शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

सिङ्गापुरका ए-३८० एयरबस पनि ग्राउण्डेड

कात्तिक २४, सिङ्गापुर । सिङ्गापुर एयरलाइन्सले आफ्ना ११ वटा ए-३८० एयरबस सुपरजम्बो प्लेनमध्ये तीनवटाको सेवा बुधवारदेखि बन्द (ग्राउण्डेड) गरेको छ । गत हप्ता अष्टे्रेलियाको राष्ट्रिय ध्वजावाहक कोण्टासले प्रयोग गरेको एउटा यस्तै विमानको इञ्जिन बीच आकाशमै पड्किएपछि उसले सबै सुपरजम्बो सेवा बन्द गरेको छ । युरोपियन हवाईजहाज बनाउने कम्पनी एयरबसले बनाएको अहिलेसम्मकै सबैभन्दा ठूलो यो जहाजमा बेलायती कम्पनी रोल्स रोयसले बनाएको ट्रेण्ट-९०० इञ्जिन प्रयोग गरिएको छ ।

सिङ्गापुर एयरलाइन्सले इञ्जिन परिवर्तनका लागि 'पूर्वसावधानी' स्वरूप सेवा बन्द गरेको बताएको छ । एक जना सिङ्गापुर इण्टरनेशनल एयरलाइन्सका प्रवक्ताले रोल्स रोयसले यी तीनवटा जहाजका इञ्जिनहरूमा तेल चुहिएको सङ्केत देखिएकाले सावधानीस्वरूप तीनको सेवा बन्द गर्न सल्लाह दिएको बताएका छन् । 'पूर्वसावधानीस्वरूप यी तीनवटा ए-३८० को इञ्जिन परिवर्तन गर्न लागिएको हो ।' सिङ्गापुर एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।

सिङ्गापुरस्थित रोल्स रोयल्सका प्रवक्ताले सिङ्गापुर एयरलाइन्सको यो कदमबारे प्रतिक्रिया दिन मानेनन् । तर, उनले भने 'सुरक्षा रोल्स रोयल्सको निरन्तर प्राथमिकतामा रहनेछ ।' कोण्टासको एयरबस ए-३८० लाई गत साता जबरजस्ती सिङ्गापुरमा अवतरण गराइएपछि रोल्स रोयल्सको शेयर मूल्यमा व्यापक कमी आएको छ । सन् २००७ मा यो कोटिका जहाजहरू प्रयोगमा आएपछि बीच आकाशमै इञ्जिन पड्किएको यो पहिलो पटक हो । अरू ए-३८० चलाइरहेका वायुसेवा कम्पनीहरूले सिङ्गापुर र कोण्टास वायुसेवाहरूले जस्तै कदम चालेका छैनन् । तर, यी दुइ एयरलाइन्स एयरबसको सबभन्दा नयाँ जहाज प्रयोग गर्ने अग्रणी कम्पनीहरू भएकाले तीनको निर्णयलाई समग्र हवाईसेवा उद्योगले व्यापक रूपमा अनुगमन गरिरहेको छ । मङ्गलवार मात्रै यी जहाजका इञ्जिनबाट तेल निस्किएको कारण पत्ता लगाउने कुरामा केही प्रगति भएको रोल्स रोयल्सले बताएको छ । अहिले संसारमा ३७ वटा दुइतले यस्ता सुपरजम्बो जहाज सञ्चालनमा छन् । तिनीहरूलाई सिङ्गापुर, कोण्टास, इमिरेट्स, लुफ्थान्सा र एयरफ्रान्स वायुसेवाहरूले चलाइरहेका छन् । एएफपी/रासस


विद्युत् खपत कम गर्ने नयाँ अनुसन्धान शुरू

कात्तिक २४, फिनल्याण्ड (हेल्सिन्की) । युरोपमा बुधवार शुरु भएको एक अनुसन्धान परियोजनाले मोबाइल फोनमा प्रयोग हुने ब्याट्रीको आयु १० गुणा बढाउने लक्ष्य लिएको छ । बृहत् रुपमा शुरू गर्न लागिएको यस परियोजनामा कम्प्युटर निर्माता कम्पनी आईबीएम (इण्टरनेशनल बिजनेश मेशिन), चिप्स निर्माता इन्फिनियोन र युरोपका विभिन्न विश्वविद्यालय सामेल छन् । 'स्टीपर' नाम दिइएको यो अनुसन्धान परियोजनाले टीभी सेट र सुपर कम्प्युटरलगायत विद्युतीय साधनको ऊर्जा खपत पनि कम गर्ने लक्ष्य लिएको छ । यसअनुसार ती साधन चलेका बेलामा ऊर्जा खपत १० गुणाले कम गर्ने र 'स्टयाण्ड बाइ' अवस्थामा रहेका बेला विद्युत् खपत नै नहुने प्रविधिको विकास गरिनेछ ।

