको अल्बर्टा प्रान्तस्थित क्यालगारी शहरमा रहेको कम्पनीको कारखाना भ्रमणपश्चात् व्यापारीहरूको एक समूहसँग बोल्दै यस्तो बताएका हुन् । आफ्नो देशमा उत्पादन वृद्धि गर्न कमजोर डलरलाई आत्मसात् गर्न पनि उनले अमेरिकीहरूलाई सुझाव दिएका थिए ।
अमेरिकी डलरको मूल्यमा आएको कमीले अमेरिकी उत्पादनहरू अन्तरराष्ट्रिय बजारमा केही महीना अघिभन्दा बढी प्रतिस्पर्धी हुँदै गएको उनको धारणा थियो । क्यानडामा पनि 'क्राइजलर' उत्पादनको कार्यसञ्चालन अमेरिकामै जस्तो राम्रो रहेको टिप्पणी मार्चिओनेको थियो । अमेरिकी डलरभन्दा क्यानडेली डलरको मूल्यमा वृद्धि भएपछि उत्पादनकर्ताहरू अन्तरराष्ट्रिय बजारमा क्यानडाका उत्पादनको मागमा चिन्तित देखिएका छन् । सन् २००९ मा आर्थिक मन्दीका कारण अमेरिकी सरकारले आफ्नो स्वामित्वमा लिएको मोटर निर्माता 'क्राइजलर'को ५२ प्रतिशत शेयर सन् २०११ जुनमा 'फिएट'ले खरीद गरेको थियो । एपी/रासस
अगष्टमा चीनको व्यापार नाफा घटयो
भदौ २४, बेइजिङ (चीन) । सन् २०११ अगष्टमा चीनको व्यापार नाफा घटेको छ । चीनको राजस्व प्रशासन कार्यालयले शनिवार जारी गरेको विज्ञप्तिमा अगष्ट महीनामा निर्यात बढे पनि आयातमा वृद्धि हुनु व्यापार नाफा घट्नुको मुख्य कारण भएको बताइएको छ । यो अवधिमा चीनको निर्यात २४ दशमलव ५ प्रतिशतले बढेको कार्यालयको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार अगष्टमा चीनले १ ७३ दशमलव ३ अर्ब अमेरिकी डलरबराबरको निर्यात गरेको थियो । सन् २०११ को जुनमा निर्यात २० दशमलव ४ प्रतिशत रहेको थियो । त्यसैगरी आयात अघिल्लो वर्षको यही अवधिभन्दा ३० दशमलव २ प्रतिशतले वृद्धि भएको छ । केहीअघि गरिएको पूर्वानुमानमा चीनको आयात अगष्टमा २१ दशमलव ५ प्रतिशत रहने अपेक्षा गरिएको थियो । अगष्टमा चीनको आयात १५५ दशमलव ५ अर्ब डलर रहेको कार्यालयद्वारा जारी विज्ञप्तिमा बताइएको छ । आयात र निर्यातबीचको यही असन्तुलनका कारण व्यापार नाफा सन् २०११ अगष्टमा जुलाई महीनामा भन्दा ४३ प्रतिशतले कम भएको छ ।
अगष्टमा चीनको व्यापार नाफा १७ दशमलव ८ अर्ब डलर रहेको र यो विगत ६ महीनायताकै सबैभन्दा कम भएको राजस्व प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ । विश्लेषकहरूका अनुसार अमेरिका र यूरोपमा ऋणसङ्कट जारी रहँदा चिनियाँ उत्पादनको मागमा आएको कमीले व्यापार नाफा साँघुरिएको हो । हङकङस्थित मिजुहो सेक्युरिटिजका अर्थशास्त्री शेन जिआनगुआङले अमेरिकी र यूरोपेली मागहरूमा चीनको निर्यात निर्भर रहेको बताए । सन् २०११ को चौथो त्रैमाससम्म चीनको निर्यात १० प्रतिशतभन्दा मुनि रहन सक्ने आशङ्का उनको थियो । सन् २०११ को जनवरीमा ३७ दशमलव ७ प्रतिशत रहेको चीनको निर्यात विश्व आर्थिक परिदृश्यमा देखिएको अनिश्चितताका कारण लगातर घट्दै गइरहेको छ । एजेन्सी
जी-७ को समर्थन पाएको जापानी दाबी
