एशिया प्रशान्त क्षेत्रको केन्द्रमा साङ्र्घाई
चैत २४, साङ्र्घाई (चीन) । यूरोपेली कम्पनीहरूले चीनको साङ्र्घाईलाई एशिया प्रशान्त क्षेत्रको सबैभन्दा आकर्षक व्यापारिक केन्द्र मानेका छन् । त्यसैले एशिया प्रशान्त क्षेत्रको मुख्यालय साङ्र्घाईमा स्थापना गर्नु उपयुक्त हुने ती यूरोपेली कम्पनीहरूको मूल्याङ्कन छ । साङ्र्घाईले त्यस क्षेत्रकै सबैभन्दा ठूलो बजारमा सजिलो पहुँच दिने भएकाले उक्त शहर उनीहरूको रोजाइमा परेको हो ।सर्वेक्षणमा ती यूरोपेली कम्पनीहरूलाई १५ ओटा शहरमध्ये आफ्नो रोजाइ छान्न भनिएको थियो । त्यसमध्ये हङकङ र सिङ्गापुर क्रमश: दोस्रो र तेस्रो प्रमुख रोजाइमा परेका छन् । चीनस्थित यूरोपियन युनियन च्याम्बर अफ कमर्श र रोलाँ बर्जर स्ट्राटेजी कन्सल्टयाण्ट्सले उक्त सर्वेक्षण गरेका हुन् ।
ग्राहक र बजारसम्मको नजिकपनालाई ती कम्पनीहरूले क्षेत्रीय मुख्यालय रोजाइको आधार बनाएका हुन् । त्यस आधारमा साङ्र्घाई उनीहरूको पहिलो रोजाइमा परेको छ । तर, सर्वेक्षणमा भाग लिने बहुसङ्ख्यक कम्पनीहरू चीनभित्रकै रहेकाले पनि साङ्र्घाईले पहिलो प्राथमिकता पाएको हुन सक्ने तर्फपनि औंल्याइएको छ । साङ्र्घाई प्रमुख आकर्षक रोजाइमा परे तापनि कानूनी र नियामकका साथै राजनीतिक वातावरणमा भने सिङ्गापुर र हङ्कङभन्दा पछाडि छ । साङ्र्घाईमा विदेशी कम्पनीहरूले अझै पनि चर्को कर्मचारीतन्त्र, अस्पष्ट र अस्थिर नियमका साथै प्रशासनिक कार्यशैलीमा ढिलाइजस्ता अप्ठयाराको सामाना गरिरहेका अध्ययनले देखाएको छ । सर्वेक्षणमा भाग लिएकामध्ये धेरैजसो कम्पनीका एशिया प्रशान्त क्षेत्रीय मुख्यालय सिङ्गापुरमा रहेका छन् । यूरोपियन च्याम्बरको चीनमा १ हजार ६ सयभन्दा बढी सदस्य कम्पनी रहेका छन् । रोयटर्स
खाद्यवस्तुको मूल्य ८ महीनापछि घट्यो
चैत २४, रोम (इटाली) । खाद्यवस्तुको अन्तरराष्ट्रिय मूल्य मार्चमा ८ महीनायता पहिलोपटक ओर्लेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले बिहीवार बताएको छ । एफएओको खाद्य परिसूचक मार्चमा औसत २३० बिन्दुमा झरेको छ । परिसूचक फेब्रुअरीमा हालसम्मकै उच्चबिन्दुमा पुगेको बेलाभन्दा मार्चको औसत २ दशमलव ७ प्रतिशतले कम हो । तर, हालको परिसूचक २०१० को मार्चभन्दा अझै पनि ३७ प्रतिशतले माथि छ ।