ज्याला भेदभाव मानवअधिकारको उल्लङ्घन
फागुन २४, स्ट्रासबर्ग (फ्रान्स) । महिला र पुरुषको आम्दानीमा रहेको भिन्नता मानवअधिकार हनन भएकाले त्यसलाई सच्याउनुपर्ने काउन्सिल अफ यूरोपले बताएको छ । अन्तरराष्ट्रिय नारीदिवसका सन्दर्भमा काउन्सिलले यस्तो धारणा व्यक्त गरेको हो ।'उस्तै कामका लागि महिला र पुरुषबीचको ज्यालामा भेदभावलाई न्यायोचित मान्न सकिँदैन,’ काउन्सिलका महासचिव थोर्बजोर्न जाग्लण्डले भने । 'हाम्रो समाजको आधारभूत धरातल व्यावसायिक क्रियाकलापमा निर्भर छ । त्यसैले अन्यायोचित असमानतालाई अब कुनै हालतमा पनि समर्थन गरिनेछैन,’ उनले दृढता व्यक्त गरे । मानवअधिकारसम्बन्धी विश्व घोषणापत्रले ६० वर्षअघि नै समान कामका लागि समान ज्यालालाई मौलिक अधिकार मानेको पनि जाग्लण्डले स्मरण गरे । काउन्सिलले यूरोपेली देशका मन्त्रिमण्डलमा कम्तीमा ४० प्रतिशत महिला हुनुपर्ने सुझाव दिएको छ । एएफपी/रासस
युनुसले मुद्दा हारे
फागुन २४, ढाका (बङ्गलादेश) । बङ्गलादेशको नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले सरकारविरुद्ध अदालतमा दिएको मुद्दा मङ्गलवार हारेका छन् । गत हप्ता बङ्गलादेशको केन्द्रीय बैङ्कले युनुसलाई ग्रामीण बैङ्क प्रमुखबाट बर्खास्त गरेको थियो । युनुसले आफूलाई ग्रामीण बैङ्क प्रमुखबाट बर्खात गर्ने सरकारी निर्णयाई उच्च अदालतमा चुनौती दिएका थिए । लघुवित्तको अवधारणालाई सफल कार्यान्वयन गरेका कारण ७० वर्षीय युनुस विश्वभरि नै प्रसिद्ध छन् । त्यसैले युनुसका प्रति व्यापक अन्तरराष्ट्रिय सहानुभूति रहेको छ । आफूलाई हटाउने निर्णयो अवज्ञा गर्दै युनुस ढाकास्थित ग्रामीण बैङ्क मुख्यालयमा कार्यरत नै रहेका थिए ।'युनुस कुनै कानूनी आधार विना नै आफ्नो पदमा बहाल रहेका छन् । त्यसैले बर्खास्त बदर गरी पाउँ भन्ने उनको निवेदन खारेज गरिएको छ,’ न्यायाधीश मुहम्मद मम्ताज उद्दीन अहमदले फैसला सुनाउँदै भने । युनुसलाई बैङ्कको प्रबन्ध निर्देशकको पदबाट हटाउने निर्णयस्पष्ट रूपले सही रहेको अहमदको फैसला छ ।
प्रबन्ध निर्देशक पनि बैङ्कको एउटा अधिकारी नै भएकाले उसले निवृत्तिवरणको सरकारी नियम पालना गर्नैपर्ने देखिएको अहमदको आदेशले भनेको छ । युनुसले ६० वर्षको सरकारी निवृत्तिवरण उमेर उल्लङ्घन गरेको आरोपमा उनलाई बर्खास्त गरिएको थियो । केन्द्रीय बैङ्क प्राविधिक रूपले सरकारबाट स्वायत्त संस्थाका रूपमा रहेको छ ।युनुसका एक वकिल सारा होसेनले अदालतले केन्द्रीय बैङ्कको अवैधानिक आदेशलाई सदर गर्नु बङ्गलादेशकै लागि दु:खद घटना रहेको बताएका छन् । त्यसैगरी, न्याय पाउनेमा आफूहरूलाई रहेको आशङ्का अदालतको निर्णये पुष्टि गरेका अर्का वकिल तनिम हुसेन शावनको धारणा छ । उच्च अदालतको निर्णयवरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने कि नदिने भन्ने विषयमा युनुससँग छलफल गरिने शावनले बताए । एएफपी/रासस
बोइङको हङकङ एयरलाइन्स र चाइना एयरसँग विमान खरीद सम्झौता
फागुन २४, साङघाइ-हङकङ (चीन) । बोइङले हङकङ एयरलाइन्सलाई ३८ ओटा विमान विक्री गर्ने भएको छ । त्यसमध्ये ३० ओटा बोइङको नयाँ डि्रमलाइनर विमान पनि रहनेछ । ती विमानको कुल मूल्य ८ अर्ब ५० करोड डलरसम्म पुग्न सक्छ ।विमानहरूको आपूर्तिपछि हङकङ एयरलाइन्सको लामो दूरीको उडान रूट सञ्चालनमा मद्दत पुग्नेछ । त्यसबाट उसले हाल लामो दूरीमा वर्चस्व राख्ने हङकङकै ध्वजावाहक क्याथे प्यासिफिकसँग प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ । सम्झौतालाई अन्तिम रूप दिन हङकङ एयरलाइन्ससँग वार्ता भइरहेको पनि बोइङले बताएको छ ।