भदौ २४, मासेइली (फ्रान्स) । जी-७ का अर्थमन्त्रीहरूको बैठकमा यूरोपेली ऋणसङ्कट र विश्वव्यापी आर्थिक सुस्तीले बढी महत्व पायो । सो बैठकमा आफूले मुद्रा बजारमा गरेको हस्तक्षेपको कमै विरोध भएको जापानले बताएको छ । जापानले आफ्नो मुद्रा येनलाई बलियो गराउने सट्टेबाजीविरुद्ध चालेको एकपक्षीय कदममा जी-७ का अन्य सदस्य राष्ट्रबाट समर्थन खोजेको थियो । जी-७ समूहका आर्थिक शक्तिहरूले खासै विरोध नगरेकाले त्यसलाई आफूले मुद्रा बजारमा फेरि हुन सक्ने हस्तक्षेपप्रति समर्थनका रूपमा लिन सक्ने जापानको जिकीर छ ।
'हामीले अगष्टमा हस्तक्षेप गरेका थियौं र आगामी अवस्थालाई नजिकैबाट लचिलो भई हेर्ने तथा सट्टेबाजी क्रियाकलापविरुद्ध निर्णायक कदम चाल्ने कुरा जी-७ लाई जानकारी गरायौं,’ जापानका अर्थमन्त्री जुन आजुमीले भने । त्यसैगरी, आफूहरूको भनाइलाई कुनै पनि देशले विरोध नगरेकाले त्यसलाई मुद्राबारे आफूहरूको विचारप्रति समझदारीका रूपमा लिएको आजुमीको भनाइ छ । बैठकको पूर्वसन्ध्यामा जापानी अधिकारीहरूले येनको बढ्दो मूल्यको प्रतिरोध गर्ने कदममा जी-७ को समर्थन खोज्ने बताएका थिए ।
मार्चको भूकम्प र सुनामीबाट उत्पन्न मन्दीबाट पुन: बहालीका लागि विश्वकै तेस्रो ठूलो अर्थतन्त्र जापान संघर्षरत छ । जापानले विगत १ वर्षभित्र तीनपटक मुद्रा बजारमा हस्तक्षेप गरिसकेको छ, जसमध्ये मार्च ११ को विपत्तिपछि एकपटक जी-७ सँगको सहकार्यमा गरेको थियो । दुईपटक भने जापानले एकतर्फी रूपमा नै मुद्रा बजारमा हस्तक्षेप गरिसकेको छ । अत्यधिक अस्थिरता नियन्त्रणका लागि थप हस्तक्षेप आवश्यक पर्न सक्ने जापानी अधिकारीहरूले बताउँदै आएका छन् । एजेन्सी
नाडालद्वारा रोडिक पराजित
भदौ २४, न्यूयोर्क (अमेरिका) । 'यूएस ओपन ग्राण्डस्लाम' टेनिसको शुक्रवारको स्पर्धामा विश्व टेनिस नं. २ तथा डिफेण्डिङ च्याम्पियन राफेल नाडालले पूर्वविश्व नं १ अमेरिकी एण्डी रोडिकलाई पराजित गरेका छन् । ५३ मिनेट चलेको अत्यन्त प्रतिस्पर्धात्मक उक्त खेलमा नाडालले रोडिकलाई ६-२, ६-१ र ६-३ ले पराजित गरे । 'फि्सङ मिडोज' टेनिस कोर्टमा यो नाडालको निरन्तर चौथो जित हो ।
नाडालसँगको हारपछि 'यूएस ओपन'बाट बाहिरिएका रोडिकले पत्रकारहरूसँग निराश मुद्रामा यस पराजयबाट आफूलाई एकदमै नराम्रो लागेको र आफूलाई निरीह महसूस गरिरहेको प्रतिक्रिया दिए । रोडिकले सन् २००३ मा 'यूएस ओपन' ग्राण्डलाम जितेका थिए । यस विजयसँगै नाडाल सेमिफाइनल प्रवेश गरेका छन् । सेमिफाइनलमा उनले विश्व टेनिस नं ४ बेलायती खेलाडी एण्डी मुर्रेसगँ भिड्नेछन् । पुरुषतर्फको अर्को सेमिफाइनल खेल विश्व नं १ नोभाक जोकोभिक र विश्व नं ३ रोजर फेडेररबीच हुनेछ ।
त्यसैगरी महिलातर्फका खेलहरूमा अष्ट्रेलियाकी सामन्था स्टोसुर र जर्मनीकी एञ्जेलिक केर्बर तथा विश्व महिला टेनिस नं १ डेनमार्ककी क्यारोलिन वुज्नीयाकी र विश्व नं २८ अमेरिकी सेरेना विलियम्सबीच हुनेछ । एजेन्सी
जी-७ द्वारा विश्व अर्थतन्त्र सुधार्ने प्र तिबद्धता
