शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
  

दक्षिण कोरियामा जर्मन बैङ्कमाथि छानबिन

माघ २४, सियोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली वित्तीय अधिकारीहरूले गत नोभेम्बरमा शेयरबजार तल झर्नुमा जर्मनीको डोयचे बैङ्कका दुइ स्थानीय शाखाको भूमिकाबारे छानबिन गरिरहेका छन् । ती बैङ्कहरूले अनुचित कारोबारमार्फत बजारलाई प्रभावित गरेको भन्ने आरोप लागेको थियो ।अधिकारीहरूले बैङ्कको हङकङस्थित शाखालगायत उसको दक्षिण कोरियास्थित सेक्युरिटिज एकाइमा पनि छानबिन गरिरहेका छन् । तर, उनीहरूले कहिले निर्देशन जारी गर्नेछन् भन्नेबारे निर्णय भइनसकेको त्यहाँको वित्तीय सेवा आयोग फाइनान्सल सर्भिसेज कमिशन (एफएससी)ले सोमवार बताएको छ । छानबिनको परिणाम छिटोमा मार्चमा घोषणा हुने एफएससीका उपप्रमुख क्वोन हाउक सेले जनवरीमा जानकारी दिएका थिए । डोयचे बैङ्कले त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।गत नोभेम्बर ११ मा कारोबारको अन्तिम १० मिनेटभित्रै सियोलको शेयरबजार परिसूचक, कोपी ६५ अङ्कले तल झरेको थियो । विकल्प समाप्त हुने दिनको अन्तिम १० मिनेटभित्र विदेशी लगानीकर्ताहरूको २४ खर्ब बोन (२ अर्ब १६ करोड डलर)को अर्डर प्रशोधन गरिएको थियो । त्यसो हुनुको पछाडि डोयचे बैङ्कका उल्लेखित शाखाहरूको संलग्नताबारे दक्षिण कोरियाली अधिकारीहरूले छानबिन गरिरहेका छन् । एएफपी/रासस

केयर्न इण्डियाको विक्री वार्ता

माघ २४, नयाँ दिल्ली (भारत) । भारत सरकारले केयर्न इनर्जीसँग सम्बन्धित विवादमा सकारात्मक समाधान हुने अपेक्षा गरेको आइतवार बताएको छ । केयर्न इनर्जीले उसको भारतीय एकाइमा रहेका अधिकांश शेयर बेलायती ऊर्जा कम्पनी वेदान्तलाई बेच्ने सम्बन्धमा विवाद हुँदै आएको छ । स्कटल्याण्डस्थित केयर्नले बेच्ने भएको शेयरको मूल्य ९ अर्ब ६० करोड डलरसम्म हुन सक्छ ।केयर्नका प्रमुख बिल गाम्मेल र वेदान्तका प्रतिनिधिसँग नयाँ दिल्लीमा वार्ता गरेपछि आएको भारतीय तेल सचिव एस सुन्दरेशनको विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । केयर्न इण्डियाको अधिकांश शेयर वेदान्तले खरीद गर्ने प्रस्तावका बारे शङ्का उत्पन्न भइरहँदा वार्ताको आयोजना गरिएको हो । वेदान्त लण्डनमा सूचीकृत भएको कम्पनी हो ।केयर्न इण्डियाको स्वामित्व ग्रहणका लागि वेदान्तलाई स्वीकृति दिनुअघि भारत सरकारले केही शर्त राख्न चाहेको छ । भारतस्थित १० ओटा तेल र ग्यास ब्लकमा केयर्न इण्डियाको लगानी छ । त्यसैगरी भारतमा सर्वाधिक तेल उत्पादन गर्ने कम्पनी राज्यनियन्त्रित आयल एण्ड नेचुरल ग्यास कर्पोरेशन (ओएनजीसी)सँग पनि केयर्न इण्डियाको सम्बन्ध छ ।          एएफपी/रासस


बाँसको  साइकल घानाको सफलता

माघ २४, सोवुतुओम (घाना) । आफ्नो देशमा जताततै  बाँसका ठूला घारी देखेपछि घानाका इब्राहिम डिजान न्याम्पोङलाई एउटा अनौठो विचार आयो- बाँसको साइकल बनाउने । अहिले उनी घानाको राजधानी आक्रामा युवा शिल्पीहरूसँग मिलेर बाँसको साइकल बनाउँछन् । घानाको घरेलु बजारदेखि अमेरिका, यूरोपसम्मका ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर बाँसका ती साइकल बनाइएका छन् । तर, त्यस्तो साइकलको उत्पादन शुरू गर्ने बेला निकै अप्ठेरो परेको इब्राहिमले बताए । 'बाँसको साइकल बनाउने विचार राख्दा मानिसहरू हाँसोमा उडाउँथे । अहिले उनीहरू बाँसको साइकलप्रति राम्रो धारणा राख्छन्’ न्याम्पोङले भने ।  बाँस बलियो, सस्तो र वातावरण मैत्री हुनुका साथै अफ्रिकामा सजिलै पाइन्छ । त्यसैले घाना, युगाण्डा र जाम्बियालगायत अफ्रिकी देशहरूमा बाँसको साइकल उत्पादन हुन थालेको छ । साथै यस्तो नवप्रवर्तनको कदर पनि भएको छ । घानाको बाँसको साइकललाई संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमअन्तर्गत २०१० को सीड पुरस्कार दिइएको छ । स्रोतको दिगो परिचालनमार्फत गरीबी निवारण आयोजनाहरूलाई दिइने त्यस्तो पुरस्कार २०१० मा ३० ओटा परियोजनाले पाएका थिए ।  

