शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

अमेरिकाद्वारा भारतसँग प्रगाढ आर्थिक सम्बन्धको चाहना

जेठ २४, वाशिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका-भारत सम्बन्धलाई २१ शताब्दीकै विशेष साझेदारी बनाउन आह्वान गरेका छन् । तर, यसै हप्ता भारतले अमेरिकीबाट ठूलो सुरक्षा खरीदलाई अनुमोदन गरे तापनि अमेरिका र भारतबीचको व्यापार सम्बन्धमा अझै पनि थुप्रै अप्ठयारा देखिएका छन् ।ओबामाले ७ महीनाअघि भारत भ्रमणका बेला पनि दुई देशबीच बलियो आर्थिक सम्बन्धका लागि आह्वान गरेका थिए । त्यसपछि राष्ट्रपतिको आफ्नै पहलका कारण अमेरिकी कम्पनीहरूले भारतबाट ११ अर्ब डलरको लडाकू विमान आपूर्तिको ठेक्का पाउन सफल भएका छन् । तर, भारतले व्यापार र लगानीमा रहेका बाधा अमेरिकाले चाहेजत्तिकै छिटो हटाउन चाहेको देखिँदैन । सौर्य ऊर्जासम्बन्धी अर्बौं डलरको परियोजनाका लागि अमेरिकाबाट प्रविधि भित्र्याउन पनि भारतले प्रतिबन्ध लगाएको छ । किसमिस, क्रेनबेरी, र पिस्ताचीओजस्ता केही फलफूलका उत्पादनमा मात्र भारतले आफ्नो बजारलाई खुला गरेको छ ।

सोमवार भने भारतको मन्त्रिमण्डलले अमेरिकाबाट ४ अर्ब डलरबराबरको सैन्य ढुवानीका विमान खरीदलाई स्वीकृत गरेको छ । बोइङलाई दिइएको उक्त ठेक्का कुनै पनि अमेरिकी कम्पनीले पाएको सुरक्षा ठेक्कामध्ये सबैभन्दा ठूलो हो । तर पनि अमेरिकाले चाहेजस्तो आफ्नो बजारमा खुला पहुँच भारतले दिन नसक्ने यूएस इण्डिया पोलिटिकल एक्शन कमिटीका चेयरम्यान सञ्जय पुरीले बताए । भारतले आफ्नै क्षेत्रीय अवस्था, आफ्ना छिमेकी, र आर्थिक हित हेर्ने भएकाले त्यो सधैं अमेरिकाको अनुकूल रहन नसक्ने पुरीको तर्क छ ।
एपी/रासस

समर्थनको खोजीमा लागार्दको भारत भ्रमण

जेठ २४, नयाँ दिल्ली (भारत) । अन्तरराष्ट्रिय मुद्रा प्रमुख (आईएमएफ) प्रमुख पदमा फ्रान्सकी अर्थमन्त्री क्रिस्टिन लागार्दलाई समर्थन गर्नेबारे भारतले कुनै प्रतिबद्धता नगरेको त्यहाँका अर्थमन्त्री प्रणव मुखर्जीले मङ्गलवार बताएका छन् ।आईएमएफ प्रमुख पदमा आफ्नो उम्मेदवारीप्रति समर्थन जुटाउने क्रममा लागार्द भारत आइपुगेका बेला मुखर्जीको त्यस्तो प्रतिक्रिया आएको छ । भारत भ्रमणका क्रममा लागार्दले प्रधानमन्त्री मनमोहन सिंह, अर्थमन्त्री प्रणव मुखर्जीलगायत भारतका प्रभावशाली नीतिगत सल्लाहकार मण्टेक सिंह आह्लुवालियालाई पनि भेट्दै छिन् । ब्राजिलबाट भारत आएकी लागार्द मङ्गलवार राति चीनतर्फ उड्ने कार्यक्रम छ ।   