ब्याट्री चाँडै सकिने हुँदा फोन प्रयोगकर्ताहरूलाई अप्ठयारो परेको छ किनभने उनीहरूलाई हरेक दिन फोनचार्ज गर्नुपर्छ । साथै स्मार्टफोनका निर्माता कम्पनीहरू नोकिया, एप्पल र रिमलाई पनि यसले उत्तिकै पिरोलेको छ । 'हालका स्मार्टफोनमा ऊर्जा आवश्यकता बढ्दो छ तर ब्याट्री प्रविधिमा सोहीअनुसार विकास भएको छैन । त्यसैले आफ्ना ग्राहकलाई उच्च प्रकारको उपभोक्तामैत्री अनुभव दिलाउनमा स्मार्टफोन कम्पनीहरु विद्युत् शक्तिको व्यवस्थापन र प्रभावकारितालाई ठूलो चुनौती बनेको मान्छन्' क्यानलिज विश्लेषक टिम सेफर्डले भने । अन्तरराष्ट्रिय ऊर्जा सङ्गठनका अनुसार हाल घरमा प्रयोग हुने कुल विद्युत्मध्ये १५ प्रतिशत विद्युतीय साधनले खपत गर्छन् । सन् २०३० सम्ममा यस्ता साधनलाई अहिलेको भन्दा तीनगुणा बढी ऊर्जाको आवश्यकता पर्नेछ ।

ऊर्जाको खपत र लागत कम गर्न र ब्याट्रीको आयु लम्ब्याउन वैज्ञानिकहरूले 'नानो' प्रविधिको प्रयोग गर्ने बताइएको छ । एउटा ट्राञ्जिष्टरलाई चाहिने भोल्टेजलाई आधा घटाउने उनीहरूको लक्ष्य छ । ठूला सुपर कम्प्युटरहरूले निकै विद्युत् खपत गर्छन् । यस्ता कम्प्युटरको कार्यक्षमता जति गुणाले बढयो त्यति नै मात्रामा विद्युत् खपत पनि बढ्ने गर्छ । गुगलजस्ता कम्पनीले हाल चलाइरहेका डाटा सेण्टरहरूले विश्वको कुल ऊर्जा खपतको एक प्रतिशत प्रयोग गर्दछन् । युरोपियन युनियनको एक अनुमानअनुसार 'स्टयाण्ड बाइ'मा राखिने विद्युतीय साधनहरूले घर तथा कार्यालयको १० प्रतिशत ऊर्जा खपत गर्छन् । रोयटर्स


धनी राष्ट्रहरू आ-आफ्नै अडानमा

कात्तिक २४, सोल (दक्षिण कोरिया) । बिहीवारदेखि शुरू हुने जी-२० समूहका धनी राष्ट्रहरूको शिखर सम्मेलनको तयारीका क्रममा भएका वार्ताहरूमा तातो बहस र व्यापक असहमति भएको छ । सम्बन्धित मुलुकका अर्थ उपमन्त्रीहरूले मङ्गलवार १४ घण्टासम्म लगातार वार्ता गरेर चीनको नाटकीय आर्थिक वृद्विबाट निस्सृत असमानता र अमेरिकाको व्यापार घाटाको चिन्ताबारे छलफल गरे ।