अमेरिकी इञ्जिनीयर क्रेग काल्फीले आफूले १९९५ मा बाँसको साइकलको प्रविधि विकास गरेको बताएका छन् । उनले एउटा व्यापारिक प्रदर्शनीमा रमाइलो प्रचारका लागि बाँसको टयुब र इपक्सी भनिने सुपरग्लुजस्तो वस्तुको संयोजनबाट बाँसको साइकल बनाएका थिए । बाँसको साइकल प्रत्येक व्यक्तिको आवश्यकताअनुसार छुट्टाछुट्टै किसिमले बनाउन सकिन्छ । यहाँसम्म कि साना नानीहरूलाई स्कूल पुर्‍याउन धेरैओटा सीट भएको 'स्कूल बस बाइक’ पनि बनाउन सकिन्छ ।त्यस्ता साइकल खाल्डाखुल्डीमा पनि सजिलै गुड्नुका साथै गह्रौं भार पनि थेग्न सक्छन् । त्यसैले ग्रामीण भेगका किसानहरूका लागि बाँसको साइकल अति उपयोगी हुने विश्वास गरिएको छ । तर, मानिसको आफ्नै श्रमबाट हातैले बनाउनुपर्ने हुनाले यो अलि महँगो भने पर्न सक्छ । बाँसको एउटा साइकलको मूल्य १ सय ५० डलर पर्न आउँछ । हाल त्यस्तो साइकलको मूल संरचना बाँसबाटै निर्मित भए पनि पेडल, चक्का र सीट भने अन्य साइकलको जस्तो नै हुने गर्छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाको २००९ मा घाना भ्रमणका बेला ती साइकल प्रदर्शन गरिएका थिए । त्यसपछि विदेशी बजारमा त्यस्ता साइकलको माग ह्वात्तै बढेको छ । एएफपी/रासस

बैङ्क प्रमुख 'सुन्दर महिला’ विवादमा

माघ २४,फ्राङ्कफर्ट  (जर्मनी) । जर्मनीको सबैभन्दा ठूलो बैङ्क डोयचे बैङ्कका प्रमुख जोसेफ एकरम्यान महिलासम्बन्धी विवादमा तानिएका छन् । हालै उनले बैङ्कको कार्यकारी बोर्डमा महिला सदस्य थप्नुपर्ने प्रस्ताव राखेका थिए ।महिला सदस्य भएमा बोर्ड 'सुन्दर र रमाइलो’ हुने उनको विचार रहेको एक समाचारमा सोमवार भनिएको छ । जर्मनीका प्रमुख व्यवसायका बोर्डमा महिलाका लागि कोटा छुट्टयाउनुपर्छ कि पर्दैन भन्ने बहसमा उनले त्यस्तो विचार राखेका हुन् । आफ्नो बैङ्कको कार्यकारी समितिमा कुनै महिला सदस्य नरहेको उनको गुनासो थियो ।तर, महिलाहरूलाई नियुक्त गरेपछि बोर्ड थप सुन्दर र रमाइलो हुने विचार एकरम्यानले प्रस्तुत गरेको त्यहाँको व्यापार दैनिक हाण्डेल्सब्लाटले बताएको छ । उनको त्यस्तो विचारपछि जर्मनीका कृषि तथा उपभोक्ता मामिलामन्त्रीले त्यसको प्रतिवाद गरेकी थिइन् । सुन्दर र रमाइलो वस्तु खोज्नेले फूलको खेत वा सङ्ग्रहालयतिर डुल्नुपर्छ,’ मन्त्रीको प्रतिवाद थियो । एएफपी/रासस