आईएमएफ प्रमुखको दौडमा प्रमुख दाबेदार रहेकी लागार्दलाई मेक्सिकोका केन्द्रीय बैङ्क गभर्नर अगष्टिन कासर्टेन्सले चुनौती दिने भएका छन् । कासर्टेन्सले पनि ब्राजिल र अर्जेण्टिनाको छोटो भ्रमण गरिसकेका छन् भने मङ्गलवार क्यानाडा र शुक्रवार भारतको भ्रमण गर्दै छन् ।भारतले भने आफ्नै उम्मेदवार उठाउने दाबी छाडिसकेको भए तापनि अन्य उदीयमान देशहरूले झैं भारतले पनि छनोट प्रक्रियाको आलोचना गर्दै आएको छ । त्यसैले, लागार्दलाई न्यानो स्वागत गरिए पनि उनले भारतबाट औपचारिक समर्थन पाउने सम्भावना अझै अनिश्चित रहेको एक विश्लेषक ब्रह्मा चेलानीले बताए ।आईएमएफका पूर्वप्रमुख डोमिनिक स्ट्रस कानले यौनहिंसाको आरोपमा राजीनामा गरेपछि उक्त पदका लागि हालसम्म लागार्दकै प्रबल सम्भावना देखिएको छ । उता, न्यूयोर्कको एक अदालतमा ६२ वर्षीय कानले आफू दोषी नरहेको सोमवार दाबी गरेका छन् । एएफपी/रासस

सिङ्गापुर एयरलाइन्स र भर्जिन अष्ट्रेलियाबीच साझेदारी

जेठ २४, (सिङ्गापुर) । सिङ्गापुर एयरलाइन्स (एसआईए) र भर्जिन अष्ट्रेलियाले मङ्गलवार दीर्घकालीन साझेदारीको योजना सार्वजनिक गरेका छन् । त्यसबाट उनीहरूले हवाईसेवाको विश्वबजारमा आफ्नो पहुँच बढने अपेक्षा लिएका छन् । सिङ्गापुर एयरलाइन्सको विस्तृत अन्तरराष्ट्रिय सञ्जाल र भर्जिन अष्ट्रेलियाको प्रशान्त र अष्ट्रेलिया क्षेत्रमा रहेको विस्तृत सञ्जालबीच समन्वय गरिने दुवै कम्पनीद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसका लागि दुवै कम्पनीले आफ्ना उडानमा साझेदारी, उडान तालिकामा समन्वय र विक्री तथा बजार प्रवर्द्धनका लागि संयुक्त पहल गर्नेछन् । अन्तरराष्ट्रिय हवाईसेवा उद्योगको सिङ्गापुरमा भइरहेको सम्मेलनका क्रममा ती दुई कम्पनीले साझेदारीको घोषणा गरेका हुन् । नियामकहरूले अनुमोदन गरेपछि उनीहरूको संयुक्त सञ्चालन आगामी अगष्ट १ देखि लागू हुनेछ ।  तर, उनीहरूको संयुक्त सञ्चालनमा पनि अष्ट्रेलिया र अमेरिकाबीचको अन्तरप्रशान्त रूट समावेश छैन । उक्त रूटमा उडान सञ्चालनका लागि हालसम्म पनि एसआईएलाई अष्ट्रेलिया सरकारले अनुमति दिएको छैन । कुनै निश्चित तथ्याङ्क नभए तापनि साझेदारीबाट दुवै कम्पनीको आम्दानीमा ठूलो वृद्धि हुनेमा दुवै कम्पनी विश्वस्त रहेको बताएका छन् । एएफपी/रासस

सेरेना खेलजीवनमा पुन:प्रवेश

जेठ २४, लण्डन (ब्रिटेन) । चोटपटक र बिरामीका कारण झण्डै १ वर्षसम्म खेलजगत्बाट हराएकी सेरेना विलियम्स पुन: मैदानमा ओर्लिने भएकी छन् । सेरेनाले आगामी हप्ता इष्टबोर्न टेनिस प्रतियोगितामा भाग लिने प्रतियोगिताका अधिकारीहरूले मङ्गलवार बताएका छन् ।कुनै समय विश्वकै नम्बर १ स्थानमा रहेकी सेरेना हाल २५औं स्थानमा छिन् । सेरेनाले चारओटा विम्बल्डनसहित १३ ओटा ग्राण्डस्ल्याम टाइटल जितिसकेकी छिन् । तर, लामो समय नखेलेपछि २९ वर्षीया सेरेनाको स्थान खस्केको हो । आगामी हप्ता सेरेना आफ्नी दिदी भिनससँगै खेलमैदानमा ओर्लिने भएकी छन् ।