'सबै मुलुक आफ्नो पुरानै अडानमा कायम रहे,' दक्षिण कोरियाको जी-२० राष्ट्रपतीय समितिका प्रवक्ता किम युन- क्युङले संवाददाताहरूलाई भने । 'कोही पनि आफ्नो कुरा छोड्न तयार थिएनन्, बहस यस्तो चर्कियो कि हामीले पर्याप्त अक्सिजन पठाउन हल्का ढोकाहरू खोल्नुपरेको थियो,' किमले भने । बुधवार उपमन्त्रीहरूले नयाँ ढङ्गले छलफल शुरू गरे । उनीहरूले अन्तरराष्ट्रिय मुद्रा कोषलाई विश्व व्यापारमा बढ्दो असन्तुलन घटाउने निर्देशिका बनाउन सहायक हुने सम्झौताहरू गराउन अमेरिकी, चिनियाँलगायतका राष्ट्रपतिलाई मद्दत हुने गृहकार्य गरिरहेका छन् । एएफपी/रासस


फ्रान्समा पेन्सन पाक्ने उमेर ६२ वर्ष

कात्तिक २४, पेरिस (फ्रान्स) । फ्रान्सेली राष्ट्रपति निकोलस सार्कोजीले अघि सारेको पेन्सन पाउने उमेर ६० बाट ६२ वर्ष बनाउने कानूनमा उनले बुधवार हस्ताक्षर गरेका छन् । यसलाई कञ्जरभेटिभ सरकारको विजय र मजदूर सङ्गठनहरूको असफलताका रूपमा हेरिएको छ । राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो स्वतः लागू भएको छ । यसलाई त्यहाँको संसद्ले अक्टोबर २७ मा अनुमोदन गरेको थियो ।

मजदूर सङ्गठनहरूले ६० वर्षमा अवकाश पाउने व्यवस्था फ्र्नासको उदार सामाजिक सुरक्षाप्रणालीको खम्बा भएकाले यसलाई परिवर्तन गर्न नहुने तर्क गरेका थिए भने सरकारले फ्रान्सेली नागरिकहरूको औसत उमेर महिलाको ८५ र पुरुषको ७८ वर्ष पुगेकाले यो सुधार आवश्यक भएको बताएको थियो । बुधवार सार्कोजीले एक वक्तव्यमा फ्रान्सेली पेन्सन प्रणालीलाई बचाउन सफल भएको बताएका छन् । यसलाई सरकारको खर्च घटाउने एउटा उपायको रूपमा समेत हेरिएको छ । अब फ्रान्सेलीहरूले अवकाश पाउने उमेर ६० बाट ६२ वर्षपुगे पनि पूरा पेन्सन पाउनका लागि भने अवकाशपछि पाँच वर्ष कुर्नुपर्छ । एपी/रासस


चीनको व्यापार बचत अक्टोबरमा २७ अर्ब डलर

कात्तिक २४, बेइजिङ (चीन) । अक्टोबर महीनामा चीनको निर्यात र आयात गत वर्षको सोही महीनाको तुलनामा बढेको त्यहाँको सरकारले बुधवार बताएको छ । यसबाट २७ अर्ब डलर व्यापार बचत भएको भन्सार अधिकारीहरुले बताएका छन् । यो तथ्याङ्क जी-२० शिखर सम्मेलनको ठीक अगाडि आएको छ । यसले बेइजिङलाई आफ्नो मुद्राको मूल्य बढाउन थप दबाब पर्नेछ । साथै, यी तथ्याङ्कले विश्व व्यापारमा देखिएको असन्तुलनलाई पनि उजागर गरेका छन् ।

तथ्याङ्कअनुसार चीनको निर्यात गतवर्षको सोही महीनाको तुलनामा २२ दशमलव ९ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब डलर पुगेको छ । त्यस्तै, आयात २५ दशमलव ३ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब डलर पुगेको छ । बुधवार प्रकाशित अमेरिकी तथ्याङ्कहरुले सोही महीनामा अमेरिकाको व्यापार घाटा करीब ४५ अर्ब पुगेको देखाएको छ । यसले व्यापार असन्तुलनबारे नयाँ विवाद निम्त्याउने अनुमान रोयल बैङ्क अफ क्यानडाका वरिष्ठ रणनीतिकार ब्रायन ज्याक्सनको छ । बुधवार चिनियाँ अधिकारीहरूले एक अमेरिकी डलरबराबर ६ दशमलव ६४५ युआनमा कारोबार हुन दिए । यो दर सन् २००५ मा चीनले मौद्रिक सुधार शुरू गरेपछि भएको युआनको सबैभन्दा कम मूल्य -अमेरिकी डलरको दाँजोमा बलियो हो । एएफपी/रासस