त्यसैगरी एयर चाइनाले पनि पाँचओटा बोइङको नयाँ ७४७-८ यात्रुवाहक विमान खरीद गर्नेभएको छ । ती विमानको कुल सूचीकृत मूल्य १ अर्ब ५४ करोड डलर पर्नेछ । कुल सूचीकृत मूल्यमा बोइङले भारी छूट दिएको एयर चाइनाले एक विज्ञप्तिमा उल्लेख गरेको छ । विमान उत्पादकहरूले विक्रीको अन्तिम प्रक्रियातिर सूचीकृत मूल्यमा भन्दा छूट दिने गर्छन् ।२०१० को जुनसम्ममा एयर चाइनासँग ३ सय ८१ ओटा विमान सञ्चालनमा रहेका थिए । चीनले आगामी ५ वर्षा हवाई उद्योगमा २ खर्ब ३० अर्ब डलरभन्दा बढी लगानी गर्ने भएको छ । कुल विमान सङ्ख्या हालको २ हजार ६ सय बाट बढेर २०१५ सम्ममा ४ हजार ५ सय पुर्याउने चीनले लक्ष्य राखेको छ । एएफपी/रासस
लैङ्गिक समानताले भोक घट्ने दाबी
फागुन २४, रोम (इटली) । कृषि उत्पादन बढाउन त्यस क्षेत्रमा लैङ्गिक समानता बढाउनुपर्ने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन(एफएओ)ले आह्वान गरेको छ । लैङ्गिक समानतामार्फत कृषिक्षेत्रको उत्पादन बढाउन सके विश्वभरिमा कम्तीमा पनि १० करोड जनाको भोक मेटाउन सकिने एफएओको दाबी छ । 'ग्रामीण क्षेत्रका पुरुषको जत्ति नै महिलाहरूको पनि प्रविधि, वित्तीय सेवा, शिक्षा र बजारमा पहुँच भएमा कृषि उत्पादन बढाउन सकिनेछ’ एफएओले २०१०/११ को खाद्य तथा कृषि प्रतिवेदनमा भनेको छ । सङ्गठनका अनुसार, त्यसो गर्न सकिएमा १० करोडदेखि १५ करोड जना भोकाहरूलाई खुवाउन सकिनेछ ।
'लैङ्गिक समानता आदर्श मात्र नभई कृषि विकास र खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण छ,’ एफएओका महानिर्देशक जाक डिओउफले भने । 'हामीले कृषि क्षेत्रमा महिला सशक्तीकरणका साथै लैङ्गिक समानता पनि स्थापना गर्नैपर्छ । त्यसो गर्न सकेमा नै कृषिक्षेत्रको दिगोपनाका साथै भोक र गरीबीविरुद्ध लड्न सकिनेछ,' डिओउफले थप स्पष्ट पारे ।संसारभरि नै जमीन र कृषिमा पुरुषको जत्ति महिलाको पहुँच छैन । विकासशील देशहरूमा जमीनको स्वामित्व रहेका महिलाको सङ्ख्या तीन देखि २० प्रतिशतमात्र छ । 'महिला कृषकले प्राय: पुरूषको भन्दा कम उत्पादन गर्छन् । तर, महिलामा शीपको कमी भएर त्यसो भएको हैन् । बरु जग्गा, मल, उन्नत बीउ र साधनमा महिलाको कम पहुँच हुने भएकाले उत्पादन कम भएको हो,’ प्रतिवेदनका लेखक टेरी रेनीले भने । एएफपी/रासस
लिबिया द्वन्द्वबारे ओपेकको छलफल
फागुन २४, कुवेत सिटी (कुवेत) । पेट्रोलियम पदार्थ निर्यातकर्ता राष्ट्रहरूको संस्था ओपेकका सदस्यहरूले लिबियाको द्वन्द्वबाट तेल बजारमा परेको प्रभावबारे छलफल गरिरहेका कुवेती तेलमन्त्रीले बताएका छन् । 'हामी छलफल गरिरहेका छौं, तर अझै निष्कर्षमा पुगिसकेका छैनौं,’ मन्त्री शेख अहमद अब्दुल्लाह अल सलहले भने । ओपेकले कच्चा तेलको उत्पादन बढाउने सम्बन्धमा छलफल गरिरहेको छ कि भन्ने प्रश्नको उत्तरमा सलहको त्यस्तो जवाफ आएको हो । साथै, कुवेतले तेलको उत्पादन बढाइएको भन्ने समाचारको पनि उनले खण्डन गरेका छन् ।लिबियामा द्वन्द्व जारी रहेकाले तेलको मूल्यमा सोमवार पनि वृद्धि भएको थियो । मङ्गलवारको एशियाली व्यापारमा न्यूयोर्क क्रुडको मूल्य झण्डै १०५ डलर प्रतिब्यारेल पुगेको छ । तेलको उच्च मूल्यको असर कम गर्न अमेरिकाले आफ्नो स्रोत प्रयोग गर्न अस्वीकार गरेपछि उक्त मूल्य कायम भएको हो । अप्रिलमा डेलिभरी हुने लाइट स्वीट क्रुडको मूल्य सोमवार दिउँसो ७० सेण्टले झरेर प्रतिब्यारेल १ सय ४ दशमलव ७४ डलर पुगेको छ । एएफपी/रासस
Admin 2011-03-09