'स्वस्थ भएर पुन: खेल्न पाउँदा मलाई निकै खुशी लागेको छ,’ एक विज्ञप्तिमार्फत सेरेनाले भनिन् । पछिल्ला दिनमा सेरेनाले आफू खेलजीवनमा फर्किनेबारे केही बताएकी थिइनन् । खेल्न नपाएका पछिल्ला १२ महीना निकै कठिन हुनुका साथै त्यसबीचमा आफ्नो व्यक्तित्व निर्माणमा पनि सहयोग पुगेको सेरेनाले बताइन् । साथै, आफ्ना परिवार, मित्रजन, र प्रशसंकप्रति पनि आफू अनुगृहीत रहेको उनले बताइन् ।पछिल्लो पटक सेरेनाले २०१० मा डब्लूटीएअन्तर्गतको विम्बल्डन प्रतियोगितामा खेलेकी थिइन् । त्यतिखेर, उनले भेरा ज्भोनारेभालाई सोझो सेटमै हराएर चौथो पटक विम्बल्डन प्रतियोगिता जितेकी थिइन् । त्यसपछि एउटा रेष्टुराँबाट खाना खाएर निस्कँदा खुट्टामा चोट लागेर उनले शल्यक्रियासमेत गराउनुपरेको थियो । तर, खेलजीवनमा निष्क्रय रहेको वर्षपनि उनी बैसाखीको सहाराले हलिउड र फेशन जगत्मा सक्रिय नै थिइन् । एएफपी/रासस

एसभीबीद्वारा चीन र भारतमा लगानी विस्तार

जेठ २४, बैङ्गलोर (भारत) । सिलिकन भ्याली बैङ्कको मातृसंस्था क्यालिफोर्नियास्थित एसभीबी फाइनान्सियलले चीन र भारतमा पनि बैङ्किङका लागि अनुमतिपत्र खोजिरहेको छ । अन्तरराष्ट्रिय विस्तारका क्रममा एसभीबीले एशियाकै पहिलो र तेस्रो अर्थतन्त्र चीन एवम् भारतमा आँखा गाडेको हो ।एसभीबीले प्रविधि, जीवविज्ञान, भेञ्चर क्यापिटल र उच्चगुणस्तरका वाइन उद्योगमा लगानीकेन्द्रित गर्छ । भेञ्चर क्यापिटल क्षेत्रमा अन्तरराष्ट्रिय बजारको खोजीमा एसभीबीले इजरायल, चीन, भारत, र ब्रिटेनमा लगानी विस्तार गरिरहेको छ । त्यस क्रममा, झण्डै २ अर्ब ५० करोड डलर मूल्य रहेको एसभीबीले चीनको साङ्र्घाई पुदोङ विकास बैङ्क कम्पनी लिमिटेडसँग संयुक्त लगानी गर्ने भएको छ । साथै, झेजिआङ युनी पावर ग्यारेण्टी र जिरो टू आईपीओ ग्रूपजस्ता चिनियाँ कम्पनीलगायत भेञ्चर क्यापिटल फण्डमा पनि एसभीबीले लगानी गरेको छ ।  

भारतमा पनि एसभीबीले गैरबैङ्किङ वित्तीय कम्पनी सञ्चालन गरिरहेको छ । तर, त्यहाँ भने हालसम्म उसको कुनै संयुक्त लगानी साझेदार भने छैन । भारतमा संयुक्त लगानीको साटो एक्लै काम गर्ने रणनीति आफूहरूले लिएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत ग्रेग बेकरले बताए । भारतको भेञ्चर क्यापिटल बजारमा तीव्र विस्तार भइरहेकाले केकेआर एण्ड कम्पनी, वार्बर्ग पिन्कस तथा कालाइल ग्रुपजस्ता प्राइभेट इक्विटी क्षेत्रका विशाल कम्पनीले पनि त्यहाँको बजारमा आँखा गाडेका छन् । एजेन्सी

Admin 2011-06-08