आठ महीनासम्म लगातार बढेको परिसूचक तल ओर्लेबाट केही राहत मिलेको एफएओका व्यापार तथा बजार विभागका निर्देशक डेभिड हलमले बताए । तर, मूल्यवृद्धिको बढ्दो प्रवृत्ति नै उल्टिसकेको भन्नु हतार हुने हलमको चेतावनी छ । अन्नको मूल्य भने मार्चमा अत्यन्तै अस्थिर रहेको एफएओले बताएको छ । उत्तर अफ्रिका, मध्यपूर्वलगायत जापानको भूकम्प र सुनामीले अन्नको मूल्यलाई अस्थिर बनाएको प्रतिवेदनमा भनिएको छ । तर, खानेतेल, चिनी, खाद्यान्नजस्ता प्रमुख खाद्यवस्तुको अन्तरराष्ट्रिय मूल्य भने झरेको छ । त्यसैगरी, प्रचुर उत्पादन र आयातमा सुस्तताले चामलको भाउ पनि झरेको छ । दुग्धपदार्थ र मासुजन्यपदार्थमा भने हल्का वृद्धि भएको देखिन्छ । रोयटर्स
विश्वव्यापी निर्यात हालसम्मकै उच्च
चैत २४, जेनेभा (स्वीट्जरल्याण्ड) । गतवर्ष२०१० को विश्वव्यापी निर्यात १४ दशमलव ५ प्रतिशतले बढेर १९५० पछिकै उच्च हुन पुगेको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)ले बिहीवार बताएको छ । विश्वव्यापी मन्दीबाट अर्थतन्त्रहरूमा सुधार आइरहेकाले निर्यात बढेको हो । सीमापार व्यापारमा २०११ मा अझै सुधार आउने डब्ल्यूटीओको वार्षिक प्रतिवेदनले भनेको छ ।विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनमा ३ दशमलव १ प्रतिशतले वृद्धि भएकाले विश्वव्यापी निर्यात पनि यस वर्षथप ६ दशमलव ५ प्रतिशतले बढ्ने डब्ल्यूटीओको अनुमान छ । यसरी यस वर्षको विश्वव्यापी निर्यातले १९९० देखि २००८ बीचको औसत निर्यात ६ प्रतिशतलाई नाघ्ने देखिन्छ ।
तर, जापानको भूकम्पपछिको आर्थिक धक्का र तेलधनी मध्यपूर्वको राजनीतिक अस्थिरताले भने पूर्वानुमानमा अनिश्चितता थपिएको छ । डब्ल्यूटीओ प्रमुख पास्कल लामीका अनुसार, व्यापारले विश्वलाई २००९ को मन्दीबाट पार पाउन मद्दत गरेको छ । आर्थिक मन्दीका बेला विश्वव्यापी निर्यातमा १२ प्रतिशतले कमी आएको थियो । तर, मन्दीको असर अझै पनि धेरै देशमा अनुभव भइ नै रहेको लामीले चेतावनी दिएका छन् । विकसित अर्थतन्त्रमा रहेको उच्च बेरोजगारी र यूरोपले खर्चमा गरिरहेको कडाइले संरक्षणवादी दबाब बढेको लामीको मूल्याङ्कन छ । वाणिज्य उदारीकरणसम्बन्धी दोहा बैठक अन्तरराष्ट्रिय सम्झौतामा टुङ्गिने सम्भावना क्षीण देखिएकै बेला लामीको यस्तो विचार आएको छ । एपी/रासस
भारतमा भ्रष्टाचारविरुद्ध भोकहडताल अभियान
चैत २४, नयाँ दिल्ली (भारत) । भारत सरकारले भ्रष्टाचारविरोधी अभियन्ता अन्ना हजारेका समर्थकहरूसँग वार्ता गरेको छ । अन्ना हजारेले यसै हप्तादेखि भ्रष्टाचारको विरोधमा आमरण अनशन शुरू गरेका छन् । ७० वर्षीय हजारेले आफू महात्मा गान्धीको बेलायती उपनिवेशविरुद्धको अनशनबाट प्रभावित भएको बताएका छन् । हजारेले भ्रष्टाचारविरोधी प्रस्तावित लोकपाल विधेयकलाई अझ सुदृढ बनाएर लागू गरिनुपर्ने माग राखेका छन् । भ्रष्टाचारविरुद्ध आमरण अनशन गरिरहेका हजारेको पक्षमा ठूलो जनमत देखिएको छ । त्यसैले सरकारले हजारेलाई अनशन तोड्न मनाउने प्रयास गरिरहेको छ ।