जापानका गभर्नरबाट वित्तीय सुधारको आह्वान

माघ २४, टोकियो (जापान) । जापानको केन्द्रीय बैङ्कका प्रमुखले उनको देशले खराब अवस्थामा रहेको सरकारी वित्त सुधार गर्न पर्याप्त तत्परता नदेखाएको बताएका छन् । जापानले आफ्नो वृद्धि क्षमता र वित्तीय स्वास्थ्यमा सुधार गर्नुपर्ने बैङ्क अफ जापानका गभर्नर मसाकी शिराकावाको विचार छ । विदेशी संवाददाताहरूको क्लब फरेन करेस्पोण्डेण्ट्स क्लब अफ जापानको एक भेलामा बोल्दै शिराकावाले सो कुरा बताएका हुन् ।   मुद्रास्फीतिले मात्रै बजेटका समस्या समाधान गर्न नसक्ने भएकाले खर्च कटौती गर्न र आम्दानी बढाउन शिराकावाले सरकारलाई आह्वान गरेका छन् । उच्च मूल्यबाट करको आम्दानी बढे तापनि त्यसले सामाजिक सुरक्षा र सार्वजनिक खर्च पनि बढाउनेछ । हाल जापानमा वस्तुको मूल्यमा लगातार कमी आइरहेको छ । तर, अप्रिलमा शुरू हुने आगामी वर्षपछि मूल्यमा फेरि वृद्धि आउने अपेक्षा गरिएको छ ।'देशले सधैंभरि बजेट घाटा धान्न सक्दैन । त्यसैले समाजले वित्तीय सुधारका लागि विश्वसनीय प्रतिबद्धता गर्नु आवश्यक छ,’ शिराकावाले भने । हालै शेयरको परिसूचक मापन गर्ने संस्था स्टयार्ण्र्डड एण्ड पुअर्स(एस एण्ड पी) ले झण्डै ९ वर्षपछि पहिलोपटक जापानको ऋण विश्वसनीयता अङ्क घटाएको थियो । त्यसले जापानको ऋणमा भइरहेको उच्च वृद्धितर्फ सङ्केत गरेको छ, जुन अहिले कुल गार्हस्थ्य उत्पादनको दोब्बर हुन पुगेको छ । एस एण्ड पीको त्यस्तो निर्णयको दुइ हप्ताभित्रै शिराकावाले वित्तीय सुधारको आह्वान गरेका छन् । एएफपी/रासस


भारतको व्यापार प्रतिबन्धप्रति अमेरिकी चिन्ता

माघ २४, नयाँ दिल्ली (भारत) । अमेरिकी व्यापारमन्त्री गेरी लकले भारतको प्रतिबन्धात्मक व्यापारनीतिप्रति सोमवार चिन्ता व्यक्त गरेका छन् । अमेरिका र भारतबीच सुरक्षा र आर्थिक सम्बन्ध प्रगाढ हुँदै गए पनि भारतको त्यस्तो नीतिले लगानी प्रभावित भएको लकको धारणा छ ।अन्तरराष्ट्रिय रूपमै भारतको महत्त्व बढदै गएको छ । तर, अमेरिकाका लागि अझै पनि भारत १४औं व्यापारिक साझेदार हो । आउटसोर्सिङदेखि विश्व व्यापारको दोहा बैठकसम्मको विवादले ती दुइ देशबीचको आर्थिक एकतालाई बाधा पुर्‍याइरहेको छ । 'भारतले आफ्नो अर्थतन्त्र खुला गर्ने दिशामा ठूलो फड्को मारेको छ । तर, उसले अझै धेरै काम गर्न बाँकी छ,’ भारतीय व्यापारमन्त्री आनन्द शर्मासँग नयाँ दिल्लीमा वार्ता गरेपछि लकले भने । बजारसम्मको पहुँच र आयातमा लगाइने प्रतिबन्ध (ननटयारिफ ब्यारियर) जस्ता अप्ठेरा विषयमा भएको प्रगतिको समीक्षा दुवै नेताहरूले गरेका छन् । 'कतिपय करहरू घटाइएका छन्, तर अझै कतिपय बाँकी पनि छन् । कर नलाग्ने अवस्थामा पनि आयात प्रतिबन्धजस्ता ननटयारिफ ब्यारियरले व्यापार र लगानी प्रभावित भएका छन्,’ लकले भने । रोयटर्स


अमेरिकाको बेरोजगारी घटयो

माघ १९, वाशिङ्टन (अमेरिका) । अमेरिकामा गत दुइ महीनायताको बेरोजगारीदर आधा शताब्दीपछिकै उच्चदरले घटिरहेको छ ।  बेरोजगारीदर दुइ महीनाभित्रै ९ दशमलव ८ प्रतिशतबाट ९ प्रतिशतमा झरेपछि त्यहाँको रोजगार बजारमा उत्साह देखिएको छ । जनवरीमा मात्रै ५ लाख जनाभन्दा बढीले काम पाएका छन् । ठूला कम्पनीहरूको रोजगार दिने क्षमता अझै पनि कमजोर नै रहेको एक सरकारी सर्वेक्षणले देखाएको छ । तर, मानिसहरूले आफ्ना लागि आफै रोजगार सृजना गर्नुका साथै साना व्यवसायमा काम पाउने दर बढेको छ । लगभग ५० वर्ष पछिकै तीव्र गतिमा बेरोजगारदर घट्नुबाट अर्थतन्त्रको पुनर्बहालीमा तीव्र सुधार भइरहेको मानिएको छ । सेवा र म्यानुफ्याक्चरिङ क्षेत्रमा मन्दीअघिकै दरमा वृद्धि भइरहेको छ । गएको हप्ता दाओ जोन्स औद्योगिक औसतमध्ये २००८ पछि पहिलोपटक १२ हजारभन्दा बढीमा रहेको थियो । त्यसैगरी ५ वर्षयताकै उच्च खुद्रा विक्री भएको छ ।

Admin 2011-02-08