भदौ २४, मासेइली (फ्रान्स) । विश्वका धनी देशहरूको समूह जी-७ का नेताहरूले विश्व अर्थतन्त्रलाई फेरि सही बाटोमा ल्याउन कडा कदमहरू चालिने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, ती उपायबारे विस्तृत विवरण भने उपलब्ध गराइएको छैन । समस्या अत्यन्त जटिल भएकाले सामूहिक कदम असम्भव रहेको भने नेताहरूले स्वीकार गरेका छन् ।
यूरोपेली केन्द्रीय बैङ्कका प्रमुख अर्थशास्त्रीको अचानक आएको राजीनामाले अमेरिका र यूरोपको शेयर बजार ओरालो लागेकै बेला फ्रान्सको मासेइलीमा जी-७ को बैठक बसेको हो । 'हामी सुदृढ र समन्वयात्मक अन्तरराष्ट्रिय कदमप्रति प्रतिबद्ध छौं,’ सदस्य देशका अर्थमन्त्रीहरू र केन्द्रीय बैङ्क गभर्नरहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी राष्ट्रपति ओबामाले बिहीवार घोषणा गरेका ४ खर्ब ४७ अर्ब डलरको रोजगार योजना र यूरोपेली देशहरूद्वारा सार्वजनिक ऋण नियन्त्रणतर्फको प्रयासलाई उनीहरूले प्रशंसा गरेका छन् । त्यसैगरी, बैङ्किङ प्रणाली र वित्तीय बजारको लचिलोपना सुनिश्चित गर्न आवश्यक सबै उपाय चालिने प्रतिबद्धता विज्ञप्तिमा गरिएको छ । जी-७ मा रहेका क्यानडा, अमेरिका,जापान, जर्मनी, ब्रिटेन, फ्रान्स र इटलीका अर्थमन्त्री र बैङ्करहरूको उक्त सम्मेलन २००८-२००९ को जस्तो मन्दीको पुनरावृत्ति रोक्नेतर्फकेन्द्रित रहेको थियो । तर, कस्तो कदम चाल्ने भन्नेबारे सदस्य देशहरूबीच तीव्र मतभेद रहेको छ । अमेरिकीहरू उत्प्रेरणाको पक्षमा छन् भने यूरोपेलीहरू सुधार र खर्च कटौतीमा जोड दिइरहेका छन् । एएफपी/रासस
इसीबीस्थित जर्मन उच्च अधिकारीको राजीनामा
भदौ २४, फ्र्याङ्कफर्ट (जर्मनी) । यूरोपेली केन्द्रीय बैङ्क (इसीबी)मा रहेका एक उच्च जर्मन अधिकारीले सरकारी बण्ड खरीद गर्ने बैङ्कको नीतिको विरोधमा अचानक राजीनामा दिएका छन् । बैङ्कले यूरो जोनको ऋणसङ्कट सामना गर्न सरकारी बण्ड खरीद गर्ने रणनीति लिएको थियो । बैङ्कका प्रमुख अर्थशास्त्री तथा कार्यकारी बोर्ड सदस्य जुर्गेन स्र्टार्कले यस वर्षको अन्त्यसम्ममा 'व्यक्तिगत कारणले’ छाड्ने भएका बैङ्कले स्वीकार गरेको छ ।
ऋणसङ्कटबारे ईसीबीभित्रको आन्तरिक विवादको प्रमाणका रूपमा स्र्टार्कको राजीनामालाई लिइएको छ । त्यसपछि, यूरो ओलिर्नुका साथै यूरोप र वाल स्ट्रीटमा समेत शेयर मूल्य ओर्लिएको छ । स्र्टार्कले आफ्नो राजीनामाबारे कुनै सार्वजनिक स्पष्टीकरण भने दिएका छैनन् ।
तर, आर्थिक दैनिक ह्याण्डेल्सब्लाटका लागि पठाएको आफ्नो लेखमा उनले ऋणसङ्कटको एक मात्र समाधान सरकारी खर्चमा कटौती रहेको दाबी गरेका छन् । ईसीबीले सरकारी ऋण खरीद गरेपछि इटली र स्पेनको बजारतर्फको सङ्क्रमण रोकिएको थियो । त्यसपछि, सरकारहरूलाई यूरो मुद्रामा देखिएको हालसम्मकै खराब सङ्कटमाथि काम गर्न केही राहत पुगेको थियो ।
आगामी २०१४ को मेमा पदावधि सकिने स्र्टार्कले झण्डै ३ वर्षअघि नै राजीनामा दिएबार्टईसीबी र जर्मनीका बैङ्किङ अधिकारीहरूबीच विवाद झनै बढ्ने आशङ्का गरिएको छ । एजेन्सी
Admin 2011-09-11