हजारे र बढ्दै गइरहेका उनका समर्थकले धेरै शहरमा आन्दोलन विस्तार गरिरहेका छन् । ४० वर्षअघि नै मस्यौदा गरिएको विधेयकमा परिवर्तन गरेर भ्रष्टाचारको अनुसन्धान गर्ने निकायलाई शक्तिशाली बनाउनुपर्ने आन्दोलनकारीहरूको माग छ । त्यस्तो निकायले राजनीतिकर्मी, कर्मचारी लगायत न्यायाधीश र प्रधानमन्त्री कार्यालयका सदस्यलाई समेत कार्बाही गर्न सक्नुपर्ने माग गरिएको छ । हजारेलाई बलिवुडका कलाकारहरूले समेत समर्थन गरेका छन् । त्यसैगरी, धेरै शहरका सयौं व्यक्तिले उनको समर्थन र भ्रष्टाचारको विरोधमा भोकहडताल गरेका छन् । रोयटर्स
भारतीय धनाढयहरू विलासी रूसीहरू वाक्क
चैत २४, लण्डन (ब्रिटेन) । आगामी ५ वर्षमा निजी जेट विमान र निजी पानीजहाजमा ठूलो धनराशि खर्च गर्नेमा भारतीयहरू सबैभन्दा अगाडि हुनेछन् । त्यसैगरी, अफ्रिकी र रूसीहरूले भने आगामी ५ वर्षमा कल्याणकारी कार्यमा थप खर्च गर्नेछन् । अन्तरराष्ट्रिय वित्तीय संस्था सिटीग्रूप इङ्कअन्तर्गतको एउटा निजीस्तरको बैङ्कका १ सय ६० जना सल्लाहकारमाथि गरिएको सर्वेक्षणले त्यस्तो देखाएको छ ।सर्वेक्षण अनुसार, भारतीयहरूमा जेट विमान र पानीजहाज किन्ने शोख बढेको छ भने रूसीहरू पैसा कमाउने अभियानबाट वाक्क भएका देखिन्छन् । सिटी ग्रूप र नाइट फ्रान्कको २०११ को सम्पत्ति प्रतिवेदनले त्यस्तो देखाएको छ ।
ती संस्थाका रूसी ग्राहकले गएका ५ वर्षमा जेट विमान र पानीजहाजमा गरिने खर्च कटौती गरेका छन् । त्यसैगरी, आधाले मात्रै आगामी ५ वर्षमा त्यस्तो क्षेत्रमा खर्च बढाउने सम्भावना व्यक्त गरेका छन् । सर्वेक्षणमा सहभागी निजीस्तरका सबै बैङ्करहरूले तिनका अफ्रिकी र रूसी ग्राहकको कल्याणकारी कार्य र चन्दा रकम खर्च बढ्ने अनुमान गरेका छन् । त्यसैगरी ती धनाढयहरूले न्यूयोर्क र लण्डनलाई आफ्नो रोजाइको शहर बताएका छन् । आगामी १० वर्षसम्म ती दुई शहर नै प्रमुख रोजाइ रहने तर साङ्र्घाई, बेइजिङ र हङ्कङको स्तर पनि उक्लिने धनाढयहरूको विचार छ ।धनाढयहरूले विश्वको सबैभन्दा रमणीय शहरमा भने क्रमश: पेरिस, न्यूयोर्क र लण्डनलाई रोजेका छन् । त्यसैगरी, सबैभन्दा भौतिकवादीमा न्यूयोर्क, हङकङ, टोकियो, र पेरिस रहेका छन् । सबैभन्दा उद्यमशील शहरमा भने क्रमश: चीनकै साङ्र्घाई, हङ्कङ, बेइजिङ र चौथो स्थानमा मात्र न्यूयोर्क रोजिएका छन् । रोयटर्स
Admin 